कसैले भनेको सुनेको थिएँ – विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले ‘हरेक मानिस पागलपनको सम्भावना बोकेर हिँडेको हुन्छ’ भन्थे रे । त्यो कति सत्य थियो मलाई थाहा छैन, तर उनले भनेको भए पनि नभनेको भए पनि या अरू कसैले भनेको भए पनि त्यो कुरा मलाई चाहिँ सत्य लाग्छ । त्यसो त बिपी पनि थोरै पागल नै थिए । पागल नभएको भए सर्वशक्तिमान् राणाहरूको विरुद्धमा उत्रने आँट गर्दैनथे होलान् । बिपी मात्र हैन हामीले इतिहास नियालेर हेर्‍यौँ भने देख्न सक्छौँ- हरेक महान् व्यक्तित्वमा केही न केही पागलपन लुकेको हुन्छ । धेरै टाढाको कुरा नगरौँ, हामीले चिनेकै देखेकै स्टिभ जब्स हुन् या एलन मस्क, सबै नै पागल जस्तै लाग्छन् । मैले भनेको हैन, उनीहरूका व्यवहार नै पागलका जस्तै छन् ।

हामीलाई थाहा छ- पागलपन हाम्रो दिमागको उपज मात्र हौँ, हाम्रो दिमागको अवस्थाको बाहिरी चित्रण हो । हाम्रा हरेक सोच र हरेक क्रियाकलापहरू सबै दिमागबाट नै सञ्चालन हुन्छन् । यो जटिल अङ्ग अत्यन्त अनौठो पनि छ । कहिले निकै शान्त हुन्छ कहिने निकै आलोडित! कहिले सामान्य हुन्छ कहिले पागल!

पागल भन्ने बित्तिकै अधिकांशले नराम्रो दृष्टिले हेर्छौँ । दिमागले काम गर्न नसकेर नियन्त्रण बाहिर गएको सम्झन्छौं । बिरामी भएको सम्झन्छौँ । तर पागलपन आफैमा नराम्रो हैन, हामीले त्यसलाई नराम्रो बनाइदिएको मात्र हो ।

दिमागमा गम्भीर रोग लागेर केही समस्या आएको अवस्थाको पागलपन बाहेक अधिकांश पागलपन दिमागमा हामी आफैले लगाएको नियन्त्रणको परिणाम मात्र हो । जसरी घरपालुवा जनावरहरूलाई दाम्लोले बाँधेर गोठमा हुलेर राख्दा उनीहरूले विद्रोह गर्न खोज्छन् त्यसरी नै हामीले पनि हाम्रो दिमागलाई नियन्त्रण गर्दा यसले विद्रोह गर्न खोज्छ । त्यसैलाई हामीले पागलपन भन्छौँ ।

समाज विकासको क्रममा हामीले सामाजिक नियमहरू बनाएका छौँ । ती नियमहरू व्यक्तिगत र पारिवारिक सुरक्षा, लाज, डर, संकोच अनि आत्म सम्मान र इज्जतलाई ध्यानमा राखेर बनाइएका हुन्छन् । तर ती नियमहरू हामीलाई नियन्त्रणमा राख्ने बारहरू हुन् । ती नियमहरू यति प्रभावकारी छन् कि हामी ती  नियमका जन्जिरले आफूलाई बाँधेर राखेका छौँ । ती जन्जिर खोल्ने साँचो हामीसँगै छ तर हामी खोल्न सक्दैनौ । हामी रुँदा हामीलाई लाज लाग्छ, जोडले मन फुकाएर हाँस्दा संकोच लाग्छ । आफूले सही ठानेको कुरा गर्दा उपहासको पात्र बनिएला भन्ने डर लाग्छ । आजको मानिस आफैले बनाएको परिधिभित्र आफै कैद भैराखेको छ र खुशी भएको अभिनय गरिरहेको छ । यो बन्धन सिर्जना गरेर मानिस आफूले महान् काम गरेको भ्रममा बाँचिरहेको छ ।

नियन्त्रित परिधि बाहिरको जीवन कस्तो होला भनेर एक पटक आफू बच्चा भएको समय सम्झनुस् त! आफ्नो बाल्यकाल सम्झन सक्नुहुन्न भने आफ्नो वरपरको कुनै बच्चाको क्रियाकलापको अवलोकन गरे पनि हुन्छ । कति खुशी हुन्छन् बच्चाहरू! कति उत्सुक र कौतूहल हुन्छन् उनीहरू! हरेक कुरा सिक्न खोज्छन् । न त उनीहरूलाई रुँदा लाज लाग्छ, न त हाँस्दा संकोच । न त उनीहरूले एउटा असफलताबाट विचलित भएर आफ्नो प्रयास छोड्छन् न त कसैले नराम्रो भन्ला भनेर आफूले गर्न चाहेको काम गर्न हिचकिचाउँछन् । त्यही कारण हो, बच्चाहरू खुशी हुन्छन् ।

तर जब हामी बढ्दै जान्छौँ, समाजले हामीलाई थुन्नको लागि, हामीलाई नियन्त्रण गर्नको लागि अनेक परिधि लगाउँछ । हामी त्यो परिधि भन्दा बाहिर जाने हिम्मत गर्दैनौं । बाहिर गएमा त्यो हिम्मत र विद्रोहको लागि समाजले हामीलाई दिने सजायसँग त्रसित हुन्छौँ र जिन्दगीभर त्यही परिधिभित्र मन खुम्चाएर बाँच्छौँ ।

तपाईँलाई लाग्दैन- यस्तो जीवन पनि के जीवन ?

हामी भन्दा धेरै खुशी र स्वतन्त्र त जनावरहरू छन् । तर कसैले उनीहरूलाई पागल भन्दैन । बगैँचामा फलेका स्वादिष्ठ फल खाँदा कसैले कुनै पक्षीलाई पागल भन्छ ? भन्दैन ।

फूलमा भ्रमरले रस चुसेर तृप्त हुँदा कसैले उसलाई पागल भन्छ ?

भन्दैन ।

सिंहले जरायोलाई मारेर आफ्नो भोक मेटाउँदा उसलाई कसैले पागल भन्छ?

भन्दैन ।

तर हामीले कसैको बगैँचामा फल नसोधेर खायौँ भने हामीलाई चोरको संज्ञा दिइन्छ । किन खाएँ भनेर आफ्नो तर्क पेश गर्‍यौँ भने हामीलाई पागल भनिन्छ । त्यसैले मानिस आफ्नै अधिक बुद्धिको चक्रव्यूहमा कहिले उम्कन नसक्ने गरी फसेको छ ।

यदि हामीले आफै कोरेका सामाजिक नियमका ती घेराहरू नहुँदा हुन् त हामी पनि अन्य प्राणी जस्तै अरण्यमा स्वच्छन्द विचरण गर्ने थियौँ, उपवनका फल चाख्दै गगन चुम्ने पक्षी जस्तै हुने थियौँ, र बागका पुष्प चहार्ने भ्रमर जस्तै हुने थियौँ ।

तर समाजले जति परिधिमा बाँध्न खोजे पनि यदि हामी आफ्नो जीवन भरपुर जिउन चाहन्छौँ भने हामी पागल हुनै पर्छ । पागलपन हाम्रो दिमागको सुन्दर उपज हो । यो हाम्रो सभ्यताको आविष्कार र विकास पनि यही नै हो ।

पागल पनि थरिथरिका हुन्छन् ।

कसैको कल्पनाशीलता अन्य मानिसको भन्दा भिन्नै हुन्छ । अरूले कल्पना गर्न नसक्ने कुराको कल्पना गर्ने, अरूले देख्न नसक्ने दृश्य देख्ने, अरूले सुन्न नसक्ने ध्वनि सुन्ने पागलहरूमा अलौकिक क्षमता हुन्छ । विश्व प्रसिद्ध गणितज्ञ र नोबेल पुरस्कार विजेता जोन नास त्यसका एउटा उदाहरण हुन् । यदि उनी पागल नहुँदा हुन् त आज हामीले उनले दिएको सिद्धान्त नपाउन सक्थ्यौं । उनी जस्तै हजारौं पागलहरूको कारणले गर्दा नै आज हाम्रो समाज यो अवस्थामा आइपुगेको छ । धेरै टाढा नजाऔँ- हाम्रै महाकवि लक्ष्मी प्रसाद देवकोटालाई पनि पागल भनिएको थियो । उनले पागल कविता नै लेखे । तर उनको पागलपनले नेपाली साहित्यलाई अतुलनीय योगदान पुर्‍यायो ।

हरेक दिन हाम्रो दिमागमा हजारौँ विचार आउँछन् । ती मध्ये कैयौँ विचारहरू अनौठा हुन्छन् । असम्भव जस्तै लाग्छन् । आफ्नो दिमागमा उब्जेका ती विचार कसैलाई सुनाउँदा मानिसले विश्वास नगर्ने मात्र हैन, पागलको संज्ञा दिन सक्छन् । संसारका महान् विचार, महान् आविष्कार, महान् सिद्धान्त त्यस्तै पागल भनिने विचारबाट त्यस्तै पागलको संज्ञा पाएका व्यक्तिबाट आएका छन् । त्यसैले पागल बन्न नडराउनुस् ।

कुनै पागलपन हिंस्रक पनि हुन सक्छन् तर अरूलाई बाधा नपुग्ने गरी पागल हुन सक्नु भनेको सामाजिक नियमलाई चुनौती दिने साहस देखाउनु हो । आफ्नो भयलाई परास्त गर्नु हो । यस्तै पागलपनले नै मानिसलाई सफलताको उचाइमा पुर्‍याउँछन् ।

आज हामी समाज, परिवार र व्यक्तिगत नियमका घेरामा जकडिएर आफ्नो मनमा लागेको कुरा पनि बोल्न सकिरहेका छैनौँ । कसैले सुन्यो भने के भन्ला ? जागिरबाट निकालिएला ! लोग्नेले या श्रीमतीले छोड्लान् ! बच्चाहरूको बिजोग होला ! साथीहरू रिसाउलान् ! समाजमा बेइज्जत होला ! जस्ता विचार मनमा आएर हामी ‘पागल’ बन्न हिचकिचाउँछौँ ।

हामी आफूभित्रका रिस, करुणा, सुख, दुख, हाम्रा अनौठा सोचहरू सबैलाई मनभित्र गुम्स्याएर जिन्दगीभरि बेखुशी भएर बाँच्छौ अनि ती सबै भावनाहरू मनभित्र नै राखेर कात्रोमा बेरिन्छौं । हाम्रा विचारहरू पनि चिताको आगोमा हाम्रो देहसँगै खरानी बन्छन् र धर्ती र आकाशमा विलीन हुन्छन् ।

हामी धर्तीमा आउनको लागि मात्र आएको जसरी गुमनाम आएर गुमनाम नै फर्कन्छौ । न आफ्नो लागि केही गर्छौं, न परिवार र समाजको लागि । न आफू खुशी बन्न सक्छौँ, न अरूलाई खुशी बनाउन सक्छौँ ।  धर्तीमा आयो, दुई दिन बाँच्यो अनि गयो ।

त्यस्तो जीवन बाँच्नुको के अर्थ ?

समाजको लागि सबैले केही गर्न सक्नुपर्छ भन्ने पनि छैन । तर समाजको लागि नसके पनि आफ्नो लागि त गर्न सकिन्छ नि ! । आफूलाई त खुशी राख्न सकिन्छ नि ! आफ्नो जीवन त भरपुर बाँच्न सकिन्छ नि ! समाजले बनाएका कृत्रिम बन्धनबाट बाहिर निस्केर स्वच्छन्द बाँच्न त सकिन्छ नि ! आफ्नो मनका विचार बाहिर निकालेर मनलाई हलुङ्गो बनाउन त सकिन्छ नि ! कसैलाई मन पराएको छ भने प्रेम पूर्वक आफ्नो प्रेम प्रकट गर्न त सकिन्छ नि ! कसैले आफूलाई मन नपर्ने काम गरेको छ भने त्यसको स्वच्छ आलोचना त गर्न सकिन्छ नि ! आफूलाई मन लागेको काम गर्न त सकिन्छ नि ! आफूलाई जान मन परेको र जान सकिने ठाउँ जान त सकिन्छ नि !

भन्नु होला त्यसको लागि त समय र दौलत चाहिन्छ । अहँ चाहिँदैन । तर आँट भने चाहिन्छ । प्लेन चढेर विदेशको समुद्री तटमा गएर बालुवामा सुत्नुपर्छ भन्ने छैन । धर्ती सुन्दर छ । आफ्नै वरपर त्यो सुन्दरता खोज्न सकिन्छ । त्यसै पनि सुन्दरता आफ्नो दिमागको अनुभव मात्र हो । त्यसलाई सुन्दर देख्न सुन्दर नजर चाहिन्छ । दृश्य एउटै हुन्छ कसैलाई सुन्दर लाग्न सक्छ, कसैलाई कुरूप । फरक त्यति मात्र हो ।

त्यसैले आउनुस् हामी पनि पागल बन्ने प्रयास गरौँ ।

हामी आजसम्म अरूको लागि बाँच्यौँ । हामी परिवारको लागि, श्रीमान् या श्रीमतीको लागि, छोराछोरीको लागि, आमा बाबुको लागि समाजको लागि बाँच्यौँ ।  एक पटक अरू सबैलाई बिर्सेर आफ्नो लागि पनि बाँच्ने कि ? आफूलाई आनन्द आउने, आफूलाई खुशी बनाउने गरी बाँच्ने कि ? हो, यसो गर्दा अरूको खुशीलाई धेरै असर गर्नु भएन । सानोतिनो असर त हुन्छ नै तर अरूलाई असर नगर्ने गरी आफ्नो तरिकाले पनि बाँच्न सकिन्छ । यसरी बाँच्दा हामीलाई समाजले सन्काहा भन्ला, बौलाहा भन्ला, पागल भन्ला । हाम्रो इज्जत जाला, हामीले गाली खाऔँला, हाम्रो खिसीटिउरी होला । ती सबै लाज, भय, संकोच, बेइज्जत सबैलाई वास्ता नगरी एक पटक पागल बनेर त हेरौँ ! अनि बल्ल थाहा हुन्छ पागल बन्नुमा कति मजा छ  !