मलाई सोच्न मन लाग्यो संसारमा बिउ नभएको भए के हुन्थ्यो ? बिउ सृष्टिको आधार हो । विज्ञानले संसारमा पशुजगत् र वनस्पति जगत् छन् भन्छ । यी दुवैको आधार बिउ हो । मानिसको सोचको आधार पनि बिउ हो । बिउ नभए सायद सोच, सृष्टि र विकासको कल्पना हुने थिएन ।
हामी बिउ रोप्छौँ, छर्छौं, सार्छौं, पुर्छौं । यही बिउ खान्छौँ, अघाउँछौं अनि आफैं बिउ नष्ट पार्छौं । बिउ नष्ट पार्नु अर्को पुस्ता समाप्त पार्नु हो । अहिलेको संसारमा दिगो विकासलाई तिलाञ्जली दिनु हो । बिउ बचाउनु सृष्टि र सभ्यता बचाउनु हो । मानिस लगायतका जीव र वनस्पति बचाउनु हो । मानवीय सोच बचाउनु हो । सोच खराब भए बिउ उम्रँदैन । यो एक प्रजातिको अन्त्य हो । हामीले पढ्ने पारिस्थितिक प्रणालीको अन्त्य हो । मानिसले आफूलाई आफैंले सर्वश्रेष्ठ प्राणी घोषणा गरेको छ र कुनै दिन अरू पशुभन्दा पहिले आफ्नो नाम विश्व दर्ता किताबमा लेखाउन पनि बेर लाउँदैन । यति जान्ने मानिसको मस्तिष्कको कुनै छेउमा बिउ सोच हुनुपर्छ । अब बिउ छरेर पुग्दैन । यसलाई जोगाउनुपर्छ, उमार्नुपर्छ र हुर्काएर फलाउनुपर्छ ।
सृष्टि बिउमा निर्भर रहन्छ । असल बिउ असल प्रजातिको मूल हो । असल सोच उन्नत भविष्यको वास्तविकता हो । मानिसले आफ्ना ज्ञानले अरूका ज्ञानलाई छोप्नु हुँदैन । बरु अरूका ज्ञानको छहारी हालेर आफ्नो ज्ञान हुर्काउनुपर्छ । रैथाने ज्ञानले मानिसलाई सधैँ बचाउँछ । यसले विपत्तिको सामना गर्ने सामर्थ्य बढाउँछ । बारीको पिपल छहारीमा बस्न सोधिरहनुपर्दैन । पराईको शीतलता महँगो हुन्छ । अमूल्य रैथाने ज्ञान, सिप जीवनोपयोगी सभ्यताका आधार हुन् । सास, गाँस र पहिचानको बिउ भण्डार नगरे अर्को शताब्दी हाम्रा लागि भयानक हुन सक्छ । पिण्डज, उद्विज, स्वेदज वा जरायुज जे हुन्, जोगाउनुपर्छ । अक्षर बिउ र मस्तिष्क बिउको छहारीमा बस्न नसिके हाम्रा अगाडि बनमारा ज्ञानले जरा फिँजाउँछ । वरका जरामा उम्रेर पातको शैत्य नाश गर्ने ज्ञान र सिपमा रमाउनु विवेकको परिचय होइन । विवेक परम्परागत सिकाइ हो । परम्परागत सिकाइको आफ्नै तरिका हुन्छ, आधुनिकताले परम्पराको अन्त्य गर्न सक्दैन । हामीले आधुनिकतालाई परम्पराभित्र घुलाउन सक्नुपर्छ । पराइपनलाई आफ्नो न्यानोभित्र सम्हाल्न सक्नुपर्छ ।
हामीसँग प्राणी र वनस्पति जगत्का अमूल्य बिउ छन् । हाम्रा छरिएका रैथाने ज्ञान, सिप बटुल्न सके मस्तिष्क र मझेरी भरिन सक्छ । बाली भित्र्याउँदा बिउ फाल्ने र रोप्नुपर्दा छिमेकीकहाँ माग्नुपर्ने संस्कार हाम्रो होइन । हामी बिउ बाँडेर अरूलाई बचाउने संस्कारमा हुर्केका प्राणी हौँ ।
हामीलाई मिरमिरको पूर्वेली हावा जति प्यारो वातानुकूलित संसार प्यारो हुँदैन । पश्चिमी हावा लाग्दा लामो सास फेरेर जिब्रो बटार्न सिक्नु बोलीको पहिचान होइन । संसारमा भाषा संस्कृतिको बिउ बचाउनेहरूले अरूले भन्दा बढी विकास गरेका छन् । भाषा संस्कृतिमा बिक्नेहरूको बिउ मासिँदै छ । हजारौँ वनस्पतिको रैथाने प्रजातिले हामीबाट बिदा लिइसके । आधुनिकताका नाममा हामीले धेरै बिउको मृत्यु गराइसक्यौं । चन्द्रमाको यात्रा भन्दा चँदाराको सिप ठुलो हो । हामीले यसलाई बुझ्नै सकेनौं । अरूको हाँसोमा मुस्कान भर्यौँ तर आफूले मुस्कान निकालेर अरूलाई हँसाउनै सकेनौँ ।
हाम्रा रैथाने बिउ बचाउन हामीले पुर्खा पढ्नु आवश्यक छ । पुर्खाले विकास गरेको ज्ञान आयातित होइन, अनुभवमा आधारित छ । अहिले हामीले पहिलेका सिकाइको पहिचान गर्ने तरिका सिक्नु छ । यसलाई उन्नत बनाउनु आवश्यक छ । व्यक्तिको सिप वैयक्तिक हुन्छ तर उपलब्धि सार्वजनिक हुन्छ । वैयक्तिक सिपलाई सार्वजनिक बनाउनु आवश्यक छ । सानो बिउ उम्रेर अरूलाई छहारी दिन्छ । फल वंश वृद्धिका लागि हो । ज्ञान र सिपको फल अर्को शताब्दीको सुरक्षित भविष्यका लागि हो । यसका लागि स्थानीय ज्ञानको उत्खनन तथा वैज्ञानिकीकरण आवश्यक छ । ज्ञानलाई सिपमा रूपान्तरण गरी कल्याणसँग साट्नु आवश्यक छ । सिक्ने कसरी र सिकाइलाई आर्जनसँग जोड्ने कसरी भन्ने सिकाउने शिक्षा चाहिएको छ । लोरी गाउने कला सिकाउने शिक्षक चाहिएको छ । लट्ठ पार्ने ज्ञानभन्दा लट्ठी बनाउने सिप ठुलो हो । सिपको बिउ जोगाउने शिक्षाले मात्र विश्वको गति समाउन सक्छ । हामीले मति सुधारेर गति बढाउनु आवश्यक छ ।
ज्ञानको बिउ जताततै छरिएको छ । छरिएको ज्ञानलाई एक बनाउनु सिर्जना हो । सिर्जनालाई विस्तार गर्नु ज्ञानको प्रसार हो । सिर्जनाको कहिल्यै अन्त्य हुँदैन । ज्ञानकै माध्यमले सिपको स्तरोन्नति, पुनर्प्राप्ति र स्थानान्तरण हुन्छ । हावा, पानी, माटो आदिबाट बिउको प्रसार भएजस्तै ज्ञान गीत, सङ्गीत, नाटक आदिका रूपमा प्रसार भइरहन्छ । इन्टरनेट, कृत्रिम बौद्धिकताजस्ता प्रविधिले ज्ञानलाई सबलीकरण गर्छन् र सिप सिक्न बाध्य बनाउँछन् । मोबाइल फोनले हजुरआमालाई विद्युतीय साक्षरता सिकाएको छ । कृत्रिम बौद्धिकताले नातिलाई वैश्विक ज्ञान दिएको छ । यो बिउको सुरक्षा र भण्डार हो । ज्ञान र सिपको हस्तान्तरणमा मनोवैज्ञानिक सुरक्षा आवश्यक पर्छ । मनोवैज्ञानिक सुरक्षा नैतिकता हो । नैतिक इमानदारी र बिउको भविष्यपरक सुरक्षा हो । सुरक्षित र सुखी विश्वको एउटा प्राथमिकता हो ।
बिउको उम्रने र फैलन प्राकृतिक नियम हुन्छ । बिउ समयमा रोप्नुपर्छ । गलत मौसमको उपार्जन फाइदाकारी नहुन सक्छ । यसलाई समय र कामसँग जोड्नुपर्छ । मानिसले मानसिक वा भौतिक रूपमा दैनिक कामको सूची बनाउँछ । गर्ने कामको सूची बनाउनुभन्दा नगर्ने कामको सूची बनाउनु राम्रो हो । के गर्न सकिँदैन वा के गर्नु हुँदैन भन्न्ने कुराले के गर्न सकिन्छ र के गर्नु हुन्छ भन्ने निर्धारण गर्छ । आधा भरिएको ज्ञान र सिपभन्दा आधा खाली ज्ञान र सिप उत्तम हुन्छ । जसलाई पूरा बनाउन मानवीय प्रयत्नको थालनी हुन्छ र रैथाने बिउलाई आधुनिकताले मलजल गर्छ ।
माटामा गाडिएको बिउ उम्रेर फल्छ वा फल्दैन भन्ने पूर्वानुमान हुँदैन तर फल्छ भन्ने आशाले रोपिएको हुन्छ । आफ्नो आशा सकारात्मक हुनुपर्छ, केवल अरूका लागि सोचिने स्वार्थ नकारात्मक हुन्छ । सकारात्मक कुरा बढी सोच्नु आफूलाई तनावमुक्त राख्नु हो । अनावश्यक कुरा कम सोचेर अरूलाई र आफूलाई कम क्षति पुर्याउनु बिउको उमार क्षमता बढाउनु हो । आफ्नोपना बढाउन सिप र प्रतिभाको व्यवस्थापन रणनीति चाहिन्छ । यस पक्षमा सोच्न नसक्दा हाम्रो बिउका अनेकौँ प्रजाति र उमार क्षमता हामी आफैँले नष्ट गरिरहेका छौँ । सामाजिक, राजनीति, आर्थिक नेतृत्वले संस्कार र व्यवहार परिवर्तन गर्न नसक्दा आफूसँग भएका रैथाने र बौद्धिक बिउ हामी आफैँले नष्ट गरिरहेछौँ ।
हामी बच्न दिमागी विज्ञान समावेशी हुनुपर्छ । सिकाइ यात्रामा अरूलाई साथै लिएर यात्रा पूरा गर्न सक्नुपर्छ । सिकाइका साधन र औजार सफल सोचका कसी हुन् । आफ्ना औजारसँग हामी परिचित हुन्छौँ । आफ्ना ज्ञान र सिपलाई हामी प्रभावकारी प्रयोग गर्न सक्छौँ । आफ्ना ज्ञान, सिपको प्रयोग गर्दा सिपको अभिवृद्धि हुन्छ । सिपको अभिवृद्धिले दक्षता बढाउँछ । प्रविधिले सिप अभिवृद्धिलाई बाध्यात्मक बनाउँछ । पुनः सिकाइले सिपका क्षेत्र विस्तार गर्छ । चित्रकारको काम मेसिनले गर्छ, मानिसको मित्र मेसिन बन्छ । यसबाट आफ्नोपन नगुमी स्तरीकरण हुन सक्छ ।
वर्तमान विश्व प्रविधिसँग रमाउँछ । प्रविधिको उन्नतिका क्रममा मानिसले मेसिनलाई काम लगाउन सक्ने भएको छ । मेसिनमा प्रयोग हुने कृत्रिम बौद्धिकताले कामलाई सरलीकरण गरेको छ । पुराना पहिचान जोगाउन सजिलो भएको छ । सूचनाको एकीकरण भएको छ । अभिवृत्ति, ज्ञान र सिप जोडिएको छ । खुला दिमाग, आत्म अन्तरक्रिया र प्रवर्तनात्मक सचेतताले अभिवृत्ति सकारात्मक बनाएको छ । प्रयोग ज्ञान, अद्यावधिक प्रविधि, वास्तविक संसारको बोधले ज्ञानलाई विस्तार गरेको छ । सिपसँग उच्च गुणस्तर, समीक्षात्मक मूल्याङ्कन, सूचनाको एकीकरण जोडिएको छ ।
हार्बड बिजिनेस स्कुलको अध्ययनले कृत्रिम बौद्धिकताको प्रयोगबाट कामको गुणस्तरमा १२.२ प्रतिशत र काम गराइमा २५.१ प्रतिशत वृद्धि गरेको देखाएको छ । इन्टरनेटले २५ वर्षमा र स्मार्ट फोनले १५ वर्षमा गरेका काम कृत्रिम बौद्धिकताले पाँच वर्षमा गरेको छ । कम सिपलाई बढाउन कृत्रिम बौद्धिकता उपयोगी बनेको छ । हामीले आफ्नो सम्पदाको बिउ जोगाउन कृत्रिम बौद्धिकतामा साक्षरता हुनु पनि आवश्यक छ । कामको संसार परिवर्तन हुँदै छ । निरन्तर विकासका लागि दक्ष जनशक्तिको निरन्तरता चाहिन्छ । यसका लागि हाम्रा योजना र औद्योगिक क्षेत्रले उच्च गुणस्तरीय प्रतिभा आकर्षित गर्नु आवश्यक छ । गुणस्तरीय कार्यको उत्कृष्ट संस्कृतिले प्रतिभा आकर्षित गरी नैतिक मानिसलाई क्रियाशील बनाउँछ । मानिसलाई टिकाउन र विश्वलाई बचाउन ज्ञानको बिउ बचाउनुपर्छ । ज्ञानको बिउले बौद्धिकता र कृत्रिम बौद्धिकताको एकीकरण गर्छ ।बिउको मूल्य आकलन गर्न सकिँदैन ।
बिउ सृष्टि र सोचको निरन्तरता हो । मानिस भएर बाँच्न प्रकृतिको निरन्तरता चाहिन्छ । मलाई निजत्वको बिउ मासेर कलङ्कित हुने रहर छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।