उमेर खस्कँदै गए पनि धेरै कुरा स्मृतिमा जेलिएर बसेका छन् ।

भन्न मिल्छ कि मिल्दैन थाहा छैन । भन्न हुन्छ कि हुँदैन थाहा छैन ।

भन्न खोज्दा नखोज्दै थाहा छैन का अनन्त जिलीगाँठाहरू स्मृतिभरी गुजुल्टो परेर बेरिन थाल्छन् र त्यसको पिराहा दंशबाट अमलेख हुन म अतीततर्फ फर्कन थाल्छु ।

अनि झुत्ती खेलेर आउँछन्– गोठालो जाँदा भैँसीको फाँचोमा थुतुनु रगड्दै थुन चुसेको कुरा । पँटासमा क, ख लेख्न सिक्दा अँगार चिप्लिएर अक्षर नदेखिने भएपछि अँगार टोकेर अरमठ्ठ पर्दै गएका ओठको कालो चुसेर तृप्ति बटुल्न पुगेका कुरा । कुँडेको पिँधमा लागेको कुराउनी लुछाचुँडी गरेर खान खोज्दा पिताजीबाट पाएको बक्सिसले हर बङ्ग्याएर फुटेका नत्थीमा लतपतिई रताम्य पार्दै मझेरी लोटाएको कुरा । भैँसीलाई आहाल बसाएपछि त्यही हरियो पानीमा पौडी खेल्दै जीउमा लागेको हिलो चउरमा रगडेर पुछेका कुरा । तामाङको घरमा पसेर तीनपानेले आचमनी गरेपछि पँधेरामा गएर नुहाउँदै जनै फेरेर गायत्री जप्तै घर फर्केको कुरा । एक कोश पर रहेको खरपाखोबाट दैनिक एक भारी घाँस काटेर गोठमा बिसाउँदै दुई गाँस चारोले ओठ लोटाई भोक थुमथुम्याउँदै दुई कोश परको स्कूलमा शरणागत हुन पुगेको कुरा । अनि आउन थाल्छन् जीवनलाई सानन्द पार्ने पाठ्यक्रमसँग गाँसिएर आएका कुरा ।

मैले कति पाठ्यक्रम पढेँ र कति पढाएँ पनि । हेक्का त धेरै सुवासिला छैनन् । केही खत, दाग र खोपिल्टाहरू असरल्ल परेर छरिएका छन् स्मृतिमा जीवित रहेर बसेका । कति मनस्तापमा लटपटिएर भिजे गले । कति उत्कण्ठामा झुण्डिएर चुँडिए । कति रहरसँग बुर्कुसी मार्दै अलप भए ।

जीवनका धेरै सुवासित क्षणहरू अक्षरसँग साटेर राम, रमिता गर्दै पुक्क फुलेको छु र कतिलाई फुलाउन पनि पुगेको छु । मान्छेलाई हँसाउन खोजे पनि मान्छेलाई रुवाउन खोजे पनि म अक्षर केन्द्रित नै थिएँ । अक्षर निर्देशित नै थिएँ । कति निषेधित साँध मिचें हुँला, कति सीमा कोट्याए हुँला । कति आली भत्काए हुँला । कति बार मिचेँ हुँला तर अक्षरसँग मैले कहिल्यै खेलाँची गरिनँ । अक्षरलाई सानो र निर्धो ठानेर उपहास पनि गरिनँ । मेरो सिरानमा अक्षर थिए र अक्षरको सान्निध्यमा रही अक्षरको पहार तापेर म अनुभूति तिखार्दै थिएँ ।

ताराबाजी लै लै ले लोभ्याउँदै लगेको थियो ।  नटिप्नु हेर कोपिला, ढरर्र ढम्म, सुनको एक दिन उदाउँछ रेले घुमाइरहेको थियो । उपर दलिनमा गौँथली बस्ताले तानिरहेको थियो । मेरो पियारो ओखलढुङ्गाले बोलाइरहेको थियो । रातो र चन्द्रसूर्य छातीमा ढकमक्क भएर फुल्न खोजिरहेको थियो । जागजाग, अब जाग न जागले कोखाइ बाबू को खाई भनेझैँ गरिरहेको थियो । इच्छा यो छ महेश अन्तिम जसै यो मृत्युशय्या जलीले फकाइरहेको थियो । हे हाँगा, लहरा बुटा सुजन हो हा, हा डरायौ किन ? आदिले बाटो देखाउँदै गए ।

म तिनैलाई छाम्दै सुमसुम्याउँदै, सुँघ्दै बाटो पहिल्याउँदै गएँ । असल सिर्जनालाई नै अनुरागको आदिम स्रोत ठानेर त्यसैको आराधना उपासनामा कुनै प्राप्ति र मुकामको लालसा नराखी निरन्तर लागिरहेँ । अक्षर खाएर, अक्षर चपाएर जिन्दगीलाई घिसार्दै भोकसँग रात साटेका दारुण दिनहरू पनि मेरालागि उत्प्रेरणाका उज्याला पहर बन्न पुगे ।

यस अर्थमा पनि म अक्षरको वृत्तबाट बाहिर निस्कन सकिनँ ।

म बाँचेको युग पञ्चायत तापेर बहुदलमा बौरिँदै गणतन्त्रमा अनुवाद भएको संवेद्य जङ्गली युग थियो । बर्बरता कुनले कति मात्रामा सशुल्क वर्षाइरहेको छ त्यो त हामी भोग्दै छौँ । नाप्तै छौँ । बाँचिएछ भने भोलि तुलना पनि गरौँला !

अहिलेलाई यत्ति भन्छु– अक्षरले पोलेर, पाछेर, पिल्सिएर भबाएका केही अनुभूतिका साक्ष्य कारणलाई किनारामा साक्षी राखी म त्यसैमा तिरोहित हुँदै छु ।

पञ्चायतलाई कालरात्रि ठान्नेहरू, मान्नेहरू मरेको लासलाई कोट्याउँदै घरीघरी आउँथे र प्रगतिका कुरा गर्थे, सनातनी कहर मोचन भई नयाँ गतिमा, नयाँ सोच अनुरूप छलाङ मार्नुपर्छ भन्थे । भौतिक उन्नति, प्रगतिको सोपानमा सोइसोला खेलेर मच्चिँदै उफ्रन्थे । उनीहरूको दिव्य वाणी काट्ने ज्ञान र तर्क मजस्तो बबुरोमा नभएपछि लोतो कान लगाएर होला भन्दै बस्थेँ । उनीहरूले हाली मुहालीको बिंडो थाम्न थालेपछि भने म छाँगाबाट खसेसरह नै शीताङ्ग हुन पुगेँ ।

मेरो अध्ययन पार्कोटे काँटको प्राथमिक नै थियो तर बेलाबेला घिच्रोचाहिँ माध्यमिकतिर तन्काएर मलौटो बन्न खोज्दै यसो बौरिन खोज्थेँ ।

त्यहाँ भन्दा माथि उक्लेर हेर्न सक्ने मेरो हुती थिएन, औकात थिएन, आशय पनि होइन ।

हैसियत नभएको कुरा अपाच्य हुने लख काट्तै त्यो धृष्टता  गर्नपट्टि लागिनँ ।

म त्यसैको सिम्फोनी सञ्जालमा घुमेर बकितम्मा उत्रँदै छु ।

अन्यत्र पनि पिल्सिएर पाछिँदै गएका धेरै तम्तम्याइला ऐँठन र अनुभूति होलान् ।

सिकाउनेले साहित्य औपदेशिक हुनुहुँदैन भनेर सिकाए । नीतिपरक निको हुँदैन भनेर सिकाए । भाव र विचारको वकालत गर्दै वैयक्तिक अनुरागयुक्त गन्थन परक गथासाहरू निषेध गर्नेहरूको उलामालामा लागेर अक्षर पुछ्न थालेँ । प्रगति मलाई पनि मन परेको कुरा हो । प्रगति प्रति मेरो कुनै विमति पनि थिएन । सिर्जनामा ज्ञान, शास्त्र, प्रवचन, विद्वता भन्दा पनि अनुभूति सौन्दर्यको सर्वप्रिय धुन प्रति बेसी लहसिन पुगेँ । सिर्जना सङ्लो हुनुपर्छ । सुवासित हुनुपर्छ । सरल र रसमय हुनुपर्छ भन्ने मान्यताको जगमा टेकेर देश, दुनियाँ हेर्न थालेँ । मेरो मूल्यको जगमा यिनै कुरा गजधम्म परेर बसेका थिए । कालान्तरमा तिनै रैथाने सचेतकहरू धुमकेतुको रूपमा अवतरण गरी अर्तीको बोझिलो भारी बोकाएर दराल्न थाले, उपदेशको रछ्यानमा निसासिने गरी रगडेर रगड्न थाले । सूचनाको पिताम्बर ओढाउँदै प्रेमको भकारो सोहोर्न लगाएर लेथ्नुलेथ्नु पार्न थाले ।

अलिकति पूर्वाग्रही सोचले थिलथिल्याउँदै लगेको मानसिकता छ मेरो ।

देवकोटा विनाका पाठ्यक्रम खल्ला लाग्छन् मलाई । लेखनाथलाई नभेट्ता तम्तम्याइलो ऐंठन उठ्न थाल्छ मुटुमा । सम नदेख्ता पाठ्यक्रम अलिना लाग्दै जान थाल्छन् । मल्ल द्वय नहुँदा कटमिरा लाग्छन् । इन्द्रबहादुर विनाका निस्ता दस्ताबेजहरू मनमा छिर्न सक्तैनन् । बालकृष्ण पोखरेल, ताना शर्मा, ध.च. गोतामे, राजेन्द्र सुवेदी, अभि सुवेदी बेगर प्रवेश नै गर्न धर्करिन्छन् मेरा पाइताला ।

अनि भीम दर्शन रोका, नीरविक्रम प्यासी, उमानाथ शास्त्री सिन्धुलीय, वासु शशि, जनकलाल, कृष्णचन्द्र, कालीप्रसाद, क्षेत्रप्रताप, गोकुल जोसी, हरिभक्त कटुवाल, मदन रेग्मी, कृष्णभूषण बल, हिरण्य भोजपुरे, गणेश रसिक, विष्णुविभु घिमिरे, हरि अधिकारी, मनु ब्राजाकी, मोहनराज शर्मा, ध्रुव सापकोटा, खगेन्द्र संग्रौला, निर्मोही व्यास, अग्नि शिखा, नारायण ढकाल, शारदा शर्मा, मित्रलाल पंज्ञानी, तीर्थ श्रेष्ठ, नरनाथ लुइँटेल प्रभृतिहरूलाई निछटेर कीर्ते राष्ट्रवादको अलख जगाउँदै एकछत्त फरियामा बेरिएर पाठ्यक्रम उग्राउन थालेको देखेपछि आङ सिरिङ्ग गरेर आउँछ । बोल्नेको पिठो बेच्न चम्केका बगरेहरू कति निर्लज्ज भई सिफारिसको टोपी लगाउँदै मालिकको लगौंटी स्याहार्न पुग्दा रहेछन् भन्ने भूदृश्य देखेपछि बोलबोल मछली मुखभरी पानी हुन पुग्दै छु ।

आधुनिकताले उरालेका अलौटा सत्यहरू कलबिख मूर्च्छनामा लटपटिएर फिजिंदै छन् । आजको सम्भ्रान्त अथवा शिक्षित समुदाय ठूलो हुने अथवा भएको देखाउने संचेतनाले खँगार्दै लगेको मानसिकताका उपासक हुँदै गएका छन् । कति निगाह, अनुकम्पा, आशीर्वादले ठूला पनि भएका छन् । ठूला भएर ठूलाले गर्ने सर्वप्रिय कार्य भने चाउरिँदै जान थालिरहेको छ । अनि ती मेरा अदनु चित्त भित्र पसेर हुँडलिंदै जान थालिरहेका छन् ।

सुविधा अहिले लिगलिग कोटमा अनुवाद हुँदै गएको छ र त्यहाँ हालीमुहाली गर्न प्रत्येक धुन्धुकारीहरू दौडमा सामेल भइरहेका छन् ।

मालिक, मुखियाको तलुवा चाट्तै ताबेदारी गर्दै जानुको अन्तर्यमा धेरै डरलाग्दा दृश्यहरू मञ्चन हुँदै गएका र तिनको पाशविक प्रकोपले परिवेश अहिले थर्कमान हुँदै गइरहेका कलुषित दृश्य मेरा वरिपरि आएर नाच्न थाल्छन् । तिनीहरूको आसुरी त्रासले आहत हुँदै गएको मन थुमथुम्याउँदै म विना फिराद, विना गुनासो किनारा लाग्न पुग्छु ।

पाठ्यक्रमलाई अलि लयात्मक र गेयात्मक पार्न तल्लो लहमा निकै सिँगान चुहाउनेहरू झ्याउरेमा चढेर निकै मच्चिए र अनुष्टुपलाई घिसारेर निकै उग्राए । कविताले छोपेर पाठ्यक्रमलाई उचाल्न खोजे पनि त्यो धसिन मात्र पुग्यो । उचालिन सकेन । उचाल्न सक्ने कविता तत्त्वको कमीले गर्दा ती उपहासका पर्याय बन्न पुगे । भाइ, भतिजा र नाताले राम्रा कविता नलेखिने, कविता साधना समर्पणको प्रतिफल भएको तथ्य यहाँ उजागर हुनपुगेको छ । भागबण्डाको प्रतिनिधित्वे असल पाठ्यक्रम निर्माण हुन नसक्ने तीतो सत्य यहाँ जुरुक्क उचालिन्छ र मलाई घम्लङ्ग छोप्न आइपुग्छ ।

किनेको ज्ञान, चोरेको ज्ञान, उचालिएको ज्ञान, टेको लगाएर बक्सिस मार्फत पाएको ज्ञान र नैसर्गिक ज्ञानमा हुने अन्तर यहाँ प्रष्ट भएर उर्लन्छ ।

मूल्य विघटन हुँदै जानुका केही कारक तत्त्व यिनीहरू पनि हुन् । हावादारी फर्मानले सिंहदरबार चलायमान होला तर केशर महल हल्लिँदैन । केशर महलको जगमा अलिकति भने पनि संवेदनाको सङ्लो भाव तरङ्गित छ र त्यसले मान्छेलाई अँध्यारोबाट उज्यालो तर्फ लाग्न अभिप्रेरित गर्दै आएको छ ।

विशेषतः अक्षरजीवीहरूको औकात, हुती र क्षमता न्यायालयले हालै जारी गरेको भाषा सम्बन्धी सनदले पुष्टि गरिरहँदा बोकेको कुकुरले मृर्ग मार्न नसक्ने भन्ने उखान यहाँ चरितार्थ हुँदै गएको देख्छु म ।

भाँडाको भात भाग लगाएर खान नसक्ने र त्यसलाई बाँडिदिन बाँदर गुहार्न पुग्ने हाम्रो जनवादी मानसिकता र बाँदरले जति हसुरेर दिए पनि हाइ सन्चो मान्ने प्रगतिशील सोच तर आफैँ आफ्नो पाइन र पुरुषार्थको बलले बाँडेर खान नसक्ने अहारिसे चिन्तन स्थापित हुँदै गएपछि अनि यहाँ जङ्गबहादुर नजन्मिएर अरूको जन्मिन्छ त ?

यही यक्ष प्रश्न तातो लाभा बनेर मेरो मुटुमा पस्तै छ र सारा सचेतनालाई विदग्ध पार्न उद्यत हुँदै गइरहेको छ ।

यसले भने निकै पोल्न थालिरहेको छ ।

अनि कुनै अज्ञात कविको केही पंक्ति चबाएर आफ्नै खोन्द्रोभित्र छिर्न पुग्छु–

कभी किसी को मुकम्मल जहाँ नहीँ मिलता

कहीँ जमी तो कहीँ आशमा नहीँ मिलता

बुझा सका है भला कौन वक्ते शोले

यह ऐसी आग है जिसमें धुवाँ नहीँ मिलता ।