सपना–विपनाले ठगेका कुराहरु देख्ने माध्यम हो त ? यदि हो भने सपना र सुख पुरक विषय  हुन् त ? सुखमय सपना र दुःखमय विपना यथार्थ हो । तसर्थ सपनाले सहर बसाल्न सक्दैन । सपनाले सन्तुष्टि दिलाउन पनि सक्दैन र सपनाले सगरमाथा ठड्याउन पनि सक्दैन ।

यहाँ सपनाका कुरा मात्र गर्न खोजिएको छैन ।

भनिन्छ नमरी स्वर्ग देखिँदैन अर्थात् स्वर्गको अनुभूति मृत्युवरणपश्चात् मात्र हुन्छ, किन ? किनकि, स्वर्गानुभूति अभिव्यक्तिका माध्यम बन्नै सक्दैन । जसको प्राप्ति उसैको भोग । नपाउनेहरुका लागि कल्पनामा सीमित । पानीजस्तो, बतासजस्तो, परिभाषाको खोल ओढाउन नसक्ने आकाशजस्तो पनि । पानीलाई हेराैँ, सबैले देखेका छन्, पिएका छन्, अपरिहार्य साधन पनि । विश्व मानचित्रमा मान्छे र जमिनभन्दा धेरै गुनाले बढी पनि पानी नै छ । तर पनि आजसम्म पानीको रङ, पानीको स्वादको जवाफ बन्नसकेको छैन । दैनन्दिय रुपमा देखिने, भोगिने चीजलाई त चिन्न सकिएको छैन भने कहिल्यै कसैले नदेखिएको नपुगेको स्वर्गको परिभाषा के हुनसक्ला र ?

असम्भवको जति बखान गरे पनि हुन्छ । फुत्केपछि जुनसुकै वस्तुको महत्त्व बढेजस्तै । भगवान्को मूर्तिजस्तै स्थीर । मूर्ति कहिल्यै रिसाउँदैन र आशीर्वाद पनि दिँदैन, बोल्दैन । त्यसैले भगवान्–भगवान् नै भएर टिकिरहन सक्षम छन् । गीतकार हरिभक्त कटुवालले ढुङ्गोलाई ईश्वर मानेका छन् । किनकि ढुङ्गा पनि बोल्दैन र जे गरे पनि स्वीकार्छ । हुन पनि ढुङ्गा पर्खाल लगाए पर्खाल बन्छ, सडक बनाउँदा सडक बन्छ । त्यस्तो महान् स्वीकारवालालाई किन अन्यथा सोच्नु ? राम्रो ठाने आस्था नराम्रो माने घाटा ।

ओहो ऽ कुरो लम्बिसकेछ । विज्ञसँग बाँच्नुपर्ने स्थितिमा स्वर्गको अनुभूति खोजेर आध्यात्मिकतर्फ उन्मुख गर्न खोजेको अर्थ नलागोस् । सचेत समयमै हुन सान्दर्भिक हुन्छ । म एक्लो हुन चाहन्नँ । फेरि मलाई एक्लो बृहस्पतिमा रति पनि विश्वास छैन । समाजमा विद्वान् कहलाउन नसकेर मूर्ख बन्ने उत्कण्ठा पनि हैन मेरो ।

भन्न खोजेको के मात्र हो भने स्वर्गको स्वाद पानीको जस्तो छ । तीर्खाको प्यासजस्तो, प्रतीक्षापछिको प्राप्तिजस्तो र अनुमानको आनन्दजस्तो । जहाँ राखे पनि र जस्तो ठाउँमा राखे पनि ठीक्क हुने । lgaआवश्यकता र अवस्थाअनुसार आकार लिनसक्ने मिलनसार पानीजस्तो । जता बगे पनि रुप परिवर्तन नगर्ने, आकाशजस्तो, समुद्रजस्तो, जस्तै पीडाको स्वादमा पनि खुसी पाकेजस्तो ।

फुर्सदमा छु म अहिले । आफ्नो न्यानो गुँड छोडेर, आफ्नो माटो छोडेर परायभूमिमा टेक्दा मलाई यस्तै अनुभूत हुनेगर्छ । दिनको चौबीसै घण्टा फुर्सद । आश्र्चयचकित छु । बन्दीगृहभित्रको बन्दीजस्तै बनेकोमा र बन्नुपरेकोमा पनि । तर अचम्म छ, फुर्सदैफुर्सदमा पनि बेफुर्सदको आभास छ  । कस्तो अनर्थ ? समुद्रमा तिर्खाउनु परेजस्तो, आँखामा दृष्टि भोकाएजस्तो, प्रेयसीको अँगालोमा प्यार नपुगेजस्तो । कस्तो, कस्तो ? न प्रकृति रमाएजस्तो न बसन्त छाएजस्तो । वैशाखीको सहारामा सगरमाथामा उभिएजस्तो । अभागी गीतमा आवाज गुन्जेजस्तो । कसरी होला फुर्सद निम्ताउन नसकेको, सूर्य छिटो उदाउँदा पनि फुर्सद नमिल्ने र सूर्य ढिलो अस्ताउँदा पनि व्यस्तै हुने ।

स्वदेशमा पहाडबाट निस्कन्थ्यो सूर्य, त्यसैमा हाँसिन्थ्यो । अहिले विदेशमा समुद्रबाट फुत्त जन्मन्छ सूर्य । त्यसैमा नाचिन्छ । चन्द्र त्यस्तै । बतास त्यस्तै । जे हे¥यो त्यस्तै, सबैलाई अलिअलि बाँड्दाबाँड्दै ठीक्क । अनि कहाँबाट होस् फुर्सद ?

जता हेरे पनि, जे गरे पनि भएको भनेको त्यही दुइटा आँखा न हुन् । न दहीजस्तो जमाएर बढाउन सक्ने । न टुसाएर लम्बाउन सक्ने, न गर्भाएर अर्को जन्माउन सक्ने । यता पनि नौलो, उता पनि नौलो, कतै अपरिचित र अनौठो भएर नौलो, कहिले परिचितझैं भएर नौलो ।

फुर्सदले नै होला । कामका कुरा, दिमागका कुरा र पाखुरीका कुरा तराजुमा माथि परेर क्षितिज बनेको छ । फुर्सदले अरुका हात पाखुराको कमाइमा पल्केका, विश्वास दिलाउने आँखा बोकेर बस्नेहरुलाई सम्झन्छु । आफ्नो भाग्य बिग्रेर ग्रह तह लगाउन बसेकाहरु सम्झन्छु । अरुका भाग्य बनाउन बसेकाहरु पनि सम्झन्छु । अरुका भाग्य बनाउने चटकको पसल थापेर बस्नेहरुको मायाबी व्यापारलाई सम्झन्छु ।

मलाई त हात हेराएर भाग्यमा रमाउन पटक्कै रहर लागेको होइन । विश्वास पनि लाग्दैन । विगतमा भोगिसकेका तीता समयमाथि सहानुभूति खोज्न र मीठा क्षणहरुमा मुस्काउन पनि होइन । स्वयम् भोगिसकेका अतीतलाई अर्कोको मुखबाट सुनेर आस्था किन जगाउनु ? भविष्यमा हुनसक्ने अनुमानित कल्पनामा किन वर्तमानलाई घाटा पार्नु ? बेअर्थमा राम्रो हुने कुनै यथार्थ भए पूर्वज्ञानले मात्तिन सकिन्छ र नराम्रो हुने भए सुनेर आत्तिन सकिन्छ । जीवनका उकालीओरालीहरुमा एकनास पाइला खियाउँदै जानुपर्छ । अन्यथा जीवनका धेरै मोडहरु घाटादायी बन्न सक्छन् । मान्छे भएर जन्मेपछि आरोहअवरोहमा मात्तिनु र आत्तिनुलाई आकस्मिक तर नियमित रुपमा स्वीकारेर नियन्त्रण गर्नसक्नु पर्छ । अन्यथा हामी, हामी हुनुमा केको गर्व ? भन्नुको अर्थ हस्तरेखाहरुले आँसु र हाँसोको जोडघटाउ हुर्काउनु हुन्न भन्ने मेरो मत ।

म अहिले आश्चर्यमा भुसुक्क निदाएको छु । हुन पनि आफैले आफैलाई बन्दी बनाएर बन्दीगृहको महसूस गर्नु सामान्य छातीको आँटले थेग्न सक्ने कुरा पनि हैन । हुन त स्वयम्लाई अर्पेपछि अस्तित्व विलिन हुन त हाँकिरहेकाहरु छन् । अखबारका कुनाकाप्चामा यस्ता खबरहरु नबिराई छापिन्छन् ।

जाबो बन्दी त सुन्दर तिरष्कार मात्र हो । मोलतोल नापतौलको त कुरै अर्कै भो । तर अरुको सामु बन्दी बन्न जति सजिलो त हैन रैछ आफूभित्र आफै बन्दी हुनु । न पारिजात र सुनकेसरीका जस्ता आँखा फहराउन मिल्ने न समयसँग अँगालो मार्न मिल्ने । बगेनाका पातहरुले जस्तै मच्चीमच्ची सुसेल्न पनि नपाउने र बतासझैं आँगनमा नै झमझम नाच्न पनि नपाइने । न इन्द्रेणीझैं रङको दहीमा र भङ्गेरीको चिरीबिरीमा साइतको घडा नै बनिदिन मिल्ने ? तर के गर्नु ? यता पनि चटारो उता पनि चटारो । फुर्सद नभएको बादलजस्तो । यताबाट उता, उताबाट यता ।

अहिले समय भने अत्यन्त गह्रुङ्गो लाग्न थालेको छ । बैँस चढेको साँझजस्तो । सङ्घारमा दिन रोइरहेको बेला रातचाहिँ अलिकति मात्र रङ्गियो भने सुस्ताउन जान्दैन । रङजस्तो हतारिएर हिँड्न मन पराउँछ । बाजाहरुको साङ्गीतिक गतिमा त सुरिलो आरोहअवरोहसँग ढुकढुकिन चाहन्छ ।

न सङ्गीतको स्वरुप समयसँगै मिल्छ न समयको व्यवहार सङ्गीतसँग बज्छ । तर यी दुई भने रगतकै दाजुभाइजस्ता । दुवै नै अहिले मेरा पक्षमा छैनन् । मलाई बन्दी बनाउन मभित्र ठूलो भूमिका खेलेका छन् यिनीहरुले । जे भए पनि पीडा र समस्याले चियाउने झ्यालहरु भने कतै उदाङ्गो भएका छैनन् ममा । मीठा र मधुमयी झन्कारहरु प्रायशः पौडिरहन्छन् । म त्यसैमा मख्ख छु । यो सुख धरहरा जत्रो अग्लो पो छ कि ? थाहा छैन र तौलने कुनै आधार पनि छैन । समयले मलाई ठग्ने नै अभीष्ट राखेको भए स्वयम् समयको खातामा नै घाटाको हिसाब छिट्टै निस्कने छ । यो मेरो घोषणापत्र हो कहिले नबदलिने ।

पानीले स्वाद बताएन, रङ बताएन, स्वर्गले अनुभूतिको ढोका देखाएन तर समयले भने त्यस्तो केही गर्ने भ्याउ नै पाएन तर समयलाई मैले काखमा राखेर खेलाएँ । समयको एकएक बोक्रा छोडाएर गुदीसम्म चाखेँ । हातले निफनेर आँखाले पिएँ । स्नेहको डोकोले छोपेर समयलाई वशमा ल्याएँ र इच्छानुसार समयसँग नुहाएँ । नाचेँ, खाएँ र एक दुईपटक अजिङ्गरको आहारा बनाएर समयलाई थाहा नदिइकन बलात्कार पनि गरेँ ।

पानीले मलाई पराजित गरे तापनि समयको सगरमाथाको आरोहणमा सफल भएँ । त्यसैले समय मुठ्ठीमा नाच्न रुचाउँछ अहिले मसँग । किनकि उसलाई राम्रोसँग थाहा छ म समयसँग नाच्न रुचाउँदै रुचाउँदिन भन्ने ।

हातका रेखाहरु सपनामा नृत्य गर्दैनन् । जस्तै सङ्गीतमा पनि झन्कार छुटाउँदैनन् । स्वर्गझैं लुप्त रहेर । मूर्तिझैं चुप रहेर आस्था र प्रशंसाको शिखर बनिरहनेहरु पम्प्लेटमा टाँसिनु हुन्न । समयलाई खेलाउन नसक्नेहरु कुनै रङ्गशालामा ईंट थप्ने आकाङ्क्षामा ह्रास गराउनु हुन्न । पानीझैं बग्न नसक्नेहरु, पानीमा आफ्नो छाया देख्न नरुचाउनेहरु ,मण्डलीको कीर्तनमा हार्बिनको स्वर बन्न खोजेर सम्भव हुँदैन ।

होइन भने बन्दीगृहभित्र मीठो झन्कारको दोलाई ओढ्न किन गाह्रो हुन्छ ? किन सुवासिला आँखाहरुमा पौडिन अप्ठेरो हुन्छ ? बन्दीगृह–बन्दीहरुका निम्ति मात्र नबनेर किन यात्राको एउटा खण्ड पनि बन्ने गर्दछन् ? यी प्रश्नहरु उत्तरका लागि होलान् नहोलान् यकिन छैन तर मेरो हकमा भन्ने हो भने यो अनुभवको एक किस्ता बोनस मात्र हो ।

–हाम्रो ध्वनि, कालिम्पोङ (सन् १९९५)