प्रिय सिमोन,
कताकता तिम्रो जीवन पनि शङ्कर लामिछानेको निबन्ध “एब्स्ट्रयाक्ट चिन्तन प्याज” जस्तै लाग्छ । पढ्न सजिलो बुझ्न गाह्रो । तिम्रो जीवनमा पनि प्याजको जस्तो यति धेरै पत्र छ जसलाई केलाउँदा आँसु आउँछ तर अन्त्यमा केही हुन्न । मेरो जस्तै तिम्रो पनि शङ्कर प्रिय लेखक हो जसलाई हामी दुवैले देखेनौं तर अनुभूति गर्यौं लेखनबाट । तिमीभन्दा म अलिक भाग्यमानी सिमोन किनकि मैले शङ्कर पत्नी रत्ना र छोरा दीपसँग केही समय संगत गर्ने मौका पाएँ । उनकै नामको शङ्कर निबन्ध कोषको कार्यकारी सदस्य भएर काम गर्ने अवसर पनि पाएँ सिमोन ! व्यक्ति चित्रण गर्नमा माहिर उनी निबन्धको बेजोड बादशाह हुन् ।
“एब्स्ट्रयाक्ट चिन्तन प्याज” निबन्धमा शङ्कर लेख्छन्, “तर, मनबाट न ‘व्यथित’ गए, न बाङ्देल, न हिमानी, न एब्सट्राक्ट ! मन पनि कमालको वस्तु हो- त्यसमा कुरा पसेपछि निकाल्न गाह्रो छ निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ । मनबाट, फेरि त्यही कुरा पसेकै रूपमा किमार्थ निस्कँदैन- त्यसको काँचुली फेरिसकेको हुन्छ । मैले मन पल्टाउन थालें, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ !”
कस्तो गहन कुराको सहज अभिव्यक्ति हो यो सिमोन ! मन त गजबको हुँदोरहेछ सिमोन तिम्रो अनुहार जस्तो । अस्ति भेट्दाको चमक यस पालि भेट्दा गायब । फेरि कुदरती ओखती खानुपर्छ जस्तो छ तिमीले । मनको कुरालाई बाँध्नुहुन्न नि सिमोन ! गाँठो पर्यो भने फुकाउन गाह्रो हुन्छ । तिम्रो प्रिय कवि हरिभक्त कटुवालले मन छुने कविता लेखेका छन् मनकै बारेमा ।
मन त फलामकै भए असल हुन्छ
न घात प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ ।
कसैले यसो चिमोट्यो
एक कप्टेरा मन उतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो
अलिकति मन पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको वह कसैलाई नकह
कसले सुन्छ ? कसले गुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
सिमोन मान्छेहरू सुखको उत्सव मनाउन होटेल र रेस्टुरेन्ट जानसक्छ तर दुःखको मात मनाउन मान्छे कहाँ जाने । तिम्रो दुःख र पीडा अथाह छ तर तिमीसँग चिया पिएर खोक्रो आश्वासन बाहेक केही पो दिनसक्छु र । मलाई थाहा छ, पीडा भोग्नेलाई अनुभूत हुन्छ सुन्नेलाई होइन । तरै पनि वेदनाको केही अंश ग्रहण गरी अनुभूत गर्ने प्रयास गर्छु । तिम्रो परिस्थिति पनि कालीप्रसाद रिजालको शब्दमा नारायणगोपालले गाएको गीत जस्तै छ: “आँखा छोपी नरोऊ भने भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ ।”
तिम्रो मन पनि हरिभक्तले भने झैं फलामको भए कति जाती हुन्थ्यो होला सिमोन !
प्रिय सिमोन ! तिमीलाई आज भेटेपछि प्रसिद्ध गीतकार नोर्देन रुम्बाको शब्दमा बसन्त छेत्रीको संगीतमा पावन गोलेको स्वरमा गुञ्जिएको गीत मनमा खेलायो ।
“कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो ।
त्यो लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो
यसै पनि रूखो छ जिन्दगी
उसै पनि फिका छ जिन्दगी
त्यो मुस्कानको रङ्ग नपोखे भए पनि हुन्थ्यो ।”
जीवनमा कतिपय मान्छे भेट्नु भन्दा नभेट्नुमा नै मज्जा हुन्छ शायद त्यो तिमी हुनसक्छौ । नभेटेको मान्छेको न सास स्पर्श गर्नसक्छ न आश नै गर्नसक्छ । आश्वासन बाँडेको मान्छेलाई सधैं निराश नबनाऊ सिमोन ! एकदिन उसको मन भाँचिन पनि सक्छ किनकि त्यो मन फलामको होइन ।
प्रिय सिमोन ! मेरो माया वैरागी काइँलाको कविता जस्तो भए कति जाती हुन्थ्यो:
“मेरो माया मफलर भए
बाँधिहिंड्थे गलामा !
कैले काहीँ त मन नहुँदा
टाँगिहिंड्थेँ किलामा !”
मलाई पनि कहिलेकाहीं तिमीलाई किलामा थन्काएर हिंडौं जस्तो लाग्छ । सिमोन काइँला दाइको प्रारम्भिक कविता सरल र सहज थियो तर इन्द्रबहादुर राईको संगतले उनलाई आयामिक बनायो, विद्रोही बनायो । “मातेको मान्छेको भाषण मध्यरात पछि सडकसित”- यो कविता यो युग कै उत्कृष्ट कविता हो म भन्छु शायद अरूले जस्तै तिमीले पनि भन्छौ होला ।
“मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब भइसकेको छु !
इन्जिनियरले सुनून् नेता, प्राध्यापक र कविहरूले सुनून्
इतिहासको प्रत्येक आन्दोलनले सुनोस्
यसर्थ, पोस्ट अफिसको पेटीबाटम वक्तव्य प्रसारित गर्दछु
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिंड्दै छ,
म अटाइनँ तिम्रो फैलावटमा यसर्थ, म हुकुम गर्दछु…
अझै तिमीहरू फाटिदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ…
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलाठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यात्तिदेऊ….फाट्टीदेउ….
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिंड्न पाउनुपर्छ ।”
स्कूल पढ्दा यो कविता धेरै पल्ट आवृत्ति गरें एक्लै । अझै पनि धित मरेको छैन सिमोन ! टीबीग्रस्त तिलविक्रम नेम्वाङ तेस्रो आयामले वैरागी काइँला बनाए । प्रेमको कविता लेख्ने तिलविक्रम संसारलाई हाक दिने कविता लेख्न थाले । सिमोन तिमी पनि अब प्रेमको कविता र कथा लेख्न छाडिदेऊ । जीवनको कथा लेख, संघर्षको कथा लेख, यौनको कथा लेख ।
हाम्रो कथा सि.के. श्रेष्ठ दाजुले “तृष्णा” सिनेमा लेखेको गीत जस्तै हो : “यो कथा हो तृष्णा मेरो मुटुको पानाभरी-भरी लेखेको सम्झाउँदै छु तिमीलाई यो कथा हो तृष्णा मेरो !”
सि.के. दाजु प्रखर वक्ता, अब्बल नाटककार र लोकप्रिय गीतकार पनि हुन् सिमोन ! उनले भद्रेको टोली नामक नाट्य समूह मार्फत कविता मञ्चन गर्थे जसलाई अहिले हामी परफर्मि पोयट्री भन्छौं । निकै अद्भुत थियो उनको कविता पढ्ने शैली । शायद तिमीले पनि देखेको हुनपर्छ उनलाई कुनै समय कुनै ठाउँ ।
समय चक्रमा हामीले मान्छे भेट्दै जान्छौं अनि बिस्तारै बिर्सिंदै जान्छौं । अरूणा लामाको स्वरमा गोपाल योञ्जनको शब्द र संगीतमा लाइभ सुनेको गीत हिजै सुनेको जस्तो लाग्छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा विं.स.२०५१ मा अरूणा लामा एकल साँझमा यो अन्तिम गीत थियो ।
“भेट्नु छुट्नु त के हो र
संसारको रीत हो
नसम्झ तिमी यो मेरो
बिदाको गीत हो
नदिनु साथ कसैको जब अन्तै छ मन भने
नबाँड्नु खोक्रो कामना पापी छ मन भने
मेरो चोखो प्रेम कमाउनु नै त्यो तिम्रो जीत हो
लाग्दैन खुशी त के भयो म रुन्छु बेस्सरी
सम्पूर्ण आफू आफू मै म हुन्छु त्यस घडी
मेरो लागि यस्ता आँसु नै जीवन अमृत हो
नसम्झ तिमी यो मेरो
बिदाको गीत हो ।”
अरूणा र गोपालको सांगीतिक यात्रा सन् साठीको दशकको शुरूमा दार्जिलिङबाट भयो । गोपालले सन् १९९७ जो मे महिनामा संसारबाट बिदा लिए दिल्लीमा अनि अरूणाले सन् १९९८ को फरवरी महिनामा काठमाडौंमा यो धरतीबाट बिदा भए । संयोगले भनौं यी दुवैसँग भलाकुसारी गर्ने मौका मैले पाएको थिएँ । तर तिम्रो पुस्ताले उनीहरूलाई सम्झनामा मात्र पाउनेछौ ।
तिम्रो प्रिय सार्त्र
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।