क्यालिफोर्निया राज्यको कन्कर्डमा जुन ८ देखि जुन १४ सम्म आयोजना गरिएको चक्र विज्ञानको सात दिने शिविरले हामीलाई शारीरिक र मानसिक रूपले स्वस्थ रहने धेरै उपायहरू सिकायो । त्यहाँ दिइएका ज्ञानहरू मध्ये ढोगाइ सम्बन्धी ज्ञानले मलाई ठुलो प्रभाव पार्यो । हाम्रो हिन्दू/नेपाली संस्कृतिमा श्रीमानलाई श्रीमतीले ढोग्ने चलन छ जुन पारिवारिक मर्यादा क्रम अनुसार सानाले ठूलालाई ढोग्ने प्रचलनको उपज हो ।
हामीले जानिआएको र मानिआएको चलनको ठीक विपरीत गुरुवर भानु शर्माले भन्नु भयो, “हाम्रो वैदिक सनातन धर्ममा श्रीमानलाई श्रीमतीले मात्र ढोग्नुपर्छ भन्ने कहीं लेखिएको छैन । जसरी श्रीमतीले श्रीमानलाई ढोग्न मिल्छ त्यसरी नै श्रीमानले पनि श्रीमतीलाई ढोग्न मिल्छ । वास्तवमा वैदिक समयमा त्यस्तै चलन थियो । छोरा र छोरी दुवैको व्रतबन्ध गरिन्थ्यो । छोराछोरी दुवैले दिवङ्गत बाबु आमाको श्राद्ध गर्दथे । हाम्रा त्यस्ता सुन्दर सनातन मान्यता र संस्कारहरूलाई बिगारेर आफ्नू फाइदा र सजिलो अनुकूल बनाएको कर्मकाण्डले हो । सबै विभेदकारी नियमहरू सनातन धर्ममा भएको राजनीतिकरणका उपज हुन् । शिर निहुराउनु भनेको आफैँमा एउटा योग हो जसले मानिसको मानसिक स्वस्थमा सकारात्मक प्रभाव पार्दछ ।
शिर झुकाएर या टाउको टेकेर गरिने योग अभ्यासहरूले कयौं मानसिक समस्याहरूको निदानमा सहयोग पुग्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको समेत त्यहाँ बताइयो । हाम्रो माटोमा उम्रिएको सनातन धर्मले स्थापित गरेका यी र यस्तै अन्य मान्यताहरू हाम्रो मानसिक, शारीरिक, पारिवारिक र सामाजिक जीवनलाई मजबुत बनाउन कोसेढुङ्गा साबित हुन सक्ने रहेछन् तर हामी युगौंदेखि ती कुराहरू जान्न, बुझ्न, र तिनीहरूलाई जीवनको शैली बनाउनबाट वञ्चित भएका रहेछौं ।
चक्रविज्ञानको सात दिने शिविर सकेर आएपछि म आफू र परिवारलाई खुशी बनाउने केही नयाँ कुराहरू गर्न चाहन्थें । म मेरो दैनिकीमा क्रमभङ्गता ल्याउन चाहन्थेँ जसले गर्दा परिवारमा सबैलाई खुशी रहने नयाँ बहाना मिल्न सकुन् ।
मैले अघिल्लो रातै निधो गरेको थिएँ । म पहिलो सङ्कल्पको रूपमा श्रीमतीलाई ढोगेर दिन सुरुवात गर्छु । बच्चालाई पनि त्यसै गर्न सिकाउँछु र परिवारमा खुशी र एक अर्काको सम्मान गर्ने वातावरणको सिर्जना गर्छु ।
म बिहानै उठेर उनलाई ढोग्न अघि सर्दा पुष्पा निकै हिचकिचाइन् । उनले मलाई खुट्टा नदिनु स्वाभाविक थियो । हामीले आजसम्म जान्दै आएको कुरा त्यही थियो जुन बूढाले बुढीको खुट्टा ढोग्नु हुँदैन । त्यसो गर्नु भनेको आज सम्म हामीले जानिआएको सामाजिक मान्यता विरुद्ध थियो । त्यो हामीलाई सिकाइएको संस्कार विरुद्ध थियो ।
कुनै समय थियो जति बेला श्रीमतीले श्रीमानको गोडाको पानी खानु पर्थ्यो । कतिपय धार्मिक कार्यमा अहिले पनि त्यो गरिन्छ । कतिपय ठाउँहरूमा सायद अहिले पनि त्यो चलन कायमै छ । तर हिजोआज श्रीमतीले श्रीमानका खुट्टा ढोग्ने चलन हराउँदै गएको छ । यस चलनलाई राजनैतिक रङ्ग दिइएको छ । हिजोआज श्रीमानका खुट्टा ढोग्नुलाई नारी जातिमाथि लादिएको कुसंस्कार ठानिन्छ । आधुनिक समयमा त्यसरी ढोग्नुलाई हेपिनु, दमित हुनु वा विभेदको सिकार हुनु भन्ने अर्थमा बुझ्ने गरिन्छ ।
म आफूलाई एक आधुनिक र शिक्षित श्रीमान ठान्थेँ र श्रीमतीलाई ढोग्न लगाएर आफू ठुलो भएको ठाँट गर्न चाहँदिन थिएँ । म एक नारीवादी भएकोले ढोगाउनुलाई अपराध ठान्थें । मलाई थाहा थिएन । कम्तीमा ढोग्ने बहानामा दिनमा एक पटक टाउको निहुराउँदा मेरो ब्रेनका हर्मोनहरू सक्रिय बन्नेछन् अनि आफ्नो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने मान्छेलाई सम्मान गरेर दिन सुरुवात गर्दा मैले नयाँ ऊर्जा प्राप्त गर्नेछु ।
चक्र विज्ञानमा गुरुवर भानु शर्मा र रमेश नेपालसँग सात दिन सत्सङ्ग गरेर आएपछि मैले फरक अनुभूति गर्न थालेको थिएँ । वहाँहरूले बाँड्नु भएको ज्ञानले मलाई फरक मान्छे बनाएको थियो । अब म आफैंभित्र ईश्वर खोज्न थालेको थिएँ । अब म आफू भित्रको ईश्वर भेट्टाउन माया, प्रेम, सम्मान, खुशी र योग साधनाको बाटो पछ्याउन तयार भएको थिएँ ।
अब म मेरो माटोमा जन्मिएको वैदिक सनातन धर्मले देखाएको योग, प्राणायाम र साधनाको बाटो पछ्याएर मेरो र परिवारको स्वास्थ्य उपचार गर्न चाहन्थें । त्यो दिन बिहान पुष्पाले नमाने पनि मैले जसोतसो उनको खुट्टा ढोगिछाडें । त्यसपछि उनले पनि मलाई ढोगिन् । भर्खरै उठेर सोफामा बस्दै गरेका छोराछोरीले पनि हाम्रो ढोगा ढोग देखे र अचम्म मानेर हाँसे । उनीहरू पनि ढोग्न तम्सिए । एकैछिन् पारिवारिक ढोगाढोग चल्यो । ढोग्नु एउटा सामान्य क्रिया थियो तर त्यसले उठाएको हाँसो र मुस्कानको फोहरा अनुपम थियो ।
त्यो दिन साँच्चै नै ममा नयाँ ऊर्जा प्रस्फुटन भएको थियो । एउटा प्रेमिल अनुभूति सँगाल्दै दिन सुरुवात गरियो । दिनभरि फरक महसुस भयो । सानातिना एक अर्कालाई मन नपर्ने कुराहरू वा गल्तीहरू भएपनि हामी वाक युद्धमा उत्रनुको सट्टा हाँसेर आफ्नो गल्ती स्विकार्ने तर्फ लाग्यौँ । बच्चाहरूले केही गल्ती गर्दा पनि झर्किएर र चर्किएर बोल्न मन लागेन ।
म विगत दुई वर्षदेखि फ्री वेमा लेफ्ट लेनमा गाडी कुदाउन सकेको थिइनँ । म टेनिस खेल्दा खेलमा एकाकार हुन सकेको थिइनँ । कुनै काममा ध्यान दिएर काम गर्ने बानी हराउँदै गएको महसुस हुने गर्दथ्यो । ती सात दिनको नचाइ, हँसाइ, व्यायाम र प्राणायामले एउटा सर्किट ब्रेकरको काम गरेको थियो । तन र मन दुवै रिचार्ज भएको थियो । शरीर फुर्तिलो र हलुका भएको थियो अनि मन फुरुङ्ग भएको थियो ।
चक्रविज्ञानको ती सात दिन ! आनन्द र आश्चर्यले भरिएका थिए । गुरुद्वय भानु शर्मा र रमेश नेपालको प्रवचन पहिलो ठुलो आश्चर्य थियो । उहाँहरूको धाराप्रवाह प्रवचनले हामी साधकलाई मन्त्रमुग्ध मात्र बनाएन हामी सबैले अध्यात्ममा दीक्षित भएको महसुस गर्यौं ।
भानु गुरुका अनुसन्धानमा आधारित तार्किक बिचारहरू र रमेश गुरुका सिर्जनात्मक र सन्देशमूलक अभिव्यक्तिले सात दिने प्रयोगशालालाई विश्वप्रसिद्ध कुनै विश्वविद्यालयको वरिष्ठ प्राध्यापकको कक्षा भन्दा कम गहन बनाएको थिएन । हामी सबै ज्ञानको सागरमा पौडिरहेका थियौं । एक क्षण पनि त्यो सागरबाट निस्कन मन थिएन । जति सुने पनि नथाकिने उहाँहरूका श्रुतिमधुर वाणीहरू अलौकिक थिए । अर्को आश्चर्य कार्यक्रमको व्यवस्थापन थियो । केही सामान्य कुराहरू बाहेक कार्यक्रम चुस्त र व्यवस्थित रूपमा सञ्चालन भएको थियो । शान्त वातावरण, सात्त्विक भोजन र ऊर्जा ध्यानको संयोजनले कार्यक्रमलाई अविस्मरणीय बनाएको थियो जसका लागि आयोजकहरू धन्यवादका पात्र हुनुहुन्छ ।
चक्रविज्ञानको सात दिने शिविरमा मैले पाएको ज्ञानअनुसार जीवन विज्ञानले मानिसलाई आफूभित्र हेर्न सिकाउँछ । आफू भित्रको राक्षसलाई पहिचान गरेर त्यसका विरुद्ध लड्ने ऊर्जा प्रदान गर्दछ । व्यायाम, योग, प्राणायाम र ध्यानको नियमित साधनाको माध्यमबाट आफ्नो कमजोर चक्रलाई ऊर्जाशील बनाई आफू भित्रको ईश्वरको पहिचान गर्न सिकाउँछ ।
तर त्यो सात दिने शिविरमा देखिएका कतिपय दृश्यहरू र प्रवृत्तिहरूले फेरि पनि आफूमा होइन अरुवा ईश्वर देख्ने, देवत्वकरण गर्ने र देवत्वग्रहण गर्ने पुरानो मनोरोगलाई मलजल गर्न खोजे जस्तो प्रतीत हुन्थ्यो । कतिपय साधकले गौड रूपमा यस कुरालाई अभिव्यक्त पनि गर्नु भएको थियो । आफू भित्रको देवतालाई बिर्सिएर देवता खोज्न बाहिर जानु भनेको जीवन विज्ञानले दिन खोजेको शिक्षाको प्रतिकुल हुनु हो । त्यो अमूल्य ज्ञानको अवज्ञा गर्नु हो अनि अवमूल्यन गर्नु हो । जीवन विज्ञानलाई देवत्वकरण र देवत्वग्रहणको भुलभुलैयामा फस्नबाट जोगाउनु हाम्रो चुनौती र कर्तव्य दुवै हो । यसलाई पुनः कर्मकाण्डी हुन बाट बचायौँ भने मात्र गुरुहरूले देख्नु भएको जीवन विज्ञानलाई विश्व मानव कल्याणको भरपर्दो साधन बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटनको केन्द्र बनाउने सपना साकार हुन सक्ला ।
अन्त्यमा रमेश गुरुले भन्नु भए जस्तो अबदेखि मैले केही काम वा कुरा पनि मनपरी गर्ने तर मन नपरी नगर्ने निधो गरेको छु । मलाई रिसाउन मन पर्दैन । मलाई बच्चालाई गाली गर्न मन पर्दैन । मलाई मादक पदार्थ सेवन गर्नु राम्रो होइन भन्ने थाहा छ र कसैले मादक पदार्थ सेवन गरेर आफ्नो र परिवारको खुशीको हत्या गरेको मन पर्दैन । मलाई झुटो बोल्नु हुँदैन भन्ने थाहा छ । एउटा झुट लुकाउन अर्को झुटको सहारा लिन खोज्दा तनाव हुन्छ भन्ने थाहा छ । अनि तनाव सम्पूर्ण रोगहरूको मुख्य कारण हो भन्ने पनि थाहा छ । त्यसैले मैले प्रण गरेको छु अबदेखि मलाई जे मन पर्छ त्यही मात्र गर्छु । मन नपरी केही पनि गर्दिनँ । सधैँ मनपरी मात्र गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।