नेपाली निबन्धको क्षेत्रमा शङ्कर लामिछानेको नाम नसुन्ने सायदै हौंला । उनै श्रद्धेय लामिछानेको एउटा चर्चित निबन्ध छ, “क्याट माने बिरालो” ।
यो निबन्धभित्र उनका एक अमेरिकन मित्र हुन्छन् । उनका ती मित्रले एउटा बिरालो पालेका हुन्छन् । ती विदेशी केही समयको लागि आफ्नो मुलुक जानुपर्ने हुन्छ । मित्रले आफू अमेरिकाबाट नफर्कुन्जेल बिरालो हेरिदिन लामिछानेको सहयोग माग्छन् । लामिछाने आफैँ कुकुर बिरालो प्रेमी, त्यहीमाथि मिल्ने साथीको आग्रह टार्न नसकेर बिरालोको जिम्मा लिन्छन् ।
बिरालोको जिम्मा पाएसँगै लामिछानेले थाहा पाउँछन् बिरालोको बानी मान्छे जस्तै रहेछ । जताततै फोहोर नगर्ने । दिसा गर्ने अलगै काठको बाकस चाहिने । त्यस बाकसमा बालुवा राखिएको हुनुपर्ने रहेछ । अनि बिरालोले त्यो बाकसमा दिसा गर्ने तथा बालुवाले पुरेर सफा भएर आउने । यो देखेर लामिछाने आश्चर्यचकित हुन्छन् ।
यति मात्रै होइन उक्त बिरालोले अरू बानीहरू पनि प्रदर्शन गर्न थाल्छ । जस्तै: बिहानै उठेर आफ्नो मुख धुने । जीउ चाटीवरी सफा सुग्घर गर्ने । आङ सदा चिल्लो बनाएर बस्ने । छ महिनापछि बिरालोले बच्चा पाउँछ । उसले आफ्ना बच्चालाई अलगअलग ठाउँमा सार्दै हुर्काउँछ । बिरालोले आफ्ना बच्चालाई शत्रुबाट बचाउन यसो गरेको लामिछानेले थाह पाउँछन् । त्यस्तै बिरालोले आफ्ना बच्चालाई सिकार खेल्न सिकाउँदाका विभिन्न घटनाबाट कति धेरै शिक्षा हासिल भएको कुरा उल्लेख गरेका छन् लामिछानेले निबन्धमा ।
०० ०० ०० ०० ००
म घरबाट अफिसको लागि निस्कने तयारीमा छु । गाडीमा झोला राख्छु । आमा आँगनमा रिसाउँदै, बरबराउँदै हिँड्दै हुनुहुन्छ । यसो वरिपरि हेर्छु । आँगनभर पखाला चलेको कुकुर हो वा बिरालोले दिसा गरेको रहेछ । अघिदेखि आमा रिसले मुर्मुरिंदै दिसा सफा गर्दै हुनुहुँदो रहेछ । वहाँ आफैँसँग बोल्दै हुनुहुन्थ्यो, “होइन गाउँमा त बिरालोले आफ्नो दिसा आफैँले पुर्ने वा लुकाउने गर्थे । शहरका बिराला के भएका हुन् ? आफ्नो दिसा पनि लुकाउन नजान्ने । बाटोबाटो कुद्न मात्र जान्ने । न मुसा मार्न जान्दछन्, न गुहु लुकाउन जान्दछन् । घरभरि डुङडुङती गनाउने, हग्न मात्र जान्दछन् ।” आमाको रिस अझै पनि कम भएन । मुरमुरिन छोड्नु भएन, “गाउँमा त माटो भेटे माटोमा, अन्न भेटे अन्नमै आफ्नो गुहु लुकाउँथे बिराला । यहाँजस्तो छरपस्टै छोड्दैनथे ।”
अघिदेखि आमा रिसाउनुभएको देखेर म बिस्तारै आमाको नजिक जाँदै आमालाई सम्झाउँछु, “ल हेर्नुस् आमा, गाउँको भए पनि शहरको भए पनि बिरालो एकै हुन् । यिनले गाउँ या सहर छुट्याउँदैनन् । हुनसक्छ यो दिसा गर्ने बिरालोलाई पखाला चलेको थियो होला । सन्चो थिएन होला । जहाँ भए पनि बिरालोले दिसा लुकाउँछन् नै । बिरालो एकै हुन् । होइन र आमा ?” मैले आमालाई मनाउन कोसिस गरेँ ।
आमा फेरि बोल्नु भयो, “होइन कान्छा, शहरका बिराला अलि अर्कै नै हुन्छन् । हेर त ल, दिसा कस्तो छ ?”
म मनमनै सोच्न थालेँ । शहरका बिरालो अलग बनाउने हामी मानिसहरू नै हौँ । आफैँले सिकार मारेर खाने कुकुर र बिरालालाई हामीले शहरमा दूध, मासु, घ्यू र भात दिन्छौँ । अनि पखाला नचलेर के चलोस् त ? यति मात्र होइन, किप्सचिप्स रे, ड्रयुल रे के के हो के के खान दिन्छौँ । आफू सुत्ने ओछ्यानमा कुकुरबिरालो सुताउने हामी नै हौँ । आफैँले खाने थालमा कुकुर बिरालोलाई खाना दिने पनि हामी नै हौँ । अनि कसरी बिरालो के दिसा लुकाओस् त ? कसरी दिसा नगनाओस् त ?
उहिले उहिले बाजेबोजुले लोककथा सुनाउँथे । बाघले सिकार खेल्न जानेको थिएन रे । बाघ बिरालोसँग सिकार खेल्न सिक्न गएछ । अनि बिरालोले पनि बाघलाई सिकार खेल्न सिकाउँदै लगेछ । सिकाउँदा सिकाउँदै पछिपछि बाघ पनि राम्रो सिकार खेल्न जान्ने भएछ । एकदिन बाघले बिरालोलाई भनेछ, “ल अब मैले सबै जाने । अब तँलाई नै खान्छु । बिरालोले बाघलाई रूख चढ्न सिकाएको रहेनछ । बिरालो फुत्त उफ्रेर रूखमाथि चढेछ । अनि बल्ल बाघले आफूले रूख चढ्न सिकी नसकेको थाह पाएछ ।
बाघले बिरालोलाई भनेछ, “कहाँ पो जान्छस् र म तेरो गुहु सुँघेर भए पनि तँलाई समात्छु । खान्छु । रूखमाथिको बिरालोलाई कुरेर बाघ उङ्दै बसिरहेको बखत बिरालो अर्कोपट्टि बाट उफ्रेर भागेछ । त्यस दिन यता बाघले समातेर मार्छ कि भनेर बिरालोले आफ्नो दिसा लुकाउँछ रे । तर यो लोककथा, हजुरबुवा हजुरआमाको कथा मात्र हो । यो सत्य हो या होइन त्यो आफ्नै ठाउँमा छ । तर सत्य के चाहिँ हो भने, बिरालो जता भए पनि आफ्नो दिसा लुकाउँछ ।
बिरालोले किन आफ्नो दिसा लुकाउँछ ? वा किन लुकाउँदैन ? यस विषयमा अध्येता जेसीका चार (Jessica Char) तथा जोनाथन फुन्टेस (Johnathan Fuentes) ले विकिहाउ डट कम (wikihow.com) मा लेखेका छन्, “बिरालाले सिकारीबाट आफूलाई बचाउन र आफ्नो क्षेत्र अन्य बिरालोबाट अलग राख्न उनीहरूले दिसा लुकाउने गर्छन् । यो बानी वन बिरालोबाट उत्पत्ति भएको मानिन्छ । कतिपय अवस्थामा बिरालाले आफ्नो दिसा नलुकाउने पनि गर्दछन् । जसको कारण उनीहरूको आफ्नो क्षेत्र निर्धारित होस् भन्ने चाहन्छन् । बिरालोको दिसाको फरक गन्ध हुन्छ । जसका कारण अन्य बिरालाले यसको अगल पहिचान गर्न सक्दछन् ।” (rf/ V km’G6];V wikihow.com/Friday, August 2, 2024) यसरी बिरालाले आ-आफ्ना क्षेत्र निर्धारण गर्छन् र यसबारे थाहा पाउँछन् । बिरालोले आफ्नो दिसा लुकाउनुको वैज्ञानिक कारण यस्तो रहेछ ।
हाम्रो जनमानसमा बिरालोले बाटो काट्नुलाई नराम्रो संकेतका रूपमा लिने प्रचलन छ । बिरालोले बाटो काटे नराम्रो हुने वा सोचेको नपुग्ने जनविश्वास रहिआएको छ । यो अन्धविश्वासले हामीलाई यति गाँजेको छ कि कति पटक त बिरालोले बाटो काटेकै कारण आफ्नो गन्तव्य नै परिवर्तन गरेर अन्तै मोडिएका मानिसहरू समेत भेटिन्छन् । कतिपय यात्रा छोडेर फर्किएका देखिन्छन् । कति मानिस त बीच बाटोमै गाडी रोकेर बसेको समेत देखिन्छ हाम्रो समाजमा । यति मात्र होइन, रातो ट्राफिक बत्तीको संकेतमा समेत नरोकिने मानिस बिरालोले बाटो काटेकै कारण रोकिएका घटनाहरू देख्न पाइन्छन् ।
त्यसो त यो अन्धविश्वासलाई नेतृत्व गर्दै आएको चाखलाग्दो ऐतिहासिक पुराकथा छ – मध्ययुगीन समयमा बैलगाडाहरू मान्छेका मुख्य यातायातका साधन थिए । त्यसबखत बाटोघाटोमा देखिने बिरालो लगायतका त्यस्ता अनेकौँ जनावर देखेर गाडा तान्ने राँगा, गोरुले झम्टिने वा तर्सने र कुद्ने गर्दथे । जसकारण बैलगाडाबाट यात्रुहरू लड्ने र चोटपटक लाग्ने हुन्थ्यो । त्यसैले त्यस्ता जनावर देखेपछि केहीबेर रोकिएर मात्रै जाने प्रचलन बस्यो । पछि आएर यो अन्धविश्वासको रूपमा विकसित भएको देखिन्छ । त्यसो त बिरालोसँग डराउने हामी मात्रै होइनौँ । धेरै युरोपियनहरू पनि कालो बिरालोले बाटो काट्नुलाई अशुभ संकेतका रूपमा मान्दछन् । उनीहरूको लोककथाहरूमा यसलाई बोक्सी वा राक्षसको दूत मान्ने गरिन्छ । हुन त आयरल्यान्ड, बेलायतजस्ता कति मुलुकहरूमा बिरालोलाई शुभ मान्ने चलन पनि रहिआएकै छ ।
शङ्कर लामिछानेले सानैदेखि कुकुर, बिरालो, गाई, घोडा आदि विभिन्न शीर्षकमा निबन्ध लेख्दै आएको उल्लेख गरेका छन् । तर बिरालोका यस्ता बानीबारे उनले कहिले पनि बुझेका थिएनन् अनि कुनै निबन्धमा लेखेका पनि थिएनन् । बिरालोका चारओटा खुट्टा हुन्छन् । एउटा लामो पुच्छर हुन्छ भनेर मात्र निबन्ध लेखेका थिए । गाई शीर्षकको निबन्ध लेख्दा गाई घरपालुवा जनावर हो, गाईका चारओटा खुट्टा हुन्छन् । दुई वटा सिङ हुन्छन् भन्ने मात्र सिकाएछौँ बालबालिकालाई । यस्तो एकाङ्गी सिकाइले हामी कहाँसम्म पुग्न सक्छौं भन्ने प्रश्न लामिछानेले क्याट माने बिरालो शीर्षकको निबन्धमा उठाएका छन् ।
अहिलेका कुकुर, बिरालो त क्याट माने बिरालो भन्दा आधुनिक भएका छन् । त्यसैले पो पखाला चलेपछि घर वरिपरि घुमीघुमी दिसा गर्दा रहेछन् । अनि मेरी आमालाई बिहानबिहानै रिसाउँदै दिसा सफा गरेको देख्ने रहेछु । होइन यी कुकुरबिराला आधुनिक भएका हुन् कि हामी मानिसहरू आधुनिक भएका हौँ ? मेरो मनमा प्रश्न उठ्छ ।
आमाको भन्नुभएको “शहरको बिरालोले त मुसा मार्दैनन्” भन्ने कुरा फेरि सम्झन्छु । होइन आमाको कुरा ठिकै रहेछ । अनि शहरमा मानिसले बिरालाहरूलाई मासु, घ्यूभात दिएर आफूसँगै तातो ओछ्यानमा सुताउँछन् । अनि कसरी मुसा मारोस् त शहरमा बिरालोले ? फेरि हिजो खाएको मासु, घ्यूभातले पखाला चलेर घरभरि दिसा गरिदिन्छन् । टलक्क टल्किने मार्बल र ग्रेनाईड ओछ्याएको घरमा काँधमाथि बोकी हिँडाएको बिरालोले दिसा लुकाउनु वा पुर्न जान्ने कुरै भएन । हाम्रा यिनै बेहोराका कारण बिरालोले हामीलाई नै दिसा सोहोर्न लगाउने त हो । यद्यपि यो बिरालोको आधुनिक भएर होइन, हामी मानिस नै आधुनिक भएका हौँ । घर वरिपरि रहेर घरको सुरक्षा गर्ने कुकुरलाई कोठामा आफूसँगै सुताउन थालेका छौँ । अनि कसरी चोरलाई भुकोस् त कुकुर ? बरु उल्टै चोरले पो घोर्ले कुकुर नै चोर्न बेर लगाउँदैन । किनकि आजभोलि चोर पनि आधुनिक छन् । उनीहरूलाई थाहा हुन्छ कि त्यो कुकुर कति महँगोमा बिक्छ भनेर । यो पनि हामी आधुनिक हुनुको नतिजा हो ।
लामिछानेले क्याट माने बिरालो निबन्धमा लेखेका छन्, “छ महिनासम्म उनका साथीको बिरालो पाल्दा बिरालोले बच्चा पाउँछ । हुर्काउँछ । बिरालोले आफ्ना बच्चालाई सिकार खेल्न सिकाउँदा जिउँदो मुसा समातेर ल्याएर ङ्याउरा नजिकै छोडिदिन्छ । तिनले मुसालाई समात्न खोज्छन् । मुसा भाग्न खोज्छ । अलि पर माउ बिरालेले मुसालाई छेकेर बसेको हुन्छ । मुसा अलि धेरै कुदे माउले च्याप्प समातेर दुईचार झापु लगाई निरीह र अर्द्धचेत बनाएर फेरि छोडिदिन्छ । फेरि बच्चाहरू मुसामाथि जाइलाग्छन् । झम्टन्छन्, समात्छन्, टोक्छन् र अन्त्यमा बच्चाहरूले मुसा मार्न नसकेको देखेर माउ बिरालोले नै मुसा समातेर मारिदिन्छ । यो सबै लामिछाने र उनका सानी छोरीले हेरेर बसेका हुन्छन् । माउ बिरालोले दगुर्दै मुसालाई पक्रेर झापु हान्दै गर्दा लामिछानेकी सानी छोरीले मुसालाई त्यहाँबाट भगाइदिऊँ भन्छिन् तर लामिछाने छोरीलाई सम्झाउँछन् कि मुसालाई भगाउनु हुँदैन । बिरालोको धर्म नै मुसा समात्नु वा मार्नु हो ।” हामीले सधैँ मुसा भगाए बिरालोले के खान्छ ? फेरि सधैं हामी बिरालोको पछिपछि मुसा भगाउँदै हिंड्न पनि त सक्दैनौं । अहिलेको आधुनिक युगमा हामी आधुनिक मानिसलाई कसले सम्झाउने ? बिरालोको धर्म के हो भनेर !
आधुनिक युगका हामी आधुनिक मानिसले आधुनिक बनाएका बिरालाले मुसा मार्दैनन् । कुकुरले बाँदर लखेट्दैनन् । हुन त अहिलेको आधुनिक युगका आधुनिक बाँदरलाई लखेटिरहन पनि त पर्दैन । अब बाँदर जंगलमा बसे पो ! घरबारीमा आउलान् भनेर लखेट्नु पो लखेट्ने हो त । ती त अहिले शहर, बजार, मठमन्दिरतिर बस्छन् । अनि मठ, मन्दिर त कसैको निजी पनि त हुँदैन । यो त साझा हो । सबैले बस्न, दर्शन गर्न पाउनुपर्छ । अनि यहाँ कुकुरले बाँदरलाई वा कसैले कसैलाई लखेट्ने कुरा पनि त हुँदैन । फेरि आज हामीले लखेटौँला भोलि उनीहरूले लखेट्लान् । यहाँ समय पनि त सधैँ एकनास हुँदैन ।
त्यसैले त होला अहिलेको आधुनिक युगको नेवाल्यान्ड काठमाडौँको स्वयम्भूमा बाँदर र कुकुर एकअर्काको आङ कन्याई दियाइदिई गर्दै सँगै सुतिरहेका हुन्छन् । कुन दिन मेरी आमाले यिनीहरूलाई देखेर फेरि गाउँको कुकुर र बाँदर अनि शहरको कुकुर र बाँदर भन्न थाल्नुहुन्छ । यति मात्रै होइन अहिलेको आधुनिक युगका बाघ, भालु, गैँडा, हात्ती जंगलमा बस्दैनन् । गाँउघर, शहरबजार निस्कन थालेका छन् ।
पोहोर मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाइकलमा जाँदै गरेका मानिसलाई बाघले आक्रमण गरेर मारेछ । यही वर्ष अस्ति चितवनमा हात्तीले मानिसलाई पछारेर टेकिमारेछ । यी सबै हामी आधुनिक हुनुको उपज हो । हामीले सजिलो खोज्नुको नतिजा हुन् । वनजंगल भनेको पशुपन्छीको पनि हो । त्यो जंगलको बिचबाट हामीले कालोपत्रे सडक बनाएर दगुर्छौँ । त्यो बाटोले पशुपक्षीलाई कति अप्ठ्यारो भयो भन्ने हामीलाई कहिले हेक्का भएन । बाघले बर्सेनि मान्छे खायो भन्ने मात्र देख्छौँ । त्यत्रो जनावरमाथि टाउकोमा सानो मानिस बसेर फलामले डङ कि डङ हान्दै दगुराइरहेको हुन्छ । अनि हात्तीले मान्छे पछारी नमारेर के गर्छ त ? उसमा पनि त संवेदना होला, क्रोध, रिस, आवेग होला । भलै हामीले जसरी अभिव्यक्त गर्न जान्न नसक्नु अलग कुरा हो । यतातिर हामी मानिसले कहिले सोचेनौँ ।
प्रकृतिको एक अभिन्न अंग, यो धर्तीको सौन्दर्य पशुपक्षीलाई हामीले प्रदर्शनका साधन र बिकाऊ वस्तु सम्झियौँ । खोलानाला अतिक्रमण गर्यौं । वनजंगल नाङ्गो बनाउँदै लग्यौँ । त्यसैले होला, अहिलेको आधुनिक खोलानालाले पनि आफ्नो बाटो भुल्दै गएका छन् । बौलाएर गाउँशहर पस्न थालेका छन् । किनकि आधुनिक युगका हामी आधुनिक मानिसले खोलानालाको स्वामित्व खोसेर आधुनिक महल निर्माण गरिबसेका छौँ ।
यति मात्र होइन अहिलेको आधुनिक हावाहुरी वर्षा, पानी पनि बहुलाएका छन् । पानी परेकोपर्यै गर्छ, नपरे पर्नै बिर्सन्छ । अहिलेका आधुनिक चन्द्रसूर्य हामीसँग नजिकनजिक हुँदैछन् । सूर्य नजिक भएर पृथ्वीमा तापक्रम बढिरहेको छ । हिमाल पगालेर काला पत्थर बनाइएको छ । अनि आधुनिक हिमाल कस्ता हुन्छन् भन्दा काला कोइलाजस्ता भन्नुपर्ने अवस्था आउन लागेको छ । यही अनुरूप हाम्रो आधुनिक यात्रा निरन्तर जारी रहे एकदिन हामी डढेर मर्ने पक्का छ ।
त्यसैले अब हामीले आधुनिक हुन छोडेर बिरालोलाई बिरालोको धर्म निभाउन उसको क्षेत्रमा छोड्नु छ । कुकुरलाई कुकुरको धर्म निभाउन उसको आफ्नै क्षेत्रमा छोड्नु छ । बाघ, भालु, गैंडा, हात्तीको आ-आफ्नो क्षेत्र छ । खोलानाला, नदी र समुद्रको पनि आ-आफ्नै क्षेत्र छ । बाटो छ ।
०० ०० ०० ०० ००
मौरीहरूले आफू मात्रै खान मह जम्मा गरेका हुँदैनन् । फूलहरू आफू सुन्दर देखिनलाई मात्रै फुलेका हुँदैनन् । हिमालहरू आफ्नो सौन्दर्यका खातिर टल्किएका होइनन् । सूर्य आफूले हेर्नका लागि प्रकाश छरिरहेका छैन । अरूका लागि बाँच्नु भनेको प्रकृतिको नियम हो । एकले अर्काको अस्तित्वको खातिर यो धर्तीमा हामी सबैको उत्पत्ति भएको हो । यहाँ जिउन गाह्रो छ । हामी सधैं हाम्रो सुखमा रम्ने गर्छौँ तर हामीले अरूलाई दिने सुखको आनन्दमा अलौकिक आनन्द छ ।
(लिम्बू भाषामा लिखित निबन्धको भावानुवाद)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।