प्रारम्भमा,

हामी करोडौंको संख्यामा एकै पटक एउटा विशाल ब्रह्मनालबाट चारैतिर अन्धकारले व्याप्त पातालको गहिरो खोंचमा अवतरण गर्‍यौं । जहाँ सर्वश्रेष्ठ प्राणी बन्ने उत्कट जीवित आशा लिएर, हरियो वृक्ष झैँ सप्रिएर उम्रिनको निम्ति होडबाजी गर्दै अवतरण गरेका थियौं ।

कालान्तरमा एउटा कोलाहलमय बृहत् भीड मध्येबाट एक जना म मात्र रोपिएर उम्रिन सफल भएँ । म बाहेक मेरा अन्य करोडौं साथीसङ्गीहरू कहाँ गए ? उनीहरू उम्रनको निम्ति किन अयोग्य ठहरिए ? यदि उनीहरू पहिले नै अयोग्य ठहरिनु पक्का भइसकेकै थिए भने किन मसँगै आएका थिए ? कसले, किन मलाई नै नियुक्त गरेर उम्रोस् भनी वृक्ष झैँ रोपिदिए ? विचित्रको चामत्कारिक आश्चर्य लागिरहेछ । सम्भवतः म अज्ञानतामा अनजान ज्यान जिएको छु । त्यसैले यस पल सम्बन्धी म सरल रूपमा बक्न पनि असमर्थ छु । हुनसक्छ त्यस कालखण्डको परिस्थितिमा म बेहोशीमा जीवन्त थिएँ ।

प्रारम्भमा,

मेरो शिर र पुच्छर मात्र थिएछ । मेरो शिरको आकार पाँच माइक्रोन, चौडाइ तीन माइक्रोन र मेरो पुच्छर पचास माइक्रोन थिएछ । म जम्मा पचपन्न माइक्रोन लामो थिएछु । वैज्ञानिकहरू पच्चीस हजार माइक्रोन बराबर एक इन्च हुन्छ भन्ने तथ्यमा अडिग रहेका छन् ।

म अदृश्य थिएँ, तर पनि दृश्यवान् थिएँ । अति सूक्ष्म, एउटै अणु थिएँ । म ‘वाइ’ थिएछु । मेरो मिलन ‘एक्स’ सँग भएछ । म अत्यास अनि कहालीलाग्दो भयानक कालो ब्ल्याक होलको अन्धकारमय घाटीमा अदृश्य रूपले पूर्णतातर्फ वृद्धि हुँदै गइरहेको थिएँ, स्वतः स्फूर्त, अटोमेटिकली । अलौकिक प्रक्रियागत तवरले वृद्धि हुनमा कसैले साथ दिएको थियो भनी मानिलिने हो भने सर्वमान्य, सर्वोपरि, सत्ताधारी, सृष्टिको महासंचालक (इन्फिनिट एनर्जी ) बाहेक अरू कोही पनि हुन सक्तैन ।

म नपाकिन्जेल जरा गाडेर उम्रिंदै र वृद्धि हुँदै गइरहेँ । अनि म गिरें (अवतरण), म लडें (प्रतियोगी बनें), म खसें (एक्ससँग मिलें), म मरें (परिवर्तन भएँ) अनि जिएँ (हुर्किंदै पाकें) । पाक्नु पर्ने समयावधिभित्र म बल्ल-बल्ल लटरम्म हुनेगरी पाकेछु क्यार ।

प्रारम्भमा,

ब्ल्याक होलभित्र न्यानोपनको साथमा पाकिसकेपछि अचानक एउटा घमाइलो स्थानको भूतलमा गिरेर झरेँ । अनि म उज्यालो संसारको तरङ्गद्वारा ढाकिएँ । प्रकाशको पोशाक पहिरिएँ । पवनको स्पर्शमा लालायित भएँ । तब मात्र नितान्त व्यक्तिगत, वास्तविक, सात्त्विक र भौतिक जीवन धारण गरें ।

प्रारम्भमा,

म एक कोषीय बिउ मरेछु । अनि मरेपछि बहुकोषीय बिउ बनेर जिएछु । किनकि बिउ मरेपछि मात्र जिउने गर्दछ । यो नियम हो नियम । एउटा निषेधित रुखको पाकेको फल (बिउ) रुखबाट झर्दा (टिपिएको) त्यसले आदिम मानवलाई प्रभाव पारेर पतित बनायो । त्यसरी नै म टिपिँदा, खस्दा, झर्दा, गिर्दा मबाट पनि कतिपय मानव प्रभावमा परेर पतित भएको पनि हुनसक्छ । बिउ मरेपछि जिउनु जस्तो रहस्यको भेद सर्वश्रेष्ठ प्राणी कहलिएका हामी मानिसलाई कहिल्यै पनि ज्ञात हुने छैन ।

के हामीले असर पार्दै छौं ? हामीले प्रभाव पार्दै छौं ? हामीले पतित गराउँदै छौं ? हामीले आफैलाई, परिवारलाई, समाजलाई, राष्ट्रलाई, वातावरणलाई, प्रकृतिलाई, प्राणीलाई र विश्वलाई पतित गराउँदै छौं ? के हामीहरू सबै कामवासना र कामुकताले भरिएको अश्लीलता, अपवित्रता र व्यभिचारकै परिणामहरू हौं ? किनकि हामीले यौनलाई अश्लील, अपवित्र, व्यभिचार ठानेका छौं । मानेका छौं । होइन र ?

चाहे विवाह अघिका प्राचीन या आधुनिक ढुकुर जोडिले उमारेर फलाउन् । चाहे विवाह पछिका प्राचीन या आधुनिक दाम्पत्य जोडिले उमारेर फलाउन् । सबै कुरा फक्रिन्छन्, ओइलाउनको निम्ति । सबै कुरा फल्छन् कुहुनुको निम्ति । सबै कुरा बनिन्छन् नष्ट हुनको निम्ति ।

मानिसभित्र कतै-कतै जर्मराइरहने र जर्जराइरहने कामवासनाका कारण समाजमा जथाभाबी यौन सम्पर्कका अवैध घटनाहरू नहोउन् भनेर मानिस आफैले विवाहका प्रथा प्रचलनमा ल्याएका थिए । ताकि यौन सम्पर्क आफ्ना निजी सम्पत्ति आफ्नै पार्टनर बीच मात्र कायम रहोस् । हो, विवाह प्रथाले जथाभाबी रूपमा यौन सम्पर्क हुनदेखि केही हदसम्म कम गराए पनि मानिसहरूको कामवासनालाई नियन्त्रण गर्न भने नसकेको देखिन्छ । किनकि विवाहित जोडी बीच कामवासना झन् तीव्र हुने गरेको देखिन्छ । विभिन्न शास्त्रहरूले कामवासनामा लिप्त नुहुनू भन्ने नैतिक वाणी भजाए पनि यो कुरा शास्त्रको कामुक अक्षरहरूमा मात्र सीमित हुने गर्दछ । व्यवहारमा त लिप्त लत सर्वव्यप्त छ । सायद ।

भन्न मन लाग्छ, कामवासना बिउँतिएपछि आत्मसंयम स्वतः मस्त निद्रामा निदाउने गर्दछ । कामवासना र आत्मसंयम एक आपसमा कहिल्यै भेट नहुने भावनात्मक प्राणीहरू हुन् । कामवासनाले जब ताण्डव नाच नाच्न थाल्दछ । नाच्दा नाच्दै थाकेर लखतरान भएर निदाएको अवस्थामा बल्ल आत्मसंयम बिउँतिने गर्दछ । अनि आत्मसंयम फगत सोचाइमा डुब्दछ, ‘यसले किन रमिता देखाएर बित्यास मच्चाएको होला ।’ आत्मसंयम गुमाउनु अनैतिकताको आगमन हुनु हो । यसले पतित पतन निम्त्याउँदछ । पतित अतीत भएर जान्छ, अतीत पतित भएर आउँछ । र यो क्रम एउटा चक्र झैं घुमिरहन्छ र अझै घुम्ने क्रम जारी छ । जारी रहिरहने छ ।

प्रारम्भमा,

अदनको बगैंचाको बीचमा निषेधित फल राखिएको थियो । जसलाई बिउ मान्न सकिन्छ । निषेधित रुखमा धेरै फलहरू अर्थात् बिउहरू धेरै थिए । त्यो बिउ ओभम् (आदम प्लस् हब्बा) मा प्रवेश गर्‍यो । एउटा मात्र ओभम् (आदम प्लस हब्बा) मा प्रवेश गरेर बढ्दै गयो, अदनको बगैंचा (गर्भ) मा । पूर्ण समय पुगेपछि अदनको बगैंचाबाट धपाइएँ । म अदनको बगैंचाबाट फालिएँ, निक्लिएँ, निकालिएँ र निष्कासित भएँ । अनि बाहिरिएँ ।

त्यसपछि दुःखको हातका नङ्ग्राहरूले मलाई चिथोर्‍यो । म मेघ गर्जनसाथ रोएँ । आफ्नो जन्ममा हरेक शिशुहरू रुन्छन् । भविष्यमा आफ्नो मृत्युमा आफू रुन पाइन्न भनेर जन्मँदा नै हरेक मानिस आफ्नो मृत्युको शोकमा निर्धक्क साथ रुने गर्दछ । पतन हुनु नै दुःख निम्त्याउनु हो । जीवन ग्रहण गर्नु नै दुःख पनि ग्रहण गर्नु हो । के ओभम् निषेधित फल हो ? जो तपाईं र मैले मिलेर हामीले खायौं । के वृद्धि हुने प्रक्रियामा नाभिबाट लिएको थोक निषेधित थोक हो ? के गर्भधारणको पूर्ण समय अदनको बगैंचामा रहेको आनन्दित समय हो ? अब म पाकिसकेको फल भुइँमा झरिसकेको छु । कीरा परेर कुहुन मात्र बाँकी छ । नकुहुने चाहनालाई मलजल गरेर जगेर्ना गरिरहेको छु ।

यथार्थसँग सम्बन्ध कायम राखेर साइनो गाँस्ने हो भने हामीले आफूलाई मौलाएर फस्टाएको उच्च कोटीको हाइब्रिड शुक्राणु हौं भनी भरमग्दुर दाबीका साथ घोषणा गर्नु पर्ने हुन्छ । हामी सब ओभम्सँग हातेमालो गरी विकसित रूपमा अस्तित्वमा आएका उच्च कोटीको हाइब्रिड शुक्राणुहरू हौं । हामीले आफूलाई मानव भनेर आफ्नो असली वास्तविकता र पहिचान पाखण्डपनको जेबभित्र लुकाएका छौं ।

अन्तमा, म खुला आकाशमा खुशीसाथ उड्न र खुला जमिनमा खुलस्त हिँड्न चाहन्छु । अनि सार्वजनिक विज्ञप्ति झैँ कहन्छु, म रुखमा पाकेर रुखबाटै भुइँमा खसेको उच्च कोटीको हाइब्रिड शुक्राणु हुँ । म भुइँमा माटोसँग नालीबेली गाँसेर बुढो रुख झैँ रुखो हाँसो हाँसिरहेछु । अब म कुहुन चाहन्न । कुहिएँ भने मेरो मालीको हातबाट म अवश्य रद्दीको टोकरीमा फालिनेछु । म सदैव ताजा रहन चाहन्छु, अनि मात्र मलाई मेरो मालीले भुइँबाटै भए पनि टिप्नुहुनेछ । टिपिएपछि मात्र जीवनको सार्थकता झल्-झल् झल्किनेछ । अनि झुल्किनेछ ।