विचार जीवनको बाह्रमासे मूल हो । विचारहीन जीवनको कल्पना सायदै होला । मान्छे छ र त विचार छ । विचार छ र त मान्छे । जीवनका बहुआयाममा विचाररूपी रङले जीवन रङ्गिन भैरहन्छ  । चलायमान बनिरहन्छ । विचारका सडकहरूमा जीवनका अनेक कर्महरूले कर्म गरिरहन्छन् । सायद जीवन विचारको फैलावट हो ।

विचारलाई विचारले पछ्याएपछि निर्माणको अर्को चुली थपिने क्रम बढ्दै जान्छ एकातिर भने अर्कोतिर निर्माण भएका विचारहरू भत्कँदै जान्छन् र नयाँ निर्माणका जगहरू स्थापित हुन थाल्छन् । निर्माणाधीन कतिपय विचारका जगहरू बिच बाटो मै भत्कन्छन् र कति पूर्ण निर्माण हुन्छन् । पूर्ण निर्माण भएका विचारको आयु सिसाको महल जस्तो हो । उसो त प्रविधिको फड्के युगमा विचारका तरङ्गहरू पनि फड्के नै छन् र हुन्छन्, यो स्वाभाविक प्रक्रिया पनि हो । यसरी हेर्दा निर्माणका लागि विचार कच्चा पदार्थ हो । 

हामीले परमात्मा रुपी ईश्वरको निर्माण गरेका छौ । त्यो ईश्वर दयालु छ । ज्ञानी छ । कोमल छ । ईश्वरले नराम्रो काम गर्नेलाई दण्डित पनि गर्छ र दुःख दिन्छ । अर्थात् ईश्वरले पापीलाई सजाय दिन्छ । हेर्नुस् त हामीले निर्माण गरेको ईश्वर कतै खुसी लिएर बाँड्न आउँछ त कतै दण्ड लिएर तर्साउन आउँछ । 

यो अदृश्य रुपी ईश्वर सधैँ छाया जस्तो वरपर डुलिरहेछ । दृश्य जस्तो बनेर भय उत्पन्न गरिरहन्छ । तपाईँलाई भिखारी बनाइरहन्छ । आफैले निर्माण गरेको परमात्मासँग तपाइ दास बनिरहनु भएको छ । आस्था भन्दा माथि उठेर परमात्माको निर्माण अरू जायज नहोला भन्न सकिन्न । यो पनि विचार कै उपज हो ।

हामीले देखेका चिजहरूमा हाम्रो सामान्य धारणा बन्ने हो । सामान्य धारणासँग देखिएका चिजहरूको बहुरूपलाई हामीले देख्दैनौ र साधारण धारणालाई नै काम चलाउँछौ । मनुष्यको काम चलाउने विचारले दुर्घटनाका अनेक ढोकाहरू उघारिन्छन् र अन्ततः अन्त्यको सँघार पुग्छन् ।

विचार निजी सामर्थ्य हो । विचारको वैभव ब्यालेन्समा हुन जरुरी छ । आफ्नो विचारलाई अरूमाथि हाबी गराउनु भयो भने त्यो दुर्घटित हुन्छ । दुर्घटनाबाट उत्पन्न धारणाहरूले तपाईँलाई यसरी थिच्नेछन् कि तपाईँ थला पर्नु हुनेछ । निजी सामर्थ्य भएको विचारको कारखाना कोमल रूपमा चलाउनुस् तब तपाईँसँग मिल्ने विचारहरू स्वतह मिल्न आउनेछन् र निर्माणको नयाँ खाका तयार हुनेछ ।  

विचारको मुहान के हो त ? के त्यही १३०० ग्राम मस्तिष्कको वजनले विचारको मुहान थेगेको हो त ? पुनर्जन्म भनिएको कुनै काल पो हो कि ? शरीरको रासायनिक प्रक्रियाले उत्पन्न गराउने कुनै जादुगर रस पो हो कि ?

विचार कतै शिवजी जस्तो लहडी छ, कतै कृष्ण जस्तो बहुरूपी छ , कतै एकलव्य जस्तो त्यागी छ त कतै गान्धारी जस्तो, कतै शकुनि जस्तो, कतै धृतराष्ट्र जस्तो, युयुत्सु जस्तो यो अनेक रुपी विचारको जड सायद रहस्य होला । रहस्यलाई रहस्य मै छोडिदिने हो भने न्यायका सम्भावनाहरू अन्यायी हुने छैनन् भन्ने पङ्क्तिकारको ठम्याइ हो तथापि खोजको अन्त्य भयो भनेको चाहिँ होइन ।

मानिस हर चिजलाई काबुमा राख्न खोज्छ तब हार्छ । हार्नु दुःख निम्त्याउने कारण हो । यहाँ न हार छ न जीत । कसैले हार्दा कोही जित्छ त कोहीले जित्दै गर्दा अर्को हार्छ । तब तपाईँ मुठी खुल्ला राख्नुस् र प्रेम बाँड्नुस् । धारणाले प्रेमको सगर बाधिँदैन । यो फैलावट निराकार छ । त्यसलाई स्वतन्त्र उड्न दिनुस् । हर कण कणमा बास छ । हर क्षणमा साक्षी छ । आफ्नो बनाउने चेष्टा निरर्थक प्रयास हो ।

विचारको डोरीले चराचर बाँध्न सकिँदैन । यो खुल्ला सत्य हो । विचार सत्यलाई ढाक्ने ढाकर हो जो जति बेला पनि उदाङ्गो हुनसक्छ । ढाक्ने चिजको आयु निमेषको हुन्छ । हामी निमेषमा बाँच्न खोज्ने गतिशील प्राणी भएका छौ । क्षणिक स्वार्थमा जीवनको गीत झ्यारझ्यार सुनिन्छ ।

मान्छे असीमित सुख चाहन्छ । ऊ निमेष दुःखको भोग चाहँदैन । सुख भोग गर्न चाहने मान्छे सुखका लागि भौतारिन्छ । यो आम मानवीय स्वभाव हो । सुख भोगका लागि अनेक उपाय र जुक्ति लगाउनु अर्थ पूर्ण पनि हो । भोगका लागि उपर्युक्त उपाय जायज हो तर भोग कर्ममा छलकपट र ढाकछोपको स्थिति निर्माणले मानवीयतामा ह्रास आएको पनि छ ।

भोगका लागि विचारका अनेक उत्कण्ठाले मानवीय भद्रताहरूमा  छिद्रता पैदा भएका छन् । विचार आकाश झैँ फराकिलो छ । फराकिलो आकाशमा विचरण गर्ने विचार धूर्त छ । मुलायम पनि छ । विचारको स्वभाव अधिकांश स्वार्थी नै देखिन्छ । आफ्ना लागि सुख भोग गर्दै गर्दा अरूलाई दुःखमा धकेल्नु पर्ने स्थितिले विचार स्वार्थी बन्छ । त्यसो हो भने के हामी स्वार्थको राजमार्गमा यात्रा गरिरहेका छौ त ? उसो त जीवनलाई सहज बनाउन मान्छे अनेक उपायहरूको निर्माण गर्छ । निर्माणको पिरामिड विचारको फैलावट हो । हामी जति फैलन्छौ सायद त्यो महानता हो । महानता भित्र विचाररूपी अहंकारला तगारो लगाउने हो भने सायद मान्छेले मान्छे खोजिरहनु पर्दैन ।

मानव जीवन अभाव हो । अभावसँग विचार जोडिन्छ र विचारसँग चुनौती । अभावको पूर्ति विचारले मन्थन गर्छ । मन्थनमा सगरमाथा झैँ साहस उभिन्छ । अडिग साहस कै कारण अभावको पूर्ति सम्भव हुन्छ । प्राप्ति पछि जीवनले सुखभोग गर्छ । सुख खुसी जस्तो देखिन्छ । तर सुखहरू खुसी हुन सक्दैनन् । खुसीभित्र सुखको परम आनन्द सधैँ रसाइरहन्छ । चुनौती पार गरे पछिको सुख जो हामी भोगिरहेछौ । सुखभोग भन्दा पर पुग्ने ठाउँ कतै छ भने त्यो खुसीभोग होला । खुसीभोग भन्दा पर कता जाने त ?

सायद सबै प्रश्नका उत्तरहरू हुँदैनन्

उत्तर सत्य हुँदैनन्

उत्तर नभएका उत्तरहरू नै सुन्दर हुन्छन्

सत्यम् शिवम् सुन्दरम् …

विचार सम्भावनाहरूको आविष्कार हो । मस्तिष्कको प्रयोगशालामा बहुरूपी विचारका केमिकलहरूको रासायनिक मिश्रण भैरहन्छ । विचारसँग अनेक विचारको मिलावट र झिकावटले सार्थक रूप लिन्छ । यो निमेष निमेषमा चलिरहने प्रक्रिया हो । कवि सिद्धिचरणको ‘क्रान्ति पछि शान्ति’ भने झैँ मस्तिष्कको प्रयोगशालामा पनि हमेसा द्वन्द्व चलिरहन्छ र अन्ततः सुखद आविष्कारको पदार्पण हुन्छ ।

मैले यो लेख लेखिरहँदा विचारमा शब्दहरू अनेक द्वन्द्व गरिरहेछन् । यो शब्द भएन, अर्को लेख । यो वाक्य सुहाउँदो  भएन, मेटाइ दे । सायद लेख्नेहरू सबैलाई शब्द र वाक्यको द्वन्द्वले ग्रसित बनाउँछ । शब्द र वाक्यको प्रयोगशालाबाट जे गमन हुन्छ त्यो नै आकार बन्छ । तथापि आकार भनिने चिज भित्र निराकार त हुन्छ नै । माथि भनिए जस्तै निराकारमा निराकार प्रश्नहरू र उत्तरहरूको जोड घटाउ भने चली नै रहन्छ ।

तपाईँले यो लेख पढिरहँदा विचारका अनेक बाटाहरूमा विचरण गर्दै आइरहनु भएको छ । लेखको अन्तिम सम्म पुग्न धैर्यताको खाँचो पर्छ । विचारको द्वन्द्वलाई अर्को विचारले जितेर अन्तिम सम्म लेख पढ्ने साहस गर्नुहुने तपाईँ धन्य हुनुहुन्छ । सायद धैर्यता जीवनको अनिवार्य सर्त हो ।

विचारको यात्रामा बोधको निर्माण हुन्छ । बोधले जीवन र जगत् तिर फर्केर हेर्ने  र दोष रहित हुँदै आनन्दको राजमार्ग पहिल्याउँदै अगाडी बढ्ने कुराको संकेत गर्छ । संकेतका बाछिटाहरूमा रुझ्दै जीवनको नदी तर्न सकियो भने सायद जीवन सार्थक हुने होला । के हामी विचारको नदी डोर्‍याउँदै सागर पुग्न सक्दैनौ र ?

अनियमित जस्तो देखिने तर नियमित चलिरहने विचारमा विचरण गर्दै कर्मको बाटो हिँड्नु सायद जीवनको लय वा गीत होला ।  हामी त्यही गीत र लयमा जीवनको सार खोजिरहेछौ र कस्तुरी जस्तो भौँतारिरहेछौ । कर्म नगर्ने तर विचारको निर्माण मात्रै गर्ने हो भने जीवनको गीत अधुरै होला ।

विचार सहित कर्मको बाटो पहिल्याउन सके सायद जीवन सुन्दर बन्दै जाने होला । इन्द्रियहरूको रूप विचारमा पोखिन्छ । इन्द्रियहरूका निर्णयहर नै विचार हुन । त्यसैले इन्द्रियको सही सदुपयोग विचारको अब्बल रूप हो । इन्द्रिय सफा राखौँ विचार सफा हुनेछ । सुन्दर विचारले जीवनको द्वार पुग्न सहज हुनेछ ।

पूर्णतामा अपूर्ण छ र अपूर्णतामा पूर्ण । पूर्ण र अपूर्णताको सङ्गम विचार हो । विचार शून्य जस्तो अव्यक्त छ । मस्तिष्कको प्रयोगशालामा जति मन्थन गरे पनि विचारको न शुरुवात छ न अन्त्य । प्रश्न उत्तरको यो नियम सत्य जस्तो असत्य छ र असत्य जस्तो सत्य छ । यी सबै इन्द्रिय कल्पित वासनाहरू हुन । तथापि जीवन विचारहरूको एक पुञ्ज हो ।