मलाई थाहा छैन सपना कसरी देखिन्छ । सपनाको घर पुग्ने ठाउँ पनि थाहा छैन । त्यहाँ पुग्ने अलिकति मात्र गोरेटोको आभास पाएको भए सोध्दै खोज्दै भए पनि प्रत्येक रात सपनालाई डेरा जमाउन लगाउँथे । साँच्चै ! सपना सापटी ल्याउन सक्नेभए कस्तो हुन्थ्यो होला ? मानिसहरू बार्दलीमा बसेर अन्तरिक्षको सपना देख्थे होलान् कि अन्तरिक्षवालाहरूले पृथ्वीको सपना देख्थे होलान् ? होचोले अग्लो हुने सपना देख्थे होला कि अग्लोले होचो हुने ? युवकले युवती हुने सपना देख्थे होला कि युवतीले युवक हुने ? गरिबले धनी हुने कि धनीले गरिब हुने ? कसले कस्तो सपना देख्ने भन्ने देख्नेहरूको चिन्ता हो । जसले जस्तोसुकै देखे पनि गरिबले धनी हुने, धनीले सन्तुष्ट हुनेचाहिं पक्कै देख्थे नै होला ।
सपना, सपना नै हो । त्यो कहिले विपना हुन सक्दैन र विपनाहरू सपनामा हुन पनि सक्दैनन् । नाथे सपनामा विश्वास गर्नु वा भरपर्नु भनेको बादलको आकृतिमा मनले चित्र कोरेजस्तै त हो नि । न स्थायीले, न सन्तुष्टिले । अरु विश्वास गर्ने मूर्तिहरू त निर्जीव भएरै होला विश्वास लागेको, आस्था जागेको । त्यसैले यताउति हिंड्दा मन्दिर देख्नासाथ दाँया पारेर घुम्ने गरेको छु । अलिकति समय पाउँदा मन्दिर भित्रिन्छु र नसुन्ने कानहरूमा व्यथा पोख्छु । नबोल्ने ओठहरूबाट आवाजको आशा गर्दै प्रश्न गर्ने गरेको छु र सधैंसधैं रित्तो हात र रित्तो मन लिएर फर्किएको छु ।
थाहा नै नभएको त कहाँ हो र ? बोल्नै नसक्ने गरी बनाइएका ओठहरू कहिल्यै बोल्दैनन् । कसैको पीडा, व्यथा नसुनाउन बनाइएका कानहरूले सुन्दैनन् भनेर । तर पनि बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्छन् । समय आएपछि ढुङ्गो पनि टुसाउँछ भन्ने सुनिरह्या भएरै पो हो कि ? हुन त मान्छेले जस्तै बोल्ने भए, सुन्ने भए केको भइरहन्थे र भगवान् ? बोल्ने भएछि बोल्नै पर्यो । बोल्नथालेपछि राम्रो मात्र बोलिन्छ भन्ने हुँदैहुँदैन । नराम्रो भनेको धेरैपटक हुनुपर्दैन । एकैपटकले हुनुसम्मको भइन्छ ।
नबोल्ने र नसुन्ने बनाइएकोले नै भगवान् मानिरहेको हो । मानिरहेका छौं, जुनै वर्णको र मुहारको भए पनि । जस्तोसुकै स्वभावको भए पनि । गर्ने पनि केही होइन भगवान्ले । दिने पनि केही होइन भगवान्ले । लिने पनि केही होइन नि । मात्र प्रतीक हो मान्छेलाई हलुङ्गो भएकोजस्तो पार्ने मात्र एउटा आधार । मान्छेको जस्तै, मान्छेले जस्तै सबै गर्नसक्ने भए मान्छे नै भइहाल्थ्यो नि । फरक नै यही हो मान्छे र भगवान्मा, मान्छे र पशुमा ।
कुरा सपनाको मात्र हो । आपूm नजाने गाउँको बाटो किन सोधिरहनु ? भन्न खोजेको सपनामा विश्वास लाग्दैन मात्र हो । सपना–सपनै हो । विपना–विपनै हो । देखिहाले पनि सपनाले के हुन्छ र ? तासको घर बनाएजस्तो, आगोको झिल्कोजस्तो, रातको रमझमजस्तो । फेरि देखिएको कहाँ आफ्नो हुन्छ र ? भेटिएको पो आफ्नो हुन्छ । खोजेर र देखेर आफ्नो हुने भएको भए कोही असन्तुष्ट हुनु नै पर्ने थिएन । कसैले हार्नु नै पर्ने थिएन । सबै खुसी र सधैं सुखी मात्र ।
प्रत्येक दिन बिहानदेखि बेलुकासम्म केके देखिन्छन् केके । हुने पनि र नहुने पनि । हेर्छु भनेर र हेर्दिन भनेका पनि देखिन्छन् । दिनभर सूर्यको प्रकाशमा देखिँदा त केही हुँदैन भने नाथे रातमा देखेकोले के पो हुन्छ र ? त्यसैले पनि सपनालाई भिœयाउन कहिल्यै रहर जागेन ममा । खोलिएको आँखाले देखिएको सत्यलाई त अरुलाई विश्वास गराउन सकिंदैन भने आँखा नै बन्द गरेर देखिएको सपनाको के कुरा गर्नु ? एकदम आफैंले देखेकोमा अरुले पत्याउँदै पत्याएन भने आफैंलाई त शङ्का लाग्न थाल्छ । कतै भ्रम पो भयो कि भनेर । एउटै झूठलाई सयौंजनाले सयौंपटक सत्य हो भनेर दोहराइरह्यो भने सत्य नै साबित ठहराउन सकिन्छ भनेजस्तै त हो नि ।
आखिर म मात्र कुन अर्को ग्रहबाट आएको मान्छे हुँ र ? कसैले नपत्याएपछि आफूले मात्रै किन विश्वास गरिरहनु बेकारमा ? गार्हो हुन्छ हो मा हो मिलाउन । नमिलाएर पनि के गर्नु ? एक्लो वृहस्पति बन्नु पनि छैन मलाई । चुनावमा उठ्न नपरे पनि जिउँदाको जन्ती र मर्दाको मलामीसम्मको त जोड्नुपर्यो नि । कुरै के गर्नु अब ? दिनमा देखिएको कुरालाई त दिग्भ्रम भनेर स्वीकार्नु परेपछि सपनाको कुरा त सात समुद्रभन्दा पनि टाढाको कुरा भइहाल्यो । त्यसो त आफैं पनि सपनामा कहाँ विश्वास गर्छु र ? आपूmले विश्वास नगर्ने भएपछि अरूलाई किन भन्नुपर्या होला मलाई पनि ।
सपना ठूलो वा सानो होला कि नहोला ? महङ्गो र सस्तो होला कि नहोला ? हुन्छ यदि भने नि छुट्याउने कसरी होला ? सपना भरिने जोखिने मानोपाथी, तराजु कतै पाइन्छ होला र ? कस्तो सपनाको हैसियत स्थानीयजस्तो हुने । कस्तो प्रदेशस्तरको हुने वा कस्तोलाई अन्तर्राष्ट्रिय सपना भन्ने ? जुन कुराको मूल्य हुँदैन, जुन कुराको स्ट्याण्डर हुँदैन त्यसको अर्थ पनि हुँदैन । न बेच्न मिल्ने न किन्न पाइने । न हाँस्न मिल्ने न रुन मिल्ने । न बढाउन सक्ने न घटाउन सक्ने । यस्तो लौरो न हतियारजस्ता कुरालाई के भनेर सम्मान गर्नु ? कुन पदले विभूषित गर्नु ?
तपाईं कत्तिको सपना देख्नुहुन्थ्यो कुन्नि ? मैले त वास्तै गरिनँ । तपाईंलाई सपना राम्रो लागे पनि र विश्वास लागे पनि मेरो कुनै आपत्ति छैन । यो वैयक्तिक स्वतन्त्रता हो । यो प्रजातन्त्रको समयमा हो । त्यसैले तपार्इँ स्वेच्छाले सपनालाई सिँगार्न सक्नुहुन्छ, मूल्य राख्न सक्नुहुन्छ र अझै राम्रो सपनालाई पुरस्कार नै दिए पनि केही छैन । अझ तपाईं यो पनि भन्न सक्नुहुन्छ कि जङ्गबहादुरले सपना, सपनाकै लागि मात्र देखेका थिए त ? गोरखाका मगरले देखेको सपनाको कुनैै अर्थ छैन र ? शहीदहरूले के मर्नकै लागि मात्र सपना देखेका हुन् र ? के यिनीहरूका सपना, सपना मात्र भए र ? ? सपनामा देखेरै लेखिएका अक्षरहरूका कुनै अर्थ छैनन् र ?
तपाईं जेसुकै भन्नुस् तर एकरति पनि भर लाग्दैन मलाई र आस्था पनि लाग्दैन । बालुवाको घरजत्तिको पनि लाग्दैन । सपना त फुसको घरमा जितमानले पनि देख्छ । झिङटीको छानोमुनि बुलालचाले पनि देख्छ । एन्टेना टावर राखेको घरमा सुतेर विक्रम बौसापले पनि सपना नै देख्छ । कारखानाको कुल्लीले पनि देख्छ र मालिकले पनि । बैदारले पनि देख्छ र महाप्रबन्धकले पनि देख्छ । यसरी देखिने सपनाहरूलाई विभाजन गर्न मिल्ने भए पो थाहा हुन्थ्यो, कुन सपनाको कति मोल भनेर ? यस दृष्टिले त सपना समानताको द्योतक हो । समाजवाद हो । सपनाले गान्धीवाद र बुद्धवादको नीति अङ्गिकार गरेको छ ।
एकपटक मोटर नै नजाँदाको कर्णालीको मुगुमा गएको थिएँ । मुगुकी फुलमायाले बनाएको संसार अहिले पनि मैले बिर्सन सकेको छैन । करिब १६/१७ वर्षकी फूलमाया, उमेर अनुसार फक्रन सकेकी थिइनन् । क, ख पनि नचिनेकी फूलमायाका लागि साँवाअक्षर भैँसीबराबर थियो । एकदिन बिहानै मलाई दूध दिन कोठामा पसेकी थिइन् । म बिउँझिसकेर पनि ओछ्यानमै पल्टेर पत्रिका पढिरहेको थिएँ । उज्यालो अनुहार लिएर भित्रिएकी फूलमाया मेरो नजिकै दूध राखेपछि पूर्व दिनहरूमा झैं सहरका कुरा सुनाउन भनिन् ।
गए राति उनले देखेको सपना अर्थात् फूलमायाले आफ्नो सपना सुनाएकी थिइन् । उनले रातो साडी लगाएर सहरमा गएकी रे । सहरमा गएर प्लेनमा भन्दा धेरै सस्तोमा ठूलो बस चढेकी रे । विशालबजारमा चढ्ने भर्याङ हेरेर डराईडराई चढ्दा कस्तो मज्जा आएको रे । लोग्नेमानिसहरूले लामो–लामो कपाल पालेर कानमा टप लगाएको देखेकी रे । राम्री–राम्री तरुनीहरू छोटाछोटा मात्र लुगा लगाएर हिंडेका देखेकी रे । घण्टाघर, धरहरा, रानीपोखरी देखेकी रे ? टुँडिखेलमा गएर रातो चप्पल र रातो झोला, टीका, धागो किनेकी रे । सबै ठाउँ घुमेर घर फर्किन लाग्दा बसमा चढ्नै सकिनन् रे । आउँदा होलैसँग चढेको बसमा त पानीको भेलझैं मान्छे पसेका रे । जर्बजस्ती झोला भिरेर उनी पनि कोच्चिँदै छिर्न खोज्दा अलिकति भित्र पुगेकी थिइन् रे । कमरदेखि माथि थुप्रैका हातहरू सल्बलाएझैं भएपछि बाहिर निस्किन् रे । उनलाई त्यतिबेला रिसभन्दा काउकुती लागेको थियो रे । साँझ पर्न लागिसकेकोले ट्याक्सी चढेर घर आइन् रे ! अनि पैसा तिर्न खोज्दा त झगडै पर्यो रे । जाँदा त्यत्रो बसमा तिरेको भन्दा पनि बढी पैसा रे । ट्याक्सी ड्राइभरसँग झगडा गर्दागर्दै झल्याँस् बिउँझिएकी थिइन् रे ।
उनको सपना सुनेर मलाई अचम्म लागेको थियो । उसको अबोध र निरीह सपनाप्रति दया जागेको थियो । एक दिनअघि मैल नै काठमाडौंमा यस्तो छ, यस्तो हुन्छ भनेर बताएको थिएँ । त्यही नै सपना बनेछ फूलमायाको । उनी सपनामा नै भए पनि
काठमाडौं घुम्न पाएकोमा खुसी थिइन् । फूलमायाले देखेको सपना, काठमाडौंको विपना नै हो । काठमाडौंका खाली सिसी–पुराना कागजवाला र प्लाष्टिक बटुल्नेहरूको सत्य हो । बाग्मती र विष्णुमतीमा ओत लाग्ने सुकुम्बासीदेखि सबैको यर्थाथ हो, विपना हो ।
अर्को एक सपना पनि सुन्न लायककै छ । बसबाट ओर्लेर दुई दिन हिंडेपछि पुग्ने गाउँबाट आएको दधिराज आचार्यको । ऊ काठमाडौंको फेमस मःम पसलमा काम गर्छ । बिचरा दधिराज, जसको गाउँघरमा राँगा, भैँसी मर्दा सार्की, दमाईलाई खबर गरेर उठाउनुपर्छ । आज उही दधिराज भैंसीको मासु पिठोमा पोका पार्ने जागिरे भएको छ । सायद गाउँ र सहरको फरक भनेकै यही हो कि ?
जेहोस्, दधिराज गाउँबाट कोरिया जान पैसा लिएर काठमाडौं आएको बेला बसमा उसको बगली मारिएको थियो । पैसाहीन भएपछि गाँस, बासका निमित्त रन्थनिएको बेला उसले मःम पसलमा बस्ने, खाने सुविधासहितको काम पाएको थियो । ऊ बारम्बार मलाई भन्ने गर्दथ्यो–म त प्रत्येक रातजस्तै कोरिया पुगेको सपना देख्ने गर्छु । कोरियाका अग्लाअग्ला घरहरूमा बसेर काम गरेको, थुप्रै पैसा कमाएको, सहर–बजार जतासुकै पुतलीजस्ता तरुनी, चिल्ला सडक, चिल्ला मोटर, समुद्रजहाज त्यस्तै त्यस्तै…….। ममचा पोका पार्दै दिन गुजारिहे पनि दधिराजले कोरिया जाने सपना, हिम्मतचाहिं साँचिराखेकै छन् । त्यसैले होला । उनी सपना–देखिरहेका छन्, रमिरहेका छन्, भनौं सपनालाई माया गरिरहेका छन् ।
वर्तमानको सपना भूतकालको सपनाभन्दा मिठो हुन्छ । वर्तमानको भन्दा भविष्यको सपना मिठो हुन्छ । नाउँमा बसेर नदी तरेजस्तै, ज्योतिषलाई हात हेराएर राम्रो दिनको प्रतीक्षा गरेजस्तै । भोलि पूरा होलो नहोला तर आजलाई मलम बनिदिन्छ सपना । त्यसैले सपनासँग सङ्घर्ष गर्दागर्दै, आँखाबाट बहिस्कृत गर्दागर्दै पनि सपना झिनो आशाको रुपमा मुनाझैँ टुसाउन खोज्छ । पुस माघको जाडोमा टालेको बोरा ओढेर सुत्ने छुनुमुने बालकहरू सम्झन्छु । सडकको वल्लो किनार पल्लो किनार कन्टेनरभित्र बाहिर थोत्रा झुत्रा प्लाष्टिकहरू बटुल्दै हिंडेको देखेपछि मन छताछुल्ल हुन्छ । उनीहरूकै तर्फबाट भए पनि गाँसबास र कपासको सपना देखिदिन मनलाग्छ ।
आल्मुनियमको थोत्रो कुच्चिएको कचौरा सडकपेटीमा तेर्साएर दूध नआउने लाम्टा चुसाइरहेकी माग्ने आमालाई देख्छु । आफैं आफ्नो आँसुमा बगेको सम्झिँदै आमाका लाम्टाहरूमा सेरलेक र ल्याक्टोजिन भएर सपना देख्न मन लाग्छ । भोक र रोगको शिकार हुन विवश, बालबालिका देख्छु । उनीहरूको सुखद भविष्यका लागि सपना देख्न मन लाग्छ । कुच्चिएको सिलावरको कचौरामा सिलवरकै ढ्याक बजेको आवाज सुन्छु । उनीहरूको भरिने पेटको सपना देख्न मनलाग्छ ।
कहिलेकहीं नभोकाउँदा पनि म दधिराज काम गर्ने पसलमा जानेगर्छु । त्यहाँ पुगेपछि म दधिराजको कोरियाली सपना देख्ने आँखाहरूलाई हेर्छु धेरै बेरसम्म । उसको आँखामा हेरेपछि म सोनामलाई सम्झन्छु । केही पहिले उसले पनि कोरियाकै सपना सुनाएको थियो । अहिले उसलाई भन्दा उसले पठाएका पीडाका पत्रहरूलाई सम्झन्छु । गाउँको स्वच्छ हावापानी, हलुका काम, श्रीमती र टुकटुक हिंड्नथालेको छोरा सम्झेर भुतुक्कै हुने गरेको सम्झन्छु । उसकै व्यथामा पिरिएका बूढ्यौलीका आमाबुवा । उनीहरूले दशैंमा लगाइदिएको टीका र जमरा । पीङ, देउसी, भैलोहरूले दुखाउने सम्झना । राक्षसजस्ता मालिक, आज्ञाबिना सास फेर्न पनि डराउनुपर्ने दैनिकीले जिउँदै नर्कमा पुर्याएको पत्रका हरूफहरू सम्झिन थाल्छु ।
यसरी फूलमायाको सपना, दधिराजको यथार्थ, दधिराजको सपना, सोनामको यथार्थ, सोनामको सपनाका पीडा सबै एकआपसमा साइकलको पाङ्ग्राजस्तै घुमिरहेका छन् । त्यसो त सबैका क्षेत्र र पेशाका आ–आफ्ना सपना नहुने कहाँ हुन् र । पसलेका सपना भनेको नाफा नै हुन्छ । नेताका सपना कुर्सीभन्दा केही हुँदैन । डाक्टरले देख्ने सपना बिरामी मात्र हो । सपना जस्तोसुकै देखे पनि भोग्नुपर्ने यर्थाथ नभोगेर टर्ने होइन क्यारे । दुःखमय विपना र सुखमय सपना नै बनेको छ त जीवन ।
यदभावि न तदभावि भावि चेन्त नदन्यथा अर्थात् जे हुनुपर्ने छ त्यो हुन्छ, जो नहुनेवाला छ, त्यो कदापि हुँदैन अर्थात् हुने कुरा नभई छाड्दैन, नहुने कुरा केही गरे पनि हुँदैन । सपना देख्नु र नदेख्नुमा कुनै अन्तर छैन । न सपनाले थकाइ मेटाउँछ, न भोक नै मेटाउँछ । दिनभर परिश्रम गरेर फर्केको ज्यामीको सपना गगनचुम्बी महल कसरी हुनसक्छ ? भएर पनि के अर्थ ? बत्तीको कुरा गरेर अँध्यारो हट्दैन । जसले जति प्रार्थना गरे पनि सूर्यले पूर्वबाट उदाउन छोड्छ र ?
सुखमय सपनाले विपना सुखी बनाउन सक्दैन । जन्मसँगै मृत्यु ल्याएपछि डराएर कसले पो छुट्टी पाएका छन् र । कसैले चाहेर हुने र नचाहेर नहुने कसैको वशको कुरा होइन । तरै पनि बाँचुन्जेल जन्मदिनको उत्सव मनाउँछौं हामी । बलिरहेको मैनबक्ती निभाएर दीर्घायुको कामना गछौं हामी । विद्वतताको नाममा, पश्चिमाको नाममा, आधुनिकताको नाममा मुर्ख बनिरहेकाछौं हामी ।
प्रत्येक क्षण मृत्युको भर्याङको खुड्किलो उक्लिएकोमा शुभकामना थाप्छौं । मृत्यु नजिक पुगेर बाँच्ने दिन घटाउँदै गएकोमा खुशीयाली मनाउँछौं । दीर्घायुको नाममा कम आयुको उत्सव मनाउने हामी । विजयको नाममा पराजयको अबिर दल्ने हामी । त्यसैले होला भनिएको –ज्ञान हि तेषामधिको विशेष । ज्ञानले हीन पशु समान अर्थात् पशु र मानिसमा भिन्नता गराउने ज्ञान हो, अतः ज्ञानले हीन छ भने त्यो मानिस भए पनि पशुजस्तै हुन्छ ।
एकाएक मैले बग्दै गरेको नदी विपरीत दिशातिर बगेको सपना देखेको थिएँ । त्यस्तो अनौठो सपनालाई कसैले राम्रो भने कसैले नराम्रो । अर्को दिन आकाशमा उडिरहेको, अर्को दिन आकाशमा नै पौडी खेलिरहेको । भन्नेहरूले अनेक अर्थ लगाए सपनाको । कोहीले राम्रो हुने कोहीले नराम्रो हुने भने । जसले जे भने पनि मैलेचाहिं राति मस्तिष्क बहुलाएको मात्र ठानें । कहिलेकाहीं यस्तो पनि लाग्छ, जसले जे सक्दैन, त्यसले देख्ने नै सपना हो । शायद बोल्न नसक्नेले बोलेको । सुन्न नसक्नेले देखेको । देख्न नसक्नेले देखेको सपना देख्छन् कि देख्दैनन् होला ? सपनामा नै भए पनि नहुनेको हुनु राम्रै हो नि ।
मान्छेको मात्र के कुरा ? सपना त फूल हुने कोपिलाले पनि देख्दो हो । सूर्यले पनि समुद्रमा डुब्न नपर्ने देख्दो हो । आकाशले पनि सीमा–सीमामा पृथक–पृथक भएर विभाजित हुनु नपर्ने सपना देख्दो हो ।
बरु सकिन्छ भने सदैव सपना सिरिया र अफगानिस्तानमा शान्त भएर आओस् । भूकम्पहरूमा अविनाश भएर आओस् । बाढीहरूमा नबगाउने गरेर आओस् । दुर्घटनाहरू सुरक्षित भएर आओस् । सबैमा सकारात्मक र सद्भावको जुलुस भएर आवस् । यदि फूलमाया, दधिराम र सोनामहरूको मात्र सपना भएर आउने भए हामी कसैले पनि कहिल्यै सपना देख्न नपरोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।