१. सिर्जना र समालोचनाको नयाँ दिशा: वातावरण र परिवृत्त
नयाँ रोगहरू उत्पन्न हुन्छन्, औषधि विज्ञानले तिनीहरूको निदान पनि पत्ता लगाउँछ । सिर्जनाको क्षेत्र पनि त्यस्तै हो । सांस्कृतिकता, जातीयता, लैङ्गिकताजस्ता विषयले लेखनका केन्द्रीय स्थान प्राप्त गर्नेछन् भन्ने कुरामा बीसौँ शताब्दी लागिन्जेलसम्म कसैलाई अनुमान थिएन, तर आजको लेखनले अनि लेखनको मूल्याङ्कन गर्ने क्षेत्र समालोचनाले यस्ता कैयौँ नयाँ क्षेत्रमा प्रवेश गर्दैछ ।
तीमध्ये एउटा नवीनतम र अत्यन्तै उर्वर क्षेत्र हो परिवित्तीय साहित्य । अर्थात् वातावरणलाई प्रधान विषय बनाएर लेखिएको साहित्य । प्रस्तुत रचनामार्फत म नेपाली वाङ्मयमा सर्वप्रथम यस विषयको आधारभूत परिचय प्रस्तुत गर्न चाहन्छु, किनभने विश्वलेखनको यसतिर प्रवेश देखेर नेपाली साहित्यको एउटा पक्षले त्यस दृष्टिकोणलाई आह्वान गर्न थालेको छ अर्थात् हाम्रो साहित्यले मानव तथा प्राणीजगत्लाई ठूलो नोक्सान उत्पन्न भएका वातावरण र परिवृत्तका लेखनको मूल्याङ्कन गर्नुपर्ने समय आएको छ ।
मानिसले गरेको अन्ध प्रगतिले र उसको विवेकहीन उपभोग लिप्साले भूमण्डल नै बिग्रन थालेको छ । यसैकारणले विगत दुई दशकदेखि विश्वभरि ‘इकोराइटिङ्’ अर्थात् वातावरणीय लेखन चलिरहेको छ, यस्तो लेखनको समालोचना गर्ने एउटा नयाँ सिद्धान्त पनि हुर्किरहेको छ । त्यो हो इकोक्रिटिसिजम् अर्थात् परिवित्तीय समालोचना । यसको लक्ष्य हो– वातावरण, पर्यावरण वा इकोलोजीलाई ध्यानमा राखेर लेखिएका साहित्यिक कृतिको समालोचना गर्नु । अर्को शब्दमा एउटा वातावरणविद्को दृष्टिले गरिएको साहित्यिक एवम् सांस्कृतिक समालोचनालाई परिवित्तीय समालोचना (इकोक्रिटिसिजम्) भनिन्छ ।
प्राचीन समयको स्थिर एवम् निर्मल वातावरण तथा त्यसमा आधारित संस्कृति बदलिँदै, परिवर्तित हुँदै गएपछि विज्ञान र प्रविधिका अनेक चोट र प्रहारले गर्दा आज वातावरणीय सङ्कट उत्पन्न भएको छ, हामी त्यो भोग्ने अवस्थामा पुगेका छौँ । इकोक्रिटिकले प्रकृतिभित्रको यही ऐतिहासिक पक्षको विश्लेषण गर्दछ । उसको निमित्त पर्यावरणीय विनाश, अथवा सामाजिक वा राजनीतिक संघर्ष विशेष महत्वका विषय हुन्, किनकि पर्यावरणीय प्रदूषण अथवा विनाशको प्रमुख कारक नै राजनीति हो । राजनीति भन्नाले भूमण्डलको दुरुपयोग रोक्न नसक्ने अझ उल्टै त्यसतिर प्रोत्साहित गर्ने स्वार्थप्रेरित निर्णयलाई अथवा निर्णयकर्तालाई सम्झिनु पर्दछ, जस्तै: वन विनाश गराउँदै बस्ती बसाउनेहरू, उन्नत भूमि मास्तै सहर फैलाउनेहरू, नदीलाई, वायुमण्डललाई प्रदूषित गराउनेहरू ।
वातावरणीय साहित्यतिर पश्चिमेलीको ध्यान गएको निकै भयो, तर यसले समालोचनाको एक पद्धतिको रूप लिएको चाहिँ भर्खरै हो । अहिले एक दशक नाघ्यो । विश्वमा भएको औद्योगिक विकासले ध्वंसात्मक रूप लिँदैछ, त्यसकारण इकोक्रिटिकहरू अर्थात् मानवको विनाशकारी प्रगतिबाट दिक्क भएका लेखकहरू प्रकृतिको आद्यरूपतिर फर्किंदै छन्, मानव विकास र स्वच्छ प्रकृतिको बीचमा सुसम्बन्ध स्थापना गर्न खोज्दैछन् । प्रकृतिको निर्मलीकरणतिर लागेका छन् ।
यस विषयलाई लिएर अनेकौँ सिर्जनात्मक कृति लेखिएका छन् । तीमध्ये दुईवटा नामी र पठनीय उपन्यास हुन् लेज्लिी मार्मोन सिल्कोको सेरेमोनी (१९७७) र लिन्डा होगानको सोलार स्टोर्म (१९९५) । यी कृतिमा दक्षिण अमेरिकाका स्थानीय वातावरणीय मूल्यलाई उत्तरका औद्योगिक पुँजीवादमा आधारित मूल्यका पृष्ठभूमिमा प्रस्तुत गरिएको छ । यस प्रकारले विपन्न र सम्पन्न भूभागका वातावरणीय चेतनालाई जोडने प्रयत्न गरिएको छ । विकृति औँल्याउने प्रयत्न गरिएको छ ।
अन्यत्र पनि, एकप्रकार विश्वभरि वातावरणीय प्रदूषण खप्न बाध्य समुदायहरू वा राष्ट्रहरू आज सचेत भएका छन् र उनीहरूले वातावरणीय न्यायको लागि आन्दोलन नै चलाएका छन् । विषादीहरू खुला ठाउँमा छोड्ने, जल, वायु र भूमिलाई प्रदूषित गर्ने कार्यले मानव तथा प्राणीजगत्लाई ठूलो नोक्सान पुर्याइरहेका छन् । ठूलठूला बाँध, सडक, हाइड्रोपावर र सुरुङमार्गले त्यही खतरा निम्त्याउँदै छन् । अन्धाधुन्दा वनविनाश, आगलागी र जमिनको अत्यधिक (दुर) उपयोगले झन् ठूलाठूला खतरा उत्पन्न गरिरहेका छन् । गाउँगाउँ विस्थापित गर्ने र परम्परित प्रकृति र जीवनजगत्लाई ध्वस्त पार्ने कार्य भएका छन् । यसले परम्परादेखि एक ठाउँमा बसेर त्यहाँका प्राणी, वनस्पति, जलवायु धरातल, खाद्यान्न, सांस्कृतिक जीवनसँग रसाएका मानवले अन्यत्र सर्नुपर्दा ठूलो कष्ट र दुःख भोग्नु पर्दछ । उनीहरूको संस्कृतिचेत विखण्डित हुन्छ, भौगोलिक, सामाजिक र ऐतिहासिक चेतनाको भञ्जन हुन्छ । अन्य प्राणी र वनस्पतिलाई पनि त्यस्तै खतरा पुग्छ । उदाहरणको लागि कति मानिस पहाडबाट गाईगोरु, कुकुर आदि लिएर मधेस झर्छन्, तिनको त्यहाँ चाँडै मृत्यु हुन्छ । हालै चिडियाखानामा राखिएका जेब्रालगायत धेरै जीवको मृत्युदर कहिल्यै थामिएको छैन ।
इकोक्रिटिकहरूले यिनै कुरा हेर्दछन्— एउटा कृतिको परिवित्तीय समालोचना गर्दा स्थापित परम्परा कसरी किन कुन कारणले विस्थापित हुँदैछ, त्यसैको चिन्ता प्रकट गर्दछन् । संरक्षणका वैकल्पिक उपायहरू बताउँछन् । पहिले पनि प्रकृतिको विषयमा प्रशस्त सिर्जना भएका छन्, तिनको व्याख्या विश्लेषण पनि भएको छ, तर कट्टर मार्क्सवादी अथवा नवइतिहासवादी समालोचकले भने प्रकृतिमा त्यस्तो कुनै तत्त्व देख्तैनन् । उनीहरू त्यहाँ देख्छन् ता केवल पुरातन सिद्धान्त । त्यसैकारणले कतिले मार्क्सवादलाई वातावरण विरोधी दर्शन पनि भनेका छन्, किनभने यस दृष्टिले हेर्दा पर्यावरणमा शुष्क भौतिकताको संयोजन मात्र देखिन्छ । उनीहरू प्रकृतिलाई बाधक तत्त्व देख्तछन् । त्यसलाई बाँधेर छेकेर फटाएर विज्ञान र प्रविधि खन्याएर त्यसमाथि विजय प्राप्त गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन् । आर्थिक मूल्यका अघिल्तिर अरू मूल्य छोपिन्छन् । पर्यावरणीय संवेदनालाई अतीतस्मृतिको एउटा अङ्ग र प्रतिक्रियापूर्ण शक्तिको रूपमा देख्तछन् । परन्तु इकोक्रिटिकले चाहिँ यसमा एउटा जीवन्तता र जीवनकै सूक्ष्म रूप देख्तछन् । सहसंवेदना र प्रेमले त्यसलाई हेर्दछन् । त्यसको संरक्षण र पुनः स्थापनामा जोड दिन्छन् ।
० ० ० ०
२. लेखनमा नयाँ विश्वचेतना
वर्तमान समयको पर्यावरणीय समालोचना अघिको प्रकृतिलेखन रोमान्टिसिजम्भन्दा टाढा, फरक, अर्कै भइसक्यो । त्यसैले आजका समालोचकले कति कृतिको पर्यावरणीय पठन गर्दछन्, कतिले ता पशुअधिकारको दृष्टिले पनि कृतिको विश्लेषण गर्दछन् । ग्लोबल वार्मिङ् र त्यसले उत्पन्न गर्ने मौसम परिवर्तनजस्ता डरलाग्दा परिणाममुखी हाम्रा क्रियाकलापले अहिले संसारलाई तर्साउन थालिसक्यो । अब प्रकृति लेख्नेले यी महासङ्कटलाई देखेन भने, लेखेन भने, यसबारे सजग भएन भने उसको लेखन अर्थहीन हुन्छ । यो नयाँ विश्वचेतना हो, त्यसैले अब लेख्नेले केवल कालो पोतेर हुँदैन । त्यो उद्देश्यपूर्ण, अर्थपूर्ण सामयिक हुनुपर्छ । लेख्नु विलासिता वा लहड होइन यो ता काँधमा चेतनाको भारी बोकेर हिँड्ने काम हो । इकोराइटिङ र इकोक्रिटिसिजम् भनेको उत्तरआधुनिक चेतनाले खोलेको सिर्जना–समालोचनाको नवीनतम पथ हो । अब हाम्रो सिर्जनाको एक भंगालाले त्यता बग्नेबेला आयो । बग्न थाल्यो ।
त्यसैकारण अहिले साहित्य–सिर्जनाको, अध्ययनको र अनुसन्धानको नयाँ क्षेत्रको रूपमा ’वातावरण साहित्य’ले व्यापक रूप लिँदैछ । पर्यावरणीय क्षय कति हानीकर हुनसक्छ भन्ने कुरा बुझाउन ’पर्यावरणवाद’ आन्दोलनको रूपमै चल्न थालेको छ । वास्तवमा यो सुरुमा प्रकृतिको वाइल्ड (निर्जन) अवस्थाको प्रेमबाट विकसित भएको थियो, तर साथसाथै यसले पर्यावरणसँग जोडेर मानवको स्वास्थ्य, आवास, खानाको स्थितिबारे चिन्ता लिन थाल्यो । उदाहरणको लागि उद्योगहरूबाट उत्पन्न हुने विषादी केमिकललाई खुला छाड्नाले मानव र पशुको, प्राणीको मात्र होइन, वनस्पतिको समेत स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुरातर्फ आज मानवअधिकारवादीको पनि ध्यान जाँदै छ ।
प्राकृतिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु, जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको सिकार गर्नु, खानी खन्दै पहिरो लडाउनु, जङ्गललाई साफ गर्नु– गम्भीर चिन्ताका विषय हुन् । पशुपालनका परम्परित विधि हराएपछि, कृषिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन थालेको छ । फाँटहरू मासेर घर बनाउन थालेपछि त्यस्तै हुन थालेको छ । यी कुराको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो । त्यो साहित्यमा र त्यसको समालोचनामा तिनै कुरा हुन्छन् ।
यसो भनेर पर्यावरणवादले पुरानो कुराको पुनः स्थापना मात्र खोज्ने होइन, अपितु पर्यावरणवाद ता औद्योगिकमा आधारित आधुनिकताको आलोचक हो र यो यसैको प्रत्युत्पादन पनि । यो पूर्ण रूपले आधुनिक आन्दोलन हो र विज्ञानले यसको विस्तारमा अपरिहार्य भूमिका खेलेको हुन्छ । उदाहरणको लागि धुवाँको लेभल कति भयो, धूलकणको कति भयो, केमिकलको असर हावामा कति छ, पानीमा कति, खतराको लेभल के हो, ग्लोबल वार्मिङ् कसरी बढ्दैछ, त्यसले कसरी पृथ्वीलाई असर गर्दैछ भन्ने कुरा अनुमानको भरले हुँदैन, यसको लागि ता विज्ञान र प्रविधिकै सहयोग चाहिन्छ । फेरि ती विषयका ज्ञान पनि इमेल, इन्टरर्नेटजस्ता आइटीका माध्यमले ओसारपसार गर्न सकिन्छ । यसरी हेर्दा प्रविधिले हाम्रो ज्ञानचक्षु खुलाएर जगत्लाई वैश्विक परिवेशबाट हेर्न सिकाउँदैछ । यसरी साइबरसंस्कृति र इकोराइटिङ जोडिएका छन् । यस्ता विषयमा तथ्यगत ज्ञान नराखी अब उप्रान्त लेख्नबोल्न सकिँदैन ।
० ० ० ०
३.वातावरणप्रतिको सचेतता र सिर्जनामा त्यसको स्थान
जैविक विविधताको ह्रास, ओजन तह विनाश, ऊर्जाको अन्त्य, आणविक ऊर्जाको निर्माण आदिले गर्दा विश्वभरि मौसममा आएका परिवर्तन खतराका सङ्केत भएका छन् । वातावरणीय सन्तुलन बिग्रेर त्यसको असर विश्वव्यापी भएको छ । यस्ता कुराको चिन्ताले जीवनको भित्री तहसम्म छोएर झस्काउन थालेपछि साहित्य–कला–संस्कृतिको अन्तरतह पनि प्रभावित हुँदैछ । त्यसैकारणले अहिले आएर वातावरणीय चिन्तन चेतनामूलक कार्यक्रममा सीमित नरहेर साहित्यमा र समालोचनामा पनि पुग्यो ।
अझ भनौँ– वातावरणीय संस्कृतिको बारेमा चिन्तन गर्ने वातावरणीय दार्शनिकहरू पनि जन्मेका छन् । यिनीहरूको चिन्ताको विषय छ वायोस्फेरिक डिग्रेडेसन— जीव मण्डलीय क्षय । सन्सारका प्राचीनतम र ठूलठूला मत्स्यकेन्द्रको क्षय वा विनाश, भूमध्यसागरीय जङ्गलको निरन्तर विनाश, कृषियोग्य जमिनको विनाश– परिणामस्वरूप अनेकौँ प्रजातिका प्राणी र वनस्पतिको लोप आजका डरलाग्दा चिन्ता हुन् । संस्कृति लोप जस्तै हो यो कुरा, भाषिक मृत्यु जस्तै हो यो कुरा । वातावरणविद्हरू जगत्लाई यस्ता कुरा बुझाउन खोज्दै छन्, हाम्रा मूर्खताको दुष्परिणामबारे जगत्लाई सजग पार्न खोज्दैछन्, ती विनाश तर्काउने प्रयत्न गर्दैछन् । भारतका नर्वदा बाँध, चासनाला घटना, भोपालका नरसंहारक दुर्घटना, रुसको चेर्नोविल दुर्घटनाका परिणाम संसारलाई झस्काइरहने घटनाका उदाहरण हुन् । हानै उत्तरको हिमराशि पग्लिँदा एकदिन यी नदीहरू सुक्न सक्ने तर्क आउन थालेका छन् । प्रकृतिसँग भएको जुनसुकै भण्डार पनि अनन्त छैन, हाम्रो स्वार्थपूर्ण हस्तक्षेपले झन् छिटो त्यसलाई रित्याइदिँदै छ।
यस्ता प्रकारका वातावरणीय चिन्ता भोलिका गम्भीर समस्या हुन सक्छन्, तर वर्तमानका तात्कालिक समस्यातिर लागेर तिनलाई हामीले पन्छाइरहेछौँ । आज पाश्चात्य जगत्का थ्रिलर (रोमाञ्चक उपन्यास), कविता, पर्यटन विषयक प्रकाशन, वन्यजीवनबारेका डकुमेन्ट्री, मूभि, बालसाहित्य आदिमा यस्ता विषय आइरहेका छन् । उताका धेरै उपन्यास, कथा र खासगरी यात्रासाहित्यले यस विषयलाई गम्भीरतापूर्वक लिन थालेका छन्, ती कुरा लेखनका प्रमुख विषय हुँदै छन् ।
हाम्रोमा पनि यस विषयका चेतनामूलक प्रकाशन आउन थालेका छन्, तापनि गम्भीर साहित्यमा तिनको प्रयोग भएको छैन । अब मात्रै त्यस्तो साहित्य आउन थालेको छ। वातावरणीय समस्या हाम्रोमा नभएका होइनन्, पर्याप्त छन्, तर ती सुरुमा नदेखिने, तर्किने, क्रमिक रूपले बढ्ने, अत्यन्तै सूक्ष्म वा व्यापक हुने हुनाले त्यतातिर तत्काल ध्यान जाँदैन, जस्तै– रासायनिक उर्वरकको अत्यधिक प्रयोग, वनविनाश र जैविक प्रजातिहरूको लोप । यी पनि प्रकोप हुन्– भूकम्प, सुनामी, डढेलो, पहिरोजस्तै । तर एउटा पुस्ताले गरेका कार्यको दुष्परिणाम उसैले भोग्नु पर्दैन, धेरै पछि मात्र त्यो भोग्नपर्ने दिन आउँछ । त्यसकारणले त्यसको तत्काल चिन्ता नभएझैँ लाग्दछ । मानव र प्रकतिबीचको संघर्ष र विनाशको कथाले हाम्रा आख्यानमा, लिखित वा दृश्यात्मक माध्यमतिर हाम्रो ध्यान जान थालेको छैन । ती माध्यममा पर्यावरणको चिन्ता प्रकट भएको छैन ।
तर प्रत्येक दिन प्रत्येक रात हामी कुनै न कुनै प्रकारको विनाशमा लागेका छौँ । हालका महिनाहरूमै यस्ता केही घटनाहरू समाचारमा आए– नेपालमा बाँदरको सङ्ख्या घटाउन तिनीहरूको बन्ध्याकरण गरिएको कुरा, भुस्याहा कुकुर निमिट्यान्न हुने गरी मार्ने सस्तो प्रविधि लागू भएको कुरा, त्रिशूलीमा स्थानीय माछा समाप्त भएको कुरा दुःखद समाचार हुन् । गतवर्ष मात्रै समाचार आयो– अब चिराइतो मासिने अवस्थामा छ, लोक्त्ता पनि मासिँदै छ, टुसा बेच्ने भएर चुरेका बाँस सबै मासिए, बजारमा चुथ्रो, ऐंसेलु र काफलजस्ता फलका वाइन आउन थालेका छन्, यस पालिदेखि बेलको सर्बत आयो, अझ गुराँसको थपियो । बेलको सम्म ठिकै छ, त्यो फल हो, तर जब गुराँसका हाँगा टिपेर ‘औषधियुक्त’ भन्दै सर्बत बिक्रीवितरणको प्रयत्न सुरु भएपछि अब छिट्टै नै गुराँसको सर्वनाश हुने सम्भावना छ, यो देशबाट त्यो प्रजाति नै हराउने सम्भावना छ ।
वातावरणीय क्षयले उत्पन्न गर्ने परिणाम बताउन.तिनीहरूलाई व्यक्त गर्न देश र कालको जटिल सम्बन्धमा ती परिणाम बुझाउने कुनै तात्कालिक माध्यम छैन, त्यसैकारणले व्यक्तिगत जीवनलाई छोएर, ती कुराको प्रभाव देखाउने गरी लेखिएका कृति र कलाहरू हत्तपत्त पाइन्नन् । त्यसैले इकोक्रिटिकलाई उपयुक्त सामग्री फेला पार्न मुस्किल पर्दछ, अझ इकोक्रिटिसिजम् पनि समालोचनाको एउटा क्षेत्र हो भन्ने कुरा हाम्रो परिवेशमा अवगत गराउन सकिएको छैन ।
आर्थिक वृद्धि भन्दैमा ध्वंसात्मक उपाय अपनाएर गरिने क्रियाकलापको पर्यावरणीय सचेतकले विरोध गर्दछन् । तर अर्कातिर हाम्रा क्रियाकलाप बन्द गरेर मानिसको जीविका र आयआर्जनमै बाधा पुग्दछ भने आवश्यक वातावरणीय सचेतताको विषयमा पुनर्विचार गर्नु पर्ने पनि हुन सक्छ । परम्परागत अभ्यासलाई कतिपय नयाँ संस्कृतितिर धकेल्नुपर्ने हुन्छ । त्यसकारणले अर्को छुट्टै वैकल्पिक नयाँ संस्कृतिको निर्माण गरेर पनि मानिसको स्वतन्त्रताको रक्षा हुनुपर्छ । यसप्रकार ’वातावरण’ सधैँ दोधारमा छ, मानव अधिकारको पालना गर्ने कि वातावरणको अधिकार । वातावरण पनि जीवन हो, यो जीवित रहन खोज्दछ, यसलाई जीवित रहन दिनुपर्दछ ।
० ० ० ०
४.इकोक्रिटिसिजम् र कृति विश्लेषणका आधार
अबको लेखकले कसरी आफ्नो लेखनमा इकोप्रति सजग हुनु, समालोचकले कसरी त्यो पत्ता लगाउनु– यी कुरा बुझ्नु आवश्यक छ ।
अबको समालोचकले परम्परित शास्त्र पढेको भरमा यी नयाँ कुरा देख्दैन, बुझ्दैन । उसले आफ्ना आँखा र कान चनाखा पारेर नयाँ कुरा पढ्न विश्वतिर फर्किनु पर्दछ । साहित्य अब आफ्नो परम्पराको साहित्य सिद्धान्तले मात्र चल्दैन, अन्यत्र पनि हेर्नुपर्छ ।
वर्तमान समयमा यस स्कुलका अगुवामध्ये एक हुन् लरेन्स ब्युल । उनको द इन्भाइरन्मेन्टल इमाजिनेसन (१९९५) शीर्षक कृति इकोक्रिटिसिजम्को एक महत्वपूर्ण मानक ग्रन्थ हो । यसमा उनले ड्याभिड थोरोको पालादेखिको प्रकृति लेखनको परम्पराको परीक्षण गरी इकोक्रिटिकल पोएटिक्स (पर्यावरण–चेत भएको काव्यशास्त्र) को स्थापना गरेका छन् । संसारभरिका लेखक र समालोचकलाई उपयोगी हुनेगरी उनले केही महत्वपूर्ण मार्ग निर्देशक बुँदा प्रस्तुत गरेका छन्, जस्तै-
१) मानवेतर वातावरण भनेको एक प्रकारको सिमाना (फ्रेमिङ्) मात्र होइन तर यो
एउटा यस्तो उपस्थिति हो जसले बताउँछ– प्रकृतिको इतिहासभित्रै मानव इतिहास
अन्तर्निहित वा निर्मित छ । (मानव र मानवेतरको भेद रहँदैन)
२) मानवको इच्छामात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन (अरूका पनि इच्छा छन् ।
३) वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृति भित्र आउनु पर्ने नैतिक दायित्वबोध हो, अनि
४) वातावरण भनेको मानवलाई प्रदत्त कुनै वस्तु नभएर एउटा परिवर्तनशील ज्यादै कमजोर, सधैँ संरक्षण खोज्ने प्रक्रिया (अस्तित्व) हो ।
यी सिद्धान्तसूत्र पढेपछि मानिस एकोहोरिएर स्वार्थतिर लाग्ने, स्वकेन्द्री हुने र पृथ्वीलाई आफ्नो खेलौना ठान्ने कामदेखि तर्छिन् सक्छ, अलिक होसियारीले पाइला चाल्न सक्छ, अतीतका मूर्खताप्रति पश्चात्ताप गर्न थाल्छ ।
आज ‘इको’ सँग जोडिएका अनेक लेखनप्रक्रिया, अनेक मान्यता र विधा झाँगिँदै गएका छन् । इकोराइटिङ, इन्भाइरन्मेन्ट लिटरेचर, इको पोएट्री, इकोक्रिटिसिजम् आदि सबै उत्तरआधुनिक परिवेशले जन्माएका नवपथ हुन् । गर्दागर्दै उत्तरआधुनिक परिवेशको नारी चेतना र इकोलोजीसँग जोडिएको नारीको जीवनलाई छोएर एउटा नवीन शास्त्रको स्थापना भएको छ– इकोफेमिनिजम् ।
आजको साहित्यमा ‘इकोक्रिटिसिजम्’ हेर्नेले अर्थात् इकोक्रिटिसिजम्को दृष्टिले कृति विश्लेषण गर्न चाहनेले केही नयाँ सूत्रहरू बुझ्न पर्दछ । यसअन्तर्गत ६ वटा दृष्टिकोणलाई सम्झिन आवश्यक छ । यी प्रत्येक शीर्षकको अलिकति व्याख्या गर्न चाहन्छु । ती निम्नानुसार छन्:
क) इकोलोजी (परिस्थितिविज्ञान/पारिस्थितिकी) को परिचय र महत्त्व
इकोलोजी (परिस्थितिविज्ञान / पारिस्थितिकी) ले वनस्पति र प्राणीबीच प्राकृतिक रूपले रहने अन्योन्याश्रित स्वभावको विशेषतालाई जनाउँछ । यसभित्र प्राणी अथवा जीवात र उनीहरूले अरूसित मिलेर उपभोग गरेका वातावरणलाई जनाउँछ । जीवहरूले आफ्नो अनुकूल वातावरणको निर्माण गर्दछन् भने वातावरणले पनि उनीहरूलाई आफ्नो अनुकूल पार्दछ । त्यसैले इकोलोजीले प्राणीहरूलाई आफ्नो वासस्थानबाट अलग्याएर प्रयोगशालामा राखी अनेक प्रकारले दुःख दिने परम्पराको पनि घोर विरोध गर्दछ ।
इकोलोजीले प्राणीशास्त्र, वनस्पतिशास्त्र, भूगर्भशास्त्र र मौसमविज्ञानसँग जोडिएर काम गर्दछ । इकोलोजीलाई प्रस्टयाउने अरू तीनवटा अवधारणा (हाँगा) छन् । ती हुन्– इकोसिस्टम, इकोलोजिकल निस र आहार–सिक्री ।
तीमध्ये पहिलो हो इकोसिस्टम अर्थात् पारिस्थितिक प्रणाली । यो भनेको जीवनलाई सञ्चालित गर्ने अनेकन् स्थानीय तत्त्वहरूको समूह हो । उदाहरणको लागि भूमध्यसागरीय जङ्गल अथवा हिमप्रदेश, सहारा मरुभूमि अथवा गङ्गाको मैदान आदि विशाल पारिस्थितिक प्रणाली हुन् । स्थानीय रूपले हेर्दा पहाड, मधेस, सिमसार, बुट्यान, चुरे, उपत्यका, चारकोसे आदि बेग्लाबेग्लै इकोसिस्टम हुन् । एउटा भौगोलिक अथवा मौसमी क्षेत्रबाट अर्कोमा प्रवेश गर्दा भिन्नै इकोसिस्टम भेटिन्छ । एक ठाउँमा बस्न, खान र जिउन बानी परिरहेको जीव वा वनस्पति अर्कोमा जाँदा कि आफू बदलिन्छ कि प्रणालीलाई बदल्न खोज्दछ । अथवा दुवै गर्न नसक्ता आफैँ मासिएर जान्छ । नयाँ सङ्कटको सामना गर्न नसक्ता पनि त्यो मासिएरै जान्छ । ससाना स्थानीय इकोसिस्टमहरू मिलेर एउटा ग्लोबल सिस्टम, बृहत्तर प्रणाली बन्दछ । यसलाई वायोस्फेयर अर्थात् इकोस्फेयर भनिन्छ । यो समग्र भूतल वा जीव–मण्डल हो ।
अर्को पद छ इकोलोजिकल निस अर्थात् पारिस्थितिक खोपी । यो भनेको एउटा ससानो स्थान हो, जहाँ जीव वा वनस्पतिको विशेष प्रजाति उत्पन्न हुन्छ, फैलिन्छ, रमाउँछ, बढ्छ र आफूलाई सुरक्षित ठान्दछ । त्यो प्रजातिलाई टिकाइराख्ने अनेक तत्त्व हुन्छन्— खाना, आवास, तापक्रम, तिनीहरूलाई खेद्ने अरू तत्त्व अर्थात् परभक्षी/परजीवी अन्य प्रतिस्पर्धी आदि । यस्ता कुराहरू आफ्नै परिवेशतिर फर्केर हेर्दा पनि हुन्छ– यता केशरमहलका चमेरा, वसन्तपुरका परेवा, पशुपतिका बाँदर, कुनै ठाउँका मुसा वा लोखर्के, सर्प वा गिद्ध, नदीका माछा, वनका कालिज, हुच्चिल वा फ्याउरा, बनढाडे वा बकुल्ला गर्दागर्दै कृष्णसार, गैँडा, बाघ, भालु, डल्फिनजस्ता ठूलाठूला जीवातसमेत लोप हुँदै गरेको सङ्केत र सूचना दिनदिनै आइरहेका छन् । किनभने तिनका खोपी (निस) मासिँदै छन् ।
त्यसैगरी मानिस पनि निश्चित प्रकृतिको खोपीमा रमाउने हुन्छन्— कपडा व्यापारी, वस्तु व्यापारी, मछुवा वा पुजारी, गोठाला, कृषक वा थोत्रोमोत्रो बेचुवा, जडीबुटी खोज्नेहरू, बालुवा झिक्नेहरू, साधुसन्त, शिक्षक, विद्यार्थी । सबैको आआफ्नै निस हुन्छ । तर जुनजुन तत्त्वले त्यो विशेष वासस्थल निर्माण गर्दछ त्यो पनि बदलिरहन्छ– जङ्गलमा सखुवाका रूखहरू समाप्त पारेपछि सुगा समाप्त हुन्छ, सिमलसँगै बकुल्ला लोप हुन्छन् । सिमसार सकिएपछि बकुल्ला र हिलेमाछा समाप्त हुन्छन् । विषादीको प्रयोग भएपछि मांसाहारी गिद्धको, मुसाको विनाश हुन्छ । त्यसको असरचक्र अन्यत्र पनि सर्दै जान्छ ।
तेस्रो कुरा यसैगरी खाद्य वा आहारको सिक्री हुन्छ । कसले के खान्छ, कुन तत्त्वले खाइन्छ, कसरी के नाश हुँदा के नाश हुन्छ । प्रदूषित खाना–पानीको कारणले गर्दा पशुपतिका बाँदर रोगी, दुब्ला र ख्याउटे अनि आक्रामक हुँदैछन्, ती अनेक चर्म रोगले डल्लो पर्दैछन् । यस्ता उदाहरण सर्वत्र छन् । नेपाली लेखनमा यी सारा कुरा आए कि आएनन्, आए भने कसरी तिनलाई हेरिन्छ ? त्यसको हिसाब हुन्छ अब ।
इकोलोजीलाई अझ गम्भीरतासाथ हेर्नेहरू पनि छन्– तिनीहरू हरित क्रान्तिसित जोडिएका छन्, ती ’गम्भीर इकोलोजी’ का पक्षमा छन् । तिनीहरू पशुप्राणी जोगाऔँ, वृक्ष रोपौँ, फोहर नियन्त्रण गरौँ भन्नेजस्ता उपचारात्मक प्रक्रियापट्टि लाग्दैनन् । ती भन्छन्— मानिसले पृथ्वीलाई बिगार्ने, फुकाल्ने, यहाँका रूख काट्ने–रोप्ने, पानी थुन्ने, बङ्ग्याउने, मार्ग बनाउने, सुरुङ खन्ने, ग्यास छोड्ने– केही गर्ने अधिकार छैन । पृथ्वीलाई छुने पनि अधिकार छैन । त्यसैले केही नचलाऊ, केही नछोऊ । प्राणी र वनस्पतिलाई तिमीले माया देखाउने होइन, ती नछोऊ । उनीहरू मानवेतर जगत्को आफ्नो एक्लै जीवकेन्द्रित स्वतन्त्रताको पक्षमा बोल्दछन् ।
फेरि अर्का थरी पनि त्यतिकै गम्भीर पर्यावरणविद्हरू निस्केका छन्, ती हुन्- सोसल इकोलोजिस्ट अर्थात् सामाजिक पर्यावरणविद् । उनीहरू भन्दछन् सामाजिक संरचनामा पनि जैविक पर्यावरणमा जस्तै अर्को पर्यावरण छ । यो अनेक निर्मित छ । सामाजिक पर्यावरणमा अन्याय र अत्याचार समाप्त नभएसम्म, सबैमा समानता स्थापित नभएसम्म प्राकृतिक पर्यावरणको संरक्षण हुँदैन पनि ।
साँच्चै हो, चिडिमार केवल चरा मारेर जीविका चलाउँछन्, सपेराहरू सर्पकै सहाराले, खरायो, न्याउरी मुसा, कालेज, बनेलदेखि गैँडाका सिकारी छन्, निगुरो बेच्ने छन्, काठका ठेकी भाँडा बेच्ने छन्, पात बेच्ने, घाँस बेच्ने, कोइला बेच्ने, माछा–सिद्रा बेच्ने, रातोमाटो, चुनढुङ्गा, सिङ्गमरमर, कमेरो, स्लेट, बालुवा, ढुङ्गा सबैथोक बेच्ने छन्, दाउरा काठ र जङ्गली फलफूल खोजेर जीविका चलाउने, पशुपक्षीको सिकार गर्ने छन् । अनेक जडीबुटी खनेर जिन्दगी टार्ने छन् । यी मानिसलाई समाजको माथ्लो तहले धकेलेर त्यहाँ पुर्याएको छ । तिनको जीवनमा विकल्प नआएसम्म, नल्याएसम्म प्रकृतिको इकोसिस्टममा सुधार हुँदैन । यहाँ विभिन्न खालका यस्ता संस्कृति– जीवन पद्धति नै ’इकोलोजी’ भएका छन्, बालुवामा सुन खोज्ने, भीरमा मह खोज्ने, सिलाजित खोज्ने, जङ्गलमा पशुपक्षी, तिनीहरूको अङ्ग आदि । यस्ता खाले ’इकोलोजी’ साँच्चै इकोलोजीका घातक हुन्छन् । यिनीहरूलाई निरन्तरता दिनु हुँदैन ।
त्यसैले आजका लेखकले पर्यावरणीय परिवेशलाई बुझेर ती जिम्मेवारी स्विकार्न जान्नु पर्दछ । त्यसैअनुसार लेखनलाई उद्देश्यपूर्ण बनाउनुपर्दछ ।
अहिलेका परिवित्तीय समालोचकहरू विश्वभरिका लेखक तथा समालोचकसमक्ष आह्वान गर्दैछन्- हामीले वैज्ञानिक जगत्मा आएका परिवर्तनको ख्याल राख्नुपर्छ, तिनबाट सञ्चालित र निर्देशित हुनुपर्दछ । ती व्यापक, तीव्र, विशाल र गतिमय छन् । त्यो गतिमयता नबुझी गरिएको लेखन असामयिक र वास्तविक जगत्भन्दा टाढा हुन जान्छ । वास्तवमा विश्वको चरित्रमा भनौँ प्रकृतिको स्वभावमा नै विविधता र बहुलता छ । आजका वातावरणविद्को उद्देश्य पनि त्यसैको संरक्षण गर्नु हो । विविधता हरेक प्रकारका छन्— सौन्दर्यपरक, नैतिक, उपयोगितावादी, जैविक, पर्यावरणीय सबै मिलाएर हेर्दा यो सधैँ तरल र अस्थिर पनि रहन्छ । विविधता र अस्थिरता सँगसँगै हुन्छन् ।
कहिलेकाहीँ यो परिवर्तनले इकोलोजीलाई सकारात्मक रूपले योगदान पुर्याएको पनि पाइन्छ । जस्तो कि ग्यास चुलो र मट्टितेलको अत्यधिक प्रयोगले गर्दा काठमाडौँ वरिपरिका डाँडाकाँडा पूर्ण रूपले हरियालीयुक्त भइसके, त्यहाँ दाउराको लागि जङ्गल कटान प्रक्रिया हराउँदै गयो । त्यहाँ जीवजन्तु बढ्दै गए । निर्माण सामग्रीमा पनि फलाम र आलुमिनियमको अनि चुलामा ग्यासको प्रयोगले पनि अन्यत्रका सहर वरिपरिको समेत जङ्गल विनाशको तीव्रता कम हुन सक्छ । यी कर्ण शाक्यको अनुभवले बताएका कुरा हुन्- माओवादीहरू जङ्गलमा व्याप्त भएपछि त्यहाँ गाउँलेहरू जान छाडे, पशुप्राणी बढे, जङ्गल विनाश कम भयो । तर फेरि उनीहरूकै हातबाट कति जङ्गल विनाशको खबर आइरहेछ, त्यो अर्कै पाटो हो । गाउँमा सौर्यऊर्जा र गोवरग्याँसको प्रयोगले पनि पर्यावरणको पक्षमा विकल्प प्रदान गर्दैछ ।
ख) मानवकेन्द्री तथा पर्यावरणकेन्द्री तर्कहरू
पारिस्थितिकीलाई हेर्ने दुईवटा अलगअलग दृष्टिकोण बनेका छन् । एउटाले भन्छ यो विश्व मानवजातिको उपभोगको निमित्त बनिएको बगैँचा हो । यो नृतत्वकेन्द्री (एन्थ्रोपोमर्फिक) धारणा हो । यसले विश्वलाई मानवको आँखाले मात्र हेर्दछ । अर्कातिर एउटा पारिस्थिकी अभियन्ताको दृष्टिले हेर्दा पृथ्वीको, जलवायु, माटो, जीवजाति, वनस्पति जस्ता अनेकौँ तत्त्वमध्ये केवल एउटा तत्त्व हो मानव । त्यसकारणले पृथ्वी मानवको एकलौटी र पेवा होइन, हुन सक्तैन । नबोल्नेको पनि यसमाथि त्यतिकै हक लाग्छ । यो सबैको साझा वास भएकाले पारिस्थितिकीलाई केन्द्रमा राखेर सोच्नु पर्दछ ।
सबैतिर अहिले मानवीय सर्वोच्चताको सिद्धान्तले ढाकेको छ, मान्छेले जगत् केवल आफ्नै निम्ति बनिएको ठान्दछ, यो माटो, यी वृक्ष, वनस्पति, पशुप्राणी, जलथल सारा उसकै ठान्दछ, तर गहिरिएर हेर्दा यो एकपक्षीय अत्याचार हो, स्वार्थी धारणा पनि । यसमा ता सृष्टि भएका सबै तत्त्वको बराबर हक छ ।
मानवजातिलाई सबै कुराको केन्द्रीय सत्ता मान्ने नृतत्वकेन्द्रित सिद्धान्तअनुसार अन्य प्रकारका जीव, वनस्पति, पशुपक्षी र प्रकृतिप्रदत्त साधनस्रोतहरू मानिसकै उपभोगका निमित्त हुन् । विज्ञहरू भन्दछन् क्रिस्चियन धर्मअनुसार बाइबलमा Man should have domination over the other creatures of the earth अर्थात् यो पृथ्वीमा सम्पूर्ण जीवजगत्माथि मानवजातिको आधिपत्य रहनेछ भनी बताइएकाले त्यहाँ नृतात्त्विक सिद्धान्तलाई केन्द्रमा राखेको पाइन्छ । अरू धर्मले बेग्लाबेग्लै धारणा राख्दछन् । हिन्दु धर्मले भन्छ– प्रत्येक प्राणी र वनस्पतिको, जल, वायु, प्रकाश र पृथ्वीको रक्षा गरौँ । अझ त्योभन्दा माथि, बौद्ध धर्मले भन्छ– सबै प्रकारका अहिंसाको अनुसरण हाम्रो जीवन मार्ग बनोस् ।
अर्कातिर मानवकेन्द्री एकपक्षीय धारणाका विरुद्धमा वकालत गर्नेहरू पनि एउटा आन्दोलनमा उत्रेका छन् । त्यो आन्दोलन हो इकोसेन्ट्रिक मुभमेन्ट अर्थात् वातावरणकेन्द्री आन्दोलन । यो पारिस्थितिकीकेन्द्री धारणा हो, मानव यहाँ गौण नभए पनि अलि बढी संवेदनशील र कम अत्याचारी बनोस् भन्ने प्रयत्न गरिएको हुन्छ । हामीले आफूबाहेक अन्य तत्त्वको अस्तित्वमा पनि विश्वास गर्नु पर्दछ । यसअनुसार अब मानवता होइन इकोसिस्टमलाई केन्द्रमा राख्नु पर्दछ । वास्तवमा इकोसिस्टमको कुनै केन्द्र हुँदैन– यो ता विश्वव्यापी धारणा, सर्वव्यापी चेतना मात्र हो ।
अब लेखिने उपन्यासमा कुनै भूदृश्यको वा भूबनोटको प्रसङ्ग आउँदा त्यसको प्रयोग केवल पृष्ठभूमिमा, सेटिङ्मा सीमित गरिनु हुँदैन, त्यसबाट एउटा जीवन उत्पन्न हुनुपर्छ । हाम्रा क्रियाकलपाको परिणाम जीवन मर्दै गरेको अथवा बाँच्दै गरेको देखिन पर्छ, बचाउने उपायहरू देखाउनु पर्दछ ।
ग) पारिस्थितिकी–नारीवाद (इकोफेमिनिजम्) को अवधारणा
मैले अघिल्लो एक रचनामा साइबर फिक्सन अन्तर्गत फेमिनिजमको चर्चा गरेको छु । त्यस्तै हो यो अर्को पद इकोफेमिनिजम् । यसको तात्पर्य हो नारीवादलाई पारिस्थितिकी (पर्यावरण) सँग जोडेर हेर्ने काम, त्यसरी समालोचना गर्ने काम । यो अत्यन्तै नौलो चेतना हो । यसले नारीको पर्यावरणसितको सम्बन्ध विश्लेषण गर्दछ । हाम्रा सिर्जनालाई अथवा नारीको भूमिकालाई पनि यसरी जोडेर हेर्ने बेला भएको छ ।
धेरैअघि सेरी ओर्टनर नामक महिलावादी लेखिकाले इज फिमेल टु मेल याज नेचर इज टु कल्चर ? (के नारी भन्नु पुरुष भएझैँ संस्कृति भन्नु प्रकृति हो ?) शीर्षक निबन्ध लेखिन् । यस निबन्धमा उनले एउटा महत्त्वपूर्ण प्रश्न उठाइन्— नारी सधैँ गौण, द्वितीयक स्थानमा राखिने गरेका छन्, पुरुष पहिलोमा । यसको तात्पर्य के हो भने नारी सधैँ प्रकृतिको नजिक छ । यसरी नारी आफैँ गौण भएर उभिन्छन् । यसको गम्भीर अर्थ के छ भने मानिसले (अझ पुरुषले) धेरै अघिदेखि प्रकृतिलाई वशमा लिएका छन्, प्रकृतिमाथि आफ्नो प्रभुत्व कायम गरेका छन्, त्यही ठानेर नारीलाई पनि वशमा लिने मूर्खता गरेका छन् । ओर्टनरको निबन्धले भन्दछ– यसैगरी तिमीले नारीमाथिको प्रभुत्वलाई अर्थात् दबाबलाई वैधता दियौ भने वातावरणीय विनाशलाई पनि तिमी वैधता दिंदैछौ । यो धारणा पारिस्थितिक नारीवादको प्रमुख चेतना हो । यस धारणाले केही द्विविभाजक चेतनाहरू जन्माएको छ, जस्तै-पुरुष/नारी, संस्कृति/प्रकृति, तर्क/संवेग (इमोशन), र मस्तिष्क/शरीर
त्यसैले उनीहरू भन्दछन्— जसरी प्रकृति अत्यन्तै कोमल, नाजुक र विनाशशील छ, त्यसैगरी महिला र बालबालिका पनि । यो सत्यकै एउटा पाटो हो । कसरी भने हाम्रो देशमा पनि घाँस–दाउरा गर्ने, पात टिप्ने, रातो माटो खन्ने, निगुरो खोज्ने, जङ्गली तुलफूल खोज्ने, वस्तुभाउ चराउने अधिकांश महिला हुन्छन् । बालबालिका पनि हुन्छन् । हाम्रो देशमा मात्रै होइन चारो र सन्तानसँग जहाँ पनि स्त्रीलिङ्गीहरू निकट सम्बन्ध राख्दछन् । त्यसैकारणले गर्दा उनीहरू प्रकृतिसँग अधिक नजिक छन्, पर्यावरणीय विनाश हुँदा उनीहरू बढी प्रभावित हुन पुग्छन् । उनीहरूको जीवनशैली बदलिन खोज्छ । त्यसको प्रभाव अन्यत्र पर्दछ ।
तर यसमा पनि दुई मत छन्— नारीलाई पनि प्रकृतिलाई. विनाशको सङ्घारमा पुर्याएर नाजुक अवस्थामा छोड्ने कि तिनीहरूमा नयाँ शक्ति र सामर्थ्य भर्ने ? तिनीहरूलाई सधैँ कोमल नारी देख्ने अनि प्रकृतिलाई त्यस्तै कोमल नारी स्वरूप देख्ने प्रक्रियाले धेरै कुरा फेदैमा बिगारेको छ । हाम्रा लेखक साहित्यकारले त सधैँ प्रकृतिलाई मोहक नारीकै रूपमा वर्णन गर्दै आएका छन् । अब त्यो दृष्टिकोण बदलिनु पर्दछ ।
घ) प्रकृतिको महत्त्व
पर्यावरणवादीहरू अघिदेखि नै प्रकृतिका रक्षकको रूपमा चिनिएका छन् । तर अर्कातिरको सत्य के छ भने सम्पूर्ण प्रकारका मानवीय व्यवहारहरू प्राकृतिक मनोवेगबाटै प्राप्त हुन्छन् । प्रकृतिलाई मास्ने, छेक्ने, बाँध्ने, वशीभूत गर्ने चेष्टा पनि उनीहरू नै गर्दछन् ।
प्रकृतिको मौलिक पहिचान वा परिभाषा के हो भने प्रकृति भनेको पृथ्वी हो र यो मानवको हस्तक्षेपबाटै चल्दछ । यो पृथ्वी स्वाभाविक, सहज, मानवीय संवेगले चल्दछ । अर्कातिर उसले सोचेका, हिसाब गरेका (कृत्रिम) कार्यहरू हुन्छन्- प्रकृतिलाई कज्याउने । अहिले यस्ता कृत्रिम कर्मले गर्दा, ग्लोबल वार्मिङ् बढ्न थाल्यो जसले गर्दा प्रकृतिको यो पवित्र, निर्मल, स्वाभाविक, वन्य अर्थात् वाइल्डरनेसको स्थितिको अन्त्य हुँदैछ । कतै नखोस्रिएको छैन, नकोरिएको छैन, नभत्किएको छैन । यो देखेर बिल मेकगिबनले दि एन्ड अव नेचर (१९९०) कृतिमा भनेका छन्- मौसममा परिवर्तन ल्याएर, हामीले पृथ्वीको हरेक स्थानलाई मानव–निर्मित र कृत्रिम बनाइरहेछौँ । हामीले प्रकृतिलाई उसको स्वतन्त्रताबाट वञ्चित गरेका छौँ, अनि यो कुरा प्रकृतिको अर्थको निमित्त घातक छ । प्रकृतिको स्वतन्त्रता नै यसको आफ्नो अर्थ हो: यो बेगर केही रहँदैन, हामी मात्रै ।
प्रकृतिबाट मानव अलग्गिएको कथा लामो छ । अहिलेका इकोक्रिटिक भन्दछन् अब यो जोडिनु पर्छ । प्रकृति विनाशसँग मानवविनाश जोडिएको छ ।
ङ) ग्राम्यता र अप्रदूषित परिवेश
इकोक्रिटिक र आजका लेखकहरू मानिसलाई निर्मल प्रकृतितिर फर्किन र फर्काउन चाहन्छन् । आधुनिकताले नछेडेको ग्राम्य परिवेश, उदाङ्ग नागी, डाँडा, पर्वत, वन्यक्षेत्र, मैदान, चरणक्षेत्र, जलाशय जहाँ धूवाँधूलो छैन । हाम्रो मूल स्वभाव तीसित नजिक छ । हाम्रो यस्तो चाहनाको मार्गमा अवरोध भएर हाम्रै आर्थिक र विकासात्मक क्रियाकलापहरू उभिएका हुन्छन् । त्यता लाग्दा हामी सदा ध्वंसात्मक भएका छौँ ।
च) रोमान्टिकता
यसले औद्योगिक जगत्को विकासको विरोध गर्यो । युरोपमा औद्योगिक सफलता विस्तार हुन थालेपछि रूसो, वर्डस्वर्थ, कलेरिज, सेली र किट्सहरूले प्रकृतिको गीत गाए, निर्मलताको, स्वच्छताको स्मरण गरे अनि अप्रदूषित जगत्तिर भाग्न चाहे । आजका इकोक्रिटिकले ती रचनाबाट प्रेरणा लिँदैछन् । तिनीहरूको पुनः पाठ र पुनर्व्याख्या हुँदैछ । हाम्रोमा पनि कविशिरोमणि, देवकोटाजस्ता निर्मल प्रकृतिबारे लेख्ने रोमान्टिक सर्जकहरूको पुनः पाठ आवश्यक छ।
(‘पर्या साहित्य सिद्धान्त र सिर्जना’ पुस्तकबाट )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।