मैले हेर्न खोजिरहेको मेरो आशापुञ्ज, मैले कुरिरहेको मेरो प्राप्तिलाई रातले लुकाइसकेको थियो । तर पनि म आँखा झिमिक्क नगरी परिस्थितिसँग भिजेर निथ्रुक्क भएर बसेको छु ।

म विज्ञानको मान्छे होइन । तर पनि विज्ञानले धोइपखाली गर्न बाँकी राखेको छैन मलाई । विज्ञानले कुनै कुरालाई नाइँ भनेको छैन । असम्भव पनि केही देखिएको छैन । विज्ञानले गर्दा नै समाजमा हुने नहुने सबैमा रहर जगाउन थालेको छ । समयले पनि यसलाई अस्वाभाविक होइन आवश्यक ठान्न थालेको छ । किन हो कुन्नि, मभित्र पनि अनौठो रहर पलाउनथालेको छ ।

फुलेको फूल टिप्नुभन्दा कोपिलाबाट फूल बनेको हेर्ने रहर जागेको छ । फूल मन परेकै कारण रहर जागेको मात्र होइन मलाई । त्यसो त फूल मन नपराउने को पो होलान् र ? अरुको रगत पसिनालाई आफ्नो उपलब्धि ठान्ने साशकहरू पनि फूलका प्रशंसक हुन्छन् । अरुका गर्धनमा चक्कु घोपेर निस्केको रगतका छिर्का र छट्पटाहटमा रमाउने अलकाइदा, आइएस र बोकोहरामका हाकिमहरू पनि फूलसँग दुश्मनी गर्दैनन् होला ।

फुर्सदले फूलको बगैंचामा एकछिन मात्र बस्न पाउँदा पनि मन फूलजस्तै हलुङ्गो हुन्छ मेरो । सुस्तरी हावा चलेर विविध सुगन्धले शरीरभरि स्पर्श गर्दा स्वर्ग भनेको यस्तै त होला नि भनेजस्तो लाग्छ मलाई । फूलप्रति अथाह स्नेह र प्रेम छ मेरो । कहीँ कतै फूलमा अलिकति धूलो लागेको देखें भने बगलीबाट रुमाल झिकेर पुछिहाल्छु । फूललाई धीत नमरुन्जेलसम्म सुमसुम्याउँछु र चुम्ने गर्छु । फूलको केस्राकेस्रामा आफूलाई फूलझैं प्रतिबिम्बित भएको पाउँछु । नजानेको कुनै भित्री सम्बन्ध हामीबिच भएजस्तो । फूलको आँखामा म र मेरो मनमा फूल भएजस्तो ।

मेरो अभीष्ट पूरा गर्ने मोह जाग्छ मभित्र । मनले चाहेपछि गरिहाल्ने बानी छ मेरो । बगैंचामा जान्छु । दिन ओइलाउन थालिसकेको थियो । फूल बन्ने समय हेर्ने उत्कण्ठाले सरासर गएर हाँगामुनि  अखडा जमाउँछु । म चाहन्छु, कोपिलाबाट फक्रनासाथ त्यसमा पहिलो दृष्टि मेरो नै परोस् । त्यसमा कसैको रहर नपलाओस् । मेरो मात्र अधिकार रहोस् त्यो फूलमा ।

अलिकति पीर लाग्छ र अलिकति  ईर्ष्या पनि जाग्छ ।

कोपिला फक्रिनासाथ डुब्दो घामले नुहाइदियो भने के होला ?

नयाँ साँझले बहकाइदियो भने के होला ?

हावाले चुम्बन गरिदियो भने के होला ?

कुनै भमरा आएर किचिमिची कुल्चेर रस जति सबै चुसीदियो भने के होला ?

त्योभन्दा खतरा त आँधी आएर बलात्कार गरिदियो भने झन् के होला ?

त्यो नवजात बालक फूलको क्रन्दन कसरी सुन्नु मैले ?

क्षतविक्षत् स्वरुपमा कुन आँटले पहिलो दृश्यको स्पर्श गर्नु मैले ?

सम्भावित आशङ्काहरूबाट भयभीत छु म । किनभने समय विज्ञानको छ र प्रकृति आफ्नोपनभन्दा धेरै टाढा पुगिसकेको छ ।

कसैको भर गरिहाल्ने जमाना छैन । सबैलाई शङ्का गर्नुपर्ने र डराउनुपर्ने समय छ । फूलको अघि न पुतलीले आफूलाई सानो छु भन्ने ठान्छ, न मालीले फूलको विश्वासी मित्र हुँ भन्ने ठान्छ । कपडा पसलको मारवाडी गद्दीमा बसेजस्तै गरी पुतलीहरू फूलमा बस्छन्, उनीहरूकै निम्ति फूलेजस्तो गरी । फूलमार्फत् कोही स्वागत गर्छन्, कोही बिदाई गर्छन् । कोही पूजा गर्छन्, कोही श्रद्धान्जली गर्छन् । स्याहार गर्ने माली आफ्नो मासिकी बढाउन मालिकको चाकडी गर्छन् । भर्खरै फक्रेको फूल होस् वा कोपिला, निर्दयतापूर्वक निमोठ्छन्, गुच्छा बनाउँछन् र बैठक कोठाको फूलदानीबाट पुरानो झिकेर नयाँ फेरिदिने गर्छन् । फूलमाथि हुनसक्ने यस्ता अनेक खतरा छन् । जसले मलाई कमजोर बनाउने गरेको छ ।

प्रतीक्षाको फल मीठो हुन्छ । प्रतीक्षाले समयलाई मूल्यवान बनाउँछ । प्रतीक्षाले धैर्य र संयम बनाउन सिकाउँछ । प्रतीक्षाले आत्मविकास गर्न उत्प्रेरित गर्छ । प्रतीक्षाको महत्त्व र महिमा गाएर सकिने कुरै होइन । प्रतीक्षापछि प्राप्त हुने विजय त्यो अन्य प्राप्तिसँग तुलना हुनै सक्दैन । प्रतिस्पर्धाबाट जित्दाको शानको अगाडि अरु जित वाकओभर पाएर जितेजस्तो मात्र हुन्छ ।

फूललाई फूलकै रुपमा हेर्न, प्रदूषणले नछुँदैको स्वच्छ फूल हेर्न । साँझले नचिस्याउँदै, हावाले नझोक्रयाउँदै फूलको कौमार्य रुप हेर्ने समयलाई कुर्न थालेको छु म ।

साँझ बढेर रात बनिसकेको छ । रात बाक्लो न बाक्लो केही नदेखिने बनेको छ । केही समयअघि गुञ्जिरहेका चराचुरुङ्गीका आवाज हराइसकेका छन् । अघिसम्म हावाका साथमा झुलिरहेका पातहरू स्थिर भइसकेका छन् । मानौँ, पातहरू मस्त निदाइसकेका छन् । अघिसम्म आकाशलाई चुनौती दिइरहेझैं लाग्ने अग्लो न अग्लो डाँडो आकृतिहीन भएर शान्त भएको छ । लाग्छ, डाँडो बिलाउनासाथ रातले स्वात्तै निलिदिएको छ । साङ्गीतिक माधुर्यमा छन्छनाउँदै बग्दै गरेकी निर्वस्त्र नदी अहिले लाजले लुकिसकेकी छिन् । नदीले आफ्नो आकृतिलाई लुकाए पनि आवाजलाई बन्द गर्नसकेकी छैनन् अर्थात् नदी रातसँगै गए पनि गुनगुनाउने आवाजलाई साथ लानसकेकी छैनन् ।

कति बलियो हुँदोरैछ रात । कति  ठूलो हुँदोरैछ रात । जस्तै मै हुँ भन्नेलाई पनि स्वात्तै निलिदिन सक्ने । रातजस्तो बलियोसँग जसले जति घमण्ड गरे पनि कसैको केही लाग्दैन होला । भनाइ नै छ नि – रात रहे अग्राख पलाउँछ । तर रातले अग्राख मात्र हैन फलामलाई पनि पगालिदिनसक्छ । ढुङ्गोमा पनि टुसो लगाइदिनसक्छ । बुढाबुढीहरूले त्यसै उखान हालेका कहाँ हुन् र ? दिन आफ्नो, रात अरुको भनेर ।

दिन आफैं रात बनेको पक्कै होइन होला । दिनको त्यति ठूलो अधिपत्य त्यत्तिकै कसरी लम्पसार पर्नसक्छ ? दिनलाई जोगाउन सूर्यले कम जुधेको थिएन होला । नसकेपछि कसको के लाग्छ र ? कत्राकत्रा साम्राज्य त हेर्दाहेर्दै ढलेका छन् भने । यही उन्मादले त होला रातले जे गर्न पनि छूट पाएको । रातको मनपरीलाई सहिरहनुपरेको  ।

आफ्नो भनेको आफ्नै हुन्छ । आफ्नो स्वतन्त्रता र सार्वभौमको स्वाद चाख्नेलाई मात्र थाहा हुन्छ । एकपटक बिटुलिसकेको माटो भनेको परपुरुषसँग रात बिताएकी युवतीजस्तै हुन् । उनीहरू ठूलो भए पनि, बलियो भए पनि, सानो भनेर जतिसुकै पेले पनि कुनै अर्थ राख्दैन । न उनीहरूले गरेको मीठो व्याख्याले पूर्णता पाउनसक्छ न उनीहरूले रहर गरेजस्तो आफ्नो बनाउन सक्छ । मनदेखिको आत्मविश्वास र आत्मविश्वासीहरूको जुलुस अकल्पनीय हुन्छ ।

मलाई कालो रात र निरङ्कुश शासक उस्तैउस्तै लाग्छ । नदेखिने सिंगले सधैँ हानिरहने ।  रात आएपछि आयोआयो । न कफ्यू लगाएर रोक्न सकिन्छ, न बाढी बगाएर बगाउन सकिन्छ । न भूकम्प बोलाएर भत्काउन सकिन्छ । न पहिरो लगाएर खसाल्न नै सकिन्छ रातलाई ।

कुनै विकल्प नभएपछि रातको सम्पूर्णतालाई स्वीकार्नै पर्छ । बाध्य हुन्छु म पनि । मेरो अभीष्टमा अवरोध गर्ने रात र रातको कालो अन्धकारलाई केही गर्न सक्दिन म । रातसँग दुश्मनी साँध्ने मनसाय पनि छैन । रिस उठ्दै नउठेको पनि होइन ।

मैले हेर्न खोजिरहेको मेरो आशापुञ्ज, मैले कुरिरहेको मेरो प्राप्तिलाई रातले लुकाइसकेको थियो । तर पनि म आँखा झिमिक्क नगरी परिस्थितिसँग भिजेर निथ्रुक्क भएर बसेको छु ।

कतै आँखा झिम्किएकै बेला कोपिला फक्रिएला कि भन्ने पीर छ मलाई । मूर्तिका आँखाजस्तै बनाउने प्रयासमा छु म । मद्रासको (गोल्डेन बीच) समुद्री किनारामा बनाइएको पार्कमा मूर्तिजस्तै गरेर  बसेका मान्छेहरूझैं एकनास टोलाएर बस्न थाल्छु । पटक्कै चल्दिन, मात्र हेरिरहन्छु ।

कति कठिन हुँदोरहेछ त जाबो एउटा फूलको जिम्मा लिन पनि । अरुको त कुरा गरेर साध्य नै छैन । हुन त यहाँ के पो गर्न सजिलो छ र ? कसैले कसैको सुरक्षा गर्न नसकेरै त होला नि यहाँ रातलाई साक्षी राखेर रातकै भरमा मान्छेहरू भत्किरहेछन्– भत्काइरहेछन् । कुच्चिरहेछन्,  कुच्चाइरहेछन् । पेटका लागि कोही आफ्नो अस्मिता बगाएर बाँचिरहेका छन् । कति असहायहरू विश्वासमा पिल्सिरहेका छन् ।

यस्ता अन्यायी रातलाई भत्काइदिए पनि हुन्थ्यो बादललाई झैं छ्यालब्याल हुने गरी । नसकिँदो रहेछ, के गर्ने बाहुल्यता रातकै छ जहाँसुकै । रातजस्तै निर्दयी जमातको छ । दिउँसै रातजस्ता मान्छेहरू बढेका छन् । उनीहरू आफ्नो चर्चा आफैं गर्छन् र गर्वले घिराँैले नाक लिएर हिँड्छन् । रातजस्ता बन्नसक्नेहरू समयसमयमा आफ्नो मोल आफैं राखेर बिक्रीको लागि सोकेसमा सजिन्छन् । त्यस्तै अवसर पर्दा आफ्नो लिलाम आफैं बढाबढ गर्दै धराहरा पनि बन्छन् । के गर्नु ? सरापेर छिमेकीको फर्सी नकुहिएजस्तै न हो । जति सरापे पनि रातले आफ्नो निरन्तरता छोड्ने हैन क्यारे । अनसन गरे पनि, भजन गरे पनि । रात आफ्नो समय नपुगुन्जेल अलिकति पनि टसकोमस गर्दै गर्दैन  ।

प्रत्येक दिन सूर्य थाकेकोजस्तो देखिनासाथ हाजिरी बजाइहाल्छ रातले । न वर्षले रोकिन्छ, न महिनाले, न दिनले नै । न वार छ यसको, न काल । यसको त काम, कर्तव्य अधिकार जे भने पनि अँध्यारो भइदिने र सबैलाई अँध्यारो पारिदिने मात्रै हो ।

जतिसुकै नडराउँदा पनि रातले अरुमाथिझैं अधिपत्य जमाउला भन्ने डर बढ्न थालेको छ मभित्र । समय आएपछि शक्ति नभएकाहरूले त छोड्दैनन् भने त्यत्रो शक्तिशाली रातले किन छोड्थ्यो र मलाई मात्र ? म सहयोग आवश्यक भएको महसुस गर्छु । तर कतै कुनै लुक्ने र समाउने सहारासम्म  पाउँदिन । केही नहुँदा पनि केही त हुँदो नै रहेछ भनेजस्तै आत्मरक्षाको लागि आफैंभित्र खुसुक्क पसेर लुकिरहन्छु । यतिखेर यही नै सर्वोतम उपाय बनेको छ मेरो ।

रातको शासन रहुन्जेल आफैंसँग लुकिरहने तरिका हो यो । आखिर रातको आयु कति न लामो हुन्छ र ! रातलाई धपाउनको लागि सूर्य नै फेरि शक्तिशाली भएर नजन्मेर सुखै छैन । नहार्ने हतियार सूर्य मात्रै भएकोले छिटै रातको आयु घटाउने कामना गर्छु ।

अलिअलि गरेर म आँखा नदेख्ने हुनथाल्छु अर्थात् म कोपिलालाई देख्न छोड्छु । रातले कोपिलालाई समाहित गरेझैं मलाई पनि आफूमा चुर्लुम्म डुबाउनथाल्छ । विस्तारैविस्तारै कोपिलाबाहेक अन्यत्र पनि देख्न छोड्छु म । मभित्रको आक्रोश क्षण प्रतिक्षण बढ्दै जानथाल्छ । भएर पनि केही गर्ने स्थिति छैन । टाउकोले पहाड फुटाल्ने प्रश्नै भएन । लाचारपूर्वक आफैंभित्र मौन भएर बस्छु । महाभारतमा द्रौपदीको चिरहरण हुँदाको भीमसेनझैं हुन्छु । गाह्रो गरेर निलेको रिस भित्र पुगेर पच्न मान्दैन र भित्रभित्रै विद्रोह गर्नथाल्छ । असह्य भएर अल्झिएको महसुस गर्छु ।

आकाश पनि चिच्याएर कराउन लागेझैं लाग्छ । मानौँ आकाश भित्रभित्र पनि पीडा सुरु भएजस्तो । रातको अन्त्य सुरु भएजस्तो । बाणका तीरहरूझैँ ओहरदोहर हुनथाल्छन् । तीरहरू जुध्दा झिलिक्कझिलिक्क ज्योति निस्कन्छ । त्यही झिल्कामा म मेरो प्रतीक्षित कोपिला देख्छु । कोपिला त्यही अवस्थामा नै देखिन्छ तर बाङ्गिएको । ठ्याक्कै सुनधाराले बाबु काट्नेको अनुहार के हेर्नु भनेर फर्किएजस्तो । म हत्प्रभ हुन्छु । अनायास मेरो उत्साह पनि बाङ्गिन्छ । मेरो सपना भाँचिन्छ । धैर्य गरिरहेको मन अत्तालिन्छ । जसको लागि रातसँग पौँठेजोरी खेल्दै बसेको थिएँ, त्यही कोपिलाले मेरो भावनामा कुल्चिएजस्तो लाग्छ । नमर्नेगरी सयौंँपटक हत्या गरेजस्तो लाग्छ । म नियन्त्रणभन्दा बाहिर पुग्छु । संयम बन्न खोज्दा खोज्दै डङ्गरङ पछारिन्छु ।

बाँकी भएको अलिकति रातले मलाई बलात्कार गर्ने प्रयास गर्छ । म वेश्यालयमा पुगेकी नवयुवतीले झैं आफ्नो अस्तित्व जोगाउन रुन्छु, अनुनय गर्छु । मेरो निम्ति कोही सहाय हुँदैनन् र निःसहाय हुन्छु । उल्टो मेरो क्रन्दनमा सहानुभूतिको खेती गर्न नसक्ने हुतिहारा हुने ठानेर झ्यालढोका बन्द गर्छन् । छेस्किनी लगाउँछन् । पर्दा लगाउँछन् ।

दिन प्रतिदिन बढ्दै गएका मान्छेका सहर भन्ने लागेको थियो । सहर त बिरानो भइसकेको रैछ । लासघरको अखडाजस्तो भइसकेको रैछ । लासको हूलमा म एक्लो मान्छे हुनसक्ने कुरै भएन । आफैंसँग अलमलिन थाल्छु । सपनाजस्तो विपनाजस्तो हुँदाहुँदै म रातको क्रुर कारागारमा अचेतमै बन्दी बन्छु ।

चिसो सिरेटोले बिस्तारै घच्घचाएर ब्यूँझाउँदा रातले डाँडा काट्दै थियो । सूर्य हातमा लौरो लिएर भँैसीलाईजस्तै लखेट्दै थियो । म गहिरिएर हेर्छु । आँखाभरि देख्नसक्ने भएछु । देख्नसकेको खुसीमा म रातभरिको पीडा बिर्सन्छु ।

उठेर यताउति हेर्छु । मेरो धैर्यको फूल, मेरो प्रतीक्षित कोपिला उन्मुक्तसँग फक्रिएर मलाई स्वागत गरिरहेको थियो । चुम्नलाई अधरहरूमा सुवासिलो निम्तो बिहानी कलिला किरणहरूसँगै पठाइरहेको थियो । म उत्तेजित हुन्छु । व्यक्त गर्न नसक्ने खुसी हुन्छु । हुनै नसक्ने थुप्रो खुसी हुन्छु ।

फूल मलाई हेरिरहेको थियो । म पनि फूललाई हेरिरहेको थिएँ । फूलले मलाई के ठान्यो कुन्नि तर मैले फूलमा आफूजस्तै मन भएको देख्छु । आफूजस्तै खुसी देख्छु र आफूलाई जस्तै देख्छु ।