एकछिन सोच्नुहोस् त, यस संसारमा असत्यलाई नै सत्य मानियो भने के हुन्छ होला ! उत्तर एकदमै सजिलो छ—“असत्य नै सत्य हुनेछ ।”

तर हामीलाई थाहा छ – जब सत्य प्रकाशित हुन्छ तब असत्यको नाश हुन्छ । भ्रम आफैँआफ हराएर जान्छ । सत्य त तीनै कालमा सत्य हुन्छ । असत्य – मात्र हाम्रा अज्ञानता र दुर्बलताको उपज हो । सत्यलाई मन पराएर मात्र हुँदैन, त्यसलाई चिन्न र खुट्याउन सक्नुपर्छ । त्यसैले कुनै पनि सत्यज्ञान मानसिक अनि शारीरिक परिश्रमबिना सम्भव हुँदैन । कारण सत्य भन्नाले ‘मानव सत्य’ अथवा ‘मानवका निम्ति सत्य’ बुझ्नुपर्छ । पशु-पक्षी, वनस्पति अनि सम्भवतः अर्को ग्रहका मानिसहरूका निम्ति ‘मानव सत्य’ के हो त्यो भन्न सकिँदैन ।

यसै सन्दर्भमा सत्रौँ शताब्दीको एकजना महान् दार्शनिक रेने देकार्टले सत्यज्ञान कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा सन्दिग्ध विधिका (सन्देहविधिका) सिद्धान्तहरू दिएका छन् । उनले दर्शनलाई गणितीय आधार दिने प्रयास गरेका छन् । उनका मतअनुसार कुनै पनि कुरालाई सहजै मान्नु वा स्विकार्नु हुँदैन । कसैले तपाईँलाई तपाईँको कान कागले लग्यो भन्यो भने (भन्दैमा नसोची) कागको पछिपछि कुदिहाल्नु हुँदैन । कुद्नुअघि कान छामे सही हुनेछ । छाम्नु भनेको एक प्रकारको सन्देह गर्नु हो । सन्देह नै सत्यसम्म पुग्ने सिँढीको प्रथम खुड्किलो हो । पहिले हामी सन्देह गरेर कान छाम्छौँ त्यसपछि प्रश्न गर्छौं – “खै मेरो कान यहीँ छ त ?” त्यसपछि अन्य कुराहरूद्वारा (तर्कहरूद्वारा) कान कागले (सहजै) लान सक्दैन भन्ने कुराका तर्क र पुष्टि गर्दछौँ ।

सूचना र भर्चुअल वास्तविकताको युगमा झन् कुनचाहिँ सत्य हो अनि कुनचाहिँ असत्य हो खुट्याउन हामीलाई गाह्रो पर्छ । फेसबुक, टुइटर, युट्युब, इन्टरनेट साइट, मिडिया र भर्चुअल वास्तविकताहरू हाम्रा जीवनशैलीको अभिनाश बन्न पुगेका छन् । सम्पादित अनि नक्कली सामाग्रीहरूको प्रभुत्व जताततै देखिन्छ । तर यस्तो स्थितिमा एकजना सचेत र ज्ञानी मानिसले कुनै पनि कुरा सोचविचार नगरी स्विकार्दैन । उसले जहिले पनि आफूलाई सचेत र सतर्क राख्दछ । सत्य र असत्य खुट्याउने अन्तर्क्षमतालाई बनाई राख्दछ । यसैका सम्बन्धमा म रेने देकार्ट (दार्शनिक) को सन्दिग्ध विधिका सिद्धान्तहरूलाई यहाँ सङ्क्षिप्तमा राख्न राखिरहेको छु ।

डेकार्टलाई उनका केही मौलिक विचार अनि दार्शनिक विधिहरूको कारणले आधुनिक दर्शनको जनक मानिन्छ साथै उनलाई बुद्धिवाद (भाववाद) दर्शनको (ज्ञानमीमांसा विषयसम्बन्ध) प्रवर्तक मानिन्छ किनकि उनीभन्दा अघि धर्मग्रन्थहरूमा लेखिएका कुराहरूलाई सहजै सत्य मानिन्थ्यो, कसैले पनि त्यस्ता कुराहरूलाई नमान्न र खण्डन गर्न सक्दैन थियो, तर डेकार्टको समयदेखि मात्र ती कुराहरूलाई सत्य मानिन थालियो जसका स्वरूप (स्वभाव) अनिवार्य अनि सार्वभौम (सर्वमान्य) हुन्छ । उनले सारा दार्शनिक दृष्टिकोणहरू मात्र विश्वासका आधारमा मान्न नसकिने मत सर्वप्रथम राखे । प्रत्येक व्यक्तिले आ-आफ्नो विवेकको प्रयोगद्वारा सत्य र असत्यमाझको पार्थक्य खुट्याउन सक्छ भन्ने धारणा देकार्टदेखि नै सुरु भएको हो । यस सन्दर्भमा देकार्टले चार प्रकारका मतहरूको (सिद्धान्तका रूपमा) प्रयोग अनिवार्य मानेका छन् । ती चार मतहरू यस प्रकार छन्:

[१] कुनै पनि तथाकथित सत्यलाई सत्य मानी नहाल्ने जबसम्म त्यो पूर्ण रूपले सत्य प्रमाणित हुँदैन । यस मतले कुनै पनि पूर्वाग्रहित अथवा पूर्वस्थापित ज्ञानलाई सहजै स्विकार्दैन ।

[२] प्रत्येक विषयका सम्बन्धित व्यक्तिले आफूसित यस्तो प्रकारको अन्तर्चिन्तनीय आचरण निर्माण गर्नुपर्छ कि सरलभन्दा सरलबाट सुरु गरेर मात्र जटिल प्रकृतिको ज्ञानार्जनहेतु अघि बढ्नुपर्छ ।

[३] कुनै पनि समस्याको समाधान गर्दा निष्कर्षसम्म पुग्नअघि सम्बन्धित समस्यालाई सा-साना भागहरूमा विभाजन गरेर समाधान गर्नुपर्छ ।

[४] यस मतअनुरूप प्रत्येक निष्कर्ष अथवा सारांश आफैँमा पूर्ण हुनुपर्छ अनि (साथै) सम्बन्धित ज्ञान विषयको समीक्षा यति सर्वमान्य (साधरणतया) हुनुपर्छ कि त्यहाँ कुनै संशोधन गर्ने आवश्यकता नपरोस् ।

उपर्युक्त चार सिद्धान्तहरूले बुद्धिवादका (भाववादका) प्रथम आधारहरूलाई स्थापित गरेका छन् । सन्दिग्ध विधिका आधारहरूअनुसार सर्वप्रथम सत्ता प्रमाण सन्देहकर्ताले नै दिने गर्दछ । उपर्युक्त विधिका सिद्धान्तहरूबाट देकार्टले ‘म सोच्छु त्यसैले म अवस्थित छु’ जस्तो प्रस्ताव वाक्य (वचन) ले मात्र हाम्रा विचारहरूलाई शुद्ध गणितका वचनहरू जस्ता अनिवार्य र सर्वमान्य बनाउन सकिन्छ भन्ने विचारलाई महत्त्व दिएका छन् । उनले असन्दिग्ध एवम् सत्यज्ञान प्राप्त गर्नलाई सन्दिग्ध विधिको प्रयोग गरेका छन् ।

देकार्टको सन्दिग्ध विधिका सिद्धान्तहरूले विश्वैभरि नवचेतना (नवजागरण) ल्याउनमा ठूलो मद्दत गरेका पाइन्छ । पश्चिमका देशहरूमा त झन् उनको दर्शनले नवजागरण ल्याउन साथै आधुनिक युग ल्याउनमा महत्त्वपूर्ण भूमिका निभाएका छन् । मानिसहरूलाई आफ्ना व्यक्तिगत, सामाजिक, आर्थिक, धार्मिक अनि राजनैतिक क्षेत्रको कुनै पनि कुरालाई नसोची साथै विश्लेषण नगरी स्वीकार नगर्ने प्रेरणा प्रदान गरेका छन् । यसर्थ देकार्टले हामीलाई कसैले तिम्रो कान कागले लग्यो भन्दैमा कागको पछिपछि नकुदिहाल्ने सुझाव सत्रौँ शताब्दीदेखि नै दिइरहेका छन् ।