प्रेमको अभिव्यक्ति असीमित हुन्छ । प्रेम स्मित मुस्कान र सुन्दर शब्दको संयोजन हो । प्रेमिका प्रेमको स्त्री लिङ्गी स्वरूप हो । प्रेमको स्वरूप आफ्ना भावना, विचार र अनुभव समेटिएका शब्दमा सजिन्छ । सुन्दर मिठा शब्द प्रेमको गहिराइ प्रदर्शन गर्ने कडी हुन् ।

शब्दमा जादु हुन्छ । शब्द हृदयलाई छुने, मस्तिष्कलाई प्रेरित गर्ने र आत्मालाई शान्ति दिने शक्तिशाली माध्यम हुन् । प्रेमीका जादूगर शब्दले प्रमिकाको मर्म पग्लिन्छ, गहिरिन्छ । चुम्बकीय शब्द भावनात्मक सम्प्रेषण र मर्मस्पर्शी सम्बन्धका सेतु हुन् । प्रेमपत्र, कविता, निबन्ध र संवादको माध्यमबाट अभिव्यक्त भावमा प्रेमिकाले प्रेमीप्रति समर्पण देखाउँछिन् । शब्दमा सजीवता, संवेदनशीलता र आत्मीयता हुन्छ, जसले प्रेमिकाको मनलाई गहिरो रूपमा छुन्छ । प्रेमिका शब्दमा रमाउँछन्, सामीप्यमा खुल्छन् र भावनामा समर्पित हुन्छन् । लाग्ला के शब्दमा प्रेमी रमाउन सक्दैनन् ? सक्छन् तर परम्परादेखि नै प्रेमिकाको वर्णन गरिएको छ र प्रेम सम्बन्धमा प्रेमिकाको नै मूल्य बढी छ ।

प्रेममा पत्र लेख्ने कला पुरानो हो । पहिले प्रेमपत्र प्रेमको अभिव्यक्तिको प्रमुख माध्यम थिए । किंवदन्ती र कथामा प्रेमी र प्रमिकाबीच प्रेमपत्रलाई रूपमा वर्णन गरेको पाइन्छ । अहिले पनि प्रेमपत्र लेख्ने कलामा प्रेमिका रमाउँछन् । प्रेमीका सुन्दर प्रेमपत्रलाई शब्द शब्दमा बुझेर प्रेमिकाल स्वीकार वा अस्वीकार गर्छन् ।  प्रेमपत्र लेख्दा प्रकट हुने भावना, अनुभव र विचार शब्दकै परिणति हुन् । शब्दले प्रेमको गहिराइलाई स्पष्ट पार्छ र  विशेष आनन्द महसुस गराउँछ । यसमा चखेवाको मिलन भरेर प्रेमिका रमाउँछन् ।

दुःख पर्दा प्रेमीका वचनले प्रेमिका रमाउँछन् । काम गर्दा तिमीमा सामर्थ्य छ भन्ने प्रशंसाले रमाउँछन् ।  म सहयोग गरौं भन्ने सामान्य सहानुभूति प्रेमिकाका लागि प्रेरणा हुन्छ । सम्बन्ध सुधार्ने र विश्वास बढाउने आधार हो ।  गालीका ठाउँमा माया, घृणाका ठाउँमा हार्दिकता र शङ्काका ठाउँमा विश्वासले प्रेमिकाको मस्तिष्कमा ऊर्जा र सक्रियता भर्छ । प्रेमिकाले प्रेमीका हरेक इच्छा र चाहनामा साथ दिन्छन्, केवल उनलाई ऊर्जाशील शब्द भए पुग्छ । कामको प्रशंसा, आत्मीय सम्मान र  विश्वासिलो सम्बन्ध सङ्केत गर्ने थोरै शब्दमा प्रेमिका रमाउँछन् । शब्दमा रमाएर उत्साही बन्नु र विश्वासलाई जीवनको सारथि ठान्नु शब्द र प्रेमिकाको अन्तरसम्बन्ध हो ।

कविता, गजल र गीत शब्दमा रमाउने प्रेमिकाका मन पर्ने क्षेत्र हुन् । प्रेमिकाले गीत गजलमा आफ्ना भावना र प्रेमलाई सम्बोधन गरेको पाउँछन् । गजलका अनेकौं शेर त प्रेममै केन्द्रित हुन्छन् । गजलका शेरले प्रेमिकालाई खुसी पार्न चाहन्छन्, प्रेमको बखान गर्छन्  । कविता र गजलमा भावना, लय र सङ्गीतको तालमेल हुन्छ । यसले खुसीको चरमोत्कर्ष बढाउँछ । कवि र गीतकारले प्रेमिकाको वर्णन गरेर सिर्जनाको उचाइ थप्छन् । कविका शब्द पढेर र गीत सुनेर प्रेमिकाले आफूलाई कवितुल्य ठान्छन् । शब्दका भावमा डुबेर जीवनका अनेकौं पक्षको कल्पना गर्छन् । शब्दको सौन्दर्य बुझेर  प्रेमिकाले समेत प्रेमीमा रोमाञ्च र आत्मीयता सुम्पन्छन् । आपसमा मन्त्रमुग्ध बनाउने यस आकर्षणले प्रेमको नयाँ संसार सिर्जना गर्छ । प्रेमिकालाई शब्द सुम्पेर प्रेमी र कवि दुवै मक्ख पर्छन् । प्रेमी  संवादमा शब्द भर्छ, कवि सिर्जनामा भाव भर्छ । दुवैको काम शब्दको सामर्थ्य बढाउनु हो । सामर्थ्य भएरै विशेष अवसरमा दिइएका शब्दको उपहार प्रेमिकाले हृदयकेन्द्रमा सजाउँछन् ।

संवाद र सञ्चारमा प्रयोग हुने शब्द सम्बन्ध विस्तारका आधार हुन् ।  शब्दमा रमाउने प्रेमिकाले संवाद र सञ्चारको गुह्य बुझेको हुन्छ । ती शब्दमा हाँस्छन्, शब्दैमा रमाउँछन् । एक सुन्दर शब्दले अनुहारको नैराश्य हराउँछ । एक नरम शब्दले शरीरको आलस्य हटाउँछ । शब्द सामर्थ्यकै कारण उनी खुलेर कुरा गर्छिन् र आफ्ना भावना र विचारलाई स्पष्ट रूपमा व्यक्त गर्छिन् । उनका संवादमा स्पष्टता र सजीवता हुन्छ । उनले प्रेमीलाई पनि खुलेर कुरा गर्न प्रेरित गर्छिन् । यसले सम्बन्धमा समझदारी र विश्वासको वातावरण सिर्जना गर्छ । खुलेर कुरा गर्न सक्नु र आपसमा स्पष्ट हुनु शब्द सञ्चारको सामर्थ्य हो । सञ्चारको सजीवतालाई महत्त्व दिने प्रेमिकाले प्रेमको परिभाषा बुझेको हुन्छ । शब्दको भाव बुझ्ने प्रेमिकाले प्रेमीलाई पनि प्रेमको अर्थ बुझाउन सक्छन् । शब्द प्रेमको अर्थ बुझाउने शक्ति हो । शब्दकै कारण वैमनस्य जन्मन्छ । शब्दकै कारण प्रेमले अमरता प्राप्त गर्छ ।

पुस्तक र साहित्य प्रेमको स्वाध्याय हो । शब्दमा रमाउने प्रेमिका पुस्तक र साहित्यका प्रेमी हुन्छन् । यस्ता प्रेमिका  विभिन्न विधाका पुस्तक पढ्न मन पराउँछन् । साहित्यिक कृतिमा डुब्न रुचाउँछन् । साहित्यिक ज्ञान र समझदारीले उनको व्यक्तित्वलाई सजीव र गहिरो बनाउँछन् । प्रेमीसँग पुस्तक, लेखक र कृतिका बारेमा चर्चा गर्छन् । यसले सम्बन्धमा नयाँ आयाम थप्छ । साहित्यप्रेमी भएकाले उनीहरूको संवादमा पनि गहिराइ र व्यापकता हुन्छ ।

प्रेम सिर्जना हो । प्रेमी प्रेमिकाले एकअर्का बीच सञ्चारमा प्रयोग गर्ने शब्द साहित्य सिर्जनाका आधार हुन्छन् । प्रेमको सञ्चारमा प्रयोग हुने शब्दले उच्च साहित्यिक स्वरूप बोकेका हुन्छन् । सिर्जनात्मक लेखनमा डुब्नु शब्दमा रमाउने प्रेमिकाको अर्को विशेषता हो । शब्दमा रमाउन सक्नेले  कथा, निबन्ध र लेख लेख्न रुचाउँछन् । प्रेमिकाका  सिर्जनात्मक लेखनमा जीवनका विभिन्न पक्ष उजागर हुन्छन् ।  प्रेम, जीवन र सम्बन्धको गहिराइका लागि ती आम सिकाइ पनि हुन्छन् ।  सिर्जनात्मक लेखनको माध्यमबाट भावना र विचार प्रकट गर्दा मुनामदन, शाकुन्तलका  रूपमा भावना र संवेदनशीलता प्रगाढ हुन्छन् । शब्दको यही संवेदनामा प्रेमिका रमाउँछन् ।

प्रेरक शब्दले जीवनलाई प्रेरित र उत्साहित बनाउँछन् । प्रेमीका प्रेरक शब्दले प्रेमिकामा आत्मविश्वास बढाउँछ ।  प्रेरक शब्दले प्रेमीलाई नयाँ लक्ष्य हासिल गर्न प्रेरित गर्छन् र सम्बन्धलाई नयाँ उचाइ, प्रेरणा र ऊर्जा दिन्छन् । प्रेमीका हरेक प्रेरक शब्दमा प्रेमिका रमाउँछन् ।

शब्द पीडाको उपचार र खुशीको आधार हो । प्रेमी र प्रेमिकाले शब्दको माध्यमबाट आपसी उपचार गर्छन् । प्रेमिकाले प्रेमीको पीडा, दुःख र तनावलाई शब्दको माध्यमबाट कम गर्न सक्छिन् । उनका शब्दमा आशा, शान्ति र समझदारी हुन्छ । यसले प्रेमीलाई कठिन समयमा सान्त्वना दिन्छ । शब्दको मर्म बुझ्ने प्रेमिकाले प्रेमीलाई आफ्नो समस्या र भावना व्यक्त गर्न प्रेरित गर्छिन् । शब्दले प्रेमका घाउलाई  उपचार गर्छन् र सम्बन्धलाई सजीव बनाउँछन् । दुःखमा सहानुभूति र सुखमा रमाउने शब्द प्रेमले प्रेमिकालाई दिने सुन्दर उपहार हुन् । यस्ता उपहारमा प्रेमिका सधैँ रमाउँछन् ।

शब्दमा रमाउने प्रेमिकाले शब्दशक्तिलाई बुझ्छन् । प्रेमिकाका शब्द प्रेमीका लागि प्रोत्साहन, समर्थन, आत्मीयता, संवेदनशीलता र सजीवता हुन् । शब्दको प्रभाव र  प्रयोगले मानिसको जीवन परिवर्तन गर्छ । शब्दबाटै भावना, विचार र धारणा बन्छ । सही शब्दको चयनले सञ्चारलाई प्रभावकारी बनाउँछ । सकारात्मक शब्दले मानिसलाई प्रेरित र उत्साहित बनाउन सक्छ । तिमी यो गर्न सक्छौ भन्ने शब्दले प्रेमिकामा आत्मविश्वास बढाउँछ ।

शब्दले सामाजिक परिवर्तन, न्याय, समानता र मानव अधिकारको आवाज बोकेको हुन्छ । प्रेमका सम्बन्धमा प्रयोग हुने शब्दले पनि यस्ता कुरा समेटेको हुन्छ । शब्दले गहिरो भावनात्मक प्रभाव पार्छ । सुखद समाचार, प्रेमको अभिव्यक्ति वा प्रशंसा गर्ने शब्दले मानिसको मनोविज्ञानमा परिवर्तन गरिदिन्छ । शब्दमा मन परिवर्तन गर्ने शक्ति हुन्छ । प्रेमीका  असल सोचयुक्त शब्दले प्रेमिकाको मन पगाल्न सक्छ । परिवार, समाज, व्यवस्था र व्यवहारको बोध गराउन सक्छ ।

प्रेम सिर्जना हो । शब्दमा रमाउने प्रेमिका सर्जक हुन् । म सर्जक बन्न चाहन्छु ।