प्रिय उपन्यासकार !

मेरो भाग्यले दिएको संसारमा तिमी छैनौ । तिमी मसँग हुन सक्दैनौ अब । तिमी मेरो र म तिम्रो तब मात्र हुन सक्छौं जब हामी दुई एक अर्कालाई बिर्सन्छौं । र, सधैँका लागि बिर्सिरहन्छौं ।

बिर्सनु-सम्झनु भन्नु मेरो लागि एक मुर्दाको बिपना भयो प्रिय । उदास मृत्युले भरिएको बिपना जो लाग्छ म आफैसँग छ । तर त्यो बिपना मेरो अस्तित्वबाट उहिल्यै बिलाएर गइसक्यो । त्यो बिपना ममा आउन सक्दैन अब । जब आउँछ ऊ आफै बगेर गइसकेको हुन्छ ।

यो घना उज्यालो र अँध्यारोको दोसाँधबाट म आफूलाई फुकाउन खोजिरहेको छु । तर सकिरहेको छैन । अरू कसैबाट यसको समाधान खोज्नु कतिको मनासिब हुन्छ । आफैलाई थाहा छैन ।

यो मेरो अस्तित्वले देखेको स्वैरकल्पना हो । तिमी मेरो बिपनामा फेरि हुन्छौ भन्नु पनि उस्तै भ्रम जस्तै कल्पना हो । त्यो भ्रमले म अहिले किन लेख्दै पाना भर्दै छु भन्न सक्दैन । तिम्रै प्रेमको लागि हुनुपर्छ भन्ने मेरो विश्वास ।

तर यो लेख मेरो उद्वेग मात्र हो कि ? प्रश्न छ मेरो ।

संसारबाट एक्लो भएर हरेस खाएको समय पो हो कि यो ? तिमी बिना निकै एक्लो छु म प्रिय । कुनै एक मानिसको अभावले कुनै एक मानिसलाई कतिको प्रभाव पार्दो रहेछ । म बुझिरहेको छु प्रिय तिम्रो अभाव ।

कहिले आफू हुनु मात्र पनि आफ्ना प्याराहरूको जीवनमा कतिको दूरगामी प्रभाव पार्छ । म बुझिरहेको छु प्रिय ।

आज तिम्रो साथ पाएको भए के के न गर्थें भन्ने सोच पनि हो कि ? पक्कै फरक हुने थिएँ म ।

यही प्रश्नले मलाई पुर्‍याउँछ तिमीले डोर्‍याएको बाटो । र, म कुनै सानो बच्चाले झैं तिमीले डोर्‍याएको बाटो लुरुलुरु हिंडिरहेको छु ।

कहिले पुग्छु तिमीले मलाई तनावमा लग्ने स्थान । प्रिय ती स्थान निकै एक्ला छन् आज । त्यहाँ म मात्र छु । तिमी मलाई अनेक बहाना बनाएर फकाउँथ्यौ प्यारा । आज म रिसाउन पनि सकिरहेको छैन ।

तर मलाई गर्व छ म त्यो बाटो हिंडिरहेको छु । गर्व छ, म छु । तिम्रो सपना दिन बाँचिरहेको छु । तिमीले रोपेको बिरुवाले फल दिएको दिन भोग्न बाँचिरहेको छु । कहिले ती साकार बन्ने हुन् ? यिनै आशामा आफ्ना बित्दै गरेका दिनहरूमा व्यस्त छु ।

तर यो पनि सत्य हो कि तिमीसँग टुहुरा बनेका दिनहरू फेरि आफ्नो अभिभावक खोज्न आउनेछैनन् ।

हेर यस्तो कोलाहलमय समयमा तिमीले मलाई एक्लै उभ्याएर गयौ प्रिय । मेरो प्रतीक्षा र तिम्रो भाग्य त्रिशूलीको पानीमा गोत लगाउँदैछन् । ती पानी खै आज कहाँ छन् । शायद आफ्नो अस्तित्व, सागरको पानीमा खोज्दैछन् । कुनै दिन फाउँदी खोलाको पानी भएर सानो ढुङ्गो पनि हल्लाउन नसक्ने पानी आज सागर नै मै हुँ झैं हुङ्कार देखाउँछ । सबैले मानिदिएका छन् । मैले पनि मानिदिएँ ।

ती पानी सबै बहेर गए प्रिय । समुद्र पनि आकाश भए । कतै बादल बनेर बहे । कतै बर्सिए । तर म भने चैं तिमीलाई उही फाउदीमा खोजिरहें ।

यी हेर त यी आजका बिपनाहरू पनि तिमीजस्तै भए । बहेर गएँ ।

तिमीसँग बिताएका पलहरू पनि उस्तै भए । बगेका तिमीजस्तै गए । तर म भने चैं तिमीलाई उही बर्सातको आकाशमा खोजिरहें ।

तिमी पानीमा हरायौ । जहाँ भए पनि पानी नै भयौ शायद । बिलाएका छौ हावा झैं । तिमी सधैं पानी नै हुनू ।

यस्तै सामान्य तिर्सना लिएकी तृष्णा हुँ म । कतै अस्तित्वको गर्भमा लुकेको कतै विशेष छौ तिमी ।

तिमी बढेका छौ । हाँगा हालेका छौ । अर्को नयाँ पालुवाहरूलाई घाम दिएका छौ । अनि आफू अन्त भएका छौ ।

विशेष त छौ या बन्दै छौ, थियौ । तिमी घामले बनाएको कालो अनुहारमा गोरो नाम लिएर बाचेका थियौ ।  तर जाँदाजाँदै पनि तिम्रा बिपनाहरू सजिएका छन् । तिमी फेरि जन्मेका छौ ममा । हाम्रो सन्तानमा । तिमीले दिएका सपनामा ।

तृष्णा