खेल खेलेर खिलखिलाउन पाउने वा रमाउन पाउनेहरू खेलाडी हुन् भने खेलको मारले थिचिने, हारैहारको कण्ठमालाले मिचिनेहरू चाहिं पेलाडी हुन् । खेलमा यत्ति दुई पक्ष मात्रै हुँदैनन्, लिंगभेदमा तेस्रो लिंगी भए जस्तै खेलमा तेस्रो  खेलाडी पक्षको पनि  मितिमितिमा उपस्थिति रहन्छ – त्यो हो झेलाडी । पोट परे पनि चित परे पनि जीत मेरै हो भनेर छाती ठोक्दै  दायाँ हातले कौडा र बायाँ हातले तोडा सोहोर्नेहरू झेलाडीको कित्तामा पर्छन् । अक्सर खेलाडी र झेलाडी हँसमुख हुन्छन् भने पेलाडी चाहिं रुन्चे मुख हुन्छन् । माथि सरल ढङ्गले परिभाषित गरिएका मध्ये म चाहिं पेलाडीको कित्तामा पर्ने जेठो, बाठो र चनाखो मनुवा हुँ वा भनौँ शेयर पेलाडी हुँ ।

मेरो गौरव पखाली इतिहास हेर्ने हो भने विसं.को चालीसको दशकलाई मस्तक नुगाउँदै याद गर्नुपर्ने हुन्छ । डिल्लीबजारको सेक्युरिटी केन्द्रमा सेक्रेटली जाने र आरामका साथ फारम भरेर दस्तखत ठोकेपछि त्यतिवेला पोल्टाभरि शेयर थाप्न  पाइन्थ्यो ।

पछिपछि शेयर दिने केन्द्रलाई भाग्योदय गराउने इन्द्र ठान्न थालियो र केन्द्रलाई लावालस्करको घेरेन्द्रमा पार्न थालियो । बिस्तारै केन्द्र विकेन्द्रित हुँदै गए तापनि शेयर सप्लाइको वेला अप्लाई गर्न लस्कर भने एकत्रित हुँदै जान थाले । आइपिओको आह्वान हुँदा सात दिन सात रात अखण्ड जागराम बसेर नीद हराम गर्दै खट्नपर्ने दिन उदाए । यस्तो वेला फारम भर्दा बाह्र वर्षअघि सिल्टिमुर खाएका बाजे बजै र नबासी वर्षपछि जन्मने सम्भावना भएका नातिनातिनाका नाममा पनि नहिच्किचाई शेयर माग गर्दै फर्जी दरखास्त भरेर सँगसँगै बुझाइयो । अनि  थोरैधेरै शेयरका कित्ता  कुम्ल्याउने पौरख पनि गरियो र अनुहारमा रौनक छरियो । अहिले चाहिं नजन्मेका नातिनातिना नाताका शेयर खाता नभए पनि सांसारिक हिसाबकिताब चुक्ताचुक्ति गरी मुक्ति पाइसकेका बाउ बजैका नामका शेयर खाता भने धडाधड चलाइएकै छ ।

अब भने बायोमेट्रिक प्रणाली लागू भएपछि  यो साह्रै जाती खुराफाती कामको इतिमिति हुने हो कि भन्ने डरले कलेजो काँपिरहेको छ । यति विधि खुराफाती गर्दा पनि नजाती के लाग्छ भने शेयर अलोटमेन्टको एक इन्टरटेनमेन्टयुक्त एचिवमेन्ट लिनका लागि बाउन्न हप्ताभन्दा बढी कुर्नुपर्ने अवस्था विद्यमान् छ, हाजिर छ । आइपीओको शेयर पाउनु भनेको भेटी नअसुल्ने सेवाप्रदायी पाउनुजस्तै दुर्लभ भएको छ । जति पटक अप्लाई गरेपनि धकेलाइका साथ शेयर नपाउनेको सूचीमा उछिट्टिनुपर्दा रनाहामा परेर तोरीको फूल देखिन्छ र त्यसै त्यसै कालजिरोको खिचडी मनभरी पकाइन्छ ।

त्यतिवेला एकदुई हजारजनाको दरखास्तको फेहरिस्त तयार पार्नेहरूले अहिले सोह्र लाखभन्दा बढीको एप्लिकशनलाई ड्कुमेन्टेसन र अथेन्टिकेसन गर्नुपर्ने भएको छ । सन्तोष केमा लाग्छ भने सत्र जनाको दरखास्तको दस्तुर पूरा गर्न पहिले पूरै सात दिन खर्च हुन्थ्यो भने अहिले सय जनाको दरखास्त दर्ता गर्न सय मिनेट पनि खर्च हुँदैन । प्रविधिले  यस्तो फड्को मारेको देखेर बाँडफाँडमा शेयर नपरेको बखत पनि मेरो एउटा आँखा आँसुले टिलपिल गर्छ भने अर्को आँखा खुसीले धिपधिप गर्छ ।

वेलावेला यो पापी मनमा गन्ट्यौना खेल्छन् – कौडीमा जग्गा किनेर करोडमा बेच्ने दलाल बन्न किन्न सकिएन होला ? पन्ध्रमा किनेको माल पचासमा बेच्ने जादूगरी कला सहितका व्यापारी बन्न पनि किन नसकिएको होला ? यो धनी बन्ने मृगतृष्णा बोकेर मुल्लाको दौड मस्जिदसम्म भन्ने उखानलाई चरितार्थ गर्दै पूँजी बजारको रोजगार अँठ्याउन के दशा लागेर पुगिएछ कुन्नि !

सरकारी जागिरको प्राइमरी आम्दानीले गुजारा नचलेको र सेकेन्डरी आम्दानीको चर्तिकला गर्ने कला चाहँदाचाहँदै पनि हासिल गर्न नसकिएको पीडाको रन्कोले रन्थनिएर गन्ने मान्ने शेयरधनी हुन सेकेन्डरी शेयर बजारमा नछिरी धरै पाइएन । साँढेले झैँ सिँगौरी खेल्छु भनेर दोस्रो बजारमा पाइला त सारियो तर ज्योतिषीलाई जोखना नहेराई तिरिमिरी झ्याइँ गर्न तम्सेको भएर हो कि पेडा थोरै, भेल्टा धेरै खाइयो । त्यसैले त खेलाडीको साटो पेलाडीमा नाम दरियो ।

चालीस रुपैयाँको चारकुने रुमाल किन्न पनि चार सुका सस्तो पाइन्छ कि भनेर चौरासी दोकान चाहार्ने, एक मुठा साग किन्न दशजना खर्पने सागबेचुवा व्यापारीसित भाउ बुझ्ने म जन्डो जगरसेँठ पेलाडी शेयर बजारमा चाहिं दुई चार पेटी महँगा भए पनि ‘शेयर उठाऊँ’ भन्दै होमखाडीमा हाम फाल्छु । होमेले गलत सूचना वा सुझाव दिएर जति पटक डामे पनि म बबुरो भने होमे र डोमे फेर्न हुन्न भनेर जुको टाँसिए जस्तै एउटै होमेसित टाँसिंदै आएको छु ।

शेयर बजारमा हरियाली आउँदा खुसियालीले अँगाल्छ र म चुइँकटको मन समेत पगाल्छ । र त श्रीमतीलाई सुनकै झलकदार जलप लगाएर सुनौलो पारिएको पारी भएको हरियै बनारसी सारी किनिदिने इच्छाले मन कुत्कुत्याउँछ । शेयर बजारमा लाल झण्डा फरर फर्किन थाल्यो भने चाहिं मन धरर धर्किन थाल्छ र घाउ चरर चर्किन थाल्छ। यस्तो वेला औडाहा भएर श्रीमतीका सबै राता फरिया कैँचीले काटेर धुजाधुजा बनाई धजा पार्न मन तम्सिन्छ ।

दोखी दोस्रो बजारमा पस्न नयाँ जोगीले झैं बाक्लो खरानी घस्न पछाडि परिएन । खरानी घस्नका लागि बेहुली रानीले मण्डपमा साइँली औंलीमा घुसारिदिएको पूरै पौने आनीको औंठी स्वयंवरको पनि बेचियो , आमाको नाकको बुलाकी पनि थुतियो तैपनि केही लछारपाटो लगाउन सकिएन ।

मलाई नफापिरहेको पापी शेयर बजारको साटो हाट बजारमा गएर हल्लिहल्ली खर्पनेसित उधारोमा तीन रुपैयाँमा किनेका सागका कल्लीहरू  तेह्र तेह्र रुपैयाँ नगदमा बेचेको भए आजसम्म सोह्र तले गौँथली गुँड ठडिइसक्थ्यो । यो बजिया बजारमा बाजी थाप्दा थाप्दै बाजेले तीन सय रोपनीको पुर्जा छँदाछँदै सुकुम्वासी हुँ भनेर हुकुमवासीलाई सुकामानु घिउले वर्षभरि नुहाइदिए बापत राज्यबाट फुकालेको डेढ सय रोपनीसहितको जम्माजम्मी साढे चार सय रोपनीको लगापातबाट आना चारसमेत नराखी बोल कबोलको चाँजोपाजोमार्फत सिन्कीको मोलमा साहूहरूलाई सुम्पिइयो ।

वारेन बफेटले अरू डराउँदा लोभिन र अरू लोभिँदा डराउन दिएको अर्तीलाई पनि घर्तीको बुद्धि ठानेर उल्टापाल्टी गरियो। बाह्र वर्ष शेयर पुराण पढे पनि बफेट कसका पोइ हुन् भन्ने ठम्याउन चाहिं सकिएन । धन्न आफू दिनदिनै सीता खुवाउनेको एक मात्र पोइ हुँ भन्ने चाहिं बिर्सिइएन छ ।

नेप्से चरमचुलीमा हुँदा आगलागी झुपडी डेढ घडी भद्रा भन्ने उखानको बखान गर्दै कुनै भद्रा नहेरी  उफ्रीउफ्री शेयर किन्दै डामिने साइत जुराउन दौडन्छु अनि नेप्से ओरालिएर तल्लै तल्लो बिन्दुमा पुगेपछि उफ्रिँदै किनेको शेयर थच्चिँदै थच्चिँदै बेच्छु । हर्षद मेहताको किस्सा पढुवा पनि मै हुँ , बाँदर बेचुवा र किनुवाको कथा सुनेको मनुवा पनि मै हुँ तर जतिजति पाठ पढे पनि सोह्र दुना आठको पहाडा घोकुवामा आफ्नो नाम उच्च सम्मानका साथ लेखाउने होस हरुवा पनि मै हुँ भन्ने सोह्रै आना सही कुरा यहाँ गर्वका साथ पाठकलाई पढाउन र बताउन चाहन्छु।

मेरो दाबी के छ भने तुम्कोट गाउँको नगनिएको भए पनि शेयर हाट बजारमा खुट्टो नचाउने पहिलो अगुवा नटुवा मै हुँ । यसो  भनेर मैले जति छाती ठोके पनि तुम्कोटेहरू सुका पैसा खर्च नहुने ताली जाबो पनि मेरा लागि  ठोक्न किन तयार हुन्नन्; मलाई आश्चर्य लाग्छ, ताज्जुब लाग्छ। मेरो चरम बिल्लीबाँठ होउन्जेल पनि मेरा लागि सलाम वा ताली ठोकिएन भने अड्डाअड्डामा नालिस दायर गर्ने मेरो दह्रो कार्ययोजना छ भनेर तिनीहरूलाई सुनाउन भने अझै बाँकी छ ।

मैले शेयरको हाटमा मुन्टो छिराउन शुरू गर्दा पाइपलाइनमै बसेकाहरू लाइफलाइनमा आएर अहिले फुल अप्सनको इभी गाडी चढिचढी बतासिने भइसके । म लठुवा भने मबाहेक तीन पुस्ता फटालेको  बयल गाडीमा घस्रीपस्री लत्रिरहेको छु । आलु खाएर पेडाको धाक लगाउनेहरूले पेडा खाएर घ्याम्पो जत्रो भुँडी पारिसके । म डुकुलन्ठक भने सुकेनास लागेर फुकी ढल भएको छु। शेयर बजारमा जति  सुरिए पनि मेरो प्रयास मास छराइमा पर्दै आएको छ । पेटीका पेटी  घाटा दिलाएको खेती स्याहार्दा स्याहार्दै पनि धन्न यो एक मुठी सास आजसम्म त धानिरहेकै छु तर कुन दिन सिलिफ्याँट हुने हो थाहा छैन ।

यस बजारमा भित्र-बाहिर गर्नुभन्दा त बरु उत्तरायण सकिएर भर्खरै साउन  महिनामा दक्षिणायनले  प्रवेश गरेको बखत स्वयम्भूको डाँडामा गएर पण्डालमा पण्डापण्डीहरू भेला पारी कोटीहोम लगाएको भए चुत्थै पनि तेत्तीस कोटी दाम झ्वाम्म पार्न सकिन्थ्यो  र नाम पनि कमाउन सकिन्थ्यो होला । यतातिर लागेर  कुनै प्रायश्चित्तले नचोखिने पाप गरिएछ र त दाम गुमाउँदै गुमनाम हुन पुगिएको छ । कमिलाको काल आएपछि पखेटा पलाउँछ भन्छन् । मेरो भने संकटकाल आएपछि शेयर किन्ने रहर पलाउँछ ।  मैले  बुलिसमा फुलिस हुँदै उचालिएर शेयर किनेपछि भाउ भासिन्छ भने बियरिसमा बियरको चुस्की लिँदै शेयर बेचेपछि भाउ आकासिन्छ। यस्तै यस्तै परिघटनाका श्रृंखलाले यस दुखियाको हृदय त्यसै त्यसै हतासिन्छ अनि दुई पैसाको मेरो मन्द बुद्धि कता कता बतासिन्छ ।

आफू कामचोर सरकारी कर्मचारी हुँदाका बखत सेवाग्राहीलाई सात घण्टा कुराएर कम्प्युटरको स्क्रिनमा शेयर बजारलाई स्क्रोल गर्दै खुबै कुदाइयो, मनपरी गरियो । अहिले जागिरबाट घोक्रेठ्याक पाएपछि भने सेवाग्राहीको साटो सोझी सिरीमतीलाई मर्म पारिपारी भान्साघरमा कुराउँदै छु र आफू चाहिं हावादारी शेयर खबरहरूमा हराउँदैछु। ´अबको बारि यति अङ्क पारि` भन्ने हल्लाबाजी सुनेर मनको लड्डु घिउसित जति कर्‍याप पनि कुनै दाल भने हालसम्म गलाउन सकेको छैन ।

वेलावेलामा सय जना साहूसँग महिनामारी सयकडा पाँच तिर्ने सर्तमा   ऋण लिएर पोर्टफोलियोको आकार बढाउँछु । अनि बढ्ने मूल्यको कल्पनामा मुख रसाउँदै आफ्ना कुदिन निम्ताउँछु । न सूचकाङ्क बढ्ने, न कारोबारको पोकोपुन्तरो बढ्ने न त आफ्नो उम्मेद नै बढ्ने अवस्थाबाट गुज्रँदा भने पुर्पुरो समाउँदै थचक्क बस्न पुग्छु । रिनको भारीले ठसठस कन्दै बित्ते पाइला सार्दै गरेको अवस्थामा आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडोको अवस्था आइलाग्छ ।

यस्तै सकसको वेला भान्सामा तरकारी र चाराको भकारी रित्तियो भनेर सिरीमतीले सातो खान्छिन्, यता रिनको भाका सिद्धियो भनेर साहूहरूले ठिंगुराउनको लागि बाटो ढुक्छन्  । उनीहरूले भेटेर वा  फोन गरेर थाल खाम कि भात खाम गराउँछन् र सकसकाललाई मेरो छेउ पुर्‍याउँछन् । सरकारी नेताले जस्तो कहिले टकटिक(टिकटक) बेठीक कहिले ठीक भनेर दहिचिउरे वा भनौँ दुईजिब्रे कुरा गर्न पनि मैले सक्दिनँ ।

त्यतिवेला म तातो पिँडालु निल्नु न ओकल्नुको दुर्दशामा जाकिन्छु ,अनि त रिनपान गरेर डेढ सय दरमा किनेका कित्ता गलपासो बन्न पुगेको ठहरिँदै पौने सयमा मिल्किन्छन् । तदुपरान्त मेरो प्रयासको सत्यानाश हुन्छ । तीर कमान समाउन नजान्नेले बजारिया तारोबाज बनेको ध्वाँस देखाउने आश गरेपछि नाफा न प्राप्ति भुँडीमा बतास  नभएर के पो हुन्थ्यो र ?

रिन गरेर तीन थुर्मी घिउ आन्द्रामा हुल्न नसकेको मजस्तो पिलन्धरे मनुक्खे के खान शेयरको पोर्टफोलियो बढाउन तम्से हुँला भनेर  मनमनै आफैलाई धारे हात लगाउने रहर ममा वेलावेलामा पलाउँछ  । तबै त हर्रो नपाउने भिखारी जाइफलको पारखी भएर र्‍याल चुहाएछु भनेर आफैंलाई सत्तोसराप गर्न मन लाग्छ ।

मेरो दुर्गति देखेर  जोरिपारीकाहरू र वरिपरिकाहरू मैले नदेख्ने गरी काखी बजाउँछन् र देख्ने गरी कटाक्ष गर्छन् । एकदिन एकजनाले ट्वाक्राक्कै कटाच्छे गरे – ´´हजुर, के नाम ,आज नाति केटाले आफ्नो पुस्तकबाट के नाम सप्रसङ्ग व्याख्या गरिदिनुहोस् भनेर एउटा प्रश्न तेर्छायो –

´मान्छेले (के नाम) कति के गरे पिइसके बजार नै तनतनी ।

हाम्रा  मित्तुर (के नाम ) मक्ख छन् अझ पनि छामी जनै कन्दनी ।।

के नाम तपाईं सिपालु हुनुहुन्छ, लौ लौ गरिदिनोस् त व्याख्या ।“

उनको खिसीट्युरीयुक्त वक्रोक्ति वा कथनी  सुनेपछि मलाई हनहनी ज्वरो आउला झैं भयो ,फनफनी रिंगायो र सनसनी चाँदोमा रिसको चिङ्गारी तिरमिरायो । कमजोर मान्छेको थुतुनो र डुँडुलो सँगसँगै चल्ने हुनाले मेरा हात सकसकाए र उनको कन्चट थप्पडै थप्पडले सेक्न  कस्सिए । तर बर्कत नपुगेर आफै दिवङ्गत हुनुपर्ने हो कि भन्ने डरले रिस थाम्दै ´यसको जवाफ पछि दिउँला` भनेर लुते कुकुरले पुच्छर लुकाए झैँ गरी मैले मैदान छोडेँ । अनि रणभूमि हुन थालेको थलोलाई शान्तभूमि नै रहन दिने चेष्टा गर्दै म त्यहाँबाट अलपिएँ ।