जुलाईको उधुम गर्मी छ । काम गरिरहेको छु । सँगसँगै एउटा पङ्खा पनि काम गरिरहेको छ । त्यसको काम मलाई गर्मी हुन नदिनु हो । एउटा टेबल छ । त्यो पनि उक्त पङ्खालाई थाम्ने काम गरिरहेको छ । बाहिर सडकमा ट्रान्सफर्मर छ । कम्पनीभित्र विद्युत् पठाउने काम त्यसले गरिरहेको छ । कामको शृङ्खला यस्तै छ । मेरो तलब, भत्ता र बिमा छ । यी पङ्खा, टेबल र ट्रान्सफर्मरको केही पनि छैन । यिनीहरू एकै पटक सम्पूर्ण मूल्य तिरेर ल्याइएका छन् । मानव समाजको इतिहासमा एक काल खण्ड यस्तो पनि थियो जहाँ मानिसहरू दास थिए र यसरी नै एकै पटक सम्पूर्ण मूल्य तिरेर बेचिइन्थे ‘वान शट पेमेन्ट’ ।
होइन र ?
सोच्दै विस्मय लागेर आउँछ ।
कामको बीचमा टोपी फुकालेर एक छिनलाई पर राखेको छु र तालुलाई थोरै शीतलता प्रदान गरिरहेको छु । भर्खरै फुकालेर राखेको टोपीलाई यसो हेर्छु । टोपी खुइलिँदै गएको छ । टोपी मैलिँदै गएको छ । टोपीमा तेल र ग्रिजका टाटाहरू लागेका छन् । अहो ! यो कोरिया आउँदा ईपीएस (रोजगार अनुमति प्रणाली) अफिसले दिएर पठाएको टोपी । एउटा रातो टोपी जसको चुच्चो माथिको अग्र भागमा नेपाल र दक्षिण कोरियाका राष्ट्रिय झन्डाहरू हात मिलाइरहे झैं गरी राखिएका छन् । जसले नेपाल र कोरिया बीचको मैत्रीपूर्ण सम्बन्ध दर्शाएको बुझिन्छ । टोपीले मलाई आफू कोरिया प्रस्थान हुँदाको दिन याद दिलायो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरिया उड्न जम्मा भएको भीडमा म पनि उदास र हतप्रभ उभिएको थिएँ । ग्वार्को स्थित ईपीएस कार्यालयद्वारा उक्त टोपी लगाएर प्रस्थान गर्नु भन्ने निर्देशन दिइएको थियो त्यसैले सबैले टाउकोमा त्यही रातो टोपी लगाएका थिए ।
मलाई भने एक किसिमको असहज महसुस भइरहेको थियो । मनमनै आफैसँग झिँजो मानिरहेको थिएँ । एक प्रकारको संकोचले छोइरहेको थियो । के हामी छिरबिरे जिउ र टाउका राता भएका अनौठा जातका कुखुराहरू हौं ? के ईपीएस अफिसले दियो भन्दैमा लाइहाल्नु पर्छ त ? म वाहियातमा आफैभित्र आन्दोलित हुँदै थिएँ । मैले उक्त टोपी कच्याककुचुक पारेर ह्यान्ड क्यारीको साइड खल्तीमा घुसारेँ र आखिर मैले त्यसैगरी झोलामै राखेर टोपीलाई कोरिया ल्याइपुर्याएँ ।
यसरी म आफ्नो समूहको Black Sheep भएको थिएँ । वास्तवमा नढाँटी भन्ने हो भने मैले धेरै समयसम्म त्यो टोपीलाई बडो घृणाको दृष्टिकोणले हेर्दै आएको थिएँ । त्यो मेरो निम्ति अबदेखि तँ एउटा अन्तर्राष्ट्रिय मजदुर होस् भन्ने कुराको याद दिलाइरहने एक त्याज्य वस्तु सिवाय केही थिएन ।
बिदाको दिनको कुनै एउटा दिउँसो मेरा दुई अनन्य मित्रहरू सिन्धुपाल्चोकका राजन भण्डारी, काभ्रेका रामकृष्ण ढुंगाना र म बाहिर खाना खान भनेर निस्किएका थियौँ । त्यही बेला कुरै कुराको प्रसङ्गमा रामकृष्ण ढुंगानाले आफू कोरिया आउँदाको टोपी नलगाई त्यतिकै राखेको र पछि नेपाल लगेर आफ्नो कोठामा कतै सजाएर राख्ने कुरा गरे ।
उनले यही टोपीले गर्दा आफ्नो जिन्दगीमा आएको परिवर्तनको कथा बुढेसकालमा छोरानातिलाई सुनाउने इच्छा रहेको पनि बताए ।
उनको यो भावुक र मन छुने कुरा सुनेर पहिलो पटक मलाई त्यो टोपीको थोरै भए पनि माया लागेर आयो । त्यसपछि हो मैले कमसेकम काम गर्दा नै सही त्यसलाई लगाएर सदुपयोग गर्ने निर्णय गरेको ।
हो, केहीबेर अडिएर म अहिले यही टोपीलाई हेरिरहेको छु ।
तपाईंहरूलाई लाग्न सक्छ जाबो टोपीको पनि लेख के लेखेको होला ?
पख्नुहोस्, यो टोपी अब त्यति सस्तो र सामान्य टोपी रहेन । ग्वार्कोमा ईपीएस परीक्षाको लागि आवेदन दिन नपाएर झडपमा मृत्यु हुने सुजन रावत र वीरेन्द्र साह भुल्नु भएको छैन नै होला । उनीहरूको लक्ष यही टोपी लाउने थियो । परीक्षा आवेदन दिएर, उत्तीर्ण भएर, यस्तै रातो टोपी लाएर कोरिया उड्ने उनीहरूको सपना थियो ।
अनि म जस्ता थुप्रै साथीभाइहरूले विश्वविद्यालयबाट ग्र्याजुएट हुँदा लाएको कालो टोपीभन्दा यै रातो टोपीको उपादेयता बेसी देखेर मास्टर्स ब्याचलर्सको सर्टिफिकेट देशमै थन्क्याएर यसलाई रोजेका छन् । नेपाल सरकारकै सिन्दूर लाएका थुप्रै कर्मचारीहरू समेत आर्थिक अभावले निधार चाउरिएपछि सिन्दूर पुछेर यै रातो टोपीलाई रोजेका छन् । अब बुझ्नुहोस् यो टोपीको गाम्भीर्यता ।
हो, यै टोपीले हो कोरिया पुर्याउने । यही टोपीको प्राप्तिको निम्ति आज वर्षेनी लाखको हाराहारीमा युवाहरू शहरका गल्ली गल्लीहरूमा रातबिरात कोरियन भाषा पढिरहेका छन् ।
कोरियन सिनेमा राम्ररी हेर्नेहरूलाई थाहा छ । एउटा कोरियन फिल्म छ कुक्चे सिजाङ भनेर जसको शाब्दिक अर्थ हुन्छ – अन्तर्राष्ट्रिय बजार । अंग्रेजीमा यसलाई Ode to my Father भनिएको छ । सलमान खान अभिनीत बलिउड फिल्म भारत यसै फिल्ममा आधारित रहेको छ ।
यस बहुचर्चित फिल्ममा कसरी गरिब मुलुक कोरियाका युवाहरू अन्तर्राष्ट्रिय श्रम बजारमा काम गर्न गएका थिए; कसरी कोरियनहरू युद्धका घाउद्वारा व्यथित थिए; कसरी उनीहरू पश्चिम जर्मनीका खानी तथा अस्पतालहरूमा जोखिमपूर्ण कामहरू गर्थे भनेर दर्दनाक कथा देखाइएको छ । फिल्मको अन्त भने बडो सुन्दर छ, जसमा कोरियाको आजको भव्य विकास र झिलिमिली समृद्धि देखाइएको छ ।
प्रिय मित्र रामकृष्ण ! म कल्पना गर्न चाहन्छु, तिम्रो रातो टोपी तिम्रो कोठामा तिमीले चाहे जस्तै त्यसरी नै सम्झना बनेर झुन्डिइरहोस् र जब हामी बूढा हुनेछौं तिम्रो घरको छतमा बसेर कुनै दिन हुक्का तान्नेछौँ । र कुक्चे सिजाङ फिल्मको सुन्दर अन्त्य जस्तै हामी बूढा हुँदासम्म हाम्रो देशले पनि विकास र समृद्धिको सबैभन्दा उच्च शिखर चुमिसकेको होस् । अनि देशले फड्को मारेर हाम्रो यो रातो टोपीको आजको कथा व्यर्थ नगएको प्रमाणित भैसकेको होस् ।
र अन्तमा, त्यसो त ईपीएस कार्यालयले रातो टोपीसँगै ज्याकेट पनि त दिएको हुन्छ । किन टोपीको मात्रै लेख लेखेको ? किन ज्याकेट छुटाएको ? भन्नु होला । त्यो चाहिँ मैले टोपीको लेखेँ अब तपाईं कोही कोरियामा यदि हुनुहुन्छ र लेख्ने गर्नु हुन्छ भने ज्याकेटको लेख तपाईंको जिम्मामा । धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।