म अँध्यारोमा हिंड्न सक्दिन अर्थात् म उज्यालोसँग अभ्यस्त छु । उज्यालो मानिसहरूको आदत बनेको छ । मानिस आदतको दास बनेको छ । के आदत विहीन आदतको कल्पना गर्न सकिन्छ ? सायद सकिन्छ ।

देखिएको उज्यालो मात्रै सबथोक होइन । नदेखिएको उज्यालो अझै केही चिज हो । त्यही केही चिजको बाटोमा हिंड्न सके आदत विहीन आदतको बाटो पहिल्याउन सकिन्छ । आदत जीवनको लगाम हो । बिना लगामको घोडा झैं जीवन बाँच्न सकिन्छ यद्यपि भौतिक दुनियाँ सहज नहुन सक्छ ।

उज्यालो कै कारण मानिस सबथोक देख्न सक्छ र काम फत्ते गर्न सक्छ । मानिसको यो धारणा सत्य हो । प्रकाशमय समय भौतिक दुनियाँको कच्चा पदार्थ हो । उज्यालो कै कारण सबथोक सम्भव छ ।  तर त्यस्ता कतिपय कुराहरू छन् जसका लागि अँध्यारो चाहिन्छ । सफलताको पूर्ण सूत्र अँध्यारो हो । अँध्यारो बाटै बीजहरू टुसाउँछन् र उज्यालोको यात्रा तय गर्छन् ।

आँखा चिम्लँदा अँध्यारो देखिन्छ । त्यही अँध्यारोलाई निरन्तर पछ्याइरहँदा अनेक आकृतिहरू देखिन थाल्छन् । अझै केही बेर पछ्याइरहने हो भने शुरुमा देखिएको अँध्यारो क्रमशः उज्यालोको यात्रा पछ्याइरहन्छ । यस्तो घटना अपवाद बाहेक तत्काल घटित नहुन सक्छ । निरन्तरको अभ्यास र साधनामा तपाईं अँध्यारोभित्र प्रकाश पाउन सक्नुहुनेछ । निरन्तर साधनाबाट प्राप्त भएको अँध्यारो भित्रको उज्यालो जसले परम आनन्दको अनुभूति दिनेछ ।

हामीले उज्यालोलाई सत्य मानिरहेछौ । उज्यालोमा देखिएका सबै चिजहरू वास्तविक भ्रम हुन । हामीले देखेका र स्पर्श गरिएका आकारहरू सत्य जस्तो देखिएका भ्रमहरू हुन् । अघिसम्म देखिएका आकारहरू टुक्रिएर जान्छन् । टुक्राहरू कालखण्डसँगै विलीन भैजान्छन् । हाम्रै आँखा सामु आकारहरू टुक्रिनु एक सत्य हो तर टुक्राहरू विलीन भै जानु अर्को सत्य तर मिठो भ्रम हो । तब भन्न सकिन्छ निराकार सत्यको नजिक होला ! तर जिज्ञासा के पनि हो भने निराकार पूर्ण सत्य होइन होला । हामी यस्तो पेन्डुलममा छौं जो सत्य र भ्रमको चक्रमा हल्ली लगाइरहेछौं ।

हामी उज्यालोमा बाँचौं या अँध्यारोमा त्यहाँ अहङ्कार रूपी विषले खास फरक पार्दछ । उज्यालोमा बाँच्न बानी परेकाहरूलाई अहङ्कारको अँध्यारोले जहिल्यै थिचिरहेछ र अँध्यारोमा बाँचेकाहरू अहङ्कार त्यागेर उज्यालो बाँचिरहेछन् । जीवनलाई शेष पार्ने पैह्रोको नाम अहङ्कार हो ।

रजनिश भन्छन् — धेरै पटक बिहान आयो । धेरै पटक सूर्य उदायो तर तिमी त अँध्यारोलाई समातेर बसिरह्यौ । सुख त अहिले यतिबेला नै छ तर पात्रका कारण सुख सधैँ दुःखको खोजमा भौंतारिरहेछ ।

संसार यही हो । ज्ञानीले देख्ने पनि अज्ञानीले देख्ने पनि तर देख्ने ढङ्गले सारा अर्थ बदलिदिन्छ ।

पात्रका कारण अँध्यारोलाई उज्यालो देख्न सकिन्छ तर त्यही पात्र कै कारण उज्यालो सदा अँध्यारो भैरहन्छ । मनुष्यले आफ्नो सोचलाई कसरी उपयोग गरिरहेछ भन्ने कुराले खास फरक पार्दो रहेछ ।

मनुष्य जीवन कर्मको अंश हो । कर्ममा विषय खास देखिन्छ । विषयकै कारण भौतिक उन्नति र प्रगति सम्भव छ । विषय कारण भएकाले हासिल भएको प्रगतिमा अहङ्कार रूपी बीज स्वतः टुसाउन थाल्छ । मनुष्य जति उन्नति र प्रगतिको पथमा अगाडी बढ्दै जान्छ त्यति नै अहङ्कारले भयानक स्वरूप निर्माण गरिरहेको हुन्छ । विषय तत्त्वबाट टुसाएको अहङ्कार रूपी बीजले अन्ततः नाशको बाटो तय गर्छ ।

प्राचीन काललाई फर्केर हेर्ने हो भने राजा जनक विषय कै कारण सर्वसम्पन्न थिए सम्पन्नतासँगै चुलिंदै आएको अहमभावमा पनि थिए तथापि समयमै  महर्षि अष्टावक्रको सानिध्यताले सरल र सत्यको मार्गमा हिंड्न पुगे ।

हामीले बाचेको तत्कालीन समय विषयको प्रचुरता हो । विषय भोग नगरी भोकको गाँठो फुक्दैन । भोक कै कारण मानिस चलायमान छ । भोकले विषय सिर्जना गर्छ । विषयले उपायहरूको खोजी गर्छ । उपायहरू विषयका भाइरस हुन् । भाइरस जसले राम्रोलाई अझै राम्रो र अझै नराम्रो साथै नराम्रोलाई अझै नराम्रो र अझै राम्रो बनाउने भूमिका खेल्छन् ।

आविष्कारको यो युग प्राचीन ज्ञानको उपज हो । अध्यात्मको जगमा टेकेर भौतिक दुनियाँ क्षणिक मुस्कुराइरहेछ । मुस्कानको हिस्सी जताबाट प्राप्त भए पनि मुस्कान नै पहिलो मानवीय उपलब्धि हो । जसले कर्म यात्रालाई सहज बाटो देखाइरहेछ ।

मनुष्यले आफ्नो ठानेको समय भ्रम हो तथापि आफ्नो ठानेर समयको हृदयमा आफूलाई सुन्दर र शान्त गुडाउनु सुखद अनुभूति हो । कर्मको बाटोमा सबथोक जायज छ । दिमागमा मोक्षको भूत सवार गरेर मोक्ष प्राप्त हुँदैन । सत्कर्मको बाटो नै मोक्षधाम हो ।

के वर्तमान समयमा मोक्ष सम्भव छ ?

छ । यदि असल कर्मको बाटो हिंड्छौ भने ।

असल कर्म के हो ?

मनुष्य विचार । इन्द्रियहरूले कहिल्यै तिमीलाई बाटो देखाउँदैनन् । बाटो पहिल्याउने आधार मनुष्य विचार हो । सत विचारको मार्गमा हिंड्ने इन्द्रिय असल कर्म रूपी साधन हुन् ।

त्यसो हो भने के जीवन उज्यालो मात्रै हो त ?

हो । जीवन उज्यालो हो । अँध्यारोमा पनि उज्यालो नै छ । पात्रताको सोचका कारण जीवन अलग देखिएको हो । सत्कर्म गर । शान्त हिंड । तिमीले जीवनको आभा तिमी मै पाउने छौ । कस्तुरीको सुगन्ध उसकै नाभिमा हुन्छ, जङ्गल चाहर्नु पर्दैन ।

वर्तमान  वासनामा भुलेको छ र वासना क्षणिक छ । क्षणिक आनन्द दोषले भरिएको छ । यो बन्धनले ग्रसित हुन्छ । बन्धनको घेरामा जायजको अर्थ लाग्दैन ।  मनुष्य स्वतन्त्र स्वभावमा विश्वास राख्दछ तथापि सांसारिक मोहमा फसिरहेको बेला उसले स्वतन्त्रता खोसिएको अनुभव गर्दछ । यो स्वाभाविक प्रक्रिया हो । भौतिक दुनियाँमा स्वतन्त्रता सम्भव छ । स्वतन्त्रतामा सुख छ, बन्धनमा दुःख ।

वासनारूपी मनुष्य स्वभाव सार्थक छ तर इन्द्रिय वासनामा मात्रै लिप्त हुनु मनुष्य स्वभाव होइन । वासनाको बाटो हुँदै उज्यालोको निर्माण गर्नु सुखद उपलब्धि हो । मनुष्य जीवनमा अनगिन्ती विषयका निर्माण हुन्छन् । मनुष्य कर्ममा प्रकाशमय बाटाको खुड्किलो थप्दै जानु सफलताको मानक हो ।

जब जागो तभी सवेरा भने जस्तो मनुष्यलाई उज्यालोले हमेसा पर्खिरहेछ । जब मनुष्य सत पात्रका रूपमा जाग्छ तब उज्यालो साथै छ र  अँध्यारो पनि साथै छ । उनीहरू मनुष्यको पर्खाइमा छन् ।

दुनियाँ तिम्रो दुःखमा सुखी हुन्छ । दुनियाँ तिम्रो सुखमा दुःखी हुन्छ । जटिल मनभित्र तीव्र उज्यालो छ । सुखको उज्यालो यही छ । दुःखको अँध्यारो यही छ । सुखमा अँध्यारो देख्ने मन यही छ । दुःखमा उज्यालो चाहने मन यही छ । भट्किरहेको यो मनभित्र मनुष्यको दिव्य रूप छ । मनुष्य उज्यालोको प्रतीक हो । जहाँ सबथोक सम्भव छ ।

मनुष्य शरीर मन्दिर हो । ईश्वरीय प्रकाश यही मन्दिरमा बलिरहेछ । तर स्वयं मनुष्यले मनुष्य मन्दिरलाई भत्काइरहेछ र आफै भित्रको दिव्य दियो निभाउने प्रयास गरिरहेछ । मनुष्य मन्दिर, भोजनका कारण पवित्र छ र भोजनकै कारण अपवित्र अर्थात् दूषित छ । दूषित मन्दिरमा दियोको प्रकाश र प्रभाव नगण्य भैरहेछ । भोजनका कारण उत्पन्न विचारले क्षयीकरण भइरहेको मनुष्य शरीरमा दिव्य प्रकाशले निकासको बाटो खोजिरहेछ । प्रकाश उकुसमुकुस भएर बस्नु पर्ने बाध्यता गलत विचारको हाबीले ग्रसित छ ।

भौतिक उज्यालोको खोजमा भौंतारिरहेको मनुष्य मार्ग उचित होइन । सन्तुलनभित्र उज्यालो छ । मनुष्य जीवन सम्भावनाहरूको पुञ्ज हो ।