कर्मसन्यास कुनै नवीन चिन्तन होइन, पूर्वीय वाङ्मयमा यस सम्बन्धमा व्यापक चिन्तन गरिएको छ । पूर्वीय वाङ्मयमा कर्मसन्यासका लागि मनलाई केन्द्रीयतामा राखिएको छ र ‘चित्तवृत्तिनिरोध’लाई कर्मसन्यासको मूल सूत्र बनाइएको छ । हुन पनि कर्मसन्यास मनोजगतसँग सम्बन्धित कार्य हो तर शरीरले पनि कर्मसन्यास लिँदो रहेछ र त्यसका लागि कुनै विशेष प्रयास गर्नुपर्दो रहेनछ ।
कुनै रोग वा उमेर बढ्दै गएपछि शरीरले स्वतः कर्मसन्यास लिँदो रहेछ – ढिलो वा चाँडो मात्र हो सबैका शरीरले कर्मसन्यास लिन्छ । म आफ्नै अनुभव सुनाउँदै छु । म शारीरिक होइन वास्तविक रूपमा नै कर्मसन्यास लिन चाहन्छु तर शरीर कर्मसन्यास लिन हतारिएकाले मलाई मानसिक रूपमा कर्मसन्यास लिन असहज बनाएको छ । त्यसैले म शारीरिक कर्मसन्यासको गति मन्द गर्न हस्पिटल र वैद्यशाला धाउने गरेको छु ।
तपाईंले मलाई हस्पिटल वा वैद्यशालामा भेट्नुभयो भने सहज अनुमान गर्न सक्नुहुन्छ – मेरो एक मात्र उद्देश्य शारीरिक कर्मसन्यासलाई मन्द गतिमा ल्याउनु हो । किनकि कर्मसन्यास मनभन्दा शरीरले अघि लिनु विपरीत क्रम हुन्छ । म कर्मसन्यास लिन चाहन्छु तर मन कर्मसन्यास प्रशिक्षित नहुँदै शरीरले कर्मसन्यास लिन थाल्नाले मेरो कर्मसन्यासको मार्गमा अवरोध आएको छ । तर पनि म कर्मसन्यासमा प्रवृत्त छु । त्यसैले केही वर्षयता वृत्ति निरोध गर्ने प्रयास गर्दै छु । मैले अनुभूत गरिसकेको छु – चानचुने प्रयासबाट कर्मसन्यास सम्भव छैन ।
वर्तमानको भौतिकता प्राधान्य संस्कृति पनि कर्मसन्यासमा वाधक बनेको छ । शरीर भौतिक वस्तु भएकाले भौतिकताको साहचर्यबिना शरीरको अस्तित्व सम्भव हुँदैन ।शारीरिक सुखका लागि त भौतिक कुरा सहायक होलान् तर भौतिकताले मनको एकाग्रतामा विचलन ल्याउन सक्छ र कर्मसन्यासमा प्रवृत्त हुन वाधक बन्न सक्छ ।
तपाईंको मनमा म कर्मसन्यासको मार्गमा किन प्रवृत्त भएँ भन्ने जिज्ञासा उब्जन सक्छ । शरीरका अवयवहरूले कर्मसन्यास लिन थालेपछि म कर्मसन्यासको मार्ग अवलम्बन गर्न बाध्य भएको हुँ । यस अर्थमा शरीर पनि प्रकारान्तरले कर्मसन्यासमा सहायक हुँदो रहेछ । हुन त मन र शरीरको अन्योन्याश्रित सम्बन्ध छ । मन शरीरकै उपज भए पनि मनको संसार शरीरको भन्दा विस्तृत हुन्छ । यस्तो कुरा गर्न थालें भने म आत्मा-परमात्मासम्म पुग्न सक्छु । हुन त कतिपयले कर्मसन्यासलाई पनि परमात्मा प्राप्तिको बाटो भनेका छन् ।
मनले कर्मसन्यास नलिंदै शरीरले कर्मसन्यास लिन थाल्नाले म अति नै सकसमा परेको छु । यी दुई बीच तालमेल मिलेन भने जिउन साह्रै कठिन हुँदो रहेछ त्यही तालमेलको अभावमा म विचलित र आजित भएको छु । मेरो अनुहारमा सदासर्वदा देखिने उदासीनता त्यसैको प्रतिच्छाया हो ।
शरीर रोगी र पुरानो भएपछि शरीरले कर्मसन्यास लिंदै जाँदो रहेछ र मनचाँहि चञ्चल हुँदो रहेछ । त्यही मनको चञ्चलता तुलनीय हुनाले वाल र बृद्ध उस्तै हुन्छन्, भनिएको होला । शारीरिक निष्क्रियता मन झन् चलायमान हुँदो रहेछ । शरीरको कुनै अङ्ग कमजोर भएपछि त्यसको क्षतिपूर्ति अर्को अङ्गले गरेजस्तै शरीरले कर्मसन्यास लिन थालेपछि मनको चाञ्चल्यता बढ्दो रहेछ ।
म भन्दै थिएँ – केही वर्षयता वृत्ति निरोध गर्ने प्रयास गर्दै छु र आजसम्म कोसिस गर्न छाडेको छैन । कहिलेकाहीँ भने वृत्ति निरोध हुन लागेजस्तो केही संकेत अनुभव गर्छु । राम्री युवती देखे पनि पहिलेजस्तो दृष्टि केन्द्रित गर्न मन लाग्दैन, एक झलक नै काफी हुन्छ । मैले यो चाहिँ छुट्याउन सकेको छैन कि लामो अभ्यासपछि एक झलकमै युवतीको बिम्ब उतार्न सक्षम भएको हुँ वा चित्तवृत्ति निरोधको संकेत हो ।
चित्तवृति निरोधको संकेत हो भने म लक्ष्य प्राप्तिको नजिकै पुगेको छु । केही समयपश्चात् म कर्मसन्यास लिन सक्षम हुनेछु । त्यसो नभई हार्मोनको असन्तुलन हो भने म दिग्दार हुनु, उदास हुनु स्वाभाविक नै हो । हुन त कुनै हार्मोन विशेषको कमीले पनि मान्छे दिग्दार र उदास हुन्छ, भनिन्छ । त्यति मात्र होइन हार्मोनकै असन्तुलनका कारण अनेकन् रोग पनि लाग्दा रहेछन् । मेरै कुरा गर्ने हो भने इन्सुलिनको कमीका कारण म मधुमेही भएको छु । मधुमेह आफैँमा कुनै रोग नभई रोगको कारखाना रहेछ ।
मनले चित्तवृत्ति निरोध गर्ने र शरीरले परिपालन गर्ने हुनाले पूर्वीय वाङ्मयले मनलाई चित्तवृत्ति निरोधको मुख्य कारक मानेको हुनुपर्छ । चित्तवृत्ति निरोधको कार्यान्वयनमा शरीरको अहम् भूमिका हुन्छ । तर मन वृत्ति निरोधमा प्रवृत्त नहुँदै शरीरका केही अवयवले कर्मसन्यास लिन थाल्नु मेरो मुख्य समस्या हो । चित्तवृति निरोध गर्न नसके पनि शरीरका केही अवयवहरूले भने कर्मसन्यास लिंदै छन् ।
पाँच दशकको उमेरपछि मैले शरीरका अवयवले कर्मसन्यास लिन थालेको अनुभव गरेको हुँ । कपाल तिलचामल हुँदै चामलको मात्रा बढ्दै गयो तर कपालमा कालो दल्न मन मानेन । किनकि अनुहार होस् वा टाउकोमा विरोधीहरूले दले भने सहनै पर्यो । होइन भने आफैँले आफ्नो टाउको होस् वा अनुहारमा के कालो दल्नु । अनि कपालमा कालो दले पनि अनुहारमा उमेर देखिन्छ । कानले पनि कम सुन्न थालेको छ । कोही नजिकै बसेर कुरा गरिरहेको हुन्छ, मेरो कानले टाढाबाट मधुरो आवाज आइरहेको सुन्छ ।
कानले पनि क्रमशः कर्मसन्यास लिंदै छ । कान कम सुन्दा एउटा फाइदा हुँदो रहेछ – कसैले चर्को स्वरमा हप्काउँदा पनि आफूले मधुर स्वर सुनिंदो रहेछ ।
मैले निवेदन गरिसकें – मधुमेह भनेको रोगको कारखाना नै रहेछ । आँखा धमिलो देख्न थालें – हुँदाहुँदा आफ्नो-आर्को छुट्याउन गाह्रो पर्न थाल्यो ।
त्यसो त अहिलेको जमाना को आफ्नो को अर्को – सबै सम्बन्धहरू प्रयोजनपरक हुँदा रहेछन् । मेरो प्रयोजन क्षीण भएकाले मेरा सम्बन्धहरू पनि क्षीण भएको छ । सम्बन्धहरू बगिरहेको खोलाजस्तै रहेछ, मचाहिँ नदी किनारको एक्लो रुखजस्तै भएको छु ।
अँ, आँखाको अपरेसनपछि देख्ने त भएँ तर एउटा फसाद के पर्यो भने कुनै पनि मानिसको आकृति मात्र नभई मनोवृत्ति पनि देख्न थालें । जसलाई मैले निकट ठानेको थिएँ ऊ टाढा र टाढा ठानेको निकट पाएँ जसले मेरो धारणामा आघात पुर्यायो।मेरो सम्बन्ध संकुचन हुनाको यो पनि एक कारण हो ।
बुढेसकाल खुट्टाबाट सुरु हुन्छ भन्ने गरिन्छ । खुट्टा भनेको शरीरको भरिया हो । शरीर बोक्दाबोक्दा खुट्टाहरू पनि थाक्दा रहेछन् । मनले जहाँ भन्यो खुट्टाले बोकेर शरीरलाई त्यही पुर्याइदिनु पर्छ । जान पर्नेभन्दा नपर्ने ठाउँमा जान आदेश दिने मनको बानीले मेरा खुट्टाहरू पनि लखतरान भएका छन् र कुनै पनि बेला आदेशको बर्खिलापमा हुन सक्छन् । दाँतले त धेरै पहिलेदेखि नै कर्मसन्यास लिन थालेका हुन् । अहिलेका मेरा दाँतहरू आयातित हुन्, अङ्गीकृत नागरिकजस्तै । मेरो दाँतको अवस्था जस्तै मुलुकमा पनि वंशजहरू बिदेसिने अङ्गीकृतहरू भित्रिने क्रम बढ्दो छ ।
स्मरण शक्ति पनि कमजोर हुँदै गएको छ । यति बेला पनि म जे लेख्ने मनसायले लेख्न सुरु गरें, ती धेरै कुरा बिर्सें । त्यसैले मेरो यो लेख विस्मृतिको आलेखजस्तो भएको छ । मेरो विस्मृतिको प्रक्रिया पनि अनौठो छ – दुखद कुराहरू स्मरण भइरहन्छ र सुखद क्षण र अनुभूतिहरू सबै स्मृतिबाट डिलिट भैसके । केही प्रसङ्ग र अनुहारहरू भने धुमिल रूपमा देखा पर्छन् , हो कि हो कि जस्तो मात्र ।
अब म बिस्तारमा जान चाहन्न । कुरा यति मात्र हो कि म कर्मसन्यास लिन लागेको छु भन्ने कुरा हजुरलाई अवगत गराउन चाहन्थें । मैले हजुर भनी सम्बोधन किन गरेको हुँ भने लेखकको सहकाल र पाठकको अनिकाल परेको वर्तमानमा यदि कसैले मेरो सिर्जना पढ्ने कृपा गर्छ भने मेरो लागि ऊभन्दा आदरणीय अरू कोही हुन सक्दैन । सिद्धान्तत: कर्मप्रति मन विमुख भएपछि मात्र शरीरले कर्मसन्यास लिनुपर्ने हो । म मानसिक रूपमा कर्मसन्यास प्रवृत्त भएको छु । तर शरीरले हतार गर्नाले म शारीरिक कर्मसन्यास विलम्ब होस् भन्ने चाहन्छु ।
हुन त कर्मसन्यासमा मनको मुख्य भूमिका भए पनि कार्यान्वयन शरीरले नै गर्ने हो । म कर्मसन्यास लिन्छु, त्यसमा शंका नगर्नुहोला ।तपाईंलाई विदित होस् – मेरो जटिल समस्या भनेको मनको आदेशबिना नै शरीरले कर्मसन्यास लिन थाल्नु हो । म यो क्रमभङ्ग रोक्ने प्रयास गर्दै छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।