यसै ढल्केर मोबाइल चलाउँदै समय कटाइरहेको  थिएँ । हाते काँचको पर्दामा केही कुरा देखिन आयो । न आँखामा चमक भएको, न नाक कान घाँटी मिलेको, न छाला तथा हाडजोर्नी सकल्ती भएको, न मुटुको लय ठीक भएको, न नसा न्युरोन तगडा भएका, हेर्दै बिरामी बिरामी जस्तो, देख्दै बेकारी बेकारी जस्तो अनि रूपले त झनै बिरूप, मूर्त अमूर्तको बीचको जस्तो, पदार्थ र चेतनाको बीचको जस्तो, खै कस्तो कस्तो !

उक्त जिनिस मसँग गफ गर्ने मुडमा देखियो ।

मैले सोधेँ, ‘तिमी को हौ ?’

उसले विनीत भावमा जवाफ फर्कायो, ‘म बिम्बको भारले थिचिएको एक कविता हुँ ।’

‘कविता ? बिम्बको भारले थिचिएको कविता ?’

उसले भन्यो,  ‘म न यस्तो, न उस्तो, खै कस्तो कस्तो ! अन्तरे खालको कविता हुँ ।’

उसको जवाफले म हल्का हाँसिपठाएँ  र फेरि सोधेँ, ‘तिम्रो यो दुर्दशा कसरी हुन गयो ?’

उसले निन्याउरो अनुहार  लाएर भन्यो, ‘जब कविताका लागि बिम्ब नभएर बिम्बका लागि कविता हुन गयो तब मेरो यो गति भयो । मेरो शिरपोष देखि पाउठोस सम्म जब ठालु कविले बिम्बै बिम्ब ठोसिदिए । तब म थिचिएँ, ढाकिएँ, पुरिएँ र अन्ततोगत्वा यस्तो बिरुप भएँ ।’

उसको कुराले केही बेर म शून्य भएँ । उसको यो तिलस्मी कुरा ग्रहण गर्न र त्यसलाई चाल्न निफन्न मेरो दिमागले नाइँनास्ती गरेको हो कि जस्तो लाग्यो ।

मैले उसलाई फेरि एक पटक सर्सर्ती हेरेँ । हो, उसको  हालत निक्कै खराब छ । उसको यो बेढङ्गको कायाले त्यो कुरा पुष्टि पनि गरिरहेको छ ।  केही बेरको संवादहीनता पछि मैले नै चुप्पी तोडेँ, ‘के तिमी सविस्तार बताउन सक्छौ, तिमीले जे भन्न चाहिरहेको छौ ?’

उसले तुरुन्तै टाउको हल्लायो र हडबडाउँदै छिटोछिटो सास निल्दै बोल्न थाल्यो, ‘मलाई रच्ने कविको मगजमा म जन्मिंदा सिकाडाहरूको एउटा हुल बूढो पात्लेको रुखमा बसेको थियो । म हूलमा सबैभन्दा अन्तिम र कान्छो सिकाडा थिएँ जसले विरही गीत अरूहरूको गुन्जन भन्दा नितान्त भिन्न र सुरिलो गाउनु पर्ने थियो…’

उसको धाराप्रवाहलाई मैले बीचमै टक्क रोकेँ, ‘पख ! एकछिन पख ! यो सिकाडा भनेको चैं के हो नि फेरि ?’

उसले जवाफ दियो, ‘झ्याउँकिरी ।’

मैले झर्को मान्दै फेरि सोधेँ, ‘अनि झ्याउँकिरी नभनेर किन अंग्रेजी छाँट्छौ त ? सिधै झ्याउँकिरी भन न !’

ऊ थोरै बिच्किए झैँ गर्‍यो मतिर पुलुक्क हेर्यो र भन्यो, ‘मलाई एक जना कविले अंग्रेजीमा सोच्छन् । बाहिरै पढेका प्राध्यापक र पिएचडी पनि हुन् ऊनी । ऊनी अंग्रेजीमा सोचे पछि मात्रै नेपालीमा लेख्न सक्छन् । त्यसैले म मगजमा सिकाडा थिएँ, पछि लेखिंदा झ्याउँकिरी भएँ ।’

मैले मनमनै सोचेँ – अंग्रेजीमा सोचेर नेपालीमा लेख्दा लेखनको रस मर्दैन होला र ? त्यो अनुवाद जस्तो मात्रै हुन जान्छ र ? यसरी केही बेर सोचमा अल्झेपछि मैले आफ्नो दाहिने हात हावामा उचालेर उसलाई निरन्तरता दिन इशारा गरेँ ।

ऊ फेरि बोल्न थाल्यो, ‘अँ त म भन्दै थिएँ कि खासमा म एउटा झ्याउँकिरीको बारेको कविता थिएँ । जो आफ्नो समूहभन्दा अलग खालको आवाज निकालेर रुँदै थियो जसको रोदनमा अरूको भन्दा बेसी पीडा मिसिएको थियो । जसको भिन्नै खाले  हृदय भेदक रोदन नै कविताको मुख्य भाव हुने तयारी थियो । तर कविले लेख्दै जाँदा मैले नीलो आँसुको कालो कथाको सेतो बिहानीको निम्ति गीत गाएको भनेर लेखे । जसको लागि मेरो गलामा तीन गुणा गहिरो मरियाना ट्रेन्च रहेको कुरा पनि थप गरे । अनि  शुरूमै अलमलिएँ । यी कस्ता बिम्बहरू हुन् ? म जन्मिंदाको रूपरेखा र आशय त यस्तो थिएन ! अति सामान्य, बोधगम्य, सुन्दर र प्रस्ट थियो । यो के हुन थाल्यो ? म अत्तालिन  थालेँ । यो नीलो आँसु ? यो कालो कथा ? यो सेतो बिहानी ?  यो सब के हो ? के भइरहेको हो ? म गर्भधारण हुँदा त्यति सरल थिएँ भने अब जटिलता उन्मुख किन छु ? त्यसपछि मेरा प्रत्येक हरफहरूमा भारीका भारी बिम्बहरू लादिंदै गए । म भने झन्झन्  हराइँदै गएँ । त्यसपछि म यस्तो भएको हुँ ।’

छोटो विश्राम लिएर ऊ दुई पटक ख्वाक्क ख्वाक्क खोक्यो । त्यही मौका छोपेर मैले प्वाक्क सोधिहालेँ, ‘होइन, के तिमी कवितामा बिम्बको प्रयोग हुनुहुन्न भन्न खोज्दै छौ ?’

ऊ दिक्दार देखियो र यो कस्तो मनुखे र’छ कुरै बुझ्दैनको भावमा मलाई हेर्दै भन्यो, ‘त्यसो भन्न खोजेको होइन नि ! कविता त बिम्ब मै भनिनु पर्दछ । तर अत्यधिक बिम्बले गर्दा पाठक बिम्बमै भासिएर हराउँछ । तब कविता मर्छ । अति बिम्ब, अमिल्दो बिम्ब,  असुहाउँदो बिम्ब, अपाच्य बिम्ब, नून चर्को बिम्ब आदि इत्यादि थुप्रै बिम्ब रोगहरू छन्  । भयंकर लेख्छु भन्ने कविजीहरूले थुप्रै बिम्ब आतंक मच्चाएर राखेका छन् । कार्ल मार्क्सको गिदी भुटेर , लेनिनको जिब्रो उसिनेर, हिटलरको ओठ थुतेर खै क्के क्के लेख्छन् लेख्छन्  !’

उसलाई बीचैमा रोकेर सोधेँ,  ‘त्यसो भए असल कविताको निमित्त तिम्रो मन्त्र के हो त ? ‘

उसले भन्यो, ‘मन्त्र उहिल्यै स्वर्गीय पारसमणि प्रधानले दिइसक्नु भएको छ – कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ ।’

थप सोधेँ,  ‘उसो भए तिमी कस्तो कविता लेखियोस् भन्ने चाहन्छौ त ?’

उसको केही पनि नमिलेको शारीरिक आकृतिमा एक किसिमको चमक छायो । उत्साहले भरिएको ओजपूर्ण  आवाजमा तुरुन्तै  भूपीका यी पंक्तिहर उच्चारण गर्दै ऊ हावामा कतै विलीन भयो  । म भने अचम्मित हेरेको हेर्यै भएँ ।

‘एकातिर धप्प–धप्प

बलिरहेछ अनुहार

अर्कातिर तप्प–तप्प

बगिरहेछ अश्रुधार ।

मानौं यो कुनै विधवाको

त्यो क्षणको अनुहार हो

जब कि उसलाई आएछ याद

एकसाथ

सुहागरात र स्वर्गीय पतिको ।

शुभ्र,शान्त र स्निग्ध

शिखा मैनबत्तीको ।’ 

त्यति कविता सुनाएपछि ऊ भाग्यो कताकता शायद यतैतिर । मन नहुँदा नहुँदै संवाद टुंग्याउनु पर्‍यो ।

०० ०० ००

अर्को दिन मैले  त्यस दिन राष्ट्रिय पत्रपत्रिकाहरूमा छापिएका कविताहरू खोजीखोजी अध्ययन गरेँ । एक जना कविले पापी युगको वर्णन गर्न एक ठाउँमा  ‘आफ्ना छोरीचेलीका यौनीका छालाहरू टोकेर चपाएर’ लेखेका रहेछन् । अहो ! म निकै विक्षिप्त भएँ । के कविले पापको वर्णन गर्न अरु कुनै बिम्ब भेट्टाएनछन् ? मनमनै सोचेँ । अर्को एउटा चर्चित पत्रिकामा एक जना कविले लेखेका रहेछन् ‘खोला उँभो बगेको बेला पानीहरू रगताम्य नाचेर सपनाका कुवा धमिलिए’ । यो पनि मैले ऊनैलाई  बुझ्न छोडिदिएँ ।

त्यसपछि आफ्ना कविताहरू पनि हेर्नु पर्‍यो भनेर कविताका पुराना फाइल पल्टाएर हेरेँ । मेरी बास्सै ! खत्रा लेख्ने धुनमा अन्तरे मात्रै होइन जन्तरे, मन्तरे, लखन्तरे कविताहरू भेट्टाएँ । लाज र ग्लानि दुवै एकैसाथ अनुभूति गरेँ । अबदेखि कविता लेख्दा कमसेकम बिम्बहरूको ख्याल राख्दै पाठकले बुझ्न सक्ने कविता मात्रै लेख्ने प्रयास गर्नेछु भनेर मनमनै निर्णय गरेँ ।

के तपाईं पनि सहजै बुझिने नरम कविताहरूको पक्षमा हुनुहुन्छ ? के तपाईं पनि बिम्बहरूमा दबिएर राम्रोसँग अनुहार समेत नदेखिने कविताहरूको विपक्षमा हुनुहुन्छ ?