म लम्बे अतीत बोकेको वर्तमान हुँ । मसँग अरू केही नभए तापनि अतीत देखाउने सानो टर्च लाइट छ । मेरो टर्च लाइटको फोकस कहाँसम्म र कति जनासम्म पुग्ला, मलाई थाहा छैन । मैले उत्सर्जन गरेको प्रकाश कसैका लागि प्रेरणाको स्रोत बन्ला / नबन्ला, त्यो पनि थाहा छैन । परन्तु मलाई के थाहा छ भने म पनि चराले झैँ स्वतःस्फूर्त शब्दरूपी अतीतका गीत गाउँछु । चराले कसैले सुनिदेला भन्ने आशा गरेको हुँदैन । ऊ त आफूसँग जस्तो स्वर छ, त्यस्तै गाइदिन्छ बस ।
भनिन्छ, समयको गतिसँगै गतिमान हुन नसक्ने मान्छे पछाडि छुट्छ रे । सही कुरा हो । म त यौवनको समयमै पछाडि छुटेको मान्छे । कुदाकुद गर्दै गन्तव्यमा पुगेकाहरूलाई कस्तो खालको मजा आयो, मलाई थाहा छैन । किन्तु मलाई एउटा बिसौनीमा पुगेपछि सहसा त्यहीँको त्यहीँ थामिनुको मजा थाहा छ । म बाकाइदा अघिल्लो पङ्क्तिमा दगुर्दा दगुर्दै दगुर्न छाडेर भारी बिसाएको मान्छे । म मेरो त्यही अतीतको जीउँदोजाग्दो प्रतिनिधि हुँ । मलाई मेरो अतीत विस्मय मिश्रित ढङ्गले प्यारो लाग्छ ।
दार्शनिक अल्बेयर कामु भन्छन्, ‘मनुष्य कहिलेकाहीँ आफ्नै सच्चाइको सिकार हुन्छ ।’ अकस्मात् बिच बाटोमा भारी बिसाउनु मेरो गल्ती थियो । त्यो बिरामलाई सच्याउन समय नबित्दै पुनः प्रयास थाल्नु पर्नेमा गल्तीलाई नै अटल सच्चाइ मान्नु मेरो अर्को बिराम थियो । म अझै पनि मेरो अतीतको सच्चाइबाट मुक्त हुन सकिरहेको छैन । यो कुनै पश्चात्ताप या दुखेसो हुँदै होइन, अपितु वास्तविकताको प्रकाशन भने अवश्य हो ।
आगतको भविष्यप्रति दायित्व हुन्छ । विगतको पनि आगतप्रति दायित्व थियो । विगतले राम्रोसँग दायित्व निर्वाह गरेका देशहरू आज सम्पन्न छन् । आगतले दायित्व निर्वाह गरिरहेका देशहरू भविष्यमा सम्पन्न हुनेछन् । मेरो अतीतको पदचापको मर्मरी आज मेरो कानमा गुञ्जिरहेको छ । म अतीत र भविष्यका बिचको सीमारेखा हुँ । त्यसैले त्यस मर्मरीलाई गुञ्जायमान गराउँदै भविष्यको जिम्मा लगाउनु मेरो कर्तव्य हो । किनकि म वर्तमान हुँ ।
आफ्नो दायित्व वहन गर्न नचाहने वर्तमानले भविष्यप्रति खेलबाड गरिरहेको हुन्छ । बेपर्वाहीको मर्मरी भविष्यमा गुञ्जायमान हुन नपाओस् भन्ने होसियारी आजको वर्तमानमा हुनु पर्ने हो । किन्तु केही व्यक्ति, समाज र अझ अघि बढेर ‘देश हाँक्ने वर्तमानहरू’समेत भविष्यप्रति इमानदार नहुने रहेछन् । आफूले खान पाए पुग्यो भन्ने सोचाइ राख्ने बुद्धिहीन वर्तमान भविष्यको नजरमा निन्दनीय हुनेछ । आजको स्वार्थी वर्तमानलाई भोलिको भविष्यले सराप्ने छ । अतीतका हर्ताकर्ताहरूको कुकर्मको कर्कश मर्मरीले भविष्यका सन्ततिको हृदय क्षुब्ध र व्याकुल पार्नेछ ।
महात्मा विदुरको नीतिले भन्दछ,
‘एक: पापानि कुरुते फलं भुङ्क्ते महाजन:
भोक्तारो विप्रमुच्यन्ते कर्ता दोषेण लिप्यते ।’
अर्थात् – ‘मनुष्य एक्लै पापकर्म गर्दछ, परन्तु त्यस दुष्कर्मको आनन्द उठाउने अनेक हुन्छन् । अन्ततोगत्वा आनन्द उठाउनेहरू चोखा मानिन्छन्, किन्तु कुकर्म गर्नेवाला भने एक्लै कसुरको भागी बन्दछ ।’ यस्ता नीति वचनहरूलाई सबैले मनन गर्दैनन्, परन्तु जति जनाले मनन गर्दछन्, तिनीहरूकै नैतिक योगदानबाट समाजमा सदाचार, करुणा र सद्भाव कायम रहन सकेको छ ।
म बाँचिरहेको वर्तमान अत्यन्त ठुलो सङ्क्रान्ति युग हो । सयौं वर्षदेखि अविरल रूपमा चल्दै आएको खाना, छाना, गाना र नानाको संस्कृतिमा जन्मेको मानिस हुँ म । मैले चिनेका कतिपय अग्रजहरूले बिजुली, कलधारा र मोटरको नाम पनि सुनेका थिएनन् । कतिपयलाई स्कुल र अस्पताल हुन्छ भन्नेसम्म पनि ज्ञान थिएन । त्यस बखतका मान्छे भाटा चिर्ने, छानो छाउने, बन्चरो चलाउने, गाई बाख्रा चराउने, हलो जोत्ने, दाम्ला, नाम्ला, डोका बुन्ने आदि काममा व्यस्त र अभ्यस्त थिए । बटौलीबाट नुन र बेसाहा बोक्नु उनीहरूले ‘सहर्ष’ स्वीकार गरेको नियति थियो ।
गाउँलेहरू चाडपर्वमा ढेब्री र अरू बेला दियालो बाल्थे । धुवाँले काला र घाँस दाउरा गर्दा मटमैला भएका लुगालाई ताउलामा खरानी मिसाएको पानीमा भकभकी पकाएर मुङ्ग्राले पिट्थे । पसिनाले भिजेको अधोवस्त्र र मजेत्रोमा समेत जुम्रा पर्थ्यो । दाह्री, कपाल र नङ काट्न बाबुको श्राद्ध कुर्नु पर्थ्यो । टालेको परिधान पहिरेर अगाडि र पछाडिका अङ्ग कन्याउँदै नाङ्गा खुट्टा हिँड्थे नरनारीहरू । सीमित उब्जनीका लागि असीमित श्रम गर्ने बाध्यता थियो ।
राज्यबाट कुनै पनि प्रकारको सहयोग आउँदैनथ्यो । किन्तु राज्यलाई कर भने तिर्नै पर्थ्यो र बफादार रहनै पर्थ्यो । देशवासीहरू नागरिक नभई आज्ञाकारी प्रजा मानिन्थे । समस्त प्रजाजन अधिकारविहीन कर्तव्यका भागी थिए । समाजका गरिब र निमुखामाथि चरम शोषण र उत्पीडन थियो । छुवाछूत र विभेद आफ्नो बीभत्स स्वरूपमा थियो । दुःख सुनाउने र गुनासो गर्ने कुनै गुन्जाइस थिएन । अचेल पच्चिस – तिस वर्षयता जन्मेर हालका अत्याधुनिक सुविधा उपभोग गर्न पाएका युवाले लहैलहैमा लागेर अहिले सबै कुरा नराम्रै नराम्रो र उहिले सबै कुरा राम्रै राम्रो थियो भनेको सुन्दा अचम्म लाग्छ ।
दलाई लामाले आफ्नो किताब ‘मेरो भूमि, मेरा जनता’मा लेखेका छन्, ‘सरलता र गरिबीका बिचमा पनि संसारका धेरै ठुला सहरमा भन्दा तिब्बतीहरूमा मानसिक शान्ति थियो ।’ मनको शान्ति देख्न र नाप्न नसकिने भए तापनि सायद दलाई लामाको यो भनाइमा सत्यता छ । परन्तु पुरातन तिब्बती समाजमा व्याप्त मानसिक शान्ति अज्ञान र अन्धकारको उपज थियो भन्ने कुरा पनि बिर्सन सकिंदैन । उनी अगाडि लेख्छन्, ‘एउटा गरिब तिब्बती किसान आफ्नो धनी जमिनदारप्रति ज्यादै कम ईर्ष्यालु या विरोधी बन्थ्यो, किनभने उसलाई थाहा थियो, उनीहरू प्रत्येकले अघिल्लो जीवनमा रोपेका बीजको फल यस जीवनमा हासिल गरिरहेका छन् ।’ निर्वासित तिब्बती आध्यात्मिक गुरुको भाग्यवादमा आधारित यो आदिम चिन्तन देखेर म अत्यन्तै निराश छु ।
केही दशक अघिसम्म नेपाली समाजको अवस्था पनि तिब्बतको जस्तै थियो । यहाँ पनि प्राप्त परिस्थितिलाई प्रारब्ध र पूर्व जुनीको कर्मको फल मान्ने संस्कृति विद्यमान थियो । अज्ञान र अन्धविश्वासले जकडिएका भाग्यवादी नेपालीहरू तत्कालीन परिस्थितिलाई स्वीकार गर्दै मौनधारण गरेर बस्दथे । आफ्नो अवस्थिति र भाग्यलाई जस्ताको तस्तै मन्जुर गरेका बहुसङ्ख्यक नेपाली प्रजाको कुनै थप आकाङ्क्षा थिएन । राज्यबाट केही टेवा प्राप्त होला कि भन्ने अपेक्षा थिएन । अपेक्षा नै नभएपछि सरकारप्रति भरोसा पनि थिएन । कतैबाट टेको र आधार नपाइने हुँदा समाज आफ्नै भरथेगमा उभिने गर्थ्यो । जीवन मन्द गतिमा चल्थ्यो । अहिलेझैँ दुनियाँभरका सूचना र समाचारको बोझ बोक्नु पर्दैनथ्यो ।
आफ्नो दुःखजिलो गरेर जे जति उब्जा हुन्छ, त्यही खायो, बस्यो । बचपनमा विवाह गर्यो, किशोरावस्थामा बाबुआमा बन्यो, जवानीमा बुढो भयो । जन्मेका आधा छोराछोरी शैशवमै मर्थे । महिलामाथि अचाक्ली अन्याय थियो । गरिबलाई जिउनै मुस्किल थियो । ससाना केटाकेटीहरू जाडोमा बाटो र चउरभरि अर्धनग्न डुल्थे । दुर्भाग्यवश देशका कतिपय ठाउँमा अझै पनि उस्तै निराशाजनक परिस्थिति छ ।
तथापि समाजमा आपसी सहयोग थियो । झगडा र भनावैरीबिच पनि भाइचारा र सहयोगको संस्कृति थियो । अचेल वडा कार्यालय, विद्यालय, होटेल, पार्क या उपवन र टोले बैठकमा भेटघाट हुन्छ । उस बखतमा वन, कचहरी, मेलापात र पँधेरामा भेट हुन्थ्यो । मानिसहरूमा परिश्रमलाई मनोरञ्जन बनाउने गजबको कौशल थियो । युवा युवतीहरू मेलापात र अर्मपर्ममा हृदयलाई आह्लाद बनाउने प्रमोदी भावभङ्गी र प्रेमिल चेष्टा गर्दथे ।
प्रणयाकांक्षी प्रियतमहरूले वासन्तीका लहरा समाउँदै शिशिरमा झरेका पातहरूमाथि टेकेर सुस्तसुस्त पाइला चाल्दाको मधुर मर्मरीको गुञ्जन अद्वितीय हुन्थ्यो त्यहाँ । हेमन्तको समयमा गाउँबेसी धान पराल बोक्दै भुटेको मकै र भटमास चपाउँदा पैदा हुने मर्मरीको माधुरी अनुपम, मृदु र मोहक लाग्दथ्यो । युगानुकूल आमोदप्रमोद र मनमोज सबैले गरेकै हुन्छन् । जुनसुकै युगको मनुष्यमा किन नहोस्, बेस्वादिलो र खल्लो जीवनलाई स्वादिलो र रसिलो बनाउने शिल्प अवश्य हुन्छ ।
हुन त गीत गाउने अरूलाई सुनाउन हो भन्ने गरिन्छ । किन्तु संसारमा सबैभन्दा धेरै गीत एकान्त स्थान, वन र शौचालयमा गाउने चलन छ । त्यस्तो अरण्यरोदन, जसको कुनै सुनुवाइ छैन । परन्तु गाउनेले गाएर र रुनेले रोएर सन्तुष्टि लिन्छ । आफ्नो कर्तव्य पूरा भएको महसुस गर्छ । भारी दिल हलुङ्गो भएको भान हुन्छ । मैले देखेको अतीतका अनुगुञ्जनलाई वर्तमानको आँगनमा पोख्नु मेरो कर्तव्य हो । अरण्यरोदन नै किन नहोस्, मेरा यी भुनभुनाहटहरू चार जनाले मात्र सुने भने पनि आफ्नो प्रयास सफल भएको मान्नेछु ।
मैले लेख्नु भनेको बचपनदेखिको सम्झनाको खुत्रुके खोले जस्तै हो । जसको जत्रो र जस्ता सिक्का या नोटले भरिएको खुत्रुके हुन्छ, त्यसैलाई खोल्ने त हो । मैले मेरो अतीतको मर्मरीको खुत्रुके खोलेर देखाउँदा सार्वकालीन माधुर्य गुञ्जाउन नसके तापनि समयको लेप लगाउने प्रयास चाहिँ गर्दछु । कसैलाई मन पर्नु या नपर्नु अलग कुरा हो, परन्तु मेरो अन्तश्चेतनालाई थाहा छ, अतीतका मर्मरीको त्यो अनुगुञ्जन मेरो हृदयको कति नजिक छ । मेरो अतीत मेरो रक्त नलीमा बहन्छ । मभित्र मेरा पूर्वजको सास चल्छ । र त्यसैले नै मलाई जन्म दिने जननी र जन्मभूमिको आत्मासँग जोडिरहेको छ ।
त्यति मात्र कहाँ, मेरो अतीत त परिश्रम र पसिनाको कथा हो । मेरो अतीत अभावको साथमा अन्धकार, प्रेमको साथमा पीडा, उल्लासको साथमा उत्पीडन र भगवान्को साथमा भाग्यवादको कथा हो । मेरो अतीत धनवान् र निर्धन, भोगी र भोको, रसिकता र रोदन एवं पेलाइ र पीडाको गाथा हो । मेरो अतीत क्षणिक प्रेमानन्द र दर्दनाक परिणामको वृत्तान्त पनि हो ।
म मेरो गुनगुनाहटमा कालीदासले झैँ उपमाहरू भर्न जान्दिन, किन्तु त्यहाँ मेरो मुटुको स्पन्दन समाहित र समर्पित हुन्छ । मसँग देवकोटामा झैँ शब्दको कमाल छैन । ममा सममा झैँ चिन्तन र दार्शनिक चमत्कारिता छैन । ममा माधव घिमिरेमा झैँ पाठकलाई रुलाउने र राष्ट्रप्रेमको उद्बोधन गर्ने क्षमता पनि छैन । म मानवीय हृदयलाई पोल्ने या पगाल्ने वेदना र अनुभूति प्रस्तुत गर्न पनि जान्दिन । परन्तु मेरो शब्दचर्या निःसार कृत्रिमता मात्र पनि होइन । म मेरो अतीतलाई सुकरातलाइ प्लेटोले बोलाएझैँ, मिल्टन्लाई वर्ड्सवर्थले बोलाएझैँ र भानुभक्तलाई मोतीरामले बोलाएझैँ बोलाउँछु । मैले शब्दमा मनमोहन मधुरता ल्याउन नसके तापनि मेरो अतीतप्रतिको इमानलाई सबैका सामु ठिङ्ग उभ्याइदिन्छु । जेमा मेरो हृदय रमाउँछ, मेरा लागि त्यही कुरा प्यारो छ । जहाँ हार्दिक मधुरिमा र मोहनी छ, त्यहीँ नै आँसु पनि मुस्कुराउन थाल्छ । जहाँ आफ्नो कर्मप्रति अगाध निष्ठा र रुझान छ, त्यहीँ नै दुःखले पनि गीत गाउन सुरु गर्छ । मेरो विचारमा सायद नैसर्गिक मानवीय संवेदनाबाट निष्पन्न सर्वोच्च भावनालाई नै जीवन भन्दछन् ।
लेख्नका निम्ति दुइटा विकल्प खुला हुन्छन् रे । एउटा हो विषय खोजेर लेख्ने र अर्को चाहिँ स्वतःस्फूर्त आत्मिक अनुभूतिलाई शब्दमा फिँजाउने । अन्त:करणबाट फुटेका आफ्नै जीवनको अतीतका ध्वनि तरङ्गहरूलाई शब्दमा रूपान्तर गर्दा मनै प्रफुल्ल हुन्छ । स्वान्त सुखायका ती शब्दरूपी आभूषणको खनखन ध्वनिलाई आफ्नै कानले सुन्दा झनै अपूर्व शान्ति र सन्तुष्टि मिल्छ । शिशिरको पतझरको अन्त समयमा धूलधूसरित सुकेका पातमा गाईका पदचापले साँझपख बनाएको मर्मर ध्वनि र उडेको गोधुलीको सम्झना अत्यन्त प्रीतिकर र मधुर प्रतीत हुन्छ । अनि सोच्दछु, मेरो साथमा मेरो अतीतको मर्मरी ताजा तथा जीवन्त छ र न जिउनुमा पनि सुखद एवं मङ्गलमय मजा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।