गणतन्त्र नेपालको नातावादी संवैधानिक समावेशितालाई हेर्दा त लाग्दछ, गणतन्त्रले पनि कसैलाई ‘मेरा’का रूपमा चिन्दो रहेछ ।
कुरुक्षेत्रको रणभूमिमा सात अक्षौहिणी पाण्डव र एघार अक्षौहिणी कौरवतर्फबाट गरी झम्म अठार अक्षौहिणी सेना युद्धको उद्देश्यले जम्मा भएका थिए । धनुर्धर अर्जुनले आफ्ना युद्धकालीन निजी सारथी कृष्णलाई भने, ‘हे वासुदेव मेरो रथलाई दुवै सेनाका बिचमा लगेर रोक्नुहोस् ।’ दुवै सेनाका बिचमा पुगेका अर्जुनले युद्धका लागि तम्तयार जनसागरको अवलोकन गरे । मर्न र मार्न उत्सुक त्यो अपार घुइँचोमा उनले केवल ‘मेरा’हरू मात्र देखे । उनले त्यहाँ आफ्ना आचार्यहरू, ठुलाबा, कान्छाबा, छोराहरू, भाइहरू, मामाहरू, ससुराहरू, नातिहरू र सालाहरूलाई देखे ।
रणमैदानको दृश्य देखेर अर्जुनको हातबाट गाण्डीव खस्यो । शरीर भतभती पोलेको महसुस भयो । मन भ्रमित भयो । शरीरलाई स्थिर राखिरहन सकेनन् । अर्जुन थचक्क रथमा बसे । अर्जुनमा पलाएको त्यो वैराग्यमा अहिंसाको भाव थिएन ।
त्यो शरीर गल्नु, हातबाट गाण्डीव झर्नु, तिघ्राले शरीर बोक्न नसकेर थचक्क बस्नु, मुख सुक्नु, शरीर पोल्नु, मन भ्रमित हुनु र चक्कर आउनुमा अहिंसाप्रतिको अनुराग थिएन । त्यहाँ युद्धको विभीषिका र रक्तपातको चिन्ता छँदै थिएन । अर्जुनको चञ्चल चित्तमा अहिंसा भावको लवलेश थिएन, बरु हिंसाभावको स्वार्थी रूप थियो त्यहाँ । ‘निमित्तानी च पश्यामी विपरितानी केशव….’ त्यहाँ निमित्तहरू अर्थात् शुभ साइतका शकुनहरू विपरीत देखे अर्जुनले ।
बडो अचम्मको परिस्थिति छ । जसका लागि भनेर राज्यसुख जुटाउनु छ, उही मर्न तत्पर छ । युद्धपश्चात् जुन वैरीलाई ‘ई हेर् !’ भनेर वैभव र विलास देखाउने इरादा छ, उही समेत जीवनलीला समाप्त पार्न उद्यत छ । जुन गुरुलाई अलेख सम्पदा दान दिएर धन्य पार्नु छ, आज उनै जीवनको आशा मारेर मैदानमा डटेका छन् । अर्जुन भन्छन्, ‘मलाई थाहा छ, राज्यजनित भौतिक भोग र सुखमा कुनै स्थायी आनन्द छैन । यी सबै साधन त म स्वजन, गुरु, मित्रगण र ‘मेरा’ आश्रय चाहनेका लागि पो जगेर्ना गर्न चाहन्थें ।’
आवश्यकताभन्दा ज्यादा वैभव, सौन्दर्य र ऐश्वर्य सबै देखाउने कुरा त हुन् । जब सहृदयी र द्वेष गर्ने दुवै थरी कुटुम्बको सर्वनाश हुनुछ भने त्यस वैभवको के प्रयोजन ? ‘मेरा’ रहन्नन् भने अन्य लाखौँ लाख मानिस जीवित रहनुको के प्रयोजन ? परिधिमा बस्छ मनुष्य । एउटा आफैले कोरेको रेखाभित्र सीमित । उसको सोचको पहुँच त्यही परिधिको सीमासम्म मात्र सीमित छ । त्यस्तो अर्थहीन विजयको के प्रयोजन, जहाँ न विजेतालाई जयमाला पहिराउने कोही हुनेछ, न त कोही बधाई ज्ञापन गर्ने नै ।
अर्जुनका लागि कौरवहरू परिवारका सदस्यका नाताले ‘कुटुम्ब’ त हुन्, किन्तु ‘मेरा’ होइनन् । ज्यान गलेर लल्याकलुलुक भएको त्यस विषम परिस्थितिमा पनि अर्जुन कौरवहरूप्रति द्वेषभाव राख्दै ‘आततायी’ विशेषण प्रयोग गर्दछन् । अर्जुनलाई कुलको चिन्ता त छ, तर आफ्नै पाण्डव कुलको । कुरुक्षेत्रको रण मैदानमा अन्य हजारौं मानिसहरू छन्, तर ती अर्जुनका ‘मेरा’ नभई पराई हुन् ।
यो अजिबको जगतमा ‘मेरा’मध्ये पनि कोही अलि नजिक र कोही टाढा हुन्छन् । राजा दशरथका लागि कैकेयी अलिकता नजिक, कौशल्या किञ्चित टाढा । द्रौपदीका लागि अर्जुन नजिक युधिष्ठिर टाढा । त्यस कुराको तुस युधिष्ठिरले द्रौपदीको प्राण जाने बेलामा भीमसेनसामु पोखेका थिए । गान्धारी र धृतराष्ट्रका लागि अन्य उनान्सय छोराभन्दा एक्लो दुर्योधन भारी । राजा उत्तानपादका लागि सुनीति टाढा, सुरुचि ‘मेरी’ । मुगल सम्राट् शाहजहाँका लागि जेठा छोरा दारा शुकोह प्राणभन्दा प्यारा, औरङ्गजेब अपहेलित । प्रतापसिंह शाह गद्दी सम्हाल्न योग्य थिएनन्, तर ज्येष्ठ पुत्र हुनाले उनी पिताका लागि कान्छा बहादुर शाहभन्दा बढी ‘मेरा’ भए । पृथ्वीनारायणका निहुँ खोज्ने भाइहरू कोपभाजनमा परे, किन्तु अयोग्य छोरा योग्य ठहरिए । यो संसारमा अयोग्य नै भए तापनि भाइभन्दा छोरो नै ‘मेरो’ हुन्छ ।
एक जना युवकको बालक छोरो मर्यो । बरा युवक शोकमग्न भएर कल्पी कल्पी रुन थाले । बलिन्द्र आँसुका धाराले छाती भिज्यो । हृदयको मर्मस्थललाई विदारण गर्ने दृश्य थियो त्यो । अब कसले के भनेर सम्झाउने ? सबै चुपचाप थिए । अकस्मात् भिडको बिचबाट एक जना पण्डितजी अगाडि आए । ‘अब शोक गरेर केही हुनेवाला छैन भाइ ! तिम्रो छोरो मरेको छैन । मरेको त केवल शरीर मात्र हो । न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।’ मान्छेको पाण्डित्य अरुलाई परी आउँदा काम लाग्ने त हो ।
केही समयपछि पुत्र शोकमा परेका छिमेकीलाई सम्झाउने उनै पण्डित पत्नी वियोगमा परे । उनी ‘हा सती हा सती !’ भन्दै सतीदेवी गुमाएका महादेवले झैँ करुण विलाप गर्न थाले । बिचरा वृद्ध मान्छे ! हरे राम त्यो दारुण र बीभत्स दृश्य ! अघिल्लो समय पुत्र शोकको बखतमा उनले जसलाई सम्झाएका थिए, उनै आज ‘अशोक’ बन्ने दीक्षा दिन आइपुगे । सम्झाउन थाले, ‘किन शोक गर्नुहुन्छ पण्डितजी ? यस जगतमा जे छ, सबै नश्वर र क्षणभङ्गुर छ । यहाँ केही पनि शाश्वत छैन । न पिता, न माता, न पुत्री, न पुत्र, न पति, न पत्नी …..।’ शोकाकुल पण्डितले यसो टाउको उठाएर हेरे र अवरुद्ध आवाजमा भने, ‘तर उनी मेरी पत्नी थिइन् । मेरी पत्नी र अरूकी पत्नीमा फरक छ नि बाबु ।’
हिंसा मच्चाउनेहरू पनि ‘मेरा’को मृत्युमा विह्वल हुन्छन् । ‘रगतको होली मात्र परिवर्तनको संवाहक हो’ भन्ने उक्तिमा विश्वास गर्नेहरूसमेत ‘मेरा’का लागि हृदय फुटालेर रुन्छन् । ‘अरू’का छोराछोरीप्रति निर्दयी करुणाहीनहरू ‘मेरा’ छोराछोरीलाई आलिसान सुविधामा राख्छन् । ‘अरू’कालाई मार्न पाउँदा हर्षविभोर भई खुसीयालीमा रमाउनेको घरमा ‘मेरा’को मृत्यु हुँदा कन्तबिजोग हुन्छ । व्याकुल क्रन्दन र चिहिलबिहिल सुनिन्छ ।
उलूपि तर्फका पुत्र इरावानको मृत्युमा संक्षिप्त शोक गर्ने अर्जुन अश्वत्थामाले द्रौपदीका पाँच पुत्रको हत्या गर्दा अलि बढी विह्वल हुन्छन् । उनै अर्जुन सुभद्रातर्फका छोरा अभिमन्युको मृत्युमा भने हदैसम्म वेदनाले ग्रस्त हुन्छन् । यस जगतमा पुत्र प्रेमको पनि एउटा सोपान हुँदो रहेछ ।
हस्तिनापुरको जुवा समारोहमा द्रौपदीलाई जबरजस्ती लतार्ने दुःशासनले माफी पाएन । भीमले दुःशासनको छाती फोर्दै अञ्जलीभरि लहु झिकेर त्यही लहुले द्रौपदीको केश सजाइदिए । परन्तु द्रौपदीकै पाँच जना निहत्था र निर्दोष छोराको बीभत्स हत्या गर्ने अश्वत्थामाले माफी पए । स्वजनको हिसाबले त अश्वत्थामाभन्दा दुःशासन नजिक पर्दथ्यो । परन्तु अश्वत्थामा एउटा मामिलामा पाण्डवका लागि दुःशासनभन्दा बढी ‘मेरा’ भए । दुःशासन सत्ताको प्रतिस्पर्धी थियो , किन्तु अश्वत्थामा सत्ताका लागि खतर्नाक पात्र थिएनन् । तेरो र मेरोको तरङ्गमा पाँच छोराको जघन्य हत्याभन्दा कुरुसभामा पाएको अपमान भारी भयो ।
गुरु द्रोणले आफ्नै शिष्यहरूबिच पनि विभेद गरे । उनले लडाइँ भिडाइ त सबैलाई सिकाए, तर चरित्र निर्माणको शिक्षा भने पाण्डवहरूलाई मात्र दिए । गुरु पाण्डवहरूमध्ये पनि अर्जुनका पक्षपाती थिए । नेपालमा भएको निकट अतीतको द्वन्द्वमा माओवादीहरूले अनेकौं सर्वसाधारणलाई लड्न र भिड्न त सिकाए, परन्तु चरित्र निर्माणतर्फ भने पूर्ण रूपेण उदासीन रहे । त्यस्तो हुनु स्वाभाविक थियो, किनकि लडाकुहरू माओवादीका मेरा थिएनन् । त्यही कारणले होला, वर्तमानको शान्तिपूर्ण समाजमा लडाकुहरूको कमै सत्कार र सम्झना हुन्छ ।
मानवीय मामिलामा मात्र होइन, ईश्वरीय मामिलामा पनि मेरो र तेरोको भावना व्याप्त छ । मनुष्यलाई ‘अरू’ले मान्ने ईश्वरमा श्रद्धा हुँदैन । विभिन्न सम्प्रदायबीच मेरो र तेरोको भावना सनातनभित्रै पनि व्याप्त छ । विधर्मीहरू आपसमा लड्दा कुनै दुःख लाग्दैन, किन्तु मेरो धर्म मान्ने र अन्य धर्म मान्नेबिच द्वन्द्व मच्चिए मेरोप्रति सहानुभूति हुन्छ । म सोच्छु, कि मेरा पूर्वज मेरो निष्ठा बुझ्दछन् र मैले दिएको श्रद्धाञ्जली ग्रहण गर्छन् । तर अरूका पूर्वजमा मेरो श्रद्धा नै हुँदैन ।
कसैले गाईले मनुष्यलाई सल्लाह दिन्छ भनेर कुरा गर्यो भने विश्वास हुँदैन । कसैले गाईले भविष्यवाणी गर्छ भन्यो भने पनि विश्वास लाग्दैन । किन्तु कसैले गाईले हामीलाई मनमनै आसिक दिन्छ भन्यो भने हामीलाई विश्वास लाग्छ । हामी कसैले पिपलको रुख दगुर्छ भन्यो भनें विश्वास गर्दैनौं । तर फेदमा जल चढाए पिपल खुसी हुन्छ भन्यो भने विश्वास गर्छौं ।
हाम्रो मस्तिष्क सांस्कृतिक निष्ठामा अभ्यस्त छ । तेरो, मेरो ,ठिक र बेठिक सबै कुरा बनिबनाउ छन् । मूर्खता पनि धार्मिक र सांस्कृतिक हुन्छ यहाँ । निष्पक्षता, समानता र समता पनि एउटा आडम्बर मात्र रहेछ । गणतन्त्र नेपालको नातावादी संवैधानिक समावेशितालाई हेर्दा त लाग्दछ, गणतन्त्रले पनि कसैलाई ‘मेरा’का रूपमा चिन्दो रहेछ ।
एउटा अर्जुन एउटा छोराको मृत्युमा भन्दा अर्को छोराको मृत्युमा ज्यादा शोक मनाउँछ । एउटी गान्धारी उनान्सय छोराको अवसानमा भन्दा एउटा दुर्योधनको मृत्युमा अधिक शोकाकुल हुन्छिन् । एउटा वीर पिता र वन्दनीय माता आफ्नै सन्तानलाई बढी र कम मेरामा विभक्त गर्छन् । के मानवीय मनमा समानताका लागि कुनै ठाउँ नै छैन ? अचम्मको छ जीवन । द्रौपदीलाई अन्य पाण्डवभन्दा अर्जुनलाई बढी प्रेम गरेको आरोप लाग्यो । उता अर्जुनका लागि भने द्रौपदीको तुलनामा सुभद्रा ज्यादा मेरी थिइन् । ‘मेरा’को दुनियाँ त्यस्तो भवसागर हो जहाँ मोहका कारण सदाचार, निष्पक्षता र विवेक डुब्न पुग्छ ।
द्वापर युगको अन्त समयको कुरा हो । पिण्डारक तीर्थमा केही मदोन्मत्त यदुकुमारहरू खेलबाड र मनोविनोद गर्दै थिए । संयोगले त्यसै बखतमा विश्वामित्र, कण्व र नारद आदि मुनिहरू घुम्दै आइपुगे । कृष्णको आर्जन भोग गरेर उन्मत्त भएका यादव युवकहरूले कृष्णकै छोरा साम्बलाई युवतीको परिधान पहिराएर मुनिहरू सामु लिएर गए । उनीहरूले मुनिहरूलाई गिल्ला गर्दै सोधे, ‘यी युवती गर्भवती छन्, यिनको गर्भबाट के जन्मला ?’ खुरुखुरु आफ्नो बाटामा हिँडिरहेका बटोहीहरूलाई अनर्गल प्रश्न सोध्नु उचित थिएन । अति गरेपछि खतिका लागि पनि तयार हुनुपर्छ । योगीहरूले श्राप दिए, ‘यो युवतीको गर्भबाट एउटा मुसलको जन्म हुनेछ र त्यही नै तिमी अहङ्कारी यदुवंशीहरूको विनाशको कारण बन्नेछ ।’
पौराणिक साहित्यको अध्ययन गर्दा ‘मेरा’बाट सर्वाधिक पीडित पात्रका रूपमा वासुदेव कृष्ण देखा पर्छन् । यस जगतमा आफ्ना सन्ततिले दिएको पीडा जस्तो दु:खदायी अरू केही छैन । कृष्ण जस्ता अद्भुत र अलौकिक पात्रलाई पनि स्वजनको उपद्रोले खिन्न बनाउँदो रहेछ ।
एक दिन स्वर्गका इन्द्रादि देवताले वायुलाई दूत बनाएर पृथ्वीमा पठाए । कृष्णका सामु पुगेर वायुले भने, ‘हजुरले साराका सारा दुष्टहरूलाई मारेर पृथ्वीको भार हलुका बनाइसक्नुभयो । यस पृथ्वीतलमा हजुरको वर्तमान अवतारको कर्तव्य पूर्ण भयो । अब स्वधाम गमन गर्नुपर्छ ।’ कृष्ण सहसा गम्भीर भए । उनले गहन भावमा भने, ‘होइन, यी मेरा भनाउँदा अभिमानी र दुष्ट यादवहरूको नाश नहुँदासम्म पृथ्वीको भार हलुका हुने छैन ।’
अन्ततः सारा यदु कुल आपसमै युद्धरत हुन पुग्यो । स्वयं कृष्णले ‘मेरा’हरूको भकाभक बध गर्न थाले । यदि यी मेराहरू मेरो आर्जन खाएर मेरै अवज्ञा गर्दै अनैतिक कर्ममा सरिक हुन्छन् भने यी कसरी मेरा भए ? आफ्नै बन्धुबान्धव र सन्ततिको सर्वनाशमा आफै सामेल हुनु आश्चर्यजनक घटना हो । परन्तु त्यो अनिवार्य नियति थियो ।
मेराहरूलाई ज्यादा सुखसयल र मोजमजामा राख्दा ती कसरी बिग्रेर जान्छन् भन्ने अविस्मरणीय पाठ हो यदुवंशको सेखी र सर्वनाश । अभिमानी र दुष्कर्मी मेराहरूले छातीमाथि राखिदिएको गह्रुँगो पत्थरको दबाबले निसासिएका कृष्णको जीवन कस्तो थियो होला ? सम्झेर ल्याउँदा नै हृदय भारी हुन्छ । पौराणिक साहित्यले प्रदत्त गरेको अत्यन्तै विलक्षण सन्देश हो यदु कुलको बरबादीको कथा । त्यो विनाशलीलाको कहानी साह्रै नै लाक्षणिक र गहन छ ।
सौभाग्यको उज्यालोमा सबै मेरा हुन्छन् । परन्तु जब जीवनमा दुःखमय अन्धकार छाउँछ, आफ्नै छाया पनि बिरानो हुन्छ । कोही मन पर्यो भने ऊ मेरो हुन्छ । उसका सारा बैगुनहरू देखिंदैनन् । कोही मन परेन भने ऊ पराई भयो । उसका सारा नेकी बिर्सियो ।
अन्ततोगत्वा मेरो भन्ने प्रत्येक प्यारो कुरा कसैबाट खोसिन्छ या धोका दिएर हिँडिदिन्छ । हरेक मेरो र प्यारो कुरा नश्वर एवं विनाशी नै हुन्छ । चाहे राम, चाहे कृष्ण चाहे जिसस नै किन नहुन्, मेरा र प्याराबाट मर्माहत नभएको कोही छैन । परन्तु विडम्बना ! मेरा र प्यारा विना जीवन पनि त चल्दैन ।
एक जना अनुभवी बुज्रुग भन्ने गर्दथे, ‘जुन कुरा पराईलाई भन्दैनौ, त्यो कुरा ‘मेरा’सँग पनि गोप्य राख । कुन दिन एउटा पराई ‘मेरो’ बन्छ र एउटा मेरो पराई बन्छ के थाहा ।’
यो लेखिरहँदा रिसको आवेगमा आफ्नै छोराले भेद खोलिदिँदा विपत्तिमा परेका पिताको बलिन्द्रधारा आँसु मनमा ताजा भएर आउँछ । उनी भन्दै थिए, ‘छोरो नै मेरो रहेन त अरूको के आस !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।