भोलि औंशीको पहाडजस्तै हो, भए पनि नदेखिने । भोलि नबग्ने खोलाको पानीजस्तै हो नबहकिने । भोलिलाई नदेख्ने भएकै कारण मानिसहरू लड्छन् र उठ्न सिक्छन् । गल्ती गर्छन् र सच्याउन सिक्छन् ।

….

भोलि कसैले देख्न सक्दैन । भोलिजस्तो अँध्यारो आजसम्म अरु केही बन्नसकेको छैन । अनिश्चित हुन्छ भोलि सधैं । हिजोको धर्मले र आजको विज्ञानले पनि भोलिलाई भोलिकै रूपमा छोडिदिएको छ । कसैको वश चल्दैन भोलिसँग । भोलिलाई आज बनाउनसकेको भए जीवन सजिलो बन्थ्यो होला कि झन् जटिल ? उत्तर नदिने हिसाबको सूत्रजस्तो हो यो प्रश्न । भोलि नदेखिंदा त मान्छेहरू महाभोलिसम्मका लागि शक्ति, सम्पतिको सन्चय गर्छन् भने साँच्चिकै भोलि देखिन थाल्ने हो भने मानिसका दुःख कति बढ्लान् ?

सुख भनेको आजै हो र दुःख भनेको भोलि नै हो । भोलिका लागि सुखको सपना देखेर आज बिगार्नेहरू नै हुन बिग्रिरहेका । त्यसै पनि  मानिसहरू चुक घोप्टाएजस्तो अँध्यारोका लागि औंसीको रातलाई उदाहरण बनाउने गर्छन् र भोलिलाई बिर्सन्छन् । तर भोलिजस्तो देख्न नसकिने अन्धकार र अन्धो अरु केही हुँदैन ।

हिजो र आजलाई जोड, घटाउ र गुणा गरेर भोलिलाई अनुमान गर्नेहरू ज्योतिषी कहलाइन्छन्–भविष्यवेत्ता । परम्परागत विश्वास मात्र हो हाम्रो । भोलि चिन्ने, देख्ने मान्छे मान्छेकै कोटिमा पर्दैनन् भन्ने मत राख्छु म त । मान्छेको मात्र के कुरा दैवले पनि हार स्वीकारेको छ यो विषयमा ।

भनिएकै छ – स्त्रीया चरित्र पुरुषष्य भाग्यम् दैवोनजानाति कुतो मनुष्य । लोग्नेमान्छेको भाग्य र महिलाको चरित्र जान्दिन भन्छ दैव स्वयम् । अलिकति यथार्थ, अलिकति वर्तमानमा आँखा बन्द नगर्ने हो भने स्वतः सिद्ध हुन्छ भोलि कसैको बुता नचल्ने विषय हो भन्ने । अन्यथा संसारमा कुन त्यस्ता मान्छे होलान् जसले फल दिंदैन भन्ने जानेर पनि बृक्षरोपण गर्ने गर्छन् ? यो सृष्टि र समाज भोलिको मीठो आशामा आफूलाई र आ–आफ्नालाई खियाइरहेका छन् ।

ज्ञान भएकै कुरा हो, वैज्ञानिकहरू भोलिको प्राप्तिका लागि वर्षौंवर्षसम्म अनुसन्धानरत हुन्छन् । मानिसहरू आ–आफ्ना लक्ष्य प्राप्तार्थ रात दिन खुसी छोपेर मेसिन बनिरहेका छन् । बाबुआमाहरू सन्ततिको फक्रेको मुहार हेर्नका लागि आफ्नै लिलाम गरिरहेका छन् । सुकेर सिद्रा बनिरहँदा पनि अरुकासामु मुस्काइरहनुपर्ने वाध्यता बनेको छ वर्तमान । यी कुखुरी काँ मात्र हुन् उदाहरणका ।

यदि भोलि देखिने भए, असफल हुने थाहा भए वा मृत्युको पूर्वज्ञान हुने भए वैज्ञानिकहरूले किमार्थ अनुसन्धान गर्ने थिएनन् । छोराछोरीको नाममा दिनरात खिएर लाग्ने बाबुआमाहरू मरिहत्ते गर्ने थिएनन् । सायद यिनै कारणहरू भोलिलाई अन्धकारभित्र थुनेर सबैलाई आशावादी तुल्याउन दैवले पनि हार स्वीकारेका हुन् कि ?

त्यसैले भनिन्छ, परहित कार्य गर्दा र सिक्ने काम गर्दा असफल भइन्छ वा मरिन्छ भनेर कहिले नसम्झनु र परपीडामा लाग्दा वा निस्कृय हुँदा एक दिन मर्नुपर्छ, त्यो क्षण जहिले पनि हुनसक्छ भनेर सम्झिनु । मान्छे भएर जन्मुको अर्थ मृत्युसाथ रहनु हो अर्थात् जन्म र मृत्यु एकाकार हुन्छन् । तसर्थ जन्मले मानिस भइसकेपछि अरुलाई दिएको कहिले नसम्झनु र लिएको कहिले नबिर्सनु भन्ने पनि हाम्रो आदर्श  पनि र संस्कृति पनि हो । तर अहिले समयले आदर्शलाई  प्रदर्शनात्मक र संस्कृतिलाई  विकृति बनाउने होडको रूपमा नै अगाडि बढ्दै गएको छ । छातीमा हात राखेर एकक्षण विचारेर हेरौं त । तपार्इं भने पनि हामी भने पनि एउटै ड्याङका त हौं नि ।

हामीजस्ता मान्छे भएर जन्मेर मान्छे नै भएर मर्ने मान्छेका के कुरा गर्नु ? युधिष्ठिरले नाङ्गिने थाहा पाएका भए किन पासा थाप्थे होला र द्रोपदीलाई । नाक काटिने जानेका भए शुपर्नखाले किन हत्ते हाल्थिन  लक्ष्मणसँग । हार्ने युद्ध कसैले लड्देै लड्ने थिएनन् । प्रतियोगिता हुने नै थिएनन् । दुर्घटना हुने थिएन । रोगी हुनुपर्ने नै थिएन । बेइमानी र धोका हुने थिएन ।

यद्धपि क्षमा चाहन्छु म । महामानव गौतम बुद्धले बुद्धत्व नै प्राप्त गर्नु थियो भने किन विवाह बन्धनमा परे वा पर्न स्वीकारे ? किन  यशोधरालाई गर्भिणी बनाए । आफ्नो जन्मदाता र थलो त्यागेर सर्वस्व स्वीकार्न आएकी विचरीलाई किन पतिपीडा दिइयो ? बैंसमा मच्चिंदै गरेकी श्रीमती र दूधेबालकलाई त्याग्नु भनेको भोलि नदेखेर नै हो । भोलिको अन्धकार जुनजस्तै उज्यालिने भए कसैले पनि स्वपीडा र परपीडा दिनपर्ने थिएन, यो विषय नै यस्तै छ । मान्छे, महामान्छे र दैवको समेत केही नलाग्ने ।

शताब्दी अगाडिका बासी कुरा हुन यी । वर्तमानमा त झन् कोटिकोटि उदाहरण छन् । टेलिभिजनमा देखिएका, अखबारमा छापिएका सबै हेर्न र पढ्न सम्भव हुँदैनन् । वर्षौंअघिको समाचार हो– मुलुकलाई हाँक्न सम्पूर्ण जनताले विश्वास गरी पठाएका दक्षिण कोरियाका राष्ट्रपति द्वयले राष्ट्र र जनतालाई हुनसम्म हानी पुर्याएर आफ्नो हित गरेकोमा मृत्युदण्ड–आजीवन कालकोठरीको भुक्तमान गर्नुपरेका थिए । कति छन् कति यस्ता भोलि नदेखिएकै कारण सिद्धिएकाहरू । कानून बिर्सनेहरू, अपराध बिर्सनेहरू, हतकडी बिर्सनेहरू, अदालत र सजाय बिर्सनेहरू सबैसबै भोलि देखिदैंन भनेर आँखा बन्द गर्नेहरू हु्न् । मर्न सबैले पर्छ भनेर बिर्सिएकाहरू, भोलिलाई वेवास्ता गरेकाहरू, सूर्यलाई हत्केलाले छोपें भनेर निदाएकाहरू नै त हुन् नि  आजका दुर्दिन भोगिरहेकाहरू ।

भविष्य अत्यन्त डरलाग्दो हुन्छ । पत्ता लागिनसकेको ठाउँमा हरेक कुराको सम्भावना भएजस्तै । भविष्यको गर्भमा असम्भावनाको लेस पनि हुँदैन । भोलिको अन्धकारभित्र अटाउनसक्ने जति सम्भावनाहरू अन्यत्र कहीँ हुनै सक्दैन । यस दृष्टिले पूर्वजहरू दूरद्रष्टा थिए कि  । उनीहरू भोलिलाई विश्वास गर्दैन थिए । रात रहे अग्राख पलाउँछ भन्दथे, पलाउने विश्वास गर्दथे । तसर्थ घर छोडी तीर्थयात्रामा जाँदा पनि हरहिसाब बुझाएर, ढुकुटीको साँचो जिम्मा लगाउने गर्दथे । घर र परिवारको मायालाई तिलान्जली दिएर जान्थे । मान्यता नै बनिसकेको थियो त्यतिबेला ।

दूरदृष्टिको हिसाबले उचित नै भए पनि मनलाई अलिकति गुणन गर्ने हो भने ठीक नै भन्न पनि सकिंदैन । प्राणरहित र प्राणसहितका सम्पूर्ण पृथ्वीसमेत भोलिको उज्यालो आशाको खोजीमा घुमिरहेको छ भने पूर्वजहरू हिजो र आजमा मात्र किन बाँधिएर बस्न चाहेका होलान् ? भोलिलाई उपेक्षा गरेर आजको मात्र हौदामा चढिरहने हो भने सम्पूर्ण सिर्जनाहरू ठप्प हुने थिए । विकास र नवीन प्रयोग कहिले कुनै विषयमा हुने थिएनन् । त्यसैले अहिले जति नै ठूलो आवाजमा माइक बनेर गर्जिन सकिन्छ – भोलिलाई विश्वास नगर्ने हो भने बीउहरू जोगाएर नराखे हुन्छ । कुलोले खेत नसिंचे हन्छ । औषधी नखाए हुन्छ । अस्पताल नधाए हुन्छ । आमाका स्तनहरू नबगाए हुन्छ । स्कुल, कलेज गएर दिमाख नखियाए हुन्छ । परिश्रम गरेर हातका रेखाहरू नमेटे हुन्छ । पसिना नबगाएर हुन्छ । वीर्यलाई प्रयोग नगरे हुन्छ ।

समयलाई ढाल बनाउनुजस्तो सरल काम अरु केही हुँदैन । अरुका के कुरा ? म मै हुँ देखिएझैं , चिनिए झैं । हो पनि, तर सधैं आफै आफ्नो नियन्त्रणमा नहुन पनि सकिन्छ नि । डोरीले जस्तो फुत्कनै नसक्ने गरी टनटनी बाँध्न सकिन्न । आफैलाई विश्वास नलाग्ने गरी इन्द्रेणी लाग्छ मनाकाशमा । न लखेटेर धपाउन सकिन्छ । न टिपेक्सले जस्तै मेटाउन सकिन्छ ।

लाग्छ कहिलेकहीं म भनेको ममात्रै होइन । मभित्र पनि निर्णय गर्ने र नियन्त्रण गर्ने अर्को अटेको छ । त्यसैले समयलाई नै दोष दिने गर्छु म प्रायः । समयले मलाई धेरै शङ्कालु बनाएको छ । ठाउँ भएसम्म शङ्काका छोरानातिहरू जन्माएर अनुहार हेर्ने गर्छु । सम्भावना जानसक्ने ठाउँसम्म बाटो बनाएर हिंडाउने गर्छु ।

सम्भावनाको ढोकामा भोटेताल्चा मारेर चैनले थकाई मार्न सक्दिनँ । अक्षरमाथि टिपेक्स पोतेर अपारदर्शी पर्दा बन्ने चाहना गर्दिनँ म र गर्दिनँ नाकै ठोकिने गरी ऐनामा हेरेर नराम्राहरू मात्र केलाउन । टाढाबाट सुन्दर देखिएका वस्तुसँग निकट भएर खोट लगाउन पनि खोज्दिनँ म । हुनत यो यात्रा नै भ्रम हो र पनि आनन्द लाग्छ मलाई यसैमा । सकेसम्म जीवनभरि अस्पष्ट यात्रा गर्ने चाहना छ मेरो । कुहिराले राज गरेको बिहानसँग खेलिरहने मन छ मेरो ।

रजस्वलाले नारीलाई र बाढीले खोलालाई पवित्र बनाउँछन् भन्ने व्याख्या जति नै धार्नीका भए पनि अमिल्दा लाग्छन् मलाई । सानी केटी र साना खोलाहरू कहिले पनि अपवित्र हुँदैनन् । शिशु अवस्थामा नै कोही पनि कलङ्कित हुँदैनन् । हाम्रो गोत्र पनि एकै होइन । त्यही भएर मलाई खोलाको विषयमा खासै प्रतिवाद गर्नु छैन । तर बालिकालाई गरिएको अपमान स्वीकार्नु मभित्रको मान्छेले पटक्कै मान्दैन । धर्म शास्त्रले पनि बालबालिका अवोध मान्छन्, उनीहरूमा ईश्वरको बास भएको मान्छ । बच्चाहरू कहिल्यै झूठा हुँदैनन् । बच्चा स्वतः पवित्रको नाम हो । त्यही कारण रजस्वलापूर्वकी छोरीहरू कुमारीका रूपमा पुजिन्छन् । जिउँदो देवी कुमारीलाई रजस्वला पूर्वसम्म राखिने पनि संस्कृति नै छ । तसर्थ रजस्वला पश्चात् पवित्र हुन्छ भन्नु हरेकको हनन हो ।

भोलिको विश्वास अविश्वासको बाटोमा हिंडेर थकाई नै पो मारियो अन्यत्रै । विषयान्तरले बात लाग्ने कुनै कानुन भएजस्तो लाग्दैन आजसम्म । मान्यताहरू स्वादिला नभए पनि पिउनुपर्छ कहिलेकाहीं महादेवले हलाहल बिख पिएझैं । यस्तै उकाली ओरालीले नै त हो नि जीवनलाई पीङले मज्जाले मच्चाउने । नत्र आकाशको जस्तो एकनासे जीवनको के स्वाद हुन्छ  र ? मौकाले आउने इन्द्रेणीको के कुरा ? कुरेर नसकिने चट्याङका झिल्काको पनि के कुरा ?

यतिखेर म मित्र रुद्र थापाजीलाई सम्झिरहेको छु, । उहाँ आपूmले भोलि देखेको दावा गर्नुहुन्छ । उहाँ भन्नहुन्छ– हिजो र आजलाई तराजुमा जोखेपछि भोलिको तौल अनुमान गर्न सकिहालिन्छ नि । तपाई किन बुझ्नुहुन्न । हेर्नुस् न –‘ए’ बराबर ‘बी’ र ‘बी’ बराबर ‘सी’ हुन्छ भने ‘ए’ बराबर पनि ‘सि’ नै हुन्छ । भोलिलाई देखेको कारण उहाँले आफ्नो १० वर्षे छोरालाई कराँते सिक्न पठाउनुभएको रे, स्वस्थ, बलियो र आत्मरक्षाको निम्ति । उहाँ भन्नुहुन्छ ‘के गर्ने भोलिका दिनहरूमा यत्ति नभए बाँच्न पनि गाह्रो हुन्छ त्यसलाई । हेर्नुस् जसरी बोल्न नसक्ने मान्छे जतिसुकै विद्वान् भए पनि प्रमाणित हुन सक्दैनन् त्यसरी नै जुडो कराँते नजान्ने मान्छेहरू डक्टर, इन्जिनियर, नेता जे बने पनि बिक्न र टिकिरहन सक्दैनन् ।’ उहाँको कुरा सुनेपछि ऐनाको घरमा ढुङ्गा लागेजस्तै भएको छ मेरो मस्तिष्क । भएर पनि भोलिलाई पृथक किसिमले हेर्न सकेको छैन मैले ।

टोलमा एकजना छिमेकी दाइ हुनुहुन्थ्यो । एस.एल.सी. दिंदाताका उहाँले पढाइमा सघाइदिनुभएको थियो पैतीस सालतिर । साह्रै सोझा दाइ, पेशाले इन्जिनियर हुनुहुन्थ्यो । आँखामा राखे पनि नबझिाउने तर उहाँको बानी भनें आँखा झिम्काइरहने थियो । उहाँ कार्यालय जान सधँै पुल्चोकमा गएर बस कुर्ने गर्नुहुन्थ्यो । त्यही समयमा एउटी युवती पनि बस कुर्ने गर्दिथन् । युवतीले सधैं आफूलाई आँखा झिम्क्याएर जिस्काएको ठानी एकदिन हिम्मत गरेर गालामा चड्कन हानिछन् । सुधो दाइले कुनै प्रतिकार गरेनन् । उल्टै शिष्टतापूर्वक आफ्नो बानी भएकोले माफी मागेछन् । युवती पानीपानी भएर क्षमा मागिन । त्यसपछिका दिन मित्रताका दिन बने । त्यही दिनको परिचय समयझैं बढ्दै गएर एकापसमा जीवनसाथी नै बन्न पुगे । यो घटना जति रमणीय छ त्यति नै मार्मिक पनि छ । भन्नखोजेको के हुँ भने यदि युवतीले भोलिलाई देखेकी भए भोलि हुने आफ्नै श्रीमान्लाई किन बेइज्जतीकासाथ गाला चड्काउँथिन् र  ?

भविष्य जान्ने भए एउटै पुतलीले पनि बत्तीमा झ्याम्मिएर डढ्नुपर्ने थिएन । भोलिको दिनलाई आत्मसात् गर्नसक्ने भए एउटै पनि कुमारी आमाहरूले गर्भ तुहाउनुपर्ने थिएन । प्रष्ट छ घामझैं उज्यालो छ, भोलिले सबैलाई कुरेको हुन्छ र कसैलाई कुरेको हुँदैन पनि । समय र नदीजस्तै फर्केर हेर्न पनि जान्दैन भोलिले । सतर्कको शङ्खघोष गराए पनि सान्त्वना दिन पटक्कै जान्दैन । प्रतीक्षा गरिदिन्छ तर परिचय गर्न जान्दैन भोलिले ।

भोलि औंशीको पहाडजस्तै हो, भए पनि नदेखिने । भोलि नबग्ने खोलाको पानीजस्तै हो नबहकिने । भोलिलाई नदेख्ने भएकै कारण मानिसहरू लड्छन् र उठ्न सिक्छन् । गल्ती गर्छन् र सच्याउन सिक्छन् । रुन्छन् र हाँस्न सिक्छन् । दुःखी हुन्छन् र सुखका गोरेटो खोज्छन् । घाउ लाग्दा मलम लगाउँछन् । यदि भोलि नदेखिने भएको भए लड्नेहरूले कहिल्यै उठ्न खोज्ने थिएनन् । रुनेहरू हाँस्ने थिएनन् । जे भने पनि जसो भने पनि कुरो भोलिकै हो । भोलि देखिंदैन भन्ने मात्र हो । नदेख्ने भोलिलाई जे गरे पनि देखाउन सकिंदैन । नदेख्ने भोलिलाई आजैबाट हेर्न खोजौं । भोलिलाई भोलिकै रूपमा देख्ने आजसम्म कोही छँदै छैनन्, होइन र ?