भनिन्छ – सपना देख्नु राम्रो हो । सपनै नदेखी केही गर्न पनि त  सकिन्न । हुन पनि हरेक मानिसका आफ्नै किसिमका सपना हुन्छन् । कसैले धेरै ठूलो सपना देख्छ त कसैले अति सानो । कसैले पूरा गर्न सकिने सपना देख्छ त कसैले चाहिने भन्दा ठूलो सपना । सपनालाई सानो-ठूलो भन्नु भन्दा पनि सपना सपना हो जसले जुन सपना देख्छ उसको लागि त्यहीं सपना ठूलो । होइन र ?

भनिन्छ – सपना देख्नु भविष्यको मौन योजना हो । जसले जीवनलाई अनुशासित र व्यवस्थित गर्दै अगाडि बढ्न मद्दत गर्दछ । जसले जीवनलाई भविष्य प्रति सजग र सचेत रहन सधैं प्रेरित पनि गर्दछ ।

सबैको सपना पूरा हुन्छ भन्ने पनि छैन । सपना देख्दै नदेख्नेहरूले केही गरेनन् भन्न पनि त सकिन्न ! कतिपय सपनाहरू देखेरै नदेखिएका हुन्छन् । कतिपय सपनाहरू ओझेलमै पारिएका हुन्छन् । कतिपय सपनाहरू ओझेलबाटै बिलाएका हुन्छन् । कतिपय सपनाहरू निसास्सिंदै मारिएका हुन्छन् ।

यो त भयो लक्ष्य प्राप्तिको सपना..!

अर्को सपना तिर फर्कौं :

सपनाका प्रकार पनि कति धेरै । दिनमै देखिने सपना । समसाँझै देखिने सपना । मध्य रातमा देखिने सपना । मध्यरात कटिसके पछि देखिने सपना । बिहान पखको सपना । उज्यालो भैसके पछि देखिने  सपना । सपनाका पनि कति धेरै परिकार खाना जस्तै …!

सपना देख्नेले देखेर पनि सुख छैन । यति बजेको सपना यस्तो । अनि उति बजेको सपना उस्तो । आहा !  कति राम्रो सपना । ओहो ! कति नराम्रो सपना देखें । यो सपनाका विश्लेषक पनि अनेक थरी । झण्डै झण्डै हाम्रा नेता जस्तै ।

जे पनि बोलिदिने । यस्तो सपना देखे यस्तो हुन्छ, उस्तो हुन्छ । राम्रो सपना देख्दा त दिन भरी ठीकै हो नराम्रो सपना देख्दा मन आफैं तर्सिरहने ।

कुनै सङ्कटको बेला होस् अझ रिजल्टको अघि-पछि होस् मन आफैबाट दिनभर विचलित भैदिने ।

हुन पनि रातमा देखिने सपनाले भोलिको दिनलाई कता कता मनोवैज्ञानिक असर पारेको हुन्छ । जति नै सुकै मै हुँ भन्नेहरूले पनि, विश्वास गर्दैन भन्नेहरूलाई पनि यसको असरले छोडेको हुन्न ।

कहिलेकाहीं कति रमाइलो रमाइलो सपना देखिन्छ । कल्पना भन्दा  बेग्लैको संसारमा  पुगिन्छ । कति मीठो लाग्दा लाग्दै झल्याँस्स ब्युँझिंदा मनमा फरक खाले तरङ्ग पैदा गराउँछ । फेरि पनि निदाउन मन लाग्छ । त्यहीँबाट सपनालाई जोड्न मन लाग्छ । ब्युँझिएकोमा पछुतो लाग्छ । फेरि निदाए जस्तो गरिन्छ तर मरिकाटे निदाउन सकिन्न । यदि निदाइहाले पनि सपनालाई जोड्न सकिन्न ।

किनकि सपना सपना हो । न त यो कुनै कहानी हो । न त यो चलचित्र  नै हो । जसलाई न त दोहोराएर हेर्न सकिन्छ । न त कुनै स्क्रिनले समेट्न सक्छ ।

सपनाको सुन्दरता न बिपनाले दिनसक्छ न त स्क्रीनले । बरु ब्युँझिनुमा पछुतो लाग्छ । बिपनाको खल्लो अनुभूति हुन्छ । दिनभरी मन रोमाञ्चित बन्छ । दिनमा तिनै दृश्यहरू नाच्छन् । आँखा अघि तिनै तस्वीरहरू झल्झली घुम्छन् । आहा कति मीठो !

सपना जस्तै कहाँ रमाइलो हुन्छ र बिपना…!

म ठूलै हुँदासम्म सपना र कथा छुट्याउन सक्दैन थें रे, भन्नुहुन्छ आमाले । बिहान उठ्ने बित्तिकै मलाई आज के कथा देखिस् भनेर जिस्काउनु हुन्थ्यो बुवाले । मैले पनि यो कथा देखें भन्थे बुवासँग । कथा त्यति लामो पनि देखिन कुनै दिन । अझै पनि  के कथा देखिस् ?  भनेर जिस्काउने गर्दछन् दिदीहरूले बेलाबेलामा ।

अहिले मलाई लाग्दैछ  सायदै मैले सानोमा सपना नदेखेरै होला अहिलेसम्म कथा मात्रै देखिरहेको छु । हरेक दिन मेरा लागि कथा बनेका छन् । कतिपय  कथाहरूको पात्र म आफै बन्छु । कतिपयको  हुन्न फरक यत्ति हो । मैले हरेक सपनालाई कथा बनाउनु छ । कथाकै रूपमा रूपान्तरण गर्नु पर्ने पनि छ ।

कथा बन्नु, जीवन जिउनु, जीवनलाई कथा बनाउनु, कथालाई जीवन्त पार्नु पनि त सपना होइन र !

कथै कथालाई मैले मेरो  जीवनको आदर्श ठानेको छु । जब मानिस सपना नदेखी झल्याँस्स ब्युँझिन्छ । त्यतिन्जेल उसको सब थोक बिग्रेको हुन्छ । जब सब थोक बिग्रन्छ अनि त्यहाँ कथाका थरीथरी पात्रहरू ब्युँझिन्छन् ।

सहानुभूतिका पात्रहरू झन् धेरै जन्मिन्छन् । बलेको आगो ताप्नेहरू  पनि बिच्किन्छन्  । एकातिर राम राम गर्नेहरू त छँदैछन् ।

छोइसक्नु हुन्न कसैलाई । बोलिसक्नु हुन्न कतै । जहाँत्यहीं कथै कथा जहाँत्यहीं पात्रै पात्र । पैसाको उन्माद ।  जहाँत्यहीं घाउ । जहाँ जाऊँ अपमान । जहाँ जाऊँ चोटै चोट ।

राजधानीमा मानिस केही गर्छु भनेरै पसेका हुन्छन् । नयाँ नयाँ सपना बुनेर छिरेका हुन्छन् । मेरो त त्यति ठूलो सपना पनि रहेनछ र त फगत यहाँसम्म आइरहेछु ! जीवनका हरेक उतार चढावलाई स्वीकार्नु मेरा लागि कथा हुन् ।

यहीँ कथालाई भुलाउन  जे सक्छु त्यहीँ काम गरिरहन्छु । खाली समय  हुन्न पनि मसँग । बिना बोझको दैनिकी हुन्छ मेरो । म जुनसुकै काम गर्दा पनि रमाएर गर्ने गर्छु । हेर्नेलाई रहर लाग्ने गरी  । यति हुँदाहुँदै पनि जीवनलाई कहिलेकाहीँ बुझाउन निक्कै गाह्रो हुन्छ यिनै गाह्रो परिवेशमा कथा बुन्ने गर्छु । सानोमा सपना नदेखेर त होला मलाई भाग्यले कथा बुन्न सिकायो ।

राजधानीमा छिर्नु सपना भन्दा पनि ठूलो  कथा रह्यो । जीवनका हरेक उतारचढावलाई स्वीकार्दा झन् कथा  बुन्यो  । बुन्दै जाँदा कथालाई मेरो कला ठानें ।

यहीँ कलालाई मैले मेरो ज्युने आधार बनाएँ । जुन आधारले मलाई बचाई राखेको छ । टिकाई राखेको छ । सपना र कथाको अर्थ सिकाई राखेको छ । सानोमा सपना नदेख्नु  र कथा देख्नुको अर्थ बारम्बार झस्काई रहेछ ।