पशु एउटा देखिने दाम्लोले बाँधिने रहेछ । तर, मान्छे अगणित अदृश्य दाम्लाहरूले बाँधिंदो रहेछ । बाहिरी दाम्लो फुकाउन सजिलो छ । भित्री दाम्लो फुकाउन अप्ठ्यारो छ । देखिने दाम्लो सजिलै फुकाउन सकिन्छ । नदेखिने दाम्लो फुकाउन निकै गाह्रो छ । हामी मान्छे थरिथरिका परिपरिका दाम्लोबाट बँधेरिएका छौँ । ती दाम्लालाई स्थूल आकारमा देख्न सकिन्न, ती दाम्लालाई बाहिरी इन्द्रियहरूले देख्न, छुन र अनुभूति गर्न सकिन्न । ती दाम्ला अदृश्य छन् । सूक्ष्म छन् । तिनलाई विचार, भाव र अनुभूतिका आँखाले देख्न सकिन्छ । तिनका रूपलाई महसुस गर्न सकिन्छ ।
रुसोले सत्यको अभिव्यक्ति दिएका हुन्– मान्छे स्वतन्त्र जन्मिन्छ तर जन्मेपछि चारैतिर सिक्री नै सिक्रीले कसिएको हुन्छ । सिक्री भनूँ, जन्जिर भनूँ, चेन भनूँ, दाम्लो भनूँ, पाश भनूँ कुरा एउटै हो । रुसोले मान्छे बँधेर्ने दाम्लोलाई संकेत गरेका हुन् । हुन पनि हो शैशावस्था पार गरेर बाल्यावस्था लागेपछि मान्छेको गर्धनमा नानाभाँतीका दाम्ला गथेर्न सुरु गरिन्छ । ती दाम्लाहरू मातापिताले गथेर्छन् । गुरुले गथेर्छ । परिवारले गथेर्छ । समाज–संस्कृतिले गथेर्छ । धर्म, कानून र सामाजिक रीतभाँतले गथेर्छ । राज्यका आचार, विचार र संहिताहरूले गथेर्छन् । जातभात र रिवाजहरूले गथेर्छन् । ती दाम्लाहरू किशोरावस्था, युवावस्था, वयस्क अवस्था, प्रौढावस्थामा अरू थपिँदै जान्छ । र मान्छेलाई साक्षात् पशुकै अवस्थामा पुर्याइन्छ ।
मान्छे नदेखिने दाम्लोले कसिएको छ । अदृश्य दाम्लोले यसरी बँधेरिएको छ, जसलाई खोलिदिने मुक्तिदाता उसले अहिलेसम्म पाएको छैन । यस विषयमा ज्यादै मार्मिक कथा सुनेको छु– एउटा फिरन्ता ऊँट व्यापारीहरूको झुन्ड कुनै सुदूर यात्रामा हिँडेको थियो । त्यो समूहमा सयवटा ऊँटको लस्कर थियो । दिनभरिको यात्रापछि उनीहरू बेलुका निर्जन एकान्तमा पुगे । जहाँ नजिक कुनै मानव बस्ती थिएन । उनीहरूलाई रात बिताउनु थियो । ऊँटलाई विश्राम दिनु थियो । आफू पनि सुस्ताउनु थियो । बास बस्ने उपयुक्त थलोको खोजी गर्दा त्यस निर्जन एकान्त वनमा एउटा फकिरको कुटी भेटे । फकिरसित अनुमति लिएर त्यहीँ बास बस्ने निधो गरे । कुटी वरिपरिको चौरमा ऊँट बाँध्नलाई किला ठोक्न थाले । सयवटा ऊँटका सयवटा दाम्ला र सयवटा किला बोकेका थिए । जहाँजहाँ ऊँटलाई बेलुका बास राख्थे, त्यहाँत्यहाँ पहिले किला गाडेर ऊँटलाई बाँध्ने काम सम्पन्न गर्थे । अनि अन्य काममा लाग्थे । किला ठोक्ने मुङ्ग्रो पनि साथमै हुन्थ्यो ।
ऊँट व्यापारीहरू किला ठोक्तै गए, ऊँटलाई एकएक गरी दाम्लाले बाँध्दै गए । यसरी बाँध्दै जाँदा सयमा उनान्सय वटा ऊँट बाँधिसकेपछि एउटा ऊँटलाई किलो दाम्लो पुगेन । बोक्न त सयवटै बोकेका थिए । तर बाटोमा किलोदाम्लो झरेछ या हराएछ । उनीहरूलाई ठूलो आपत् आइलाग्यो । अब एउटा ऊँट कसरी बाँध्ने ? समस्या आइलाग्यो । नजिक कुनै गाउँ बस्ती थिएन । फेरि जहाँ आश्रय लिएका थिए । नङ्गाफकिरको कुटीमा आश्रय लिएका थिए । उसको कुटीमा किलादाम्लो रहने कुरा पनि भएन । साँझ अरू घना हुँदैथ्यो । एउटा ऊँट राति भागिदियो भने उनीहरूलाई ठूलो घाटा पर्नेवाला थियो । साह्रै आपत् परेपछि उनीहरू फकिर सामु गएर आफ्नो समस्या दर्साए– “सयवटा ऊँटमा एउटा ऊँटको किलोदाम्लो दुवै हराएछ । अब कसो गरौँ ? यो निर्जन ठाउँमा किलो दाम्लो पाउने के उपाय होला ? हाम्रो ऊँटको सुरक्षा कसरी गरौँ ?”
फकिरले भन्यो– “तपाईंले देखिहाल्नु भयो, म त केही चिज नभएको नङ्गाफकिर हुँ । मलाई केही चिज चाहिने भए गाउँमै बसिहाल्थेँ । यो निर्जन जङ्गलमा एक्लै किन बस्थेँ होला ? जहाँसम्म दाम्लो र किलोको कुरा छ । मसित न त कहिल्यै ऊँटै थियो; न त कुनै पशुप्राणी नै थिए । ती चिजै नभएपछि किलोदाम्लो मेरो झुपडीमा हुने कुरै भएन । म तिमीहरूलाई किलोदाम्लो दिन असमर्थ छु ।”
उनीहरूले फेरि दुखेसो पोखे– “यो निर्जन ठाउँमा ऊँटलाई त्यसै छोडिदियो भने भाग्न पनि सक्छ । हराउन पनि सक्छ । चोरले लैजान पनि सक्छ । अब कसरी बाँधेर राख्ने होला ? यस ऊँटलाई कसरी सुरक्षित गर्ने होला । हामीले केही सोच्नै सकेनौँ ।”
फकिरले सम्झायो– “यो निर्जन एकान्त कुटीमा तिमीहरूले कसै गर्दा पनि किलोदाम्लो भेट्टाउन सक्दैनौ । तर ऊँटलाई सुरक्षित गर्ने एउटा उपाय भने म बताइदिन सक्छु । पहिलो गल्ती त तिमीहरूले यो गर्यौ कि केही चिज नभएको ठाउँमा बास बस्न आयौ । तलै गाउँमा बास बसेका भए यो समस्या ब्यहोर्नै पर्दैनथ्यो । अब सुन, केही नभएको ठाउँमा बसेपछि एउटै उपाय छ, अदृश्य किलो ठोकेर, अदृश्य दाम्लोले बाँधेर त्यस ऊँटलाई रातभरि सुरक्षित राख्न सक्छौ ।”
फकिरको रहस्यदर्शी कुरा ऊँट व्यापारीले बुझ्न सकेनन् । कसरी अदृश्य दाम्लोले अदृश्य किलोमा ऊँट बाँधेर राख्न सकिन्छ । उनीहरूले प्रश्न गरे । उसले फेरि सम्झायो – “त्यो बिचरा पशु हो । त्यो दिनदिनै बाँधिएर बानी परेको छ । अब तिमीहरू त्यसको नजिक जाओ । कसैले झोलाबाट किलो निकाले जस्तो गर । अनि कसैले मुङ्ग्रोले ठोके जस्तो गर । अनि किलोमा दाम्लो मिलाए जस्तो गर । अनि कसैले ऊँट डोर्याएर ल्याएर अदृश्य दाम्लोले ऊँटको गलामा बाँधे जस्तो गर । अनि त्यसलाई बसाइदेऊ । त्यो बाँधिएर बसिहाल्छ ।
नभन्दै फकिरले अराएजस्तै उनीहरूले नभएको किलो भएजस्तै गरी भुइँमा ठोके । नभएको दाम्लोले भए जस्तै गरी ऊँटलाई बाँधे । सबै काम उनीहरूले बनावटी ढङ्गले सम्पन्न गरे । तर अदृश्य किलोमा अदृश्य दाम्लोले बाँधिएर ऊँट रातभरि एकै ठाउँ बस्यो ।
उज्यालो भयो । ऊँटका फिरन्ते यात्रीहरु बाटो लाग्ने सुरसार गर्न थाले । सुरुमा बाँधिएका ऊँटको गलाबाट दाम्लो फुकाए । अनि किला उखेल्दै झोलाझ्याम्टा मिलाएर ऊँट खेद्न थाले । उनान्सय ऊँट दाम्लो खोलेपछि जर्याकजुरुक उठेर बाटो लागे । तर, त्यो अदृश्य दाम्लोले बाँधिएको ऊँट आफ्नो थलाबाट उठेन । सबै साथीहरू बाटो लागिसक्ता पनि त्यो ऊँट चलमलाएन ।
ऊँट व्यापारीहरूले सोचे, बिना दाम्लो बाँधिएको ऊँट थलोबाट नउठ्नुमा पक्कै पनि रहस्य छ । पक्कै त्यो फकिरले यो ऊँटलाई टुनामुना गरेको हुनुपर्छ । उनीहरूको मनमा शङ्का उठ्यो । अदृश्य दाम्लाले बाँधिएको ऊँट आफ्नो थलोबाट नउठेको कुरा फेरि फकिरलाई सुनाए ।
फकिरले सोध्यो – “तिमीहरूले त्यसको गलाबाट दाम्लो खोल्यौ त ?”
उनीहरूले जवाफ दिए – “दाम्लो नै गलामा छैन, के खोल्नु ? खोलिराख्न जरुरतै परेन ।”
फकिरले भन्यो – “यही त तिमीहरूले भूल गर्यौ । त्यो ऊँटलाई हिजो जुन दाम्लोले जसरी बाँधेका थियौ, त्यसरी नै खोलिदेओ न ।”
फकिरको कुरा अझै बुझेनन् उनीहरूले । उसले फेरि थप्यो– “अब तिमीहरू त्यहाँ गएर सधैँ जसरी दाम्लो फुकाउँथ्यौ । त्यसरी नै त्यसको गलाबाट दाम्लो खोलेजस्तो गर अनि किलो, दाम्लो उखेलेजस्तो गर । त्यसपछि त्यो हिँडिहाल्छ ।” नभन्दै फकिरले जसो जसो गर भनेको थियो त्यसै गरे । त्यति गरेपछि ऊँट जुरुक्क उठेर बाटो लाग्यो ।
कथाको सारले भन्छ – मान्छे पनि ऊँट जस्तै नदेखिने दाम्लोले बाँधिएको छ । त्यो अदृश्य दाम्लोको बन्धनले मान्छेलाई जीवनपर्यन्त छोड्दैन । देखिने दाम्लो फुकाउन सजिलो छ । तर अदृश्य दाम्लो फुकाउन अप्ठ्यारो छ । मलाई लाग्छ, हामीलाई हुँदै नभएको किलोमा बँधेरिएका छौँ । देखिने दाम्लाको बन्धन सजिलो खालको हुन्छ, खोल्न मिल्ने खालको हुन्छ । तर नदेखिने दाम्लाका बन्धन जटिल खालका हुन्छन् । मानिस ऐन, नियम, धर्म, संस्कृति, पार्टी, सामाजिक मूल्यका कथित अदृश्य दाम्लोले मात्र जेलिएको हुन्न । यसलाई त आफ्नै स्वार्थका साङ्लाले पनि फनफनी कसेको हुन्छ । आफ्नै अहम्का डोरीले बँधेरेको हुन्छ । मान्छे आफ्नै वासना–वृत्तिका साङ्लामा फसेको हुन्छ । आफ्नै कामना कृतिका दाम्लामा टुमोरिएको हुन्छ । आफैँभित्रका पाखण्ड, ढोँगलर दुष्पुर आकाङ्क्षाका डोरीमा जेलिएको हुन्छ ।
पशुसित त विवेक र चेतना हुँदैन । जसले गर्दा उसले अदृश्य दाम्लोलाई सत्य ठान्छ । हुँदै नभएको दाम्लोलाई हो ठान्छ । गलामा दाम्लो छैन तर पनि मान्छेले बाँधेजस्तो गरिदिए पछि त्यसैलाई स्वीकार गर्छ । तर मानिस विवेकशील प्राणी भएर पनि यसलाई नदेखिने दाम्लाले पशुलाई भन्दा बढी बाँधेको छ । पशुको अदृश्य दाम्लो फुकाइदिने त मान्छे छ, तर मान्छेको गलामा बाँधेको अदृश्य दाम्लो फुकाउने मान्छे मैले आजसम्म भेटेको छुइनँ । त्यो फुकाउने भन्दा पनि दाम्लोको कथित भ्रमबाट ब्युँझिने चेतनाको खाँचो छ । मेरो गर्दनमा कुनै प्रकारको दाम्लै छैन भन्ने मुक्तभावको उदय भएपछि मान्छेले साँच्चै मुक्ति पाउँछ ।
मृत्युको घडीमा लाशलाई चितामा चढाएपछि हाम्रो सनातन परम्पराले मृतकका बन्धनहरू खोलिदिन्छ । जनै लाएको छ जनै चुँडाई दिन्छन् । औंठी, घडी, सिक्री, माला, पोते, मुन्द्री, गरगहना, चुराचुरी जे जति बन्धनयुक्त चिज छन्, तिनलाई शरीरबाट निकालिदिने वा चुँडाइदिने काम गरिन्छ । आखिर कम्मरको कन्धनी र इँजार समेत चुँडाई दिइन्छ । मान्छे बन्धनमा पर्छ भनेर । यी त देखिने दृश्यमान बन्धनहरू न हुन् । ऊभित्र उसलाई बँधेर्ने कति धेरै अदृश्य बन्धनहरू थिए होला । ऊ जीवित छँदै ती बन्धन खोल्ने उपाय न त उसले खोज्छ । न त अरूले खोजिदिन्छ । निर्बन्ध हुने चेतनाको यात्रा कमै मानिसले गरिरहेको हुन्छ ।
तपाईं मुक्ति भन्नुस्, मोक्ष भन्नुस्, निर्वाण भन्नुस् यसलाई जे नामले पुकारे पनि आखिर आफूलाई बाँध्ने अदृश्य दाम्लाको बन्धनबाट माथि निक्लिने हो । आफू भित्रबाट जागेपछि आफूलाई कस्ने अदृश्य दाम्लाका रूपहरू देख्न सकिन्छ र बिस्तारै अदृश्य दाम्लाका बन्धनबाट मुक्त हुने दिशातर्फ अभिमुख हुन थालिन्छ । त्यही यात्रा मुक्त बन्ने यात्रा हो, त्यही यात्रा स्वायत्त बन्ने यात्रा हो । आफू स्वायत्त नबनी स्वतन्त्रताको साँचो सुख अनुभूति गर्न सकिँदैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।