(वि.स. २०५३मा मैले गोविन्दबहादुर मल्ल ‘गोठाले’लाई साक्षात्कार गरेर एउटा लेख अङ्ग्रेजी भाषामा द काठमान्डु पोस्टमा प्रकाशित गरेको थिएँ । सोही लेखलाई भावानुवाद र केही परिमार्जन गरी नेपालीमा लेखेको छु । यसर्थ यो लेखले त्यही कालखण्ड प्रतिनिधित्व गरेको छ र त्यस समय पछि उनले लेखेको सिर्जनाको उल्लेख गरिएको छैन र घटना क्रमलाई पनि समावेश गरिएको छैन ।)
धेरैलाई गोविन्दबहादुर मल्ल ‘गोठाले’ यो लोकमा छ जस्तो लाग्दैन – विस्मृति हराए जस्तै । किनभने उनी विरलै सार्वजनिक रूपमा देखा पर्छन् र विरलै मिडियासँग कुरा गर्छन् । सायद, उनी धेरै पढिएका तर कम चिनिएका लेखक हुन् ।
गोविन्द बहादुर मल्ल, ७४, जो “गोठाले” उपनामले चिनिने गरिन्छ उनी गरिमामय साहित्यिक पारिवारिक विरासतको एक हिस्सा हो । प्रजातन्त्र पूर्व र उत्तरोत्तर युगको सबैभन्दा प्रमुख साहित्यिक पत्रिका ‘शारदा’का संस्थापक सम्पादक पिता ऋद्धिबहादुर मल्लबाट प्रेरित भएर गोठाले अठार वर्षको उमेरमा साहित्यिक क्षेत्रमा प्रवेश गरे र चालीस वर्ष नपुग्दासम्म निकै सक्रिय रहे । चालिस पछि क्रमशः निष्क्रिय हुँदै गए ।
बाल्यकालमा मल्ल परिवार साहित्यकारहरूको केन्द्रबिन्दु थियो र यहीँ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, भवानी भिक्षु, सिद्धिचरणलगायत अन्य धेरै महान् साहित्यकारहरूसँग उहाँको सम्पर्क र परिचय भयो ।
राणा शासनकालीन उच्च पदस्थ अधिकारी छोरा र नातिको हैसियतले सप्तरीको आफ्नो फराकिलो खेतीयोग्य जमिनमा बारम्बार जाने गरेता पनि उनी खेतीपाती गर्न वा गाईबस्तु हेर्न कहिले गएनन् त्यहाँ । तर उनको उपनामसँग जोडिएको एउटा रमाइलो किस्सा छ ।
’सन् १९४० मा प्रजातान्त्रिक आन्दोलनका क्रममा म पक्राउ परेपछि थप दण्डबाट बच्न भवानी भिक्षुले दिएका उपनाम गोठाले राखेर मेरो पहिलो कथा उसको भाले शारदामा लेखें । मलाई उपनाम दिने श्रेय भिक्षुलाई जान्छ जस्तो लाग्छ,’ उनी मुस्कुराउँदै भन्छन् ।
उनी भन्छन्, ‘कथाकारहरूमध्ये केहीको नाम लिने हो भने म धेरैजसो बिपी कोइराला र भवानी भिक्षुबाट प्रेरित थिएँ ।’
एक प्रमुख कथाकारका रूपमा गोठालेले पात्रहरूको मनोविश्लेषणात्मक अध्ययनलाई नयाँ आयाम दिएका छन् । गोठालेका कथाहरूले उनको असामान्य पात्रहरूको मानसिक द्वन्द्व देखाउँछन् । ‘के गरेकी शोभा’मा यौन तृष्णा र नैतिकता बीचको द्वन्द्व, ‘मैले सरिताको हत्या गरें’मा मुख्य पात्रहरूको उदासीनता र ‘आधार’, ‘भाँडो’ र ‘बिचारी ऊ’ जस्ता कथाहरू यसका उदाहरण हुन् ।
‘भाँडों’मा, उनले देखाउँछन् कसरी एउटी महिलाले गरिब केटाको उपस्थितिलाई बेवास्ता गरेर उसको अगाडि नुहाएर आफ्नो अङ्ग प्रदर्शन गर्छे तर आफ्नो देवर देख्ने बित्तिकै लुगा लगाउँछे । उनले यो कथामा नेपाली महिलाको नैतिकतामाथि प्रश्न उठाएका छन् ।
यसअघि उनले घरेलु र सामाजिक विषयमा पनि लेखेका थिए । ‘त्यस्को भाले’, ‘महापाप’, ‘लक्ष्मीपूजा’ र ‘निद्रा आएन’-मा उनका बाल पात्रहरूलाई रोचक ढङ्गमा प्रस्तुत गरेका छन् ।
‘यौन पनि सामाजिक विषय हो । म हाम्रो समाजको हिस्सा भएकोले जे महसुस गर्छु त्यही लेख्छु,’ उनी भन्छन् ।
“म विद्यमान सामाजिक समस्याहरूको बारेमा लेख्ने प्रयास गर्छु ।” उनकै निवास स्थानमा भेटेर लिएको एक अन्तर्वार्तामा उनी भन्छन्, “केही लेखकहरूलाई राणाविरोधी भनेर भिन्नै व्यवहार गरिन्थ्यो र जसले नयाँ प्रयोग गर्न खोज्यो उसलाई राणा विरोधी भनेर भन्थे । त्यसैले हामी राणा विरोधी हुनु स्वाभाविकै थियो ।”
यौनमा लेखिएका कथा र उपन्यासहरू किन विवादित भएन भनेर सोधिएको प्रश्नमा उनी भन्छन्, “कम पाठक भएकाले हाम्रा कथा र उपन्यासहरू विवादित हुने प्रश्न नै थिएन । पाठकको कमीले यस्तो विषयमा कम चर्चा हुनु स्वाभाविक हो ।“
लेखनप्रतिको उनको लगावले उनलाई कथा लेखनमा मात्र सीमित राखेन । ‘पल्लो घरको झ्याल’ यौनवादी सामाजिक उपन्यासहरूमध्ये एक हो । यसको मुख्य पात्र मिश्री विवाहमा बाँधिएको छ तर शारीरिक रूपमा यौन असन्तुष्ट छे । उनी छेउछाउको घरको झ्यालबाट हेरिरहेको एक जना युवकलाई हेरिरहन्छिन् र अन्ततः उनीसँगै भाग्छिन् । नेपाली महिलाहरू आफ्ना पतिको यौन र भावनात्मक रूपमा सन्तुष्ट हुन नसक्ने भएता पनि आफ्नो पतिप्रति दृढ र वफादार रहन्छन् भन्ने मिथकलाई गोठालेले झुठो साबित गर्न खोज्छन् यस उपन्यासमा ।
नेपालमा प्रजातन्त्र प्राप्त भएको दिन २००७ फागुन ७ गते प्रकाशित हुने ‘आवाज दैनिक’का उनी पहिलो सम्पादक थिए । पछि उनले आफ्नो परिवारद्वारा सञ्चालित साहित्यिक पत्रिका ‘शारदा’को सम्पादन पनि गरे ।
‘नेपाली साहित्य अरूको जस्तो फस्टाउन सकेको छैन । त्यसैले मेरो कामको जति मूल्याङ्कन भयो त्यसमा म खुशी छु,’ उनी भन्छन् र थप्छन्, “तर, पाठकको सङ्ख्या नबढेकोमा म दुःखी छु ।’
‘च्यातिएको पर्दा’ र ‘भुसको आगो’ मनोवैज्ञानिक आयामहरू प्रस्तुत गरेको नाटक हो । दुई जना पुरुष पात्र भएको पहिलो नाटक एउटी केटीको बारेमा हो जसलाई दुई जना पुरुषले लोभ्याउँछ । एक पुरुष विवाहित र धनी छ र उनको शारीरिक आकर्षणद्वारा बढी आकर्षित छ; अर्को मदिरा र जुवाको लत लागेको छ अनि गरिब पनि छ तर केटीको स्वतन्त्रताको सम्मान गर्दछ र उसलाई इमानदारीपूर्वक माया गर्छ । केटीले पछिल्लो रोज्छे र यो छनौटको स्वतन्त्रता स्त्री व्यक्तित्वको स्वतन्त्रताको पुष्टि हो ।
दोस्रो नाटक एक विवाहित महिला उर्मिलाको वरिपरि कुदिएको छ । श्रीमानका सासू-ससुराले घृणा गरेपछि उनलाई घर ल्याउन दिइएन र उनीहरूले श्रीमानलाई फेरि विवाह गर्न बाध्य पार्छन् । उर्मिलाले स्वतन्त्र जीवन बिताउन रोज्छिन् र कलेजमा भर्ना हुन्छिन् । आफ्नी अशिक्षित दोस्रो श्रीमतीबाट दिक्क भएर उनका श्रीमान् उर्मिलासँग नजिक हुन चाहन्छन् र उनले पनि सकारात्मक प्रतिक्रिया दिन्छिन् । यद्यपि, उनको स्वतन्त्रताको भावना उसमा हाबी हुन्छ र उनीसँग जान अस्वीकार गर्छिन् । प्रेम र विवाह, समाजमा महिलाको हैसियत, पुरुषको वर्चस्व र यी विषयमा रूढीवादी विचारमा परिवर्तनको आवश्यकता गोठालेका प्रमुख विषय हुन् ।
उनका दुईवटा नाटक ‘च्यातिएको पर्दा’ र ‘युगको सिकार’ नेपाल टेलिभिजनमा टेलिफिल्म बनाएर देखाइएका छन् ।
नेपाली कथामा नयाँ प्रवृत्ति ल्याउने व्यक्ति गोविन्दबहादुर मल्लले जनता र सरकारबाट विरलै सम्मान पाएका छन् । हालसम्म उनले सन् १९८९ मा मात्र त्रिभुवन पुरस्कार पाएका छन् । यसबाहेक साहित्यिक संस्थाबाट पनि उहाँलाई घोर उपेक्षा गरिएको छ । उनले आफ्नो योगदानलाई जनताले कदर गरे तर पनि नेपाली साहित्यका लागि आफूले गरेको कामको उचित कदर नभएको बताउँछन् मल्ल ।
‘मैले वि.स. २०२१ पछि वातावरणको अभाव वा मेरै कमजोरीले हो क्यारे मैले धेरै लेखिनँ । यहाँबाट एक–दुईवटा नेपाली पत्रिका छापिन्थ्यो त्यसैले होला लेख्ने जाँगर र जोश पनि चलेन,’ उनी सम्झन्छन् ।
पुरानो कुरा सम्झँदै मल्ल भन्छन्, “शारदा प्रकाशनको बेला छपाइ सस्तो थियो एक हजार शारदा प्रकाशनका लागि पचास–६० रुपियाँ मात्रै तिर्नुपर्थ्यो । त्यो बेला धेरै सस्तो थियो प्रकाशन । सायद छपाइ महँगो भएकोले पनि होला कम पत्रिका निस्केको ।”
लेखनमा दुई दशक सक्रिय जीवन बिताएपछि, उनले अप्रत्याशित रूपमा लेख्न छोडे र व्यवसायमा लागे । अहिले उहाँ स्वतन्त्र हुनुहुन्छ र व्यवसायबाट अवकाश लिनुभएको छ । पछिल्ला केही वर्षदेखि उनको पुरानो जोश र जाँगर लेखनमा देखा परेको छ । हालसालै उनको लामो नाटक, केही कथा र संस्मरणहरू पत्र-पत्रिकाहरूमा छापिएका छन् । उनी भन्छन्, ‘आफ्नो दिमागमा जति विचारहरू भण्डारण गरेको छ, त्यसलाई सिर्जनात्मक लेखनमा ल्याउने प्रयास गरेको छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।