“बासी भात, बासी तरकारी !”

अवश्य तपाईंलाई कस्तो कस्तो लाग्यो, हो ?

अनि मनमा प्रश्नहरू पनि आए – यो शीर्षक नै किन ? डिजीले के भन्न खोजेको होला ?

हुन त यो शीर्षकमार्फत भन्नु पर्ने विशेष केही छैन मसँग । फेरि बासी भातका कुरा लेखेर त्यस्तो के नै पो भन्न सकिएला र ?

“उसो भए किन लेखेको त ?” भनेर प्रतिप्रश्न गर्नुहोला ।

तपाईंको प्रश्नको जवाफ यस लेखले देला नदेला भन्न सक्दिनँ म । तर बासी भातसँग जोडिएका केही कुराहरू यसमा उल्लेख गर्नेछु ।

तपाईं, हामीमध्ये धेरै जना बासी भात खाएरै हुर्किएका हौँ । अहिले पनि कुनै न कुनै रूपमा बासी भात खाइरहेका हुन्छौं । यदि सानोमा तपाईंले बासी भात खानु भएन अथवा खानु परेन भने, सम्झनुहोस् ! कि तपाईंको परिवार साह्रै सम्पन्न थियो जसले गर्दा बासी भात खानु परेन । कि त ज्यादै दयनीय अवस्था थियो जसले गर्दा बासी भात खाने अवसर समेत जुर्दैन थियो ।

यसरी बासी भातसँग हामी प्रायः सबै परिचित छौं । फरक यति हो अहिले खानु हुन्न या खानु परेको छैन ।

उसो भए के त ? भनेर फेरि मनमा प्रश्न उठ्न सक्ला । हतार नगर्नुस् न ! म बिस्तारै भन्दै जानेछु ।

खासमा मैले यस लेखमार्फत बासी भातसँग जोडिएका मेरा आफ्ना कुराहरू राख्न खोजिरहेको छु । त्यो कुरा हिजोको पनि हुन सक्छ र आजको पनि । बासी भातसँगको सम्बन्ध अहिलेसम्म पनि कायमै छ मेरो । प्रवास आएपछि त यो मात्रा झन् बढेर गएको छ ।

म मात्रै होइन, प्रवासमा हुने अधिकांशले खाने बासी भात नै हो । धेरैले खाने भएर होला त्यसलाई हामी यहाँ बासी भन्दैनौँ । साजी नै मानेर खान्छौँ । खान्छौँ भन्दा पनि खानु पर्ने एक किसिमको बाध्यता छ ।

यसमा अरू प्रवासीहरूको कुरा पनि लेख्न सकिन्थ्यो होला । तर म आफ्नै कुराहरू लेख्नेछु । अरूको बारेमा लेखिरहँदा “यस्तो किन लेखेको ?” भन्ने प्रश्न आउन सक्ला । अथवा “अरूले बासी भात खाएको कुरा लेखेर आफू महान् हुन खोजेको जस्तो पनि देखिएला । त्यसकारण आफ्नै कुरा लेखिसकेपछि त कसैप्रति जबाफदेही हुनु पनि परेन ।

सानो छँदा अघिल्लो दिनको भातलाई बिहानै भुटेर खान खुब मन पर्थ्यो ।  तर त्यो अवसर सधैँ जुर्दैनथ्यो । बिहान उठ्ने बित्तिकै पहिलो काम नै भान्सामा गएर हिजो बेलुकाको भात उब्रेको छ कि छैन ? भनेर हेर्ने हुन्थ्यो । भान्सा पनि के भन्नु ? बस्ने घर र भात पकाउने घर अलग-अलग भए पो भान्साघर र सुत्ने घर भन्नू । किचनदेखि बेड रुमसम्म सबै एउटै कोठामा भएको अवस्थामा भान्साघर भन्न पनि  नमिल्ने रहेछ । तर जे भए पनि बासी भात छ कि छैन ? खोज्ने काम भने हुन्थ्यो, त्यति हो ।

तर भोलिपल्ट बिहानसम्म भात रहनका लागि त बेलुका टन्न खाना पकाएको हुनु पर्‍यो नि ! एक छाक खान नै धौ-धौ  पर्ने अवस्थामा बिहानको लागि कसरी रहन्थ्यो होला र ? त्यसकारण त्यही बासी भात पनि सधैँ नसिबमा हुँदैन थियो ।

बिस्तारै ठुलो र बुझ्ने हुँदै गएपछि भने मलाई बासी भात मन पर्न छोड्यो । यस्तो लाग्थ्यो यो बासी भात भनेको गरिबीको पराकाष्ठा हो । गरिबहरूले मात्र बासी भात खान्छन् । यसरी बासी भात मन पर्न छोड्यो र बाध्यात्मक अवस्थामा बाहेक बासी भात खाइनँ ।

बासी भात मन पर्न छोड्दै जानुको अर्को पनि कारण रहेछ । त्यो कारण चाहिँ विदेश आएर नियमित व्यायाम गर्न थालेपछि थाहा भयो । बासी भात मात्रै होइन, कुनै पनि खाने कुरा जो चिल्लो बेसी छ, ती मन पर्दैनथ्यो । देख्दै अमन हुने । खाइहाले पनि जबर्जस्ती खानुपर्ने । पछि थाहा भयो –मभित्र ग्यास्ट्राइटिस बढ्दै गएको रहेछ ।

हुन पनि हो, २०७० सालभन्दा अघि म ग्यास्ट्राइटिसको अति पीडित मान्छे थिएँ । औषधिको नाममा के चाहिँ खाइनँ होला ? एलोपेथिकदेखि लिएर होमियोपेथिक हुँदै पतञ्जलिसम्म । एलोभेरा र अमलाको जुसस्म्म खान भ्याइयो । अमलाको जुस त यत्तिकै खान नसकेर एक हातमा सखर र अर्को हातमा अमलाको जुस राखेर पनि खाइयो । यति गर्दा पनि मेरो ग्यास्ट्राइटिस ठिक भएन । औषधि खाइन्जेल ठिक भए-भए जस्तो हुने । खान छोडेका दिन फेरि रोगले सताइहाल्ने । वाक्क दिक्क प्याक्क भइसकेको थिएँ ।

यतिकैमा २०७० सालको असोजमा युएई आएँ । युएई आउँदै गर्दा मसँग एउटा रहर थियो, जिम गरेर ज्यान बनाउने । जुन रहर नेपाल छँदा आर्थिक लगायतका कारणले गर्दा पूरा गर्न सकेको थिइनँ । योजना बमोजिम नै युएई आएको ८ महिनापछि जिम जान सुरु गरियो ।

जिम जानुको मुख्य उद्देश्य ज्यान बनाउनु थियो । तर भयो के भन्दा, जसै जिम जान सुरु गरेँ वर्षौँदेखिको ग्यास्ट्राइटिस ठिक हुँदै गएको महसुस हुन थाल्यो । जुन कुरा ओखतीमूलोले ठिक पार्न सकिरहेको थिएन र पीडित थिएँ, त्यही कुरा दिनको एक-डेढ घण्टाको व्यायामले ठिक हुन थाल्यो ।

त्यतिबेलै मैले एउटा प्रण गरेँ, ” ज्यान बनोस्, नबनोस्, म नियमित जिम गर्नेछु ।”  नभन्दै  व्यायाम गर्नु अहिले मेरो दैनिकी जस्तै भएको छ र मलाई  जाँगर चल्छ पनि  । भलै आफूले भने जसरी नियमित गर्न नपाए पनि । ज्यान कति बन्यो, त्यो आफ्नो ठाउँमा छ, तर नेपालीहरूको साझा रोग ग्यास्ट्राइटिसबाट चाहिँ मुक्त भएको छु । त्यसरी व्यायाम नगरेको भए अहिलेसम्म अल्सर भएर क्यान्सर भइसक्थ्यो होला सायद ।

अर्को कुरा, ग्यास्ट्राइटिसको औषधि नियमित व्यायाम बाहेक अर्को छैन रहेछ भन्ने कुरा पनि थाहा पाइयो । तर यो कुरा स्वयम् डाक्टरले पनि भन्दैनन् । किनभने उहाँहरूलाई त व्यापार गर्नु छ ।  व्यायामले रोग निको हुन थालेपछि व्यापार कसरी चल्छ ?  हिजो म ग्यास्ट्राइटिसको औषधि लिन जाँदा कुनै पनि डाक्टर भनौँ अथवा औषधि पसलका मान्छेहरूले “नियमित व्यायाम गर्नुस्, ठिक हुन्छ” भनेर कसैले भनेनन् । अचम्म लाग्छ । यो कुराको ज्ञान नभएर हो अथवा व्यापारमा घाटा लाग्छ भनेर हो ।

भनिदिएको भए म त्यसरी पीडित हुनु पर्ने थिएन सायद । ग्यास्ट्राइस्टिस ठिक हुन थालेदेखि मलाई जे पनि खाने कुरा खान मन लाग्न थाल्यो । जति खाए पनि रुच्न थाल्यो । नेपाल छँदा, यो पनि नखाने, त्यो पनि नखाने भन्ने मान्छे म अहिले जे पनि खाने भएको छु ।

जिम र ग्यास्ट्राइटिसको कुरा कहाँबाट आयो ? भन्नुहोला । यो पनि खानासँगै जोडिएकोले थोरै उल्लेख गरिएको मात्र हो ।

झापामा छँदासम्म खाना मात्रै होइन पानी पनि बासी हुन्थ्यो । बिहानको पानी बेलुका र बेलुकाको पानी बिहानसम्म बासी भइसक्थ्यो । त्यसकारण बासी पानी पिउनु त धेरै परको कुरा अन्य काममा पनि प्रयोग हुँदैन थियो । बारीमा अथवा बोटबिरुवामा हालिदियो, सक्यो । तर पानी बासी हुँदैन रहेछ भन्ने कुरा काठमाडौँ आएपछि थाहा पाएँ । एक दिन भरेको पानीले कति दिनसम्म काम चलाउनु पर्छ । यो कुरा काठमाडौँमा बस्नेहरूलाई बेसी थाहा हुन्छ ।

जब काठमाडौँ पनि छोडेर विदेश आइयो, तब भात पनि बासी लाग्न छोड्यो । जसरी नेपालमा दिनमा दुई पटक बिहान बेलुका खाना पकाइन्थ्यो त्यस्तो त यहाँ कसैले पनि गरेको देखिएन । अरूले नगरेको कुरा मैले गर्ने कुरै भएन । मैले यहाँ आउने कामदारको कुरा गरेको हो है फेरि । एक छाक पकाएर दुई छाक खानु त धेरै राम्रो कुरा रहेछ । अर्थात् बिहान पकाएको बेलुका र बेलुका पकाएको बिहान । यो बहुत सामान्य कुरा रहेछ ।

फेरि दिनमा दुई छाक नै पकाउने समय को सँग पो हुँदो रहेछ  र ?  १२-१४ घण्टा काम । बाँकी रहेको समयमा आफ्नो अन्य काम । फेरि भातै मात्र पकाउन पनि त यहाँ आएको होइन होला । त्यसकारण एक छाक पकाउने दुई छाक खाने परम्परा बन्दै गयो । यसो गर्न ठुलै कुरा रहेछ । किनभने त्यति गर्न नभ्याउनेहरू प्रशस्तै छन् यहाँ । यसरी एक छाक पकाएर दुई छाक खान पनि नभ्याउनेहरूले बाहिरबाट खाना मगाएर खान्छन् ।

कतिपय अवस्थामा खाना पकाउन अल्छी मान्नेहरूले पनि पार्सल खाना खाने गर्छन् । यिनै दुई कुरा समय अभाव र अल्छीपनलाई मध्यनजर गर्दै पार्सल खानाको व्यापार गर्नेहरू थुप्रै भेटिन्छन् र उनीहरूको व्यवसाय चलेको पनि छ । सामान्यतया होटल सञ्चालन गर्नेहरूले नै पार्सल खानाको व्यवस्था गर्छन् । कतिपयले चाहिँ आफ्नो होटल नभए पनि त्यसरी खाना मात्र बनाएर व्यापार गरेका छन् । जसलाई यहाँको कानुनले अवैध मान्दछ । किनभने यहाँ जुनसुकै व्यापार व्यवसाय गर्न लाइसेन्स लिनुपर्छ । बिना लाइसेन्स खाना पकाएर बेच्ने हाम्रै साथीहरू प्रहरीको फन्दामा पनि परेका छन् । कतिलाई त केही जरिवाना तिराएर नेपाल पठाइदिएका पनि छन् ।

एक दिन साथीले आफ्नो कहानी सुनाउँदै थियो, बिना लाइसेन्स खानाको व्यापार गरेको थाहा पाएर सिआइडीले समातेछ उसलाई । सिआइडीले प्रहरीलाई जिम्मा दिएछ र प्रहरीले रातभरि चिसो जेलमा थुनेर राखेछ, त्यो पनि मुर्गा पोजिसनमा । बिहान भएपछि “अबदेखि यस्तो इलिगल व्यापार नगर्ने” सर्तमा ओमन बोर्डरमा पुर्‍याएर छोडिदिएछ । यस्तो ठाउँमा लगेर छोडिदियो, जहाँ कुनै पनि सवारीसाधन पाइँदैन थियो । लगातार तीन चार घन्टा हिँडेपछि मात्र साथीले ट्याक्सी पाए छ र कोठा आइपुग्यो । अहिले पनि  त्यो साथीले लुकिछिपी भातको व्यापार त गरिरहेको छ । तर पहिले जस्तो कमाइ छैन । अब पनि उसलाई सिआइडीले समात्यो भने कि त जेल हो, कि त सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

आखिर व्यापार चल्ने भनेकै अरूको आवश्यकताले न हो । कसैलाई केही कुराको आवश्यकता नै नहुँदो हो त यहाँ कसको पो व्यापार चल्थ्यो होला र ? यसरी म आफैँले पनि थुप्रै महिना पार्सल खाना खाएँ । मिठो नमिठो भन्दा पनि पकाउने र भाँडा माझ्ने झन्झट चाहिँ हुँदैन थियो । कहिलेकाहीँ पार्सल खाना खानु हाम्रो बाध्यता पनि बनिदिन्छ । कम्पनीले पकाउने ठाउँको व्यवस्था नगर्ने र  मेस पनि नराखिदिनाले बाहिरबाट खाना मगाएर खानुको विकल्प रहन्न । कतिपय कम्पनीले भने आफ्ना कामदारले पकाएर खान भ्याउँदैनन् भनेर उसैको मातहतमा रहने गरी क्याटरिङ सञ्चालन गरेका हुन्छन् । कति माया गरेको कामदारलाई ?

झट्ट हेर्दा माया गरे जस्तो पनि देखिन्छ तर यहाँ मायाभन्दा पनि कमिसनको खेल बेसी हुन्छ । कमिसन कसरी ? भन्नुहोला, कम्पनीले आफ्ना कामदारलाई खाना खुवाउनको लागि कुनै होटल अथवा क्याटरिङ कम्पनीलाई जिम्मेवारी दिन्छ । खानाको क्वालिटीअनुसार होटल अथवा क्याटरिङ कम्पनीले कामदार कम्पनीसँग मूल्य निर्धारण गर्छन् र सम्झौतामा हस्ताक्षर गर्छन् । तर आफ्नो कम्पनीले कति रुपैयाँमा हाम्रा लागि खानाको व्यवस्था गर्‍यो भन्ने कुरा कामदारलाई थाहा हुँदैन । त्यसकारण होटल अथवा क्याटरिङ कम्पनीले लिने पैसा भन्दा बेसी पैसा कम्पनीले आफ्ना कामदारबाट असुल गर्छ । असुल गर्छ भन्दा पनि तलब आउने बेलामा  खानाको पैसा कटाएर भुक्तानी गर्ने गर्छ ।

यसकारण पनि थुप्रै कम्पनीहरूले कमिसनको चक्करमा आफ्ना कामदारलाई आफैँ खाना पकाएर खाने व्यवस्था गरिदिँदैनन् । त्यसको साटो मेस सञ्चालनका लागि कुनै होटल अथवा क्याटरिङ कम्पनीलाई जिम्मा दिन्छन् ।

त्यति मात्रै कहाँ हो र “म कम्पनीको मेसको खाना खान्न, बाहिरबाट पार्सल खाना खान्छु” भनेर भन्न पनि पाइँदैन । किनभने खाना खाए पनि नखाए पनि कम्पनीले हरेक महिना खानाको पैसा काटिरहन्छ तलबबाट । यस्तो भएपछि बाहिरबाट खाना मगाएर खाने कुरा पनि आउँदैन ।  भातकै लागि दोहोरो खर्च गर्ने कुरा पनि रहँदैन ।

हेर्नुस् त अन्याय !  मिठो भएन भन्न पनि पाइँंदैन । जति रुच्छ त्यति खाएर उठ्ने हो । कतिपय यस्ता पनि कम्पनी हुन्छन्, जसले निःशुल्क रूपमा आफ्ना कामदारलाई गुणस्तरीय खाना खुवाउँछन् । तर यस्तो कम्पनी सबै नेपालीको भागमा पर्दैन ।

मैले पनि १८ महिना कम्पनीको मेसको खाना खाएको छु । सुरुको दुई महिना त मैले “सिनियर नेपाली मेस” को खाना खाएँ । तर दुई महिनामै मलाई वाक्क लाग्यो ।  नाम मात्रको नेपाली, स्वादमा कतै नेपालीपन थिएन । त्यसपछि “सिनियर अरबिक मेस” को खाना खान थालेँ । यो चाहिँ अलिक मिठो लाग्यो । भातको क्वालिटी पनि नेपाली मेसको भन्दा अलिक राम्रो लाग्यो । पैसा भने जुन मेसको खाए पनि काट्ने उत्ति नै थियो ।  खानाको प्रकार भने फरक । यसरी कम्पनीले नेपालीसहित इन्डियन, पाकिस्तानी, अरबिक, फिलिपिन्स, अफ्रिकन लगायत मेस सञ्चालनको जिम्मेवारी एउटा क्याटरिङ कम्पनीलाई दिएको थियो । जुन मेसको खाना खान्छु भन्दा पनि पाइन्थ्यो ।

क्याटरिङ कम्पनीका कामदारको भनाइलाई आधार मानेर भन्ने हो भने हाम्रो कम्पनीले खाना बापत हाम्रो स्यालरीबाट जति रकम काट्थ्यो त्यसको ७० प्रतिशत मात्रै क्याटरिङ कम्पनीलाई बुझाउँथ्यो । खाना मिठो भएन भनेर बेलाबेला क्याटरिङको स्टाफसँग गुनासो गर्दा उसले हाम्रै कम्पनीको कमिसनको कारण कम गुणस्तरको खाना खुवाउनु परेको कुरा सुनाउने गर्थे । त्यसरी १८ महिना कम्पनीको मेसको खाना खाइसकेपछि  कम्पनीले मलाई अन्तै सरुवा गरिदियो । यस्तो ठाउँमा सरुवा गरिदियो जहाँ मेसको खाना खानु पर्ने बाध्यात्मक अवस्था थिएन । त्यहाँ आफैँले पकाएर खाने सुविधा उपलब्ध थियो । खुसी यसैमा थिएँ । मिठो नमिठो आफ्नो ठाउँमा छ, म खाना पकाउन जाँगर चलाउने मान्छे हो । बेलाबेला साथीहरू जिस्काउँदै भन्छन् पनि, “तपाईंकी श्रीमतीले सुख पाउँछिन् ।” श्रीमती भए त सुख पाउँथे होलान् पनि, के गर्नु अविवाहित परियो र पो ।

कुरो र कुलोलाई जता घुमाए पनि हुन्छ भन्थे त्यस्तै भइरहेको छ यहाँ । कुरा बासी भात र बासी तरकारीको  थियो तर कता कता पुगिसकेछ । बासी भात भनेर जति कुरा काटे पनि आखिर यही बासी भात खाएरै १०/११ वर्ष बिताइसकिए छ प्रवासमा । परदेशीले यसरी बासी भात नखाने हो भने सायद उसको घरमा साजी भात नपाक्न सक्छ । यो लाखौँ नेपालीको कथा हो भन्ने लाग्छ ।  यसकारण पनि परदेशीलाई आफूले बासी भात खानु परेकोमा उतिसाह्रो गुनासो हुन्न । मलाई त छैन नै भन्दा पनि हुन्छ । यत्रो वर्ष भइसक्यो अब त बासी भातसँग गहिरो नाता पो जोडिसकियो त । अब त नेपाल आइयो भने बरु बिहान बेलुकै साजी भात खान चाहिँ गाह्रो होला कि भन्ने पो लाग्न थाल्यो । आखिर जे कुरा पनि त बानीले निर्धारण गर्ने रहेछ ।

यही बासी भात खाइ-खाई  परदेशमा बूढो भइसकियो । साथीहरू भन्छन् पनि, “तिमी त परदेशमै बसेर बुढो हुने भयौ ।” उनीहरुले भनेको कुरा ठिकै हो । तर उनीहरू चाहिँ कत्ति न नेपाल बसेर जवान  नै रहिरहे जस्तो । उनीहरू पनि त बुढो भइरहेका छन् नि । फरक यति हो उनीहरू श्रीमतीले पकाएको खाना खाएर बुढो भइरहेका छन् । यता म भने आफैँले पकाएको बासी भात खाएर बुढो भइरहेको छु ।

हरेक दिन म्यासेन्जर कलमा आमा सोध्नु हुन्छ, “आज तरकारी के खाइस् ?” मेरो एउटै जवाफ हुन्छ, “अस्ति कहिले पकाएको चिकेन छ, त्यही खाएको ।”

आमा हाँस्नु हुन्छ । “अनि यत्रो दिनसम्म गन्हाउँदैन” उहाँ फेरि प्रश्न गर्नुहुन्छ । “फ्रिजमा राख्ने हो, गन्हाउँदैन” । म पनि हाँस्दै जवाफ फर्काउँछु सधैँझैँ । “अनि के मा तताएर खान्छस् ?” आमाको चिन्ता मिश्रित प्रश्न आउँछ । बासी खानालाई साजी बनाउन त सकिन्न तर चिसो खानालाई तातो बनाउने ओभन चाहिँ प्राय काम गर्ने ठाउँमा हुन्छ नै । कहिलेकाहीँ ओभन नभएको ठाउँमा पनि ड्युटी परिदिन्छ । त्यस्तो बेला बासी भात चिसै खानु पनि पर्छ र कैयौँ पटक खाइएको पनि छ । भन्नु पो भएको छैन ।

बिचरा फ्रिजलाई पनि कति गाह्रो हुँदो हो । एक दिनको तरकारीलाई सात दिनसम्म नबिगारी राखिदिनु पर्छ । सुरु सुरुमा त मैले एक दिन पकाएर बेसीमा तीन दिनसम्म मात्रै खाएँ । किनभने बासी खाना खानु हुँदैन पेट खराब हुन्छ भन्ने सेटिङ थियो दिमागमा । एक दिन म आफैंलाई परीक्षण गर्न मन लाग्यो र गरेँ पनि कि फ्रिजमा कति दिनसम्म टिक्दो रहेछ ‍। नभन्दै ७ दिनसम्म टिक्यो । यसो नाकमा लगिहेरेको गन्हाएन । ओहो ! कस्तो गजब । एक दिन पकाएर सात दिनसम्म पकाउनु परेन भने त समय गजबसँग बच्ने भयो भनेर मख्ख पनि परेँ ।

फेरि समय बचाएर गर्ने चाहिँ केही होइन । उही टिकटक हेर्ने र फेसबुक चलाउने बाहेक अरू के नै काम हुन्छ र हाम्रो ? त्यसका लागि भए पनि समय त निकाल्नु छ ।  पहिले-पहिले बिहान खाए बेलुका के खाने ? भन्ने चिन्ता हुन्थ्यो । तर अहिले बिहान जे खायो, सात दिनसम्म त्यही एउटै खाने कुरा खानु पर्छ । वाक्क पनि नलाग्ने, कस्तो अचम्म ? पहिले पहिले पकाएको तरकारी मिठो छ कि छैन भन्ने कुरा जिब्रोले थाहा पाउँथ्यो । अहिले तरकारी खान योग्य छ कि छैन भन्ने कुरा पहिले नाकले थाहा पाउँछ । जबसम्म नाकले तरकारी गन्हाएको सङ्केत दिँदैन तबसम्म खाना ठिक छ । फ्रिजबाट निकालेर तताउनुभन्दा पहिले नाकले चेक गर्ने हो । अनि मात्र तताउने हो । फेरि कहिलेकाहीँ  त के हुन्छ भने फ्रिजबाट निकाल्दै गर्दा गन्हाएको हुँदैन । जब तताउन थालिन्छ अनि हल्का गन्हाउन थाल्छ । अब फाल्ने कि खाने ? कन्फ्युज हुन्छ । पकाउने समय छ भने त त्यसलाई फालेर  पकाउँदा पनि हुन्छ । नत्र भने त्यही गन्हाएको खानु बाहेक अरू विकल्प  हुन्न । बाध्यता भनेको सायद यही हो जस्तो पनि लाग्छ बेलाबेला । कहिलेकाहीँ खाइएको पनि छ यसरी ।

पकाएको तरकारी नबिग्रियोस् भनेर राख्ने फ्रिजमा हो ।

कम्पनीले दिएको एउटा फ्रिजमा कति जनाले राख्ने ? सबैको समस्या आखिर उही हो । कतिपयले चाहिँ आफैँले फ्रिज किनेर रुममै राखेका पनि छन् । कम्पनीले दिने भनेको एउटा फ्लोरका लागि एउटा फ्रिज हो । हाम्रो एउटा फ्लोरमा ९ ओटा कोठा छन् । अनि एउटा कोठामा हामी १० जना बस्छौँ ।  यसको मतलब एउटा फ्लोरमा ९० जना । यति मान्छे त मेरो गाउँमा पनि छैनन् होला । हुन् पनि कसरी ? त्यही गाउँका यता आएर थुप्रिएका छौँ त । अनि अब कम्पनीको सुविधाको कुरै नगरम् । त्यही ९० जनालाई एउटा फ्रिज । ९० जनाले एउटा फ्रिजमा के के राख्ने ? सबैले दुई- दुई ओटा आलु राख्दा मात्रै पनि फ्रिज भरिन्छ ।  तलब आएको केही दिनसम्म त फ्रिजभरि सामान हुन्छन्  । राख्ने ठाउँ हुन्न  । जब बिस्तारै गोजी रित्तिँदै जान्छ, अनि फ्रिज पनि खाली हुँदै जान्छ ।

हरेक दिन बासी भात बासी तरकारी खाइरहेकोले सबै दिन स्मरण योग्य हुँदैन । तर कहिलेकाहीँ त्यही बासी भात खाएको प्रसङ्ग पनि विशेष बनिदिन्छ जीवनमा । एक पटक यस्तै भइदियो ।

कुरो हो २०७६ साल मङ्सिर २० गते शुक्रबारको । बार समेत याद रहने गरी त्यस्तो के विशेष थियो होला ? भन्ने लाग्न सक्छ तपाईंलाई । त्यो दिन अघिल्लो दिन बनाएको सोल्लर र कुखुराको मासु थियो मसँग । “सोल्लर”  महीलाई झानेर बनाएको परिकार, यो सबलाई थाहा छ । अनि विदेशमा पनि मही पाइन्छ ? भन्ने लाग्न सक्छ तपाईंलाई  । नेपालमा भन्दा मिठो मही पाइन्छ । मही मात्रै होइन दही पनि उत्तिकै मिठो पाइन्छ । मलाई मिठो नलाग्ने भनेको यहाँको दूध हो । हुन त नेपालमा पनि मिठो दूध खान त आफैँले गाई भैंसी पाल्नु पर्छ । किनेर खानेहरूको हालत त उही हो फेरि । दूधमा पानी मिसाएको हो कि ? पानीमा दूध मिसाएको हो ? छुट्याउन गाह्रो पर्छ उस्तै परे ।

कुरा जोडौँ ड्युटीकै । बिहान ड्युटीमा पुग्ने बित्तिकै खान नगन्हाओस् भनेर फ्रिजमा राखेँ । दिउँसो १ बजेतिर हुनु पर्छ खाना खाने पालो आयो । फ्रिजबाट खाना निकालेर तताउनको लागि ओभन खोज्न थालेँ । निक्कैबेर खोज्दा पनि ओभन नभेट्टाएपछि एक जना हाउसकिपिङलाई सोधेँ, “भाइ यिधर गरम गर्नेका जगा नहीँ हे ?”

“नहीँ हे” हाँस्दै जवाफ दियो ।

“फिर आप् लोग् कैसे खाते हो ?” फेरि सोधेँ ।

“हम् त ऐसे ही खाते हैँ ।”

अर्थात् उनीहरूले घरबाट लिएर आएको खाना चिसै खाँदै आएका रहेछन् ।  ओभन छैन भन्ने पक्का भएपछि एक छिन त म बडो सोचमा परेँ । एक त बासी खाना, त्यसमाथि बिहानदेखि फ्रिजमा राखेर चिसो भएको । कसरी खाने ? बासी हुनु त समस्या थिएन । तर फ्रिजको चिसो खाना ?

ओहो ! बडो सकस भयो  । फेरि छिटो खाएर पुन: ड्युटी गर्न जानु पनि छ । धेरै बेर सोचेर बस्ने पनि समय कहाँ हुन्छ र ? यसरी ओभन छैन भन्ने थाहा पाएको भए फ्रिजमा राख्ने थिइन नि ! भन्ने पनि भयो । त्यो ठाउँमा पहिलो पटक ड्युटी गर्न गएकोले त्यहाँको बारेमा मलाई थाहा थिएन पनि उसो त । जे भए पनि आखिर खाना त खानु नै छ । भोकभन्दा ठुलो कुरा अर्को के नै छ र ?

भोक मिठो कि भोजन मीठो महाराज ? भनेर प्रश्न गर्दा “भोक” मिठो भनेको कहानी सम्झिँदै मैले पनि हिउँ जस्तो चिसो भइसकेको सोल्लर, चिकेन र भात एकै ठाउँमा मिसाएर खान थालेँ । अरू बेला खानाको तातोले बेलाबेला हात पोले जस्तो हुन्थ्यो । आज भने खानाले हात ठिहिर्‍यायो । जाडोमा हात कसरी ठिहिर्‍याउँछ, मलाई त्यो खाना खाइन्जेल ठ्याक्कै त्यस्तै भयो । फेरि पनि खाना चाहिँ खाइसकेँ । यहाँसम्म त ठिकै थियो । यसमा रोचक कुरा के छ ? भन्नुहोला ।

रोचक  भएर नै मैले यो प्रसङ्ग उल्लेख गरेको हो । त्यही दिन उता नेपालमा पूर्व प्रेमिकाको विवाह भइरहेको थियो । प्रेमिका उता जग्गेको आगोले न्यानो भइरहेको बेला यता म भने चिसो भात खाइरहेको थिएँ । उनको बिहेको खबरले यसै त मन चिसो भइरहेको थियो केही दिनदेखि । झन् बिहेकै दिन त्यसरी चिसो भात खानु पर्दा कस्तो भयो होला ? तपाईं अनुमान मात्र गर्दै गर्नुस् । एकातिर उनको जग्गेको आगोले मलाई पोलिरहेको थियो भने अर्कोतिर मेरै चिसो भातले मलाई त्यो आगोको रापलाई शीतल बनाउन सघाइरहेको थियो ।

खाना खाँदाखाँदै सम्झेँ पनि, आखिर मैले त्यस्तो के अपराध गरेको थिएँ होला र प्रेमिकाको बिहेकै दिन यस्तो खाना खानु पर्यो ? फेरि सम्झेँ, पूर्वजन्ममा सायद केही पाप गरेको हुनुपर्छ । नत्र यस्तो सजाय किन ? भन्ने पनि लाग्यो । डाँको छोडेर रुन मन लागेको थियो । तर के गर्नु ? ड्युटीमा भएकोले गर्दा रुन पनि पाइएन ।

अहिले पनि मङ्सिर २० गते आउने बित्तिकै त्यही दिनको याद आउँछ – बासी भात, बासी तरकारी, चिसो भात, चिसो तरकारी अनि प्रेमिकाको बिहे ! कस्तो संयोग मिलेको ?