‘मेरो छोरो हावा छ’ भनिन् उनले । आफ्नो सात वर्षे छोराको चञ्चले चरित्रमाथि गुनासो थियो उनको ।
जवाफमा मैले ठट्टा मिश्रित खुसी व्यक्त गरेँ, “हावा हुनु राम्रो त हो नि ! हाम्रो प्राण धान्ने प्राणवायु अक्सिजन नै हावामा छ । एकछिन हावामा सास फेर्न नपाउने हो भने खुस्रुक्कै मरिन्छ । मर्न त बेरै लाग्दैन । हावा हुँदैनथ्यो भने यो पृथ्वीमा प्राणी र वनस्पति केही पनि हुँदैनथ्यो । हामी कोही पनि हुँदैनथ्यौँ । हावा अमूल्य छ । यो गर्मी याममा मान्छेहरू हावा चलेन भनेर मुहारमा पङ्खाले हम्कन्छन् । पङ्खा नहुनेहरू हातैले वा पातैले भए पनि हम्कन्छन् । कोठामा बसेकाहरूमध्ये कतिले सिलिङ्मा, भित्तामा अथवा टेबुलमा राखेर फ्यान चलाउँछन् । अलि हुनेखानेले त चिसो हावा लिनका निमित्त एसी नै चलाउँछन् । तपाईंको त आफ्नो घरमा आफ्नै सन्तान हावा छ । यो खेदको विषय होइन । खुसीको विषय हो । तपाईंलाई बधाई छ !
हावामा अक्सिजन मात्रै भएको पनि कहाँ हो र ! यसमा नाइट्रोजन र कार्बन डाइअक्साइड लगायतका अनेक ग्यासहरू छन् । नाइट्रोजनले बोटबिरुवामा क्लोरोफिल बनाउन मद्दत गर्छ, बोट बिरुवाको तीव्र वृद्धि र विकासमा सहयोग पुर्याउँछ । प्रकाश संश्लेषण क्रियाका लागि हरिया वनस्पतिहरूले कार्बन डाइअक्साइड ग्यासको प्रयोग गर्दछन् । तपाईंलाई थाहा छ, प्रकाश संश्लेषण क्रिया (Photosynthesis) कति महत्त्वपूर्ण छ ? यो भनेको बिरुवाले आफ्ना लागि खाना बनाउने प्रक्रिया हो ।
क्लोरोफिलको मद्दतले घाम लागेको बेला बोटविरुवाले आफ्ना हरिया पातहरूद्वारा हावाबाट कार्बन डाइअक्साइड र भुइँबाट पोषणयुक्त पानी लिएर आफ्नालागि भोजन (कार्बोहाइड्रेट) निर्माण गर्दछन् र अक्सिजन बाहिर फ्याँक्दछन् । यसरी सजीव कोशिकाहरूद्वारा प्रकाशको ऊर्जालाई रासायनिक ऊर्जामा परिवर्तित गर्ने क्रियालाई नै प्रकाश संश्लेषण भन्दछन् । हामीले खाने सम्पूर्ण अन्न र फलफूल यिनै वनस्पतिको यही क्रियाको प्रतिफल हो ।”
उनको कुरै नसुनीकन पण्डित पल्टेर बोल्दा बोल्दै म धेरै बेरसम्म बररर बोलिरहेछु । झसङ्ग भएँ र उनको अनुहारमा हेरेँ । कहिले यो बोलिसक्ला र पालो पाउँला भनेझैँ गरी पर्खेकी हुन् जस्तो लाग्यो र आफ्नो बोलीमा ब्रेक लगाएँ । म चुप लागेपछि फेरि उनी बोल्न सुरु गरिन् ।
‘मैले गम्भीर कुरा गरेको, दाइले ठट्टामा उडाइदिनुभयो’ भनिन् उनले ।
विद्यालयका शिक्षकहरूले ‘यो बाबु अत्यन्त प्रतिभाशाली छ, पढाएको कुरो टपक्कै टिप्छ, यसको स्मरण शक्ति पनि बेजोड छ, तर आफै मिहेनत गरेर पढ्दैन, खालि खेल्नमा ध्यान दिन्छ, अलि हावा छ’ भनिदिँदा रहेनछन् । घरमा पनि ‘पढ्’ नभनीकन पुस्तकै नसमाउँदा रहेछन् । तब उनलाई ‘आफ्नो छोरो हावा नै हो’ भन्ने लागेको रहेछ । उनको गम्भीरतालाई ख्याल गरेर अब म पनि गम्भीर भएँ । बिचरीको हृदयमा चोट पारेँ कि के हो ! अलि अलि डर पनि लाग्यो । रूक्ष वाणीले उथलपुथल पारेको मनोदशालाई शमन गर्ने आशयले अलि ओर्लेको स्वरमा उनलाई सान्त्वना दिन थालें ।
‘बालकहरू चञ्चल हुनु राम्रो कुरा हो । कति बेला कति बेला सुट्ट सुट्ट कता कता पुगिसक्ने हुनाले तपाईंले हावा भन्नुभयो । ऊ यसरी भागेर जाने मुख्य ठाउँ उसका बालसाथीहरू जमघट हुने स्थान होला ! वास्तवमा यो हावापन सकारात्मक छ । बालकमा यो चाञ्चल्य संसार पढ्नका निमित्त प्रकृतिले नै दिएको हो । यो चञ्चलता प्रकृतिप्रदत्त अनन्त जिज्ञासा र कर्मण्यताको वृत्ति हो । जतिबेला पनि पुस्तकै समातेर पढ्न बसिराखोस् भन्ने तपाईँको चाहना अवैज्ञानिक छ । ज्ञान पुस्तकमा मात्रै छैन । यो त जीवनमा र जगत्मा जताततै छरिएको छ । बालक उसको अज्ञात चेतनाबाटै अनुप्रेरित भएर, म संसार पढ्न निस्केको छु भन्ने थाहा नपाईकनै, संसार पढ्न बाहिर निस्केको हुन्छ ।
खेल्ने साथीहरू सितको घनीभूत साहचर्यबाट पनि धेरै कुरा सिकिन्छ । त्यसमा भिन्नभिन्न परिवारका भिन्नभिन्न चरित्रको अन्तरघुलन हुन्छ । यो खेलले सङ्कोचपन मिल्काइदिन्छ । चुनौतीहरूलाई डटेर सामना गर्ने चरित्रको निर्माण गरिदिन्छ । समूहमा काम गर्ने र हारजितलाई स्वाभाविक रूपमा लिने बानीको विकास हुन जान्छ । यो चाञ्चल्यका कारणले नै बालकहरूको दिमाग ताजा हुन्छ । बाँकी सम्पूर्ण बोझहरू दिमागबाट उडेर जान्छन् । सिकेसुनेका कुरा हत्तपत्त बिर्सिंदैनन् । स्मरणशक्ति तेजिलो रहन्छ । दिमागमा बोझका पोकाहरूलाई स्थान दिने हो भने अन्य राम्रा कुराले स्थान पाउँदैनन् । जसरी बोझिल दिमाग र थकित शरीर लिएर सुतेर पनि रातभरि निदाएपछि मान्छे बिहान शारीरिक र मानसिक रूपले स्फूर्त भएर उठ्तछ ।
त्यसैगरी खेल पनि एउटा रिफ्रेसिङको माध्यम हो । रिचार्जिङको माध्यम हो । चार्जिङ भएपछि ऊ ऊर्जावान् भएर निस्कन्छ । खेल एउटा ध्यान पनि हो । यसमा बालकको मन र तनको योग हुन्छ । हो, खेल भनेको योग पनि हो । एउटा ध्यानले अर्को ध्यानलाई पनि प्रभावित पार्दछ । ध्यान एउटा आदत पनि हो । आदत बसिसकेपछि ध्यान नदिँदा पनि ध्यान लाग्न पुग्दछ । खेलमा ध्यानस्थ हुनसक्ने बालक पढाइमा पनि ध्यानस्थ हुन सम्भव छ । ध्यान जाग्न र लाग्नका लागि थालेको काममा रस आउन पर्छ ।
विद्यालयमा पढेको सम्झनु राम्रो हो । रातभरको सुताइबाट ताजा बनेको दिमाग लिएर गएको हुँदा विद्यालयमा दिमागी कसरत सहज भयो, पढाइमा रस आयो र ध्यान गयो । परिवेशजन्य मनोदशाले पनि त्यहाँको पढाइमा ध्यान तानिएको हुन्छ । दिनभरि पढिसकेर घर फर्किने बित्तिकै पढ्नका लागि दिमागमा फेरि त्यही ताजापन बाँकी रहेको हुँदैन । अब तत्कालको काम खेल्ने नै हो ।
मेरो तात्पर्य बालकलाई सदासर्वदा स्वच्छन्द छाडिदिने भन्ने होइन । राम्रा आदतहरू स्वतः निर्माण हुन्छन् भन्ने पनि होइन । त्यसका लागि हस्तक्षेप पनि आवश्यक हुन्छ । तर यो हस्तक्षेप बलात् गर्ने होइन । उसले हस्तक्षेप हो भन्ने पत्तै नपाउने गरी सारले र सुरले गर्नुपर्दछ । उसको रुचि र आवश्यकतालाई पक्रेर पढाइ तथा सिकाइलाई खेलजस्तो रमणीय पार्ने युक्तिको खोजी हुनुपर्दछ । सही कुराको प्रशंसा गर्ने र गलत कुरामा मौन रहने गर्नाले उसले सही काममा अग्रसर हुने प्रेरणा प्राप्त गर्दछ । बाटो बिराउँदा गाली गरिहाल्नु पर्दैन । यसो कर्के नजरले हेरे पुग्छ । बालकहरूले सङ्केतको भाषा बुझिहाल्छन् । अझ अनजानमा भएको गल्तीमा दण्डित गर्नु त अत्यन्त नकारात्मक हुन जान्छ ।
आजका मितिदेखि आफ्नो छोरालाई ‘हावा छ’ भन्न छाडिदिनोस् । कसैसित पनि यसो नभन्नुस् । भन्दै नभन्नोस् । मसित पनि अब उप्रान्त नभन्नोस् । बालकलाई पनि नभन्नोस् । उसको पनि मर्यादा हुन्छ । उसलाई बालोचित व्यवहार गर्नुस् । मान्छेहरूको माझमा बसेको बेला ‘यो हावा छ’ भन्नुभयो भने उसले अपमान बोध गर्दछ । यसबाट उसमा हीनताभास पैदा हुन पनि सक्दछ अथवा भित्रभित्र ऊ तपाईंसित चिढिन पनि सक्दछ । उसलाई शान्त रहन दिनुस् । प्रसन्न रहन दिनुस् । गतिशील हुन छाडिदिनुस् । अर्तीको थुप्रो लगाएर हुँदैन । उसले बुझ्ने भाषामा कर्तव्यको औचित्य पुष्टि गर्नोस् र त्यो सिद्धिका निमित्त सहयोग गर्नुहोस् । संसार परिवर्तनशील छ । विवेकपूर्ण वात्सल्यद्वारा ऊभित्रको आत्मसम्मान र सिर्जनशीलतालाई सुरक्षित राख्नु भयो भने यो बालक मैदानका खेलको रसमा जसरी नै पुस्तकका ज्ञानको रसमा पनि डुब्नेछ । रसमा डुबेपछि पढ् पढ् भन्नै पर्दैन । यति भनिसकेर पुलुक्क उनीतिर हेरेँ ।
यो पटक भने बैनीको अनुहारमा झलमल्ल घाम लागेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।