सबै रोगको औषधी हुँदैन । भनिन्छ नि मूर्खको औषधी हुँदैन । ‘सबको ओषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ यस हिसाबले पनि सबै रोगको ओषधी हुँदैन । वैद्य विद्या अध्ययन गर्नेहरूले सबै रोगको ओषधी हुन्छ भन्लान् तर मलाई यसमा पत्यार छैन, मैले विश्वास गर्न छोडिसकेँ । म रोगको औषधी होइन अवधि हुन्छ भन्ने निष्कर्षमा पुगेको छु । यो अनुभवजन्य ज्ञानको परिणाम हो । यो मेरो व्यक्तिगत भोगाइ हो । यसमा सबैले सहमत हुनु नै पर्छ भन्ने केही छैन । तर मेरो भोगाइलाई राम्रोसँग बुझ्नेहरू अवश्य सहमत हुने छन् भन्ने कुरामा मलाई विश्वास छ ।

म मेरा खुट्टामा भएका खिलबाट आफ्नो अनुभव व्यक्त गर्दै छु । खिललाई अंग्रेजीमा Foot Corn भनिन्छ । यो खुट्टाको पैताला, कुर्कुच्चा र औंलाका वरिपरि हुने सामान्य रोग हो । यसका अनेकौँ निदानका उपाय पनि छन् । आयुर्वेद, एलोप्याथिक र होम्योप्याथिक उपचार पद्धतिमा यसको निदानका सयौँ उपायहरू बयान गरिएका छन् । यस्ता उपायहरू गरेर केही मानिसहरूले यसबाट मुक्ति पनि पाएका छन् भने केहीले शल्यक्रिया गरेर मात्रै आराम पाएका छन् । केहीले भने शल्यक्रिया गर्दा पनि बल्झिएर दुख बेहोरेका छन् ।

म भने मेरा खुट्टामा भएका खिलहरूबाट निकै अप्ठ्यारो अनुभव गर्दै थिएँ । करिब २०६० सालतिर एकजनाले खिलको अप्रेसन गरेको जानकारी पाएँ । त्यसरी अप्रेसन गरेका व्यक्तिसँग मेरा भेट भयो । यो काठमाडौँमा पढ्दाको कुरा हो । मेरा खुट्टामा त्यसअघि तीनओटा खिल थिए । एउटा खुट्टामा दुई, एउटामा एक । मैले खिलको अप्रेसन गराएका ती व्यक्तिलाई सोधेपछि उनीबाट ‘क्लिनिकमा पाँचसय रुपियाँ लाग्छ । सरकारी हस्पिटलमा गएपछि सित्तैमा अप्रेसन हुन्छ’ भन्ने जानकारी पाएँ ।

म नुहाएपछि वा लुगा धोएपछि ब्लेडले खिलको माथिल्लो भाग खुर्केर फाल्थेँ वा ढुङ्गामा घोटेर सफा गर्थेँ । अरू केही नगरेरै मेरो बाल्यकालदेखिका खिललाई पचाएरै बसेको थिएँ । त्यसपछि अप्रेसन दुई खुट्टाको गर्नका लागि विद्यार्थी कालभरि कुनै अवसर जुरेन । बबई क्याम्पस पढाउन सुरु गरेपछि खिलको अप्रेसन गरेको एकजना आफ्नै कक्षाको विद्यार्थी पनि पाएँ । उसले जिल्ला अस्पताल गुलरियामा गरेको रहेछ ।

म भने गर्मी बिदामा वीर हस्पिटल काठमाडौँमा जँचाउन गएँ । दुई घण्टाको लामो लाइन पार गरेपछि आएको पालो थियो । छालारोग विशेषज्ञ डाक्टरलाई देखाएँ । डाक्टरले औषधी लेखेर ‘यो खानू । तीन महिनापछि आउनू’ भनी पठाए । त्यसपछि औषधी पसलेकहाँ गएर औषधी के के लेखेको हो भनी सोधेँ । सबै कुरा बुझ्दा तीनओटा सिसीका बोत्तल रहेछन् । ती तीन सिसी औषधी पहिले त गुलरियासम्म लिँदै फुट्ने अनि पुगिहाले पनि तीन महिनापछि जँचाउन म आउन नसक्ने देखिएकाले म औषधी नलिएरै फर्किएँ ।

ती खिल नवरत्न औषधीले मालिस गर्दा गर्दै चट भए । कुनै औषधी, अप्रेसन केही गर्नु परेन । रोगको अवधि सकिएछ भन्ने मलाई लाग्यो ।

करिब तीन चार वर्ष म खिल मुक्त भएँ । त्यसपछि जुम्लामा कार्यरत रहँदा मेरो बायाँ खुट्टाको पैतालाको बिच भागमा चिलाउन थाल्यो । त्यसको उपचार गर्न जुम्ला आइएनएफ अस्पतालमा पुगेँ । त्यहाँको औषधीले काम गरेन । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा छालारोग विशेषज्ञलाई देखाएँ । त्यहाँबाट प्राप्त औषधीले केही दिन आराम जस्तो भयो तर पूर्ण निदान भएन । काठमाडौँ गएको मौकामा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञलाई देखाएँ । आइएनएफ र कोहलपुरमा भएको उपचारको पर्चा पनि देखाएँ । सबै हेरी जाँची उहाँले यो खिल नै हो भनी परिभाषित गर्नुभयो र एसिड लगाउन सल्लाह दिनुभयो । एसिड लगाएँ । त्यसले छालाको स्वरूपमा विकार ल्याउनुका साथै चिलाउने ठाउँभन्दा अलि वरपरसम्म पनि असर गर्‍यो । सन्चो भएन । त्यसपछि अर्कोपटक उहाँलाई नै देखाएँ । उहाँले एसिडको साटो क्रिम औषधी दिनुभयो त्यसले पनि सन्चो भएन ।

प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी र प्रादेशिक अस्पताल तुलसीपुरका छालारोग विशेषज्ञलाई पनि देखाएँ । त्यहाँबाट प्राप्त औषधी पनि लगाएँ तर सन्चो भएको छैन । नवरत्न, सजिवनको चोप, ब्लेडले खुर्किने लगायतका परम्परागत आफूले जानेका उपचार विधिबाट रोकथाम गरेर तत्कालको चिलाउनेको औषधी कन्याउने उपायबाहेक विज्ञान र आयुर्वैदिक औषधीको क्षेत्रमा भएका उपलब्धिले मलाई खिलबाट मुक्त गर्नमा असमर्थ रहेको बेहोरा मेरो अनुभवबाट पाठकहरूसमक्ष गुनासो, जाहेरीसहितको निवेदन पेस गरेँ ।

अन्तमा निष्कर्ष निकालेँ : ‘रोगको औषधी हुँदैन अवधि हुन्छ ।’

अवधि हुन्छ भनेर उपचार नै गर्न नजाने काम गर्नुहुँदैन तर रोग डाक्टरको औषधीले मात्रै निको हुने होइन, त्यसको अवधि पनि कुर्नुपर्ने रहेछ ।