हुम्लामा हिउँको अनेक अर्थमा काङ, खा, तिसे, ठाँणो, स्नो, बरफ आदि विभिन्न नामहरू छन् । यसको एउटै भाव हुन्छ चिसो र सेतो ! ह्यूँ शब्दको भाषिक, कोशगत र शाब्दिक रूपमा सयौँ अर्थ पाउन सकिएला । यसबाट बनेका शब्दको अनेकार्थक र समानार्थी अर्थहरू पनि धेरै छन् । तापनि यहाँ हिउँलाई हुम्लाको बारेमा मात्र प्रस्तुत गरिए पनि यसको व्यापकता र शाश्वत मान्यतालाई अनुभूत गर्न सकिन्छ ।

जीवन एक रङ हो । अनेकौँ रूपमा तरेली रङहरू जीवनको बहुआयाममा मिसिन्छन् । रङ प्रकाश हो । यो उज्यालो हो । अनुभवको विराटता हो । यसैले पल प्रतिपल रङका आयामहरू फेरिरहन्छन् । रङका आकृतिहरू तरेलिन्छन् । रङका भावहरू चलमलाउँछन् । रङका छापहरू सलबलाउँछन् । रङको पथ निमेष निमेषमा पनि सक्रिय भएको हुन्छ । अल्फा, बिटा, गामा, थेटा, पाई र ओमेगाको मान बोकेर पानी र पानीमा विचरण भएको पानीको वैज्ञानिक सूत्र अक्सिजनको एक भाग र हाइड्रोजनको दुई भागको आयामलाई पीच मानले निर्धारण गरेर पानी पानी मात्रै नभएर एक अलौकिक र शक्तिशाली यौगिकका रूपमा रूपान्तरण हुँदा रङका अनेकौँ परिवर्तन बोकेको हुन्छ । यो परिवर्तनको एक अंश हो हिउँ ।

हिउँ हुम्ली जनजीवनको आत्मा हो । यो समाजको सास हो, रैवार हो र हो स्पन्दन पनि त हो । यो आत्मा र मस्तिष्कको सकल राग हो । खुसीको आभास हो । यो सर्वव्यापक छ । सबल छ । सरस छ । सलील छ । सजीव छ र त छ समाजको प्रचलित मूल्य मान्यताको परिपूरक र समपूरक सीमारेखा । त्यसैले प्राकृतिक, जैविक तथा मानवीय सम्बन्धको स्रष्टा र द्रष्टाको रूपमा हिउँलाई मानिन्छ । हुम्ली हृदयको स्पन्दनमा चिसा सिरेटाहरू लहरिएर हिउँको आत्मीय भाका बन्छ । समयको पार्सी लगाएर वातावरणको सङ्केत गर्छ । शान्तिको जननी र परेवाको उपमा बन्छ । हो, हिउँ जीउ हो, घिउ हो र पीउ पनि त हो । जब यो जीवन जगतको निरन्तर गोरेटो बन्छ । तब सांस्कृतिक अवयव बनेर जीवनको पद्धति हुन्छ । यही पद्धतिमा हुम्ली जनजीवन रमाएको छ । हुम्लाका रीतिथिति, चालचलन र रहनसहनहरू यिनै परम्पराको समष्टिगत रूपमा पर्यावरणीय संस्कृतिका आधारमा लोकवार्ता भएर साहित्यको बिम्ब, प्रतीक, उपमा र अनुप्रास हिउँ नै त हो ।

विज्ञान सत्यका आधारमा तथ्यलाई प्रमाणित गर्ने जीवन उपयोगी व्यावहारिक शास्त्र हो । यसको आधारले नै शाश्वत मान्यतालाई दृष्टि, सृष्टि र वृष्टि दिएर जाज्वल्यमान रूपमा अड्याएको छ । यो हो रङ र रङको संसारमा रङको महिमा, गरिमा, अरुणिमा र पूर्णिमा । यसले चराचर जगतमा भएका सजीव र निर्जीव वस्तुमा आफ्नो रङको साम्राज्य फैलाएको छ । मनोवैज्ञानिक प्रभाव पारेको छ । समयको सूचकाङ्क बनी चित्रात्मक भाषामा बोल्छ । म, हामी, तिमी, तपाईँ, ऊ, त्यो, उनी र हजुरजस्ता शब्द सम्पदाको परिवारभित्र सलल बग्ने मासिक सङ्क्रान्ति र मसान्त भएर परिभाषित भएको छ । गाढा खैरो रङ भुजपत्रको पर्याय हो । यसका पत्रपत्रमा पत्रदल भएर बसेको पात्रो, महापात्रोको गाथाले इतिहासलाई खैरो रङको स्मृतिमा बोकेको छ । जसमा स्वलिखित अभाष्य लिपिले लतपतिएको पर्यावरणीय लाहाछापले अतीतलाई ब्युँझाउने काम गरेको छ ।

हिमशृङ्खलाबद्ध सेता सेता हिमालहरू, हरिया पाटनखर्कहरूमा खेल्ने कस्तुरीको क्रिडाभूमि छ । कर्‍याङकुरुङका अकाशे गस्ती छ । ऋतु र मौसमी पात्रोको रूपमा सामाजिक अनेकता र सांस्कृतिक विविधतामा आबद्धमा बस्तीहरू छन् । छत्तीस नगराहरू, मनोरम छाँगा र छहरामा सुवासित हजारौँ रङ्गीचङ्गी फूलहरू मग्मगाउँछन् । कर्नालीको जलप्रवाह भई स्वच्छ, शुद्ध, निर्मल र कञ्चन जलसम्पदाका विधि, रीति र थितिको दृश्यावलोकन गर्न सकिने जीवनको कथा र व्यथाको समष्टिगत स्वरूप नै हिउँको आयाम हो ।

हिउँ र हुम्ला एक अर्कामा अन्तर सम्बन्धित भएकोले समाजको मूर्त अर्मूत चित्रकारिताको क्यानभास हो । यसैले हिउँ हुम्लाको मानवीय संस्कार हो । सीमित भूगोलको असीमित विशिष्टता भएको हुम्ली संस्कृति समाज र साहित्यको अभिन्न अङ्ग बनेको छ हिउँ । कर्नालीको भाषा, साहित्य र समाजको विशाल भण्डार हिउँ सुसेलीको माध्यमबाट प्रस्फुटन भएको छ । प्रत्येक गाउँ, मौजा र ध्वाङ्गमा छताछुल्ल भई आञ्चलिकताको भाव झल्केको छ र सल्केको छ । आञ्चलिक साहित्यको राप, छाप र लाभको सहिछाप हो हिउँ ।

रङ एक सङ्ख्या हो । सङ्ख्या एक रङ हो । र त यो एक गणितीय भाषा हो । जसको अन्त गर्भमा अङ्कगणित, बीजगणित, ज्यामिति र निर्देशाङ्क गणितका हाँगाहरू झ्याङ्गिएर अङ्कुरित, पल्लवित, पुष्पित र फलित भएका छन् । जहाँ रङको समूह समूहमा भौतिक र आध्यात्मिक, आस्तिक र नास्तिक, सेतो र कालो, आकाश र पाताल, उच र नीच, स्त्री र पुरुष, आगो र पानी, जल र थल, पानी र हिउँ, डिम्बाशय र शुक्रकीट, पुंकेशर र पत्रदल आदिको सम–समानान्तर आधारमा सङ्केत, भाव, अक्षर र शब्दमा रङ र रङहरूको साम्राज्य चलायमान भएको छ । यसको प्रवाहमय वेग प्रकाश हो । प्रकाशको गोरेटा सक्रिय तरङ्ग र ध्वनि हो । जसका माध्यमबाट समय, मौसम, ऋतुहरूमा रूपान्तरित हुन्छ । यसैले रङ प्रकाश हो भन्ने कुरा आजभन्दा साँढे तीन शताब्दी अगाडि वैज्ञानिक सर आइज्याक न्युटनले पत्ता लगाएका थिए । इन्द्रेणीको सप्त रङका आधिकारिक रङहरूमा रातो, निलो र हरियो रङलाई प्रधानता दिइएको छ । यी रङहरूको संयुक्त रूप सेतो रङ हो । सेतो रङबिना अरू रङहरूको प्रकटीकरण हुन सक्दैन, न त हुन्छ चम्किलो, चलायमान र सक्रिय नै ।

हिउँको दर्पण विगतको ऐना भएझैँ सांस्कृतिक, सामाजिक, सामरिक महत्वको बीउ हो । विशाल सपादलक्ष राज्यको महिमाको क्रम, घटना र परिवेशको शताब्दीयौँ शताब्दी हिउँसँग एकाकार भएको यार्चागुन्बा बन्छ । जो वर्षामा किरा बनेर गतिशील हुन्छ र हिउँदमा स्थिर भएर हिउँ बन्छ । तब भूस्वर्गको प्रतिबिम्बित धरातलको लाभा र आभा भएको छ । चाँचरको स्वरमा सुवासित रैका अर्थात् कस्तुरीको सुगन्ध र बहुमूल्य जडीबुटीको औषधि हुन्छ । निर्मल छहराले सङ्गीत छर्छ । गीत गाउँछ र मित लगाउँछ र त साधन र साध्यको प्रस्तुति बन्छ हिउँ ।

रङ मौसम हो । यसैले रङको आधारमा ऋतुलाई विश्वव्यापी मान्यताअनुसार उष्ण समूह र शीत समूहमा विभक्त गरिएको छ । उष्ण समूहमा पर्ने वसन्त, ग्रीष्म र वर्षा ऋतुहरूमा रातो, सुन्तला र पहेँलो रङको प्रधान्यता छ भने शीत समूहमा पर्ने शरद, हेमन्त र शिशिर ऋतुहरूले बैजनी, निलो र हरियो रङको प्रतिनिधित्व गरेको पाइन्छ । यी अवयवसँग रङ्गिएको रङ चिकित्सा पद्धतिले हाम्रो जीवन जगत्लाई स्वस्थ, स्वच्छ र सजीव बनाएको छ । यी सबैको आधिकारिक, प्रवाहमय, चलायमान, सक्रिय तथा सञ्चालक रङ सेतो रङलाई मानिएको छ । यसैले पनि परेवाले विश्वलाई शान्तिको सन्देश पुर्‍याएको छ ।

हिउँका विविध आयाममा तरङ्गित भएका नेपाली भाषा, संस्कृति, सामाजिक संस्कारको उद्गमस्थल हो कर्नाली । यसैको प्रवेशद्वार मानस कैलाश क्षेत्रको आदिम भूमि हुम्लामा लोकभाकाका रूपमा अँगाल्दै आएका कर्मगीत, ऋतुगीत, पर्वगीत, संस्कारगीत, स्तुतिगीत, प्रकार्यगीत, प्रणयगीतका आयामहरू यहाँका दरा, खोला, गाउँ, मौजा, दग्डा, पट्टी, ध्वाङ र व्यक्तिका बारेमा सोच्ने हो भने एकातिर दर्पणको कुरूप रूप र स्वरूपको सुन्दर प्रतिबिम्ब देखिन्छ भन्ने अर्कोतिर सुन्दरताभित्र पनि कुरूपताको बास छ, पीडाको रास छ । जर्जर उत्पीडनको तास छ । हिमाली लेकबेंसी, देउराली, पाखा, उकाली, ओरालीको भाका बनेको छ हिउँ ।

साहित्यको काव्यमा हुने नवरसमा उत्तम रस शान्त रस हो । यो रसले रिस, राग, द्वेष र दुःखजस्ता मनोविकारलाई विनाश गरिदिन्छ । शान्त रसको प्रतीकात्मक रङ सेतो रङ हो । सेतोको मनोवैज्ञानिक भाव चिसो हुनु हो । चिसोको भावार्थ पानीको पारदर्शिता हो । त्यसैको पानीको स्थूल रूप हिउँ हो । हिउँ पानीको मौलिक र स्थायी रूप पनि हो । सेतो रङका नकारात्मक पक्षहरू शून्यता, निस्सारता, शोक, वेदना र नैराश्यतालाई घटाएर, हटाएर र पन्छ्याएर सेतो रङका सकारात्मक पक्षहरू तेजस्वी, तेज, पबित्रता, शुद्धता, कोमलता, शीतलता, परोपकारिता, दयालुपन, मित्रता र सहिष्णुता प्रदान गरेर शाश्वत मान्यता बोकेको छ । यो नै सेतो रङको उपमा हो, श्रीपेच हो, सम्मान हो र मर्यादा हो । रङ चिकित्सा पद्धतिको आधार र सार सेतो रङ हो । यो हिउँको पारदर्शिता हो । महान्ता हो । जीवन्तता हो । अर्थता हो । सबलता हो । सरलता हो । सहजता हो । परोपकारिता हो । भावार्थता हो । शब्दार्थता हो । पानी, पानी र पानी नै जीवनको खानी हो । हिउँ जिन्दगीको पीउ हो । बीउ हो । घिउ हो । यो प्राकृतिक सञ्चयको भण्डार हो ।

हिउँ समय हो । समय परिवर्तनको वाहक हो । हिमालयमा तरेली परेका रङका सिर्का, छिर्का र तिर्खाले खशको नाम, जाडको काम, मालिकाको धाम, पूर्णिमाको राम र फलफूलको जामको काम गरेको छ । प्रकृतिमा हुने विभिन्न प्रकारका स्वप्रदत्त रङले हामीलाई रातो राम्रो गुलियो मीठोको भावलाई रसका माध्यमबाट अनुभव उपलब्ध गराएको छ । हिउँको काखमा यार्चागुन्बु लुकेको छ । कस्तुरी ढुकेको छ । नावर चरेको छ । ल्याग्रु लहरिएको छ । हिउँको क्यानभासमा जीवनका आयामहरू खोज्दै जाँदा हामी रङको तरलताका अनेकौँ रूपहरू पाउन सक्छौँ । यी नै जीवनका वृत्ति, प्रवृत्ति र आकृतिहरूको धरोहर पाउँछौँ ।

उत्तरमा सेतो हिमाल हेर, त्यहाँ सेतो रङ प्रभातिएको छ । पूर्वमा हेर सुनौलो रङ उज्यालिएको छ । पश्चिममा हेर गोधुलीमा रातो रङ लिपिएको छ । दक्षिणमा हेर हरियो रङ रङ्गिएको छ । आकाशमा हेर निलो रङ पोतिएको छ । धर्तीमा हेर खैरो रङको पृष्ठभूमिमा अनेकौँ रङहरूको प्रभा बढेको छ । यो रङैरङको संसारमा रङ नै जीवनको सार हो । र त हरेक दिशामा फरक रङहरू फुलेका छन् । उषाकालमा सेतो रङ खुलेको छ । सन्ध्याकालमा कालो रङ लुकेको छ । यसैले यो हाम्रो पृथ्वी नै रङ नै रङहरूको एक क्यानभास हो । जो जसले स्वतःस्फूर्त रूपमा रङहरूको प्रयोग गर्न सक्दछन् । तिनीहरू नै स्वयम् एक एक सक्रिय रथीका रूपमा बाँच्न सक्छन् । त्यसैले रङबिना न त जीवनको अस्तित्व छ, न त अस्तित्वबिना रङको घनत्व छ । न त घनत्वबिना रङको आयाम छ ।

हिउँ हिमालयमा पर्ने शोभा हो । यो पानीको ठोस उत्कर्ष रूप हो । वातावरणको चिसोले उच्चारित सुस्केरा ओकल्छ । पर्यावरणसँग समायोजन गर्ने शक्ति प्रदान गर्छ । ऋतुको परिवर्तित रूपबाट पलाएको काँचुलीमा भाषिक विभिन्नता छ । माया, पिरती छ । आदर्श छ, अर्ती र उपदेश छ । व्यावहारिक ज्ञान, परम्परागत चिकित्सा पद्धति र संसर्गको आख्यानको कथानक हुन् हिउँ र हिउँका अवयवहरू !

हिउँ शान्तिको पर्याय परेवाको परिभाषा र उपमा हो । हिउँदमा वातावरण शान्त हुन्छ । सौम्य हुन्छ र सुन्दरता बोक्दै जोडीको नयन बनेको छ । सेतो रक्त कोशिकाको प्रतीक अतिरिक्त शक्ति बनेको छ । रङको ठीक प्रयोगबाट मान्छे र मानवका क्रियाकलाप प्रसन्न, कलात्मक, शुभ र शान्त बन्न, बनाउन एक सबल गोरेटो बनाउँछ । जसका सबल र सकल क्रियाकलापमा सेतो रङको प्रभाव र महत्त्व धेरै छ । जहाँ सेतो कपडा, घ्यू, दूध, दही, उवा, जौ, चामल, सातु, धुलो, पिठो, खरानी, खीर, चाँदी र हिउँलाई  शुभ सङ्केत र लाभका रूपमा प्रयोग गरिन्छ । शुभ र लाभको संयोजनबाट नै लाभको खाका तयार हुन्छ ।

हिउँले सिर्जना, प्रतिभा र अभ्यासलाई मन्थन गरेर प्रकृति र संस्कृतिको सङ्गम बनेर जोडी नयनहरू चर्म चक्षु र ज्ञान चक्षुको संयोजनबाट दिव्य चक्षुको प्राप्तिका लागि सबल र सक्षम बनाउँछ । र त तापक्रमको थर्मोमिटर भएर शीतलता, शुद्धता र उष्णतालाई नियन्त्रणमा राख्छ ।

(साभारः हिउँ लोकसुसेलीबाट)