कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरुका भीड वा कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरुको यात्रा आदि–आदि नै जुलुसको परिभाषा हो ।
– प्रजातन्त्रका लागि
–मानव–अधिकारका लागि
– वातावरणको स्वच्छताका लागि
– सामाजिक प्रतिष्ठाका लागि
यहाँ जुलुस अप्राप्ति, असन्तोष वा मागका लागि हैन । मेरोसामु बिनाशर्त, बिनामागका निम्ताहरु एक–एक गरेर जुलुस बनेका छन् । यी जुलुसले कुनै गगनभेदी चर्को नारा लगाएनन, कुनै पञ्जाहरु फुकाएर उठाएनन् । मौनरुपले मलामीझैँ शान्त, पराजितहरुले विजितहरुको हर्षोल्लासको जुलुसमा साथ दिएझैं निम्ताका जुलुस छन् । सभ्य, सौम्य सम्मानितरुपले जम्मा भएका एक–एक निम्ता फक्रन लागेका कोपिलाझैँ उदाउन लागेको सूर्यक्रैं र बाक्य फुट्न लागेको बालकको अधरझैँ रहरलाग्दा छन् तर निम्ताहरु एकआपसमा सङ्ग्रहीत भएर गठबन्धन हुनासाथ तिनका रुप फेरिएका छन् ।
सुन्दर रहरले लिपेका अनुहारहरु सामूहिकतामा भयावह देखिएका छन्, जसले मेरो बगलीको केही न्यानोपनालाई खोसे । यसपटक ममाथि बर्सेका निम्ताले परिवारको आहारमा ह्रास गरायो, रहरमा शून्यता जगायो र सेरलेकमा सापटीको पाना बढायो । यी निम्ताहरु रहरका थोरै प्रतिशत र बाध्यताका थुप्रै प्रतिशत मिसिएर हाजिर भएका छन् । निम्ताहरुका धर्मलाईृ नत्यागी परम्परागत मान्यतालाई कायम राख्न खोज्दा वर्तमानको मान्यता गुम्ला भन्ने डर पनि लाग्नथालेको छ ।
सामान्यतया एक्लै निम्ता मान्न जानु त्यति मनोरञ्जक हुँदैन । निम्तो सामूहिक रमाइलो जमघट गर्ने अस्थायी स्थान हो । अभिमत सम्भवतः अन्यको पनि हुनसक्छ । वर्षमा थुप्रै दिन निम्ताका लागि वर्षारम्भमा नै शुभकामनास्वरुप प्राप्त क्यालेण्डर–भर्खरै भित्रिएकी बुहारीलाईझैं पानापाना खोतल्छु । कति धेरै शुभसाइत र मुहूर्तका दिनहरु बनेका । अस्वस्थ खल्ती बोकेर भोकाएको बेला नजिकबाट मेवा–मिष्ठान्नको लस्कर हिँडेजस्तो । कागलाई बेल पाकेर हर्ष न बिस्मात भनेझैं निम्ता गर्न नसक्ने निम्तालुहरुलाई जुराउन नसक्नेका लागि जतिसुकै जुलुस बनेर आए पनि निम्तोको के अर्थ ? आफूभित्र केके क्षमता छन् भन्ने आफूलाई कसरी थाहा हुन्छ र ? सबै क्षमताशक्ति अरुद्वारा बताइएपछि वा प्रमाणित भएपछि मात्र जानिन्छ ।
हनुमानलाई पनि आफ्नो क्षमता थाहा थिएन । हावामा उड्न सक्छु र पहाड बोक्न सक्छु भन्ने पनि थाहा थिएन ।
मलाई पीर अर्कै कुराको छ । धर्मशास्त्र, नीतिशास्त्रमा के भनिएको छ भने–लिएको कहिल्यै नबिर्सनु र दिएको कहिल्यै नसम्झनु । समस्या नै यही हो । अन्यान्य प्रसङ्गहरुलाई बेवास्ता गर्न सकिन्छ, तर जन्मँदा, मर्दा र विवाह गर्दाका तीन क्षणलाई कसरी भुल्नु ? भुल्नु पनि भएन नि ! जन्मँदा र मर्दा लिनेदिने खासै प्रसङ्ग नहुने भए पनि विवाह त लिनेदिनेकै समारोह हो । बधुहरुको निम्ता त लगभग बराबर नै हुन्छ– दिनेलिने विषयमा, तर पुरुषहरुको बिहेमा त लिने मात्र हुन्छ । यस्तो लिने काम यति धेरै गरिसकें अब चाहेर पनि सम्झिन सक्दिन होला ।
नीतिअनुसार लिएको कहिले नबिर्सनु भन्ने पूरा गर्न नसक्ने पीर बल्झिन थालेको छ । हुनत डराएर पीर गरेर असम्भव कहिल्यै सम्भव हुँदैन । थाहा भएकै कुरा हो, बत्तीको कुरा गर्दैमा अँध्यारो हट्दैन । कुरै गरेर मात्र हुने भए नेपालमा सयौं सगरमाथा ठडिइसक्थे । योजनाले मात्र बन्ने भए देश कहाँ पुग्थ्यो–पुग्थ्यो, तर यहाँ नलिएको सम्झेर पनि बिर्सन खोज्नेहरुको बोलवाला छ । दिएको चुनदामको यति वहीखाता सधैँ पल्टाएर राख्नेहरुकै आधिपत्य छ । अझ त्यसभन्दा पनि बढी अचाक्ली गर्नेहरुका हूल बढ्दै छन् ।
अर्काको आँसु पायो भने शीतल ठान्ने, अर्काको भोकमा डकार्ने, अर्काको पीडामा अट्टहास गर्नेहरुलाई पटक्कै डर छैन– धर्म, नीतिमा । अरुमाथि अन्याय–अत्याचार गर्दा, पर–अहित हुने कार्य गर्दा मर्नुपर्छ भनेर डराउनुपर्ने मान्छेहरु झन् उत्साही भएका छन्, पटक्कै डराउँदैनन् । त्यसैले त होला यहाँ फुटपाथका लाम्टाहरुमा दूध भर्न डलर ल्याउँछन् र श्रीमतीको घाँटी सजाउँछन् । भोकले छट्पटाएका सडकबालकहरुका लागि पेट भर्ने योजना बनाउँछन् र घरमा तला थप्छन् । देउकी र बदिनीका उत्थानका अनुसन्धानमा जान्छन्, आश्वासन दिलाउँदै रङ्गीन रातहरु बिताउँछन् । प्रथाको अन्त्य गर्ने अभियानको नाममा व्यवसायलाई टेवा दिने नाम बनेर फर्कन्छन् । के हो के हो, पापीहरुको जनघनत्व बढेको हो कि धर्म बुझ्नेहरुको नियोजन भएको हो बुझ्नै नसकिने ।
पहँेलो देख्नासाथ सुन भन्नु हुँदैन, प्वाँख राख्दैमा काग मयूर बन्न सक्दैन । गधा धोएर गाई बन्न सक्दैन भनेजस्तो भएको छ वर्तमान । आँसु र हाँसोको अर्थ बुझ्न सकिन्न । एउटै आँसु फरक–फरक भएर बग्दछ । आँसु बग्ने मन भएकाहरु परपीडामा आँसुको आँखाबाट पनि बग्न सक्छ, गोसाईकुण्ड भएर जम्न सक्छ, कोसी भएर बग्न सक्छ, तर नहुनेहरुका लागि केलिगृहका बाईहरुका लागि आँसु बाध्यता हो । प्रेम गर्नेहरुका लागि आँसु आगो हो । विश्वासघात गर्नेहरुका लागि आँसु अभिनय हो । त्यसैले आँसु खुसी, आशा, सपना, जीवन र मृत्यु पनि हो ।
यसपटक मैले थुप्रै निम्तामा जाँदा थुप्रै प्रकारका आँसु देखें । बाबुको आँसु, आमाको आँसु, बेहुलीको आँसु, निम्तालुहरुको आँसु अर्थात् दुःखको आँसु, पीडाको आँसु र प्रदर्शनीको आँसु, सबैका रुप र प्रकार एकै भए तापनि गुण र प्रवृत्तिमा भने आकाश जमिनको अन्तर थियो । प्रसङ्ग यस्तै छ । यसपटक म कहाँ थुप्रो लागेका निम्ताहरु एउटा–एउटा गर्दै जुलुस बनेका थिए । निम्ताहरु असनको तिहार बनेका थिए । नमरी संसार देखिन्न भनेजस्तै आँखामा बिर्को लगाएपछि उज्यालो खोजेर पनि पाइन्न । मतलब आँखामा आग्लो लगाएपछि संसारै अँध्यारो । विज्ञानको जस्तोसुकै प्रकाशन, ज्योति–महाज्योति भए पनि आँखाभित्र मात्र कैद भइरहेका छन् । आँखा नखोज्ने हो भने त्यसको कुनै अर्थ र औचित्य रहँदैन ।
यसपटक थुप्रै उज्याला घरहरुमा उज्याला निम्तापत्रको निर्देशन वा अनुरोधबमोजिम निम्तो स्वीकार्न पुगेको थिएँ । सबै स्थानका सबै निम्तालु घरहरु स्मरणीय नै थिए, क्षणिक रुपमा वा संलग्न होउन्जेल । तर एक–दुई त्यस्ता घरहरु थिए जुन बिर्सन खोजेर पनि भित्र चलमलाइरहेका छन्– नदीको भेलजस्तै, पोखरीको तरङ्गजस्तै ।
मानिस जन्मले र स्वभावले नै स्वार्थी हुन्छन् । आश्चर्य मान्नुपर्ने रत्ती पनि ठाउँ छैन । तर कति हदसम्म र कस्तो स्थितिसम्म प्रकट हुने भन्ने मात्र हो । विवाहघर अर्थात् गोडधुवा हाल्नुपर्ने विवाहघर । अझ स्पष्ट भन्दा लेनदेन बराबर हुने निम्तोघर । घर लिपपोत गरेर स्निग्ध पारिएको छ । चारैतर्फका भित्ताहरु बिजुलीका साना–साना माला भएर झुण्डिएका छन् । सर्वत्र उज्यालिएको छ निम्तालुहरुका अनुहारजस्तै । निम्ता गर्नेहरुका बाहिरी रुपजस्तै घरभन्दा टाढा–टाढासम्म सङ्गीतको हल्ला गुन्जिएको छ । अर्थ नबुझिने आवाज तर ताल भने झलमलाउँदो प्यालाका निम्ति उपयुक्त । करेन्टका बल्बहरु विदेशी सङ्गीतकै धुनमा नाचिरहेका छन् । झिमझिमाउँदो ज्योतिजस्तै निम्तालुहरु झन्झनाउँदै छन् । सफा–सुग्घर भएर घरका भित्ताहरु हाँसिरहेका छन् । बत्तीहरु नाचिरहेका छन् । साङ्गीतिक आवाजमा क्यासेट चिच्याइरहेको छ । निम्तालुहरु अतीतका पीडालाई तारेर स्वादिष्ट गफहरु चपाइरहेका छन् । उन्मुक्ततामा अट्टहास हाँसिरहेको छ ।
निम्तालुहरुका ओठमा हाँसो फक्रनु अस्वाभाविक होइन, तर निम्ता गर्ने मित्रका आँखामा खुसीको सहर बसेको देख्दा अचम्मित भएको छु । लाग्नै नपर्ने आश्चर्य लागिरहेको छ । त्रियासी लाख योनि पार गरेर जुनी पाएका भनिने मान्छेहरु कति स्वार्थी हुन्छन्, कति निर्दयी बन्छन् । हिजोलाई कहिले सम्झदैँनन् । केही समय त भयो उनका बुबाको स्वर्गे भएको ।
ओहो, त्यतिबेलाको क्षण कति रोदनीय थियो । घरको दैलोदेखि धुरीसम्मका सम्पूर्ण निर्जीव पनि जीवझैँ कोक्किई–कोक्किई रोएका थिए । त्यतिबेला लागेथ्यो– अब यो घरमा ज्वालामुखी फुट्यो । घरकाहरुको भित्रभित्रसम्म भूकम्प पस्यो । सबै सहाराहीन भएर अनाथझैं भएका थिए । त्यस्तो बिप्रद कारुणिक क्षण देख्दा विचराहरुको खुसी पनि बुढोसँगै रित्तियो भन्ने लागेथ्यो । अब यिनीहरुले हाँस्न बिर्सनेछन्, आँसु र पीडा नै यिनीहरुका छाया हुनेछन् भन्ने लागेको थियो तर अहिले लाग्छ मानौँ उनीहरुमा कहिल्यै दुःखको बज्रपात भएको छैन । मृत्युको आँसु कहिल्यै रुनुपरेको छैन । कत्रो विडम्बना ।, बाबुको मृत्युजस्तो पीडा पनि कस्तो क्षणिक र शायद पृथ्वी घुम्नु यस्तोकै साङ्केतिक अर्थ पो हो कि ? समय÷मन स्थिर र स्थायी हुन सक्तैनन् भन्ने । सूर्यले प्रत्येक बिहान–साँझ दौडादौड गरी तेलकासा खेल्नु पनि जीवनकै नियमित र निरन्तर प्रक्रियामा उभिई प्रदर्शन गरिरहेको पो हो कि ? यस्तै रहेछ यहाँको चलन ।
एउटा अर्को पनि छोरीको विवाह थियो । आँगन नै जोडिएको निकटतम छिमेकीको । दुलही बनेकी त्यस घरकी छोरी जन्माउँदाको त्यो क्षण बिरानो थियो । परिवार र आफन्तहरुका भीड आवाजहीन भएका थिए । कहिलेकाहीं बज्ने चुराको आवाज पनि विरक्तलाग्दो थियो । सबैका आँखा टलपल–टलपल भएका थिए । मुठा जुँगा भएकाहरु पनि झोक्राएका थिए । आँगनमा पुजिएर उम्रेको तुलसीको मठ पनि नियास्रो देखिन्थ्यो । सधैँ पोतिने दैलो पनि पिरिएझैँ लाग्थ्यो । फुर्सदमा गोडमेल गर्ने फूलविरुवाका पातहरु पनि ओइलाएका थिए । काली कुकुर्नी पनि निस्तेज टोलाएर बसेकी थिई । मानौं सबै मूर्ति बन्ने तयारीमा थिए, बिहानजस्तै शान्त र स्थिर ।
तर एक घण्टा पनि नबित्दै चेली अन्माएको घरले अर्कै रुप लिएको थियो । शून्यताको पर्खाल धेरै बेरसम्म ठडिन सकेन र ढल्यो । भनाँै पीडाको नमीठो पर्खालको जग हलुका थियो– सजिलै भत्काउन नै बनाइएको । त्यसपछि आँगनको एकछेउमा मादल घन्कियो, गीत गुन्जियो । अघि रोकिएको क्षणको रहरसमेतको आवाज घन्क्यो । चुरोटका धूवाँ यत्रतत्र फैलिन थाले । रक्सी र सिसीहरु प्याला–प्यालामा भरिन थाले । अघिका आँखामा हाँसो फेरिँदै पालैपालो कम्मरहरु भाँचिन थाले । वरपर गोलबन्द भएर बसेकाहरु विजय–उत्सवमा झैँ ताली बजाउँदै थिए । कति परिवर्तनशील छन् मान्छेहरु ।
म एक्लै भौँतारिन्छु । प्रश्नहरु उम्रँदै जान्छन् उत्तर पाउन नसकिने । ताली र गीतको सामूहिक आवाजसँगै घन्केको मादल टाढाटाढासम्म दौँड्दै थियो । छोरीलाई अन्माउन सकेकोमा हर्षोल्लास मनाइरहेको घमाइलो सन्देशको आवाज टाढा–टाढाका घरसम्म पुर्याउन, कोठा–कोठामा पुर्याउन र कान–कानमा पुर्याउन जोड–जोडले गुञ्जिरहेको थियो, गुञ्जिरहेको थियो ।
होला नहोला यकिन छैन तर मेरो हकमा भन्ने हो भने यो अनुभवको एक किस्ता बोनसमात्र हो ।
– सुनकोशी, सुनकोशी साहित्य प्रतिष्ठान(२०५१)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।