लेख्नु सजिलो छैन र जान्नेका लागि गाह्रो पनि छैन । हतारोमा लेख्न अलिकति गाह्रो । गाह्रोजस्तो हुन्छ, भए पनि लेख्न सकिन्छ । फुर्सदले लेख्दा खासै केही हुँदैन । लेख्नु भनेको यस्तै रहेछ । समय र सीमाबन्दीको पर्दा लागेपछि अक्षरहरू सितिमिती पङ्क्तिबद्ध भएर बस्नै मान्दैनन् । टुक्राटाक्रीजस्ता छरपस्टिएका तर सग्ला अक्षरहरूलाई एउटै धागोमा एकाकार गरेर ढलानजस्तो जब्बर नबनाउन्जेल अक्षरहरूमा कुनै स्वाद र रङ हुँदैन ।

फलफूलहरू सबै आआफ्नै स्वादका हुन्छन् जसरी खाए पनि । तर कलात्मक ढङ्गले काटेर सजाएको देख्दा स्वाद निकै बढेजस्तो देखिन्छ । हातको शीप अथवा कलाले एउटै वस्तुलाई कति फरक बनाउन सक्छ भन्ने उदाहरण हो यो । त्यस्तै हुन्छ अक्षरहरू र कलात्मक अक्षरहरूका फरक । त्यसैले बेस्वादका अक्षरहरू र श्रीहीन अक्षरहरूमा अक्षरका आत्मा हुँदैनन् ।

यस्तै छ अहिलेको जमाना । जुट्नेहरू दुर्लभ छन्, फुट्नेहरू असरल्ल छन् । पृथक विचार र प्रकृतिकाहरू समूहमा बाँधिनु त परैको कुरा भयो । एउटै प्रकृति र प्रवृत्तिकाहरू पनि दुई वा दुईभन्दा बढी समूहमा मिलेर अङ्कमाल गर्दा उदाहरण बन्ने गरेको छ अहिले ।

एउटै आमाका सन्तानहरू एउटै धुरीमा अट्न चाहँदैनन् । अन्य परिवारको त कुरै धेरै टाढाको नै भइहाल्यो । त्यसो त भनिएकै छ बाघको मुख हेर्नुपरे बिरालोको हेर्नु र शत्रुलाई सम्झनुपरे दाजुभाइलाई हेर्नु । हुन त अहिले यो उखान बिरालो र बाघमा मात्र सीमित छैन । एउटै झण्डा र राष्ट्रियतामा हुर्की बढेकाहरू नै एउटै भाषा, भेष र संस्कृतिका सहचारीहरू–पृथक्पृथक् भौगोलिक सीमाका लागि आफ्नै रगतमा होली खेल्छन् र आफै उम्रनका लागि रगतको सिंचाई गर्छन् ।

होडकासाथ एकापसमा धर्मको नाममा हिंसा, पदको निम्ति हिंसा र सम्पत्तिका लागि हिंसा भए पनि भन्नुपर्छ हिंसा निहुँको लागि बनिरहेको छ ।

यतिखेर निबन्ध लेख्ने विषयमा भनिएका केही मित्रहरूका धारणा सम्झिरहेको छु । कोही भन्छन्, विषय पाएपछि लेख्नलाई गाहे लाग्दैन । कोही भन्छन्, सुरुका केही हरफ लेख्न निकै गाहे हुन्छ । कोही भन्छन्, राम्रो शीर्षक आएपछि मात्र लेख्न सक्छु नत्र सक्दिन । कोही भने लेखिसकेपछि मात्र शीर्षक राख्छु । कोही भने विषय पाएपछि मजाले पकाउँछु आफूभित्रै । अनि लेख्छु सजिलै भन्छन् ।

भनेपछि निबन्ध लेख्नका लागि असलीमा बीउचाहिं हो के त ? कोही शीर्षकलाई नै निबन्धको पहिलो आधार मान्छन् । विविध सामान हुने पसललाई चिनाउनको लागि एउटा साइनबोर्ड भएजस्तै । ठूलो बोरामा भएको चामल कस्तो छ भनेर हेर्नका लागि सानो सुइरोले अलिकति निकालेजस्तै । जति नै अग्लो र ठूलो घर भए पनि पस्ने मूलढोका सानै भएजस्तै । निबन्धको मूलद्वार शीर्षक नै हुनुपर्छ । भन्दा त सजिलो कामजस्तै लाग्छ । गर्न थालेपछि बल्ल थाहा हुन्छ त्यसको महत्त्व ।

जुनसुकै विषयमा अरुलाई पर्दा खासै केही हुँदैन तर आफूलाई परेपछि भने ज्वरो नै आउँछ भन्छन् । त्यसै भएर होला अर्ती र उपदेश भनेको अरुका लागि मात्र भन्छन् । हुनत  शीर्षक खोज्नु भनेको सजिलो हुँदै होइन । एकजना निबन्धकार भन्छन् – छोरी जन्मनासाथ प्रसूतिगृहमा निबन्धको एउटा शीर्षक पाएँ । छोरीले पहिलोपटक आँखा खोल्नासाथ देखेको उनको आँखा नै निबन्धको शीर्षक बन्यो । सन्तान सबैका जन्मिन्छन् । व्यवहार, समाज र संस्कार सबैका उस्तैउस्तै हुन् ।

सन्तानहरू जन्मिरहेका छन्, हुर्किरहेका छन्, बढिरहेका छन्, र मरी पनि रहेका छन् । चाहिनेले यसैमा लेख्ने विषय पाउँछन् । शीर्षक पाउँछन् । नलेख्नेहरूले केही बोलेर, केही सुनाएर वा हाँसेर प्रतिक्रिया व्यक्त गरिदिन्छन् । त्यसैले शीर्षक निबन्धको मात्र नभएर कुनै पनि कुराको खडेरी पर्ने सम्भावना देख्दिनँ म । यो अहम् हुँदै होइन मेरो ।

शीर्षक खोजेर निबन्ध लेख्दा झ्यालबाट भित्रको दृश्य हेरेजस्तो लाग्छ मलाई । त्यसैले म निबन्ध लेखिसकेपछि मात्र शीर्षकको खोजी गर्न थाल्छु । यसो गर्दा कोठाबाट टाढा देखिएको ठूला हिमाल र पहाडलाई देखेजस्तो लाग्छ । बीउ खोजेर बाली लगाउनु र बाली लगाएर बीउ खोज्नुजस्तै फरक हो । अन्तर हो यो लेखनको । तर अन्तरजस्तो देखिए पनि समानान्तर पनि हो । त्यसैले भन्न मन लाग्छ निबन्धको बीउ हो, वीर्य जे भने पनि विषय पनि हो र शीर्षक पनि हो ।

सूक्ष्म तर शक्तिशाली । सूक्ष्म तर बृहत्तर । एक गेडाले हजारौं गेडा बनाउन सक्ने सामथ्र्य राख्छ बीऊले । एक थोपा निराकार वीर्यले एउटा आकृति र जीवन दिनसक्ने शक्ति भएजस्तै हुन्छ शीर्षकमा । मलाई ईष्र्या लाग्छ । यो शिप उखेलेर ममा भित्रसम्मै रोपुँजस्तो लाग्छ । गर्ने के ? आफू परियो मिर्मिरे बिहानी मात्र ।

‘कुखुरी काँ’ जस्तो बनेको छ मेरो परिचय । म सूर्य निम्त्याउने पहिलो डाँक मात्र बनेको छु । सूर्यलाई बिहानिन र मान्छेलाई गाउँगाउँबाट ब्युँझाउने रातो सिउर भएको भाले बन्न चाहन्छु । मेरो आवाज निद्राबाट ब्युँझने मात्र नभएर चेतनाबाट पनि ब्युँझने होस् भन्ने चाहन्छु । ‘कुखुरी काँ’ सुप्रभातको अभिभादन मात्र नबनेर सशक्त सन्देश पनि बन्न सकोस् । कुखुरी काँ ध्यान र प्रार्थना गर्ने समय मात्र नबनेर खराब प्रवृत्तिकाहरूको विनासको खबरदारीको सूचक पनि बनोस् भन्ने अभीष्ट छ ।

समयअनुरुप बोटबिरुवाजस्तै सिंगारिनुपर्छ कि पर्दैन ? मौसमअनुसार आस्थाका रङ परिवर्तन हुनु राम्रो कि नराम्रो ? यात्रामा बिदाई महत्त्वपूर्ण हुन्छ कि स्वागत ? प्रदर्शन गरेर ताज बनाउने प्रेम ठूलो हुन्छ कि अव्यक्त ? निरन्तर छन् यी प्रश्नहरू । समाधान विहीन समस्याहरू ।

प्रेम धेरै प्रकारले गर्न सकिन्छ । सानो मुटुले गर्ने ठूलो प्रेम, शरीरले गर्ने आशक्ति प्रेम र कीर्तिमानका लागि नाप तौल गर्ने प्रेम । प्रेमको मामलामा हामी र विश्व नै इतिहासबाट ठगिएका छौं । ताजमहलको आश्चर्यलाई हेरेर प्रेमको आदर्श र उदाहरण बनाएर हामीले कैयौं मुनामदन र मालती मङ्गलेका आदर्श प्रेमलाई अपमान गरिरहेका छौं । इतिहासबाट ठगिएपछि निस्तो वर्तमानलाई नाटकीय ढङ्गले स्वाद मानेर चपाइरहेका छौं । स्वाद पनि यस्तो स्वाद कि, चपाउन लागेको हड्डीले गिजा घोचेर निस्केको आफ्नै रगतलाई हड्डीबाट आएको रगत मानेर चुसेजस्तो । यो यस्तै हो अज्ञानतामा आनन्द र ज्ञानमा विडम्बना ।

मलाई आग्रही बन्न मन लाग्दैन । आज्ञा दिने मान्छे र नाम पनि हैन ।

मलाई कसैको बैंसमा घृणा गर्न रहर जाग्दैन । भन्नु हुँदैन कहिलेकाहीं अक्षरको बैंसले भावुक बनाएका छन् । अक्षरलाई बैंस लाग्न कुनै समय चाहिंदैन । बैंसालु अक्षरहरू चिरिच्याट्टका हुन्छन् । बैंस लागेका चरीले पखेटा फिजाउँदै उड्न खोजेजस्तो गर्छन् । अक्षरहरू भने आकासिएको जस्तो देखिन्छन् । त्यस्तै हुन्थ्यो मलाई पनि । बैंसको भारले भकारी जत्रो हुन्थे । तर त्यति नै बेला आकाश मडारिँदा म पट्टपट्ट फुट्न थाल्थें । सुङ्गुरलाई चिश्चित खोरमा राखेर नियमित दाना र जाँड ख्वाउन थालियो भने बोसो देख्ने गरी पट्टपट्टी जीउ फुटेजस्तै । आकासे गर्जनले जसरी म चर्किन्थे त्यसरी नै वर्षाले ममा बहार फर्काइदिन्थ्यो । त्यसैले पानी पर्दा ओतलाग्न मलाई मन लाग्दैन । रुख, विरुवाजस्तै भएर भिज्थें । मनलाई मयूर बनाएर पुलकित हुन्थें ।

जब खोला उत्ताउलो बनेर कोपिला र फूललाई अत्ताउन थाल्थ्यो । व्याधाको शिकारले खसमको पीडामा बगेकी भङ्गेरी र गुँड एकसाथ पछारिन्थ्यो । मलाई स्वादिलो ढुङ्गा परेजस्तो हुन्थ्यो । कोलाहल गुम्सेर आकाशलाई कुटुकुटु टोकेर थुक्न मनलाग्थ्यो । यो मामलामा एक्लो बन्नुपर्ला भन्ने त्रास ममा पटक्कै जाग्दैन । हुन पनि हूलमा हूलै बनेर परिचय गुमाउन नचाहने हुँ म ।

ज्ञात भएकै कुरा हो । विश्वमा एक्लो बनेर गिनीज बुकमा आफ्नो नाम दर्ता गर्न कीर्तिमानका लागि मानिसहरू कठिनतम् दौड दौडिरहेका छन् । कतै छैन यो दौडको अन्त्य । समुद्रका छालका लक्ष्य नभएजस्तै । कीर्ते दौडहरू विज्ञानसँग कुदिरहेका छन् । कम्प्युटर र तरङ्गहरूसँग कुँदिरहेका बेइमानीहरू । अर्काको छाता र जुत्ता लगाएर फिलिङ्गो झैं क्षणिक एक्लो बनेर इतिहास बनाउने घृष्टता गर्दैछन् । आफ्नो विजयमा आफ्नै बगलीबाट अबिर झिकेर दल्नु परेजस्तो गर्छन् । यस्ताहरू आफ्ना लागि जित बन्छन् र अरुका सामु पराजित हुन्छन् ।

सगरमाथा उक्लिएँ भन्नेहरू समुद्रको पींधमा गएर जाकिन्छन् । निबन्ध शिरैबाट हेर्दा त्रिभुवन राजपथजस्तै बाङ्गोटिङ्गो भइसकेको छ । तर पथहरू जति नै घुमाउरा भए पनि गन्तव्य त सीधै हुन्छ नै । यस्तै पथको यात्रा गर्दैछ कलम अक्षरहरूसँग ।

सत्यसत्य अहिलेसम्म कुनै शीर्षक पाउन सकेको छैन मैले । अरुलेजस्तो शीर्षक खोजेको पनि छैन र विषयलाई पनि अँगालो मार्नसकेको छैन । त्यसैले बल्छीमा माछा बल्झेजस्तै कलममा पनि कुनै शीर्षक वा विषय बल्झिहाल्छ कि भन्ने प्रतीक्षामा छु ।