जून अँध्यारोभित्रबाट निस्कन्छ र सधैँ उज्यालो लिएर मात्र देखा पर्छ । सायद अँध्यारो जूनको दुस्मन होला तर ऊ दुस्मनलाई हेला गर्दैन । हेला गर्नु उसको धर्म होइन । ऊ दुस्मनकै गर्भबाट जन्मन्छ र  बिस्तारै आफ्नो शक्तिले दुस्मनलाई हँसाएरै लज्जित पार्छ । दुस्मनका साथमै रमाएर उसैलाई हँसाउन सक्नु जूनबाट सिक्न सकिने सन्देश हो । मानिस बन्न यो सन्देश पढ्नुपर्छ ।

म हरेक पूर्णिमामा जूनलाई हर्छु । ऊ सधैँ एउटै तरिकाले मसँग हाँस्छ र रमाउँछ । सायद उसले मलाई सधैँ उस्तै देख्छ तर मचाहिँ उसलाई फरक फरक देख्छु । कहिले उसमा दाग देख्छु र घृणा गर्छु । कहिले उसमा उज्यालो देख्छु र खुसी हुन्छ ।  कहिले उसमा आकर्षण देख्छु र उसैतिर  नजिकिन खोज्छु । उसले मलाई चखेवा प्रीत पढाएर खुसी पार्छ । कहिले आफूमा खग्रास घोलेर न्याउलीको पीडा सुनाउँछ ।

ऊ चखेवाको खुसी हो वा न्याउलीको पीडा हो म छुट्याउन सक्दिनँ । अरूलाई आफूजस्तै देख्नु जूनको गुण हो । अरूलाई आफूभन्दा फरक देख्नु र आफूलाई अरूभन्दा विशेष ठान्नु मानिसको गुण हो । ऊ अँध्यारासँग डटेर चम्कियो र सबैको प्रिय बन्यो । मानिस उज्यालो खोजेर भौँतारियो र आफ्नै जातिको दुस्मन बन्यो ।  मानिस अँध्याराको जून बन्न सकेन ।

जून हजारौँ ताराका बिचमा छ तर उसकै उज्यालाको चर्चा सबैले गर्छन् । सायद उसले ताराका बैगुन जानेन र तिनका कुरा पनि काटेन । कुरा काट्ने र अरूका बैगुन खोज्ने काम त मानिसले गर्छ । जूनले बरु मानिसलाई हाँसेर बाँच्ने सल्लाह दिन्छ । उसमा अरूका  कुरा काट्ने क्षमता नै छैन । उज्यालामा उज्यालो देखिँदैन, अँध्याराबाट मात्र उज्यालो देखिन्छ । मानिस उज्यालोभित्र नकारात्मकता खोज्छ । जूनले अँध्यारोबाट उज्यालो हेर्छ । अरूका बैगुनका चर्चा गर्ने उसको क्षमता नै छैन ।

म जूनलाई सधैँ नियाल्छु । एक रात मैले आफ्नै ओछ्यानमा जून छिरेका बेला उसको रश्मिरेखा पढेँ । उसको दृष्टिमा स्वच्छता थियो । स्वच्छ दृष्टिमा सिर्जना र कल्पना हुन्छ । मैले शास्त्र पढेको सम्झेँ । मानिसको हेराइले नियत र बोलीले संस्कार बताउँछ । मानिसमा धैर्य कति छ भन्ने कुरा उसको बसाइ हेरे पुग्छ । एक आसनमा बसेर दृष्टि ध्यान गर्नेहरू विचारका महात्मा हुन् । चञ्चले बसाइ अस्थिरताको जननी हो ।

अस्थिरताले त मन र कर्ममा उथलपुथल ल्याउँछ । जूनमा धैर्य छ पूर्णिमामा सधैँ चम्कने अनि चम्कनका लागि पूर्णिमा पर्खने । मानिसका सङ्गत र स्वभाव जूनजस्तै स्थिर र धैर्यशील हुनुपर्छ । मानिसले त कर्मले भाग्य बनाउनुपर्छ । कर्म निरन्तर हुन्छ । जूनले पूर्णिमा बिर्सिंदैन । मानिसले कर्म बिर्सनु हुँदैन । आँखा चिम्लेर चिन्तन गर्‍यो भने मानिसले आफ्नो कर्म र भाग्य दुवै देख्छ । कर्म गर्न र भाग्य खोज्न मानिसले जूनले जस्तै अँध्याराबाट उदाउन सिक्नुपर्छ ।

सफलताको मूल जरो समर्पण हो । स्थिरता, त्याग, चुनौती, आलोचना, अनुशासन आदि सफलतासम्म पुग्ने गोरेटा हुन् । सफलता पाउन सज्जनको सङ्गत चाहिन्छ । मूर्ख, पागल, गुरु र आमाबासँग विवाद गर्नेहरूले कहिल्यै सफलता पाएका छैनन् । दुर्जनको सङ्गतले किनार देख्छ, भेल देख्दैन । दुर्जनको साथमा बसेर सोच्नेहरूले क्षितिजमा नयाँ किरण देख्छन् । जूनको किनारामा चम्कने आनन्दी शोभा देख्छन् । अरूले नदेखेका कुरा देख्न सक्नु जुनेली रातको पहिलो पाठ हो ।

यसको दोस्रो पाठ पढ्न मानिसले कर्ममा भक्ति गर्नुपर्छ । भक्ति सिकाइमा प्रवेश गरे सिकाइ आविष्कार वा विकास बनेर निस्कन्छ । भक्ति व्यक्तिमा प्रवेश गरे त्यो मानव बनेर निस्कन्छ । मिहिनेत कार्यमा प्रवेश गरे त्यो प्रतिफल बनेर निस्कन्छ । मानवीय कार्य स्वच्छतामा प्रवेश गरे त्यो बादलमा चम्किने चाँदीको घेरा जस्तै सामुदायिक उन्नति बनेर चम्कन्छ । साझा उन्नतिमा दुस्मनी हुँदैन ।

जूनले उज्यालो दियो भनेर ताराले विरोध गर्दैनन् । मानिस काम पर्दा अरूको बखान गर्छ र सहयोग नपाउँदा गालीको तीर सोझ्याउँछ । जूनले त केसैबाट फाइदा नलिई सबैको इज्जत गर्न सिकाउँछ । ऊ मानिसले जस्तो झुटो बोल्दैन र अरूलाई गिराउनुलाई आफ्नो इज्जत ठान्दैन ।

संसारमा सबै व्यक्ति आफैँमा प्रथम र अद्वितीय छन् । तिनलाई गिराएर सानो देखाउनु आवश्यक छैन । सानो र ठुलो त तुलना गरेपछि मात्र देखिन्छ । हावा र पानीको आकार कसले केसँग तुलना गरेको छ र ? महात्मा र शिशुको आवाजको आकार कुन विज्ञानले नापेको छ र ? जूनको शीतलताको गहिराइ कसले पत्ता लगाएको छ र ? हरेक पूर्णिमाका जूनतिर आँखा लगाउँदा मलाई लाग्छ जूनले त समुद्रको गहिराइभन्दा तलको गहिराइमा बसेर त्यो गाढा अन्धकारबाट स्वर्णिम उज्यालो खोज्न मलाई सिकाइरहेको छ ।

मौजुदा ज्ञानले भन्छ जूनको आफ्नो उज्यालो छैन । ऊ अरूबाट उज्यालो लिन्छ र आफू उज्यालिएर अरूलाई नै उज्यालो दिन्छ । जन्मँदा मानिसका पनि सबै इन्द्रिय निष्क्रिय नै हुन्छन् । जन्मनासाथ प्राणवायु लिएर मानिसले आफूलाई सक्रिय बनाउँछ । मानिसको सक्रियता प्रकृतिमा निर्भर हुन्छ । हावा नभए मानिसको पहिलो श्वास नै असम्भव थियो । शीतलताको जन्म नै हुने थिएन । सायद जूनबिनाको जीवन कल्पनातीत हुन्थ्यो । शीतको थोपा, आकाशको सौन्दर्य, कविताको अलङ्कार जूनले नै दिएका हुन् । ऊ अरूलाई दिन सिकाउने असल गुरु हो । हाम्रो शिक्षामा दिन सिकाउने गुण नभए स्वार्थ जन्मन्छ  र त्यसले उज्याला आँखामा अँध्यारो खोज्न सिकाउँछ । अँध्यारो चिर्ने सिकाइ मात्र जीवनोपयोगी हुन्छ ।

हजारौँ ताराबिचमा आँखाले जून देखेजस्तै हाम्रो विकास र उन्नतिका आँखामा शिक्षा प्राथमिकतामा पर्नुपर्छ । सबैबाट सिकेर सिकाइको प्रतिफल सबैलाई बाँड्ने तत्परता जूनको शीतलता जस्तै हो । कुहिराको काग बनाउने शिक्षाभन्दा अँध्याराको जुनकिरी बनाउने सिकाइको मानवीय मूल्य बढी हुन्छ ।

मानिसको जन्म अँध्यारबाट हुन्छ । आमाको कोख अँध्यारो छ ।  पेट अँध्यारो छ । मस्तिष्क अँध्यारो छ । आकाश अँध्यारो छ । पानीको गहिराइ अँध्यारो छ । बिउको उम्रने क्षमता अँध्यारामा छ । मानौँ संसारको सृष्टि अँध्याराबाट सुरु भएको छ । अँध्याराबाट निस्कने हरेक वस्तुले उज्यालो लिएर आउँछन् । अँध्यारो कोपिलाभित्र उज्यालो फूल हुन्छ । अँध्यारो बादलभित्र शीतल थोपा हुन्छ । अँध्यारो चिरेर निस्कने जूनलाई हेर्दा मलाई लाग्छ संसारमा उज्यालाको भन्दा अँध्याराको मूल्य छ ।

उज्यालो सिर्जना हो तर अँध्यारो सर्जक हो । सर्जकका सोचमा अनन्त सिर्जना हुन्छ । मानिसको दिमागमा बरफ, जिब्रामा गूढ र हृदयमा ममता हुने हो भने उसले हरेक अँध्यारामा उज्यालो देख्न थाल्छ । ती उज्यालो आविष्कार, रचना, कला, सङ्गीत, विकास, परिवर्तन, भावना बनेर सप्तरङ्गी इन्द्रेनी बन्न सक्छन् । मेरो कोठामा पसेर मलाई उक्साउने, सम्झाउने र झस्काउने जूनका किरण बन्न सक्छन् । मानवीय कर्ममा गति शक्ति हुनुपर्छ । हाम्रा प्रत्येक पाइलाका डोबमा सकारात्मक सोचको प्रतिविम्ब हुनुपर्छ ।  मानिसको बुद्धिले समाजको नेतृत्व गर्नुपर्छ, नेतृत्वले समाजको रूप बिगार्नु हुँदैन । म रातको उज्यालो हेरिरन्छु तर हरेक पूर्णिमाको जूनले मलाई थुमथुम्याएर मेरो मस्तिष्कको नवीकरण गर्न सिकाएर फर्किन्छ । मेरो सोचको नवीकरण हुन नपाउँदै पुनः झमक्क रात परिसक्छ । मेरो अँध्यारो मस्तिष्कले चाहिँ अँध्याराभित्रको जून खोजिरहन्छ ।

म जून होइन तर जूनजस्तै बन्न सक्छु । जून बन्नु सिक्नु र सिकाउनु हो । म आजीवन अँध्यारोभित्रबाट उज्यालो खोजिरहन्छु ।