मानिसको वैयक्तिक र सार्वजनिक जीवन हुन्छ । केही मानिसको वैयक्तिक जीवन सार्वजनिक जीवनभन्दा प्राथमिकता पर्छ भने कसैको सार्वजनिक जीवन जनताका नजरमा प्राथमिकतामा पर्छ । सबैले व्यक्तिगत र सार्वजनिक जीवनलाई सन्तुलित राख्न सक्दैनन् । समाजका नजरमा व्यक्तिगत र सार्वजनिक जीवन निष्कलङ्क बनाउन सक्नु व्यक्तिको नैतिक उत्तरदायित्व हो ।

राज्यका विभिन्न ओहदामा रहेर काम गर्ने व्यक्तिको जीवन सार्वजनिक हुन्छ । सार्वजनिक ओहदामा रहेका व्यक्तिले गरेका काम र निजी जीवन दुवै पारदर्शी हुनुपर्छ । राज्य सञ्चालनमा बसेका व्यक्तिको सबै समय सार्वजनिक हुन्छ । यस्ता व्यक्तिले गरेका सबै काम तथा निर्णयको सार्वजनिक जबाफदेही हुनुपर्छ । निजी जीवन व्यवस्थापनको पनि सार्वजनिक जबाफदेही हुन्छ । राज्य संयन्त्रको जिम्मेवारीमा रहेको व्यक्तिको सामुदायिक र पदीय जीवन सबैका दृष्टिमा पारदर्शी हुनुपर्छ ।

नागरिकलाई सुविधा प्रदान गर्न, आवश्यकता पूरा गर्न र शान्तिपूर्वक बाँच्न सक्ने बनाउन  सरकारले प्रशासन संयन्त्रको व्यवस्था गर्छ । प्रशासन चलाउनेको समय सरकारको हो । सरकारको समयमा काम गर्नेको जबाफदेही वैयक्तिक हुँदैन । सार्वजनिक पदको सार्वजनिक जबाफदेही हुन्छ । यस्ता व्यक्ति समाजप्रति उत्तरदायी हुनुपर्छ । समाजप्रति उत्तरदायी हुनुपर्ने व्यक्ति सार्वजनिक हो वा वैयक्तिक हो भन्नेबारेमा बहस गर्न सकिएला तर राज्यका काम गर्ने जनशक्तिको वैयक्तिक उत्तरदायित्व हुँदैन । वैयक्तिक इमानदारी सार्वजनिक उत्तरदायित्वको कसी बन्न सक्छ ।

हाम्रा काम प्रत्यक्ष अप्रत्यक्ष रूपमा राज्यस्रोतसँग सम्बन्धित हुन्छन् । व्यक्तिका दैनिक कार्यमा राज्यस्रोतको प्रयोग हुन्छ । साधन स्रोतको व्यवस्थापन व्यक्तिले गर्छ । राज्यका हरेक व्यक्ति स्रोत विनियोजन र खर्चका कारक हुन् । माग सिर्जना र स्वीकृति चक्रमा व्यक्ति सहभागी हुन्छ र यसैबाट राज्य सञ्चालनको गुणस्तर कायम  हुन्छ । सुशासन र उन्नति व्यक्तिले राज्यप्रति निर्वाह गरेको इमानको उपज हो ।

व्यक्तिको सोच अल्पकालीन दृष्टिमा केन्द्रित हुन सक्छ  तर राज्यका स्रोत दीर्घकालीन प्रतिफलमा केन्द्रित हुनुपर्छ । स्रोतको दीर्घकालीन परिचालनका लागि नागरिकका अनुभवको उपयोग गर्नुपर्छ । सामाजिक विषय द्विविधामा हुन्छ । व्यक्तिले प्राप्ति र परिचालनको द्विविधा हटाउनुपर्छ । जथाभाबी प्राप्ति र परिचालन गर्न कानुनी बाध्यता हुन्छ, कारबाहीको दायरा हुन्छ । राज्यस्रोत कानुनबाहेक वा कानुनबाहिर खर्च हुँदैन । सार्वजनिक जीवनमा राज्यस्रोतको सदुपयोगको इमान जोडिएको हुन्छ । स्रोतको दुरुपयोग सार्वजनिक जीवनको अधोगति हो, बेइमानी हो ।

मुलुकको निर्माण सार्वजनिक ओहदामा रहने व्यक्तिको सामाजिक र भौतिक जीवनमा आधारित हुन्छ । नागरिक सेवा तथा सुविधा मुलुक निर्माणसँग सम्बन्धित हुन्छन् । सार्वजनिक सेवा र सुविधा गुणस्तरीय र लक्षित बनाउनु निर्वाचित, प्रतिस्पर्धी वा मनोनीत ओहदाको सार्वजनिक दायित्व हो । सार्वजनिक स्वच्छताका लागि पारदर्शिता, नियमितता र जबाफदेही विकासमा राज्यको एक तिहाइ समय र स्रोत खर्च हुन्छ ।  समय र स्रोतको सदुपयोग व्यक्तिको सार्वजनिक पहिचान हो ।

जबाफदेही शासन र सन्तुष्टिको आधार हो । पारदर्शिता, सहभागिता, मूल्याङ्कन, पृष्ठपोषण जबाफदेहीका अनेक रूप हुन् । जबाफदेही वैयक्तिक हुन्छ, अभिभारा अरूलाई सार्न सकिँदैन । उत्तरदायित्व काम गर्ने विषयक्षेत्र हो । यो जिम्मेवारी कार्यविवरण तोकेर अरूलाई दिन सकिन्छ । जबाफदेही व्यक्तिको इमानको केन्द्र हो, जिम्मेवारी कार्य परिधि हो । केन्द्रले परिधिलाई नियन्त्रणमा राख्नुपर्छ ।

मानिसले वैयक्तिक वा सार्वजनिक निर्णय गर्छ । मानिसको निर्णयमा वस्तुनिष्ठता हुनुपर्छ । निर्णय सुधारकेन्द्री हुनुपर्छ । निर्णय नीतिगत, कानुनी, प्रक्रियागत र प्रणालीगत जस्तो भए पनि सुधारका लागि हुनुपर्छ ।  सार्वजनिक कार्यसम्पादनमा स्वतन्त्रता र स्वायत्तता हुनुपर्छ ।  हस्तक्षेपले इमानदारीमा कालो पोत्छ । हाम्रो सोच उपचारात्मक, निरोधात्मक वा प्रवर्द्धनात्मक हुनुपर्छ । उपचारात्मक सोचले दण्डसजाय रोज्छ । निरोध भनेको रोकथाम हो । वृद्धि वा बढावा प्रवर्धनसँग सम्बन्धित हुन्छ । निर्णय प्रक्रियामा यी सहयोगी बन्न सक्छन् । सार्वजनिक निर्णय व्यक्तिको सार्वजनिक पहिचानको मापो हो । यो मापोको तीव्रता र गाम्भीर्य व्यक्तिको सार्वजनिक स्वीकार्यता हो । यसले व्यक्तिको वैयक्तिक वा सार्वजनिक जीवनको कित्ताकाट गर्छ  ।

संसारमा पृथ्वी, मानिस, समृद्धि, शान्ति र समझदारीको निरन्तरता हुनुपर्छ । हामी स्वतन्त्र विश्व, सम्मानित मानिस, शान्तिमय समृद्धि, सुरक्षित शान्ति र अधिकारयुक्त समझदारी चाहन्छौँ । यो सार्वजनिक सोच हो ।  यसैबाट विश्वको रूपान्तरण हुन्छ । जीवन, सहकार्य, घुमफिर  र सम्पत्ति हाम्रा अधिकार हुन् । संरक्षण, बचाउ, पुनर्स्थापना हाम्रा बाँच्ने अधिकार हुन् । अधिकार प्राप्त नभएमा मानिसले आत्मरक्षाका लागि हिंसा गर्छ । यसबाट समाजमा दुर्व्यवहार, वैमनस्य र द्वन्द्व सिर्जना हुन्छ ।

यस सन्दर्भमा मानिसले मानिसलाई नै सबैभन्दा बढी प्रभाव पार्छ । नजान्नेले भन्दा जान्नेले बढी काम बिगार्छ । समाजलाई उन्नत र व्यक्तिलाई गुणी बनाउन सबैले कर्तव्यको ख्याल गरेर अधिकारको बचाउ गर्नुपर्छ ।  सम्मान र अधिकारका लागि सबै योग्य हुन्छन् । आफ्ना कमजोरी हटाउन सबै सक्षम हुन्छन् । कानुन र कलम सधैँ शक्तिशाली हुन्छन् । यो पाठ सार्वजनिक जीवनको पहिलो अध्याय हो ।

मानिस व्यक्तिगत र सामूहिक जीवनको साझा अङ्ग हो । ऐनामा हेर्दा देखिने अनुहार सबैभन्दा सुन्दर वा सबैभन्दा कुरूप दुवै हुन सक्छ । व्यक्तिले आफ्नो अनुहार हेरेर घिन लाग्ने काम गर्नु हुँदैन । ऐनाले कसैलाई विभेद गर्दैन । ऐनामा देखिने अँध्यारोपन निराशा, बेइमानी, बेखुसीको कारक हो । ऐनाको हँसिलो अनुहार ज्ञान, कर्म र उपासना हो ।  यो सार्वजनिक जीव जिउने काइदा पनि हो । संसारमा कोही पूर्ण ज्ञानी छैन । अरूकै सिर्जनामा हामी रमाउँछौं, विद्वान् कहलाउँछौं । ज्ञानको संसार क्षितिजपारि हुन्छ । आहार र विहारले मानिसको जीवनशैली र व्यवहार निर्धारण गर्छ । व्यवहार विकास आफ्नै वशमा हुन्छ । कार्यस्थल, घरपरिवार र प्रकृतिप्रतिको सकारात्मक व्यवहारले ऐनाको हँसिलो वा निराश प्रतिविम्ब सिर्जना गर्छ ।

मानिसले दामलाई भन्दा कामलाई सम्मान गर्नुपर्छ । राज्यमा काम पाउने मानिस भाग्यमानी हो, कर्मशील हो ।  उसले कामको अपनत्व बोध गर्छ । सिर्जनशीलता गुणस्तरीय कार्य हो । आत्मसन्तुष्टि र वैयक्तिक तथा पारिवारिक सन्तुष्टि सन्तुलित कर्म हो । सन्तुलित कर्म प्रतिष्ठित हुन्छ । जिम्मेवार व्यक्तिले कमजोरी प्रस्तुत गर्नु हुँदैन । बृहत् दृष्टिकोण र प्रतिस्पर्धा सफलताका कारक हुन्, आलोचक असल मित्र हुन् । वस्तुको गुणका कारण अरूले मन पराउँछन् । मानिसले पनि गुणकै कारण व्यक्तित्व निर्माण गर्छ । टाढाबाट हेर्दा हरेक वस्तु स्थूल र सुन्दर देखिन्छन् । जति नजिक पुग्यो उसका दुर्गुण देखिन्छन् । दुर्गुणलाई छाड्न सक्नु सार्वजनिक बन्ने आधार हो ।  विश्वसनीयता, सौहार्द्य,  ऐक्यबद्धता, आत्मज्ञान जिउन चाहिने आधारभूत मानवीय गुण हुन् । मानवीय गुणले नै सार्वजनिक जीवनको पहिचान कायम राख्छ । सार्वजनिक प्रशंसा व्यक्तिको आत्मगौरव हो ।

मानिस बन्न दृढ लक्ष्य चाहिन्छ । निस्वार्थ सामाजिक कार्य व्यक्तिको मर्यादा र  पहिचान हो । सार्वजनिक बन्न सत्गुणी  परिचयको उन्नति  र दुर्गुणको न्यूनीकरण आवश्यक छ । बाह्य र आन्तरिक प्रकृतिले व्यक्तिलाई मानिस बन्न सिकाउँछ । प्रकृतिपूजा मानिसको आराधना हो, क्षमा कल्याण हो । मधुरवाणी र सम्मानित भाषाले मानिसलाई कलात्मक बनाउँछ  कला संसारभर पूज्य छ ।  कला सिर्जना हो र यसका कलाकारको भूमिका प्रदर्शन हुन्छ । म किन जन्मेँ भन्ने बोधले मानिसमा कर्तव्य र भूमिका बोध गराउँछ ।  व्यक्तिको भूमिका प्रकृति सिर्जित हुन्छ । संसारको अस्तित्व प्रकृतिमा निर्भर रहन्छ । संयमित ज्ञानेन्द्रिय र कर्मेन्द्रियले मानिसलाई चिनाउँछन् । मानिसका दृष्टि, वाणी, कर्म, सङ्कल्प र आजीविका  बुद्ध वाणी हुन् । यी सधैँ शुद्ध हुनुपर्छ । ज्ञानेन्द्रिय र कर्मेन्द्रियको शुद्धीकरण सार्वजनिक जीवनको स्वच्छता हो ।

धमिलो आँखाले सफा देख्दैन । सफा दृष्टिमा जबाफदेही हुन्छ । मलाई क्षितिजपारिको दृष्टि चाहिन्छ ।