कतै पढेको छु, या सुनेको छु; चीलले सारै अग्लो ठाउँमा गुँड लगाउँछ अरे । अग्लो ठाउँमा गुँड लगाउनुको अभिप्राय एक त शत्रुबाट बच्नको रचिएको तरीका होला । अर्को, आफ्ना बच्चाहरूलाई सानैदेखि उडानमा निष्णात बनाउन र बच्चामै जोखिम सिकाउनको लागि उच्च ठाउँमा गुँड लाउँदो हो । जब ओथाराबाट चीलका बच्चा निस्किन्छन्, बच्चाका प्वाँख नउम्रिन्जेल त बच्चालाई आहारा जुटाउने काम माउले नै गर्छ ।

नानीहरूका पखेटा उम्रेपछि भने चीलले आफ्नै गुँड भत्काउन शुरू गर्छ । माउले गुँड भत्काइदिएन भने बच्चा कहिल्यै उड्दैनन् अरे । गुँडमा एउटा सिन्को बाँकी रहुन्जेलसम्म पनि बच्चाहरू त्यहीँ लिपिक्क टाँसिरहने भएकोले एउटा सिन्कोधरि बाँकी नराखी भत्काइदिन्छ र बच्चालाई आखिरी सिन्कोसितै जोडले धक्का दिएर भीरतिर खसाली दिन्छ । गुँड बच्चाको उडानको लागि बाधा बन्दोरहेछ । बाधा तोडेपछि मात्र बच्चा उडानमा पारंगत बन्नेरहेछन् । गुँडको सुविधा बच्चालाई उपलब्ध गराइदिई राख्ता बच्चा निकम्मा पंगु बन्दारहेछन् । उसले आफैं उड्नुपर्छ, आफ्नो शेष जीवनको यात्रा आफ्नै पंख फैल्याएर गर्नुपर्छ भन्नेकुरा भुल्दोरहेछ ।

त्यसैले त माउले अनिवार्य रूपले गुँड भत्काएर निर्मम धक्का दिएर तलतिर खसालिदिंदो रहेछ । देख्नको लागि माउको यो व्यवहार निर्दयी लाग्न सक्छ, तर बच्चालाई माया गर्ने सर्वोत्कृष्ट विधि हो यो । उसले बच्चालाई लोलोपोते देखाएर गुँड नभत्काउने हो भने त्यसलाई धक्का दिएर तलतिर नझार्ने हो भने बच्चाले चुनौती सिक्तो रहनेछ । जोखिमसित जुधेर जीवन बाँच्ने कला आर्जन नगर्दाेरहेछ ।

गुँडको सुविधा एक हदसम्म आवश्यक छ, चीलका बच्चालाई पनि, मान्छेका बच्चालाई पनि । तर त्यो सुविधा प्वाँख नपलाउन्जेल सम्मको लागि मात्र ठीक छ । शून्य आकाशमा उडान भर्ने मजबूत पंख तयार भैसकेपछि पनि आरामदायी र विलासी गुँडमा टाउको ओताउन दिइराख्यो भने उसले कहिल्यै पनि आफ्ना पखेटा चाल्न सिक्तैन । आफ्नो आहाराको लागि आफ्नै पंखप्रतापमा निर्भर हुन जान्दैन । शत्रुको निशानाबाट बच्न, छेलिन, तर्किन, प्रतिरोध गर्न, प्रत्याक्रमण गर्न जान्दैन । चीलको दृष्टान्तबाट शिक्षा लिएर मान्छेले पनि माउले तय गरिदिएका अनावश्यक सुविधाका सिन्काहरू झिकिदिने हो कि ? गुँडका जुन जुन व्यवस्थाले उसलाई दिनदिनै अपाहिज बनाउँदै लगेको छ, त्यो व्यवस्थारूपी गुँड भत्काइदिने हो कि ? यसो गर्दा मान्छेका बच्चा पनि सानैमा उड्न सिक्थेहोला । आफ्ना पखेटा आफैँ चाल्नुपर्छ भनी जान्दथे होला । देखिरहेको छु कतिपय छोराहरूको प्रगतिमा बाबु बाधा बनिरहेछन् । नानीहरूलाई एउटा सीमादेखि चुनौती दिनुपर्नेमा सुविधाका खातहरू जुटाएर उनका हातहरू पंगु बनाइरहेछन् ।

जिराफले पनि बच्चोलाई जन्मिने बित्तिकै लात्तीका लात्ती कुट्तो रहेछ । बच्चाको प्रतिरोधात्मक शक्ति मजबुत गर्न यो तरिका अपनाउँदो रहेछ । देखेको छु, अर्नाको नवजात पाडो केही क्षणमा नै माउसँगसँगै बेतोड दगुर्न थाल्छ । अर्नाले आफ्नो शिशुलाई चाटेर राखिराख्तैन । आफू अगाडि लागेर दौडिन्छ, बच्चा सँगसँगै दौडिन बाध्य हुनैपर्छ । प्रकृतिमा नै यसरी माउले बच्चाहरूलाई शैशवस्थादेखि चुनौती सिकाउँछ, जोखिम सिकाउँछ, खतराबाट जुझ्न र बच्न सिकाउँछ, आफ्नै खुट्टामा उभिएर बाँच्ने स्वावलम्बनको पाठ सिकाउँछ । हामी मान्छे भने यस मामिलामा कमजोर बन्दै गएका छौं ।

यस सन्दर्भमा मलाई झेन फकिर नान इनको कथा मन पर्छ । एकदिन नान इन गुरुको आश्रममा गएका थिए । राति धेरै अँध्यारो भयो । फर्किने बेलामा गुरुले दियो जलाइदिए । भर्याङबाट ओरालेर बाटो लाग्ने बेलामा उनै गुरुले त्यो दियो झ्याप्पै निभाइदिए । गुरुको चाला देखेर नान इन छक्क परे । उनले सोचे, बूढाले यो के गरेका होलान् ?, आफैँले दियो सल्काइदिए, फेरि बाटो लाग्ने बेलामा आफैंले निभाइ दिए ? नान इनले आफूलाई रोक्न सकेनन्, सोधिहाले –“दियो निभाइदिनु भयो । बाटो सारै अप्ठ्यारो छ । यो अन्धकार रात्रिमा मेरा हातखुट्टा भाँच्चिने भए गुरु ।”

गुरु भन्छन् –“हातखुट्टा भाँचिएर केही हुँदैन । आत्मा मजबुत हुन्छ । चेतना मजबुत हुन्छ । अर्काले सिर्जना गरेको उज्यालोमा यात्रा गर्दा हातपाउ त ठीक रहलान् । तर आत्मा भने ज्यादै फितलो बन्छ । …”

गुरुका यी वचन प्रतीकमा बोलिएका थिए । संकेतमा अर्थहरू निस्केका थिए । नान इनले कुरा बुझी हाले । गुरुबाट अर्को उज्यालोको आशा नराखी आफ्नै दियो जलाएर अन्धकार बाटो काट्ने धुनमा लागे ।

वास्तवमा अर्काको दियोको सहारामा जिउनेको जीवन किरा माकुराको जस्तो हुन्छ । यात्रामा न लड्छ पड्छ । न गिर्छ, न भट्किन्छ । जीवन सिकाइविहीन अँध्यारोमा गुम्सिन्छ । लड्नु, धुलो चाट्नु उठेर धुलो टक्टक्याँउदै फेरि यात्रामा सामेल हुनुमा एक अनमोल सिकाइ आर्जन भैराखेको हुन्छ । अनुभव र ज्ञानका नयाँ नयाँ तहहरू थपिंदै जान्छन् आत्माभित्र । संकल्प र संघर्षको ज्योतिले आफूलाई अझ चहकिलो अझ चहकिलो पार्दै लान्छ ।

घरपछाडि धानको व्याड छ, पानी पर्यो भने यही साउनमा रोप्न राखिएको व्याड हो । साउन अन्तिम हुँदा पनि पानी पर्न सकेको छैन । हिजोसम्म निख्खर हरियो व्याड पहेलो पहेलो बन्न थालेको छ । कल्पना गर्छु, यो धानको बीउ उखेलेर अन्त नसारी ब्याडमै हुर्काइयो भने पसाउँछ पसाउँदैन होला ? पक्कै पसाउँदैन पसाइ हाल्यो भने पनि मुस्किलले काम नलाग्ने गरी एकादुई बोट पसाउला । त्यसले दिनुपर्ने फल दिनै सक्तैन ।

बीउको जरालाई एकचोटि धर्तीको सम्पर्कबाट छुटाउनै पर्ने रहेछ । नरोपेको बीउ नफल्ने कारण ऊ आफ्नो बलमा गाँजिन पाउँदैन । फराकिलो भूमिमा फुक्न फैलिन पाउँदैन । धर्तीबाट शुरूका जरा अनिवार्य रूपमा चुँडाउनै पर्ने रहेछ । जरा चुँडाएपछि फेरि नयाँ हिलोमा, नयाँ माटोमा त्यसलाई रोपिदिएपछि त्यसले गाँज हाल्न शुरू गर्दाे रहेछ । केही मानाको बीउबाट मुरीका मुरी फसल उब्जिँदो रहेछ ।

व्याडरूपी पुरानो घरबाट बीउका जराहरू चुँडाइदिएपछि त्यस बीउमा सृजनका, अंकुरणका, उत्पादनका असंख्य असंख्य सम्भावनाहरू विकसित हुँदा रहेछन् । एक निश्चित समयपछि, एक निश्चित उमेर र तह नाघेपछि घररूपी ब्याडमा गाडिएका नानीका जराहरू चुँडाइ पो दिनुपर्छ कि ? ब्याडबाट ती बेर्नाहरूलाई मलिलो हिलेमाटोमा सारी पो दिनुपर्छ कि ? रोपी पो दिनुपर्छ कि ? अनि मात्र नानीहरूको भविष्यले गाँज हाल्न सक्ला ? घरकै ब्याडमा हुर्काइराखियो भने मेरो घरपछाडि पहेलिंदै गएको बीउ जस्तो बन्न के बेर ?

मलाई बच्चाहरूको भारीमा आमाले ढुङ्गो हालिदिएको घटना सुन्दर लाग्छ । केटाकेटी हुँदाको कुरा हो । घाँसदाउरा काट्न मार्से र भस्मेको जङ्गल गइन्थ्यो । दाउरोको भारी बोकेर मार्सेको उकालो चढिरहेका केटाकेटीहरू शुरूमा ठूलठूलै भारी रोजेर बोक्छन् । जति जति उकालो चढ्दै गयो, आफूले रोजीखुशीले बोकेका भारी गह्रौं झन् गह्रौं बन्न थाल्छन् ।

आमाहरूसित केटाकेटीहरू भारी गह्रौं भएको गुनासो गर्छन् । सिपालु आमाहरू केही दाउरा निकालिदिन्छु, भारी हलुका पारिदिन्छु भनेर उनीहरूको आँखा छलेर एकएक थान ढुङ्गा हालिदिन्छन् । बच्चाहरू केही हलुङ्गो भएको भ्रममा एक बिसौना माथिसम्म हिंड्छन् फेरि भारी गह्रौं भएको शिकायत गर्छन् । त्यसपछि आमाहरूले फेरि केही दाउरा निकालिदिन्छु भनेर अघि रोखेको ढुङ्गो फ्याँकिदिन्छन् । बच्चाहरूलाई अब चाहिं साँच्चै भारी हलुङ्गो भएको आभास हुन्छ । उनीहरू त्यसपछि सजिलै घर आइपुग्छन् । बच्चाहरूलाई संघर्ष सिकाउने तरीका थियो यो आमाहरूको । बच्चाहरूलाई चुनौतीमाथि चुनौती थपेर पाको बनाउने सूत्र थियो यो ।

चुनौती र संघर्षबीच हुर्किएको बच्चाको मेधा, गुणवत्ता, ओज र आकांक्षा साँच्चै लोभलाग्दो हुन्छ । उनीहरूको साहस र शक्तिमा अर्कै निखारता भेटिन्छ । उसले आफैंलाई निचोरेर आफ्नो प्रतिभाको दियो सल्काएको हुन्छ । यसको लागि आ–आफ्नो सन्दर्भ र आवश्यकता अनुसार गुँडका सिन्काहरू थुतेर बच्चालाई हावामा पो खसालिदिने कि ? व्याडको सम्पर्कमा रमाएका जराहरू पो चुँडाइदिने कि ? भर्याङ ओरालेर बाटो लागेपछि दियो पो फुकिदिने कि ? तपाईंको जो विचार ।