शिलरले भनेका छन्– जसले वर्तमानको उपेक्षा गर्छ, उसले सबथोक गुमाउँछ ।
कति उच्च मूल्याङ्कन गरेका छन् अहो !
यहाँ म अचानक केशरी बज्राचार्यलाई सम्झन पुग्छु । उनी नेपालकी महिला कवि हुन् ।
क्षमा गर्नुहोला । मैले कवयित्री भनिनँ । किनभने मलाई लाग्यो स्रष्टाहरू सामान्य लिङ्गी हुन्छन् । उनकै कविताहरूको दोस्रो पुस्तक निस्केको छ । नाम राखेकी छन्, ‘वर्तमान खोजिरहेछु’ ।
ध्यान दिनुस्, उनले पनि लिङ्ग छुट्टयाउने क्रियाको प्रयोग गरेकी छैनन् । वर्तमानसित मिल्दोजुल्दो छ र यसको अर्थ बुझ्ने यहाँ पनि कोही छन् भनेर सन्दर्भ जोडिरहेको मात्रै हुँ ।
शिलरको अभिप्राय हो वर्तमानको उपेक्षा नगर । पुनर्निर्माणका निम्ति जोड दिने सन्देशले धेरै अर्थ बोकेको लाग्यो । त्यसैले विमति राखिनँ बरु रहस्य बुझ्ने प्रयासमा गम्भीर हुन्छु ।
भनूँ भने वर्तमान हाम्रो कहिल्यै भएन । जहिले पनि कष्टकर देख्छु, जसको हेराइ टिठलाग्दो छ– दुख्ने घाउभन्दा चर्को, भोगेको यातनाभन्दा करुण, आतङ्ककारीहरूको कठोरताभन्दा निरङ्कुश, डरलाग्दो छ हाम्रो वर्तमान । त्यसैले उदार हुनै सकिनँ ।
सोच्न थाल्छु मेरा बाबुको वर्तमान, बाबुको पनि बाबुको वर्तमान, अझ बाबुको बाबुको पनि बाबुको अर्थात् जिजुबाजेको वर्तमान झन् कति गुना कठोर, आदिम हुँदो हो ? कल्पनाभन्दा परको विगतलाई खै, के भनेर सम्झूँ ?
उनीहरूको त्यो वर्तमान मेरो आजको वर्तमानभन्दा पक्कै पनि फरक हुनुपर्छ । सामन्ती कालको दासयुगीन वर्तमान र अहिलेको एक्काइसौं शताब्दीको लोकतान्त्रिक वर्तमान भिन्नै त हुनैपर्ने हो ।
म अनुमान गर्छु । वर्गीय विभेदले सम्बोधित हुने पृथकताबाहेक, समयअनुसारको सामाजिक असमानताले छुट्ट्याउनेबाहेक अर्को सार्थकता र मूल्यका दृष्टिले के फरक छ ? के छ बाबुबाजेको पालाको भन्दा भिन्न हामी छोरानातिको वर्तमानमा ?
झनै खपिनसक्नु लाग्छ ! सम्झँदा बरु निस्सन्तान हुनु नै बेस ठानें । कम्तीमा हामीलेजस्तो उनीहरूले पनि वर्तमान खेपेर कल्पनुपर्ने छैन, अभिशप्त हुनुपर्ने छैन ।
कुरैकुरामा आएको कुराले अर्थ्याउने सत्य मात्रै यति हो, हाम्रो वर्तमान हामीसँग छैन । मेरो मर्जीले बन्ने–बिग्रने पनि होइन, हाम्रो खटनमा चल्ने हिँड्ने पनि गर्दैन ।
व्यक्तिगत कारणले होइन, सामाजिक परिवेशमा यसको अर्थ खोज्दै जाँदा यो निष्कर्षमा पुगेको हुँ ।
त्यसैले हाम्रो वर्तमान छैन, वर्तमानका हामी होइनौं भन्छु । मसँग कि विगत छ, त्यस बेलाको अलिकति इतिहास, कि सुनेका कथाहरू छन्, भोगाइका तीता–खल्ला स्वाद, अलिअलि दुखेसोहरू जो बाबुबाजेहरूसँगै पछि लागेर हाम्रो भइदिएका छन् । अथवा देश भएर देशसँगै जोडिन्छौं– त्यसकै भाग्य, गथासो, दुर्घटना, युद्ध, जीत, हार सबैसित ।
तिनीहरूको इतिहास हाम्रो पनि इतिहास भइदिन्छ । तिनीहरूको भाग्यसँगै हाम्रो भाग्य पनि गाँसिन्छ । यही परम्परा, उत्थान–पतन भएर बाँचिदिने जिन्दगीसित म जोडिएको छु, हामी जोडिएका छौं ।
यसलाई गिर्नु–उठ्नु भनेर परिभाषित गर्छन् । मेरै भएर न म मेरो हुन सक्यो, हामी भएर न हामी हाम्रै भयौं । खालि त्यही विगत हौं, त्यही इतिहास, त्यही देश र उनीहरूका निम्ति बलि हुन मात्रै शहीद भयौं ।
वर्तमानजस्तै भविष्य पनि हाम्रो छैन । वर्तमान नहुनेको भविष्य हुँदैन । जो वर्तमानबाट ठगिन्छ त्यो भविष्यबाट पनि वञ्चित हुन्छ । अर्थात् भविष्य निरपेक्ष हुँदैन– वर्तमानबाट पनि हुँदैन, विगतबाट पनि हुँदैन ।
सबैभन्दा परावलम्बी कोही छ भने मलाई लाग्छ त्यो भविष्य हो । स्वनिर्भर भविष्यको कल्पना गर्न सक्तिनँ । विगतप्रति ऋणी रहेझैं अझ बढी ऋणी हुन्छु वर्तमानप्रति ।
यसकारण भविष्यलाई भूत र वर्तमानको अनैतिक सम्बन्धबाट जन्मने सन्तान भन्छु । विगतको कोखबाट जन्मेर वर्तमानको रेखदेख, पालनपोषणमा हुर्कने भविष्यको भविष्य भनेकै वर्तमान हो ।
त्यसले जस्तो बनाउँछ त्यस्तै बन्छ, जसरी ढाल्छ त्यस्तै भइदिन्छ । विगतबाट ऊर्जा ग्रहण गर्छ, त्यसैबाट प्रेरित र विनिर्मित भइरहन्छ । यसरी वर्तमानसित सम्झौता गर्छ । वर्तमान राम्रो भए भविष्य पनि राम्रो हुन्छ ।
त्यस्तै वर्तमान हाम्रो होइन भने त्यसले बनाउने भविष्य पनि हाम्रो हुँदैन । कसरी त्यसले मेरो सपना, तिम्रो संकल्प, हाम्रो चाहना प्रत्यारोपण गरेर हामीलाई नयाँ जीवन दिन सक्छ ?
एक सय चार वर्षको जङ्गबहादुर शैली, तीस वर्षको पञ्चोपचार पद्धतिले खोसिएको वर्तमान हाम्रो नभएकाले त्यसले रचेको भविष्य पनि हाम्रो भएन । त्यसबाट अपहृत हुनु परेको यथार्थबाट अनभिज्ञ छैनौं ।
दुवैबाट वञ्चित हुनाले तीनवटै कालबाट उपेक्षित भयौं– विगत २४० वर्ष भो, इतिहासबाट पनि शोषित भयौं, १०४ वर्षको बलात्कारबाट पनि प्रदूषित, तीस वर्षको निरङ्कुशताबाट पनि अपाहिज ।
यी सबैको परिणाम नै हाम्रो वर्तमान हो । यसको वंशजको रूपमा देखा पर्ने भविष्य पनि यसकारण अपाङ्ग भई जन्मिरह्यो ।
एकछिन प्रसंग बदल्छु ।
जस्तो देशविहीन छन् भुटानी नेपालीहरू, त्यस्तै भविष्यविहीन छौं हामी देशवासीहरू । एउटै परिणामका भुक्तभोगी होइनौं र पनि त्यस्तै भाग्यका उपभोक्ता हौँ । एकअर्काको नजिक नजिक लाग्छ ।
भविष्य नहुने मान्छेको देशपीडा र देश नभएको मान्छेको शरणार्थी–पीडा तुल्यतुल्य नलाग्न सक्छ, असमान भने छैन । भविष्य नहुने देश पनि हुँदैन । देश नहुने मान्छेको निम्ति उसको भविष्य पनि हुँदैन ।
अर्थात् भविष्य नभएको भन्नु देश नभएजस्तै हो । देश नभएको भन्नु भविष्य नभएको पनि हो ।
शरणार्थीहरू देशका निम्ति लड्छन्, लडिरहेकै पनि छन् । देशवासीहरू भविष्यका निम्ति संघर्ष गर्छन्, गर्दै पनि छन् । देशबाट खेदिएकाहरू देश फर्केर भविष्यप्रति ढुक्क हुन चाहन्छन् ।
हामी देशवासीहरू खोसिएको भविष्यलाई वर्तमानमा सजाएर सपना देख्नै नपर्ने देश खोज्छौं । अचम्मको कुरो हो, जसका लागि लड्छौं, मर्छौं, त्यो देश पनि अमूर्त छ, त्यो भविष्य पनि अमूर्त छ । हामीले देखेकै छैनौं–
हामी कति सेन्टिमेन्टल छौं–
हाम्रो भावुकतालाई मनोवाञ्छित काममा लगाउन उत्तेजित गर्ने देश नारामा रूपान्तरित हुन्छ । षोडशीको कुमारित्व लाग्ने देश सधैं चुनौती भएर रगत माग्छ ।
राष्ट्रियताका नारा दिनेहरू कुर्बानी खोज्छन्– देश छ हामी छौं, देश छैन हामी छैनौं । कति ठूलो कुरा भनिदिएछन् ।
हाम्रो परिकल्पनालाई सोचेजस्तो आकार दिन उत्साहित गरिरहने भविष्य सपनामा रूपान्तरित हुन्छ । सपना लाग्ने भविष्य पनि केवल त्याग खोज्छ र भन्छ– स्वतन्त्र थियौँ, स्वतन्त्रतालाई ज्यान दिएर जोगाउनुपर्छ ।
पराधीन देशका मानिसहरू स्वतन्त्र नागरिक हुन खोजेझैं स्वतन्त्र देशका पराधीन मान्छे हुन पनि चाहेनौँ ।
देश त मैले देखेकै छैन– खै, कस्तो हुन्छ ? पहाड, नदी, वन जंगल देश हो कि मन्दिर, मूर्ति, वेशभूषा वा गीत, कविता देश हो ? गाई, गैंडा, लालीगुराँस, डाँफे देश हो अथवा खुकुरी, बन्दुक, युद्ध, राष्ट्रियता, जीत, पुरुषार्थ देश हो ?
पृथ्वीको चोक्टामाथि खुकुरी प्रहार गरेर त्यसले चर्चेको भूभाग नै देश भई देशहरू छरिएका छन् । या यसो भनूँ भूगोलको कुनै शिरोभागजस्तो सिउँदोमा रगतको सिन्दूरले कोरेको सिमाना नै देश भइदिएका छन् ।
छुट्टाछुट्टै राष्ट्रियता बोकेका विखण्डित सिमानाभरिका देशहरू हेरेर कसैलाई कारागारजस्तो लागिदिँदो रहेछ । अनि देशका यिनै मान्छे, हामी र विश्वका सबै जो नागरिक भएर चिनिन्छौं र छुट्टिन्छौं एकअर्कोबाट बेग्लाबेग्लै सीमान्त प्रदेशका कैदीजस्ता पनि कसै–कसैलाई लाग्दो रहेछ ।
आ–आफ्नो भूमिको स्वतन्त्रता र स्वामित्वभन्दा महान उनीहरूलाई देश पनि लाग्दैन, मान्छे पनि लाग्दैन । त्यसकै रक्षार्थ समर्पित हामी भने यसैका लागि जन्मन्छौँ, यसैका लागि मर्छौं ।
यो देश पनि सबैको देश भइदिँदैन । कस्तो आश्चर्य– कोही कहाँबाट खेदिन्छन्, कोही कताबाट लेखेटिन्छन् । भुटानीहरू पनि भुटानका कहाँ हुन् र ? अहिले भुटानी भइदिए ।
तर यसो भन्न सक्तैनौं । (हामी कोही पनि त कहीँका आदिवासी होइनौं, आदिम होइनौँ ।) यसकारण नेपालबाट गएका भुटानी नेपालीहरू पनि भुटानी हुन् ।
तर उनीहरूको भाषा भुटानी होइन, पहिरन भुटानी होइन, अनुहार भुटानी होइन, धर्म भुटानी होइन । त्यसैले भुटानी नेपालीहरू भुटानी भएनन् ।
कति साँघुरो देश बोकेर मान्छे परिभाषित हुन्छन् ? कति परिमितता बोकेर देश बाँच्न खोज्छन् ?
देश मान्छे होइन, शायद यो बुझेनौं । त्यसैले देशको भाषा, धर्म, रङ, जाति, पहिरन हुन्छ भन्ठानेर त्यस्तो नहुने, नमिल्ने मान्छेहरू देशबाटै निष्कासित हुन्छन् ।
देश कहिले मान्छेको देश हुने हो ? मान्छे कहिले देशको हुने हो ? विडम्बना हेर, फेरि यसैका निमित्त हामी मर्छौं, मारिन्छौं, युद्ध गर्छौं ।
अनुकूलित हुनुअगावै विगतमा परिणत हुने हामी मान्छे पटकैपिच्छे वर्तमानबाट खोसिन्छौं, भविष्यबाट वञ्चित हुन्छौं । विगत हाबी रहेका प्रक्रियाबाट शोषित भइरहँदा आतङ्कित म यसकारण वर्तमानप्रति आश्वस्त हुन सकिनँ ।
यहाँ जोन्सनले भनेको वाक्य दोहोर्याउँछु–
वर्तमानहस्ते भविष्य किन्न सकिन्छ ।
संसारको चालामाला हेरेर यो निष्कर्ष निकालेका होलान् । यस व्यवस्थाका ‘होलसेलर’ त वर्तमानमार्फत भविष्य किनबेच गर्नेहरू नै हुन् । दुईचार पैसामै मरिमेट्ने खुद्रा व्यापारीहरूको कुरा नगरूँ ।
मनोनयन, लाइसेन्स, ठेक्का, भर्ती, ऋण, नागरिकता, जाँचपास, नियुक्ति, राज्य, प्रशासन के किनिँदैन, के बेचिँदैनन–
टाढाको सीमावर्ती सम्भावनालाई दृष्टिगोचर गर्दा तिमी जसलाई समय–स्पेस भन्छौ नि हो, त्यसबाहिर हामी छैनौं भन्ने परम सत्यको सापेक्षता सकारेर म त्यसको अनुगमन गर्दै छु ।
विभाजित समयको स्पेसमा ठाउँ बनाउने होडका हामी प्रतिस्पर्धी हौं । यसको सापेक्षतामा हिजो जीवित रहेझैं आज र भोलि पनि त्यसबाट निरपेक्षित हुन्नौं । आइन्स्टाइनको सापेक्षवाद कति गहन रहेछ– सिसिफसको वर्तमान बाँचेर भविष्य उन्मुख हामी अहिले कुन स्पेसमा छौं ?
‘कृष्णचन्द्रसिंहका निबन्ध’बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।