एक दिनको कुरा हो, बिहानै मन नलागी नलागी उठेर नुहाइधुवाइ लगायत नित्यकर्म गरिसक्दा पनि फ्रेस भएको जस्तो मैले महसुस गर्न सकिनँ ।
हाई काढ्दै ऐनाअगाडि उभिएर २० मिनेट समय खर्चेर भएभरका कस्मेटिक्सहरू अनुहारमा घसें । आँखा वरपरको कालो धब्बा र चाउरीपन ढाक्ने क्रिम घसें अनि आँखामा चाइनिज परेला राखें । लाली-पाउडर-गाजल घसिसकेपछि ऐनालाई साक्षी राखेर आफैंले आफैलाई अनुमति दिएँ – अब अनुहार देखाउन योग्य छ ।
यो मेरो रहर होइन बाध्यता हो । किनभने म काममा सेवाग्राहीलाई सेवा दिंदा नराम्रो र बेखुशी अनुहार सकेसम्म नदेखियोस् भन्ने चाहन्छु । मैले यो कुरा स्वामी विवेकानन्दको जीवनी र भनाइहरू पढेर थाहा पाएकी हुँ । व्यवहारमा उतार्दै पनि आएकी छु ।
अनि म घरबाहिर निस्केर एउटा कफी सपमा पुगें र कफीसँग बेगल हातमा लिएँ । बेगल टोक्दै, कफीको चुस्की लिँदै काममा पुगेँ ।
जसोतसो अफिसको कुर्सीमा बसेर कम्प्युटर अन गर्नासाथ डानियल नामको एउटा ग्राहक मेरो अगाडि आइपुग्यो । वास्तवमा मलाई हाई आइरहेकै थियो तर पनि मैले मुड नभई नभईकन उसलाई ‘गुडमर्निङ सर ! हाउ क्यान आई हेल्प यु ?’ भनेर ग्रेटिङ्स गरेँ र नक्कली मुस्कान दिएँ । डानियल मेरो मुस्कान सहितको अभिवादनमा दङ्ग पर्दै थियो । मैले फटाफट डानियलको सबै काम सकिदिएपछि उसले मलाई बीस डलर टिप्स हातमा थमाइदियो र भन्यो, “You have such a smiling face, Thank you for great service.”
दङ्ग पर्दै मैले “यु मेड माई डे । थाङ्क्यू ।” भनेँ । र “Next” भनेर अर्को ग्राहकसँग कुराकानी सुरु गरें ।
डानियलले दिएको २० डलर टिपले मेरो मनमा सपनाहरू बुनिन थाले । बिस्तारै म खुसी हुँदै गएँ । काम गर्ने अलिकति मुड पनि बन्दै गयो मेरो । किनभने मेरो दिनभरको कफी, बेगलको खर्च र मेट्रो भाडा पनि त्यसैले नै टर्ने भयो ।
मैले अर्को कस्टमरलाई सर्भिस दिंदै गर्दा पनि डानियल नै दिमागमा आइरहेको थियो । आफ्नो तलबको पैसो चोखो बचत भएकोमा म दङ्ग नपर्ने कुरै भएन । मैले डानियलसँग मागेकी थिइनँ । उसले दिन्छ भनेर आश गरेकी पनि थिइनँ, मात्र एक मुस्कानको चमत्कार हो यो । काम फत्ते गरिदिएबापत उसले खुशी भएर टिप्स दिएको हो ।
मेरो कामबापत मेरो तलबको जिम्मा त कम्पनीले लिएकै हुन्छ र मैले हप्तैपिच्छे पाएकै हुन्छु । जसले जीवन धानेको हुन्छ । तर सेवा दिए बापत जब टिप्स पाउँछु अनि आफ्ना अतिरिक्त आवश्यकताहरू पुरा गर्ने गर्छु । जस्तै सप्ताहान्तमा मसाज गर्न जाने, नयाँ नयाँ रेस्टुरेन्ट चहार्ने इत्यादि ।
अङ्ग्रेजीमा TIPS – टिप्स नेपालीमा बक्सिस । यो बक्सिस भन्ने चिज मेरो हातमा पर्ने बित्तिकै मलाई उहिल्यै कम्युनिस्टहरूले कतै लेखेको “हाय्ब्स र हाय्बस नट” भन्ने कुराको याद चाहिं आइहाल्छ । हुनेले दिने र नहुनेले लिने भन्ने । तर अमेरिकामा कोही खुशी भयो भने, सेवा चित्त बुझ्यो भने कृतज्ञता जाहेर गरिहाल्ने बानी हुँदो रहेछ ।
अनि टिप्स शब्द सँगसँगै सबैभन्दा बढी त नेपालको इतिहास पढ्दा राणा शासनका क्रियाकलापहरूको याद आउँछ । शासकहरू खुसी भएपछि बक्सिस दिन्थे । काठमाडौं खाल्डो भित्रका धेरै मानिसहरूले राणाहरूको तलुवा चाटेर बक्सिसको नाममा धेरै सम्पत्ति हत्याएका थिए । अहिले उनीहरू आफ्नै बाउको बिर्ता सम्झेर माख्खो नमारी त्यो सम्पत्तिमा खुट्टा पसारेर रजाइँ गरिरहेका छन् । बिर्ताको रूपमा जमिन बक्सिस दिने र बक्सिस बाँडेकै भरमा राणाहरूले १०४ वर्ष शासन चलाएका थिए । अचेल टिप दिने अनेकन् आधुनिक तरिका छन् । खाममा नगद सहितको कदर पत्र, मानपदवी र अलङ्कार, दान, दातव्य, चन्दा–पुरस्कारजस्ता अनेकौं नाम छन् ।
टिप्स तलबको सप्लिमेन्ट हो र एउटा कृतज्ञता हो । तर दायित्व भने होइन । हुन पनि टिप्स वा बक्सिस दिने उदारभाव तपाईंसँग छैन र तपाईं लोभी र एकदमै कन्जुस मध्येको एक व्यक्तिमा पर्नुहुन्छ भने अमेरिकामा नआए पनि हुन्छ । कुनै पनि कफी सप, ब्यूटिसैलुन, बेकरी क्याफे, मसाज, रेस्टुरेन्ट, बार, ट्याक्सी लगायतका धेरै क्षेत्रमा राखिएका डिजिटल मेसिनमा पैसा तिर्ने फाइनल बिलमा पुग्नु अगाडि नै १८%, २०%, २५% वा ३० प्रतिशत मध्ये एउटा छान्नै पर्ने बाध्यात्मक परिस्थिति आउँछ । नदिए वा बटम नथिचेसम्म त्यो हिसाब किताबको अन्त्य नै हुँदैन । हरेक पटक यो छान्नुपर्दा एक चोटि मुटुमा सानो सानो धक्का त चलिरहेकै हुन्छ ।
लोभीहरूलाई त ठूलै धक्का चलेर बिरामी पर्न पनि सक्छन् । किनभने न्यूयोर्कको अहिलेको महँगी खपिसाध्यै छैन । टिप्स दिनु नै पर्छ । २० प्रतिशत भन्दा कम टिप्स दिनेलाई कन्जुसवाला ग्राहक ठानिन्छ । अहिलेको दुनियाँमा मान्छेले मुखले टिप्स नमागे पनि डिजिटल पद्धतिले टिप्स अनुरोध गरेर मान्छेहरूलाई अति नै दिक्क बनाइरहेको हुन्छ । दुई डलरको एउटा कफी किन्न गयो अर्को तीन डलर टिप्स दिनुपर्छ । तर पनि मुटु मिचेर हरेक दश जनामा नौ जनाले धेरथोर टिप दिएकै हुन्छन् भने एकजना कन्जुस मध्येको पनि महाकन्जुसले चाहिं टिप्स दिंदैन ।
तर त्यसको चिन्ता नलिए हुन्छ, किनकि न्यूयोर्कमा नबिकेका लत्ता–कपडा मात्रै होइन फलफूल, तरकारी र मासु समेत सेल लागिरहेको हुन्छ र विशेष छुटको एक मुठा साग किनेर घरैमा भात पनि खाएर टिप्सको सास्तीबाट आफूलाई बचाउन सकिन्छ ।
अमेरिकामा श्वास फेर्नलाई हावा बाहेक केही कुरा पनि फ्रीमा छैन । यहाँ सोधेको प्रश्नको जवाफ भन्दा बढी कोही पनि बोल्दैनन् । यदि कसैले सित्तैमा मिठो गरी एक मुस्कान दियो भने त्यसको पनि पैसा तिर्नु पर्ने हुन्छ । समय पैसो हो । यहाँका गिर्जाघरमा समेत घण्टैपिच्छे समयको जानकारी दिने दिक्कलाग्दो आवाज आइराख्छ । काम गरेको समयको आधारमा श्रमको ज्याला दिइएको हुन्छ । अथवा घण्टाको यति उति भन्ने हुन्छ । कुनै पनि देश कति समृद्धिशाली छ भनेर थाहा पाउनलाई त्यहाँका जनताको व्यस्तता बुझ्नु पर्ने हुन्छ । अथवा समय खेर फाल्नेसँग पैसा हुन्न । त्यसको मतलब उपभोगमा भन्दा आर्जनमा बढी समय दिनु नै पर्छ ।
सबैभन्दा बढी टिप्स पाउने क्षेत्र भनेको बारटेन्डरिङ नै हो, यिनले ५०% सम्म हात पार्छन् । किनकि एक त मान्छे नसाको सुरमा पैसा खर्च गरेको थाहा पाउँदैनन् । त्यसपछि रेस्टुरेन्टको सर्भरले पनि राम्रो टिप्स बनाउँछन् । केही जान्ने बुझ्नेहरू भन्छन्, टिप्स अमेरिकाको विषाक्त कल्चर हो । कम्पनीले जागिरमा हायर गर्ने तर सरकारले न्यूनतम ज्याला नदिने अनि सेवाग्राहीलाई सास्ती दिने भन्ने पनि छ ।
यहाँ राम्रो सेवा पाए मात्रै टिप्स दिने पनि होइन, मलाई चाहिं कतिपय एकदमै नराम्रो झुर सेवा बापत पनि दिनै पर्ने बाध्यात्मक स्थिति सिर्जना भइरहेको नै हुन्छ । मैले ट्याक्सी चढ्दा ड्राइभरले सामान लोड अनलोड गर्न नसघाए पनि, ब्युटी सैलुनमा फेसियल गर्दा सेवा पटक्कै चित्त नबुझे पनि र रेस्टुरेन्टमा सेवा र खाना दुवै चित्त नबुझेको अवस्थामा पनि टिप्स दिने नै गरेकी छु । किनभने तिनका मालिकले राम्रो तलब दिंदैनन् र टिप्सबाटै गुजारा चलाउनुपर्ने हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।
अमेरिकामा पनि धेरै इन्डष्ट्रिजहरूमा यति र उति भनेर टिपको लोभ देखाएर थोरै ज्यालामा श्रमको शोषण गरिन्छ । तर न्यूयोर्कमा धेरै ठाउँमा त मैले एक पटक सेवा लिइसकेपछि जीवनभर त्यो ठाउँमा फर्केर फेरि पनि पाइला टेक्दिन भनेर मनमनै कसम खाइसकेकी छु । जसले सेवा दिन त के एक पटक मुस्कान दिन र मिठो बोल्न पनि जानेकै हुँदैनन् । कहिलेकाहीँ त हँसिलो अनुहार हेर्नलाई पनि म हातमा १०/१५ डलर जति टिप्स दिन तयारी हालतमा उभिन्छु । तर सेवा लिइसकेपछि टिप्स नदिईकन टाप ठोक्ने पनि गरेकी छु । कहिलेकाहीँ यस्तो गर्नुपर्ने हुन्छ ।
वास्तवमा नढाँटीकन भन्नुपर्दा न्यूयोर्कमा प्राय: जसो सेवा दिनेहरू भन्दा सेवा लिनेहरू चाहिं बढी खुशी देखिन्छन् । सेवा लिनेले खुशी भएर केही डलर हातमा थमाइसक्दा पनि सेवा दिनेहरूको अनुहार बादल लागेर पानी पर्नलाई ठिक्क परेको जस्ता देखिन्छन् । जसरी मानिसहरू पैसा कमाउँदा, धेरै पढ्दा र शक्ति आर्जन गर्दा खुशी हुन्छन् त्यस्तै अरूलाई दिंदा पनि निक्कै खुशी हुन्छन् ।
आफूसँग नभएर पनि दिन खोज्नु महानता हो भने भएर पनि अरूको लुट्न खोज्नु दरिद्रता हो भन्ने मलाई लाग्छ । खान पुगोस् दिन पुगोस् । हैरानी कसैलाई नहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।