आज बिहानै सुनेँ, एक परिचित बन्धुले आत्महत्याको प्रयास गरेछन्, मरेका छैनन्, तर बाँच्ने आस पनि छैन ।

टेलिफोनमा उक्त सन्देश पाउँदा म दारी काट्दै थिएँ र ऐनामा देखिएको आफ्नो उल्टो अनुहारलाई, अभ्यस्त नजरले हेर्दै सङ्घर्षयोग्य तुल्याउँदै पनि थिएँ, तथा दिनभरि गर्नुपर्ने कार्यहरुलाई मानसिक फाइलमा प्राथमिकताको क्रम पनि प्रदान गर्दै थिएँ । सूचनाको एक्कासिपनले ऐनाको अनुहार उक्त बन्धुको प्रतिबिम्बमा बदलियो, साबुनको फिँज जो अनुहारभरि दलिएका थिए, ती रगतका रडमा बदलिए र अनायास मेरा हात चुरोटको बट्टातिर लम्के । रोगीको अवस्थाको जानकारीका निमित्त केही आवश्यक प्रश्नहरु मैले स्वभावतः गरेँ र त्यसपछि अनायास मेरो मुखबाट अन्तिम जिज्ञासा फुत्केछ– ‘किन हँ, दाइ ?’

आफ्नो प्रश्नले म स्वयम् होच्चिएको अनुभव गरेँ, कारण प्रश्न फुस्केको मात्र थियो, त्यसको अनावश्यकताले मेरो मानवीय कमजोरीलाई इङ्गित गरिहाल्यो ।

जीवनको यस अवधिमा जत्ति मैले बुझेर वा नबुझेरै नै व्यतीत गरेको छु, त्यसमा कम मृत्यु मैले देखेको होइन । मृत्यु वास्तवमा अनेक प्रकारका हुन्छन् : गर्ने कुरा जान्दै नजानी, सोच्दै नसोची मरिने, मर्न नचाहेर मर्नुपर्ने, मरणको अर्थ नजानेर मर्नुपर्ने, निःसहाय भई, मरणको कामना गरी मृत्यु पर्खेर मर्नुपर्ने, मृत्युको अवस्था आफूले सिर्जेर मर्नुपर्ने, मृत्यु डाकेर पनि नआइदेओस् भन्ने कामनासहित मर्नुपर्ने ।

हो, मृत्युका अनेक रूप छन् : त्यत्तिकै तीव्रता र विविधता यसमा छ, जत्तिको छ जीवनमा ! अन्त्य एउटै भए पनि, कारण सायद इतिहासमा दोहरिँदैन ।

‘किन हँ, दाइ !’ भन्नुसट्टा मैले चुप लागेर मानसिक फाइलमा प्राथमिकताको क्रम प्रदान गर्नुपर्ने…

आत्महत्या चानचुने कुरा होइन । यसका लागि एक अदम्य साहसको आवश्यकता पर्दछ । ‘हे भगवान्, के दिन देख्नुपर्यो !’ भनी कुकुरले भुकेसरह रोइदिनु सायद सबभन्दा सहज मानवीय कमजोरी हो । त्यो नगन्य भएकाले त्यसको चर्चा गर्नु नै व्यर्थ छ ।…

‘चर्चा’ भन्ने शब्दको मेरो अनायास प्रयोगबाट मलाई एक रमणीय घटनाको सम्झना हुन आयो । भारतीय राजदूतावासमा मैले सेवा गरिरहेको कालमा त्यहाँ सहायक सैनिक सहचारीका रूपमा थिए– कप्तान एम्. के. मेनन । (फिल्म ‘हम दोनो’ मा देवानन्दको सैनिक अफिसरको रुप सम्झेँ उनको अनुहार ठ्याक्क आउनेछ आँखाअगाडि) त, एक पटक उनलाई पेन्सन बाँड्न पोखरा खटाइयो । आजकाल थाहा छैन के अवस्था छ, तिनताक भने त्यस्ता अफिसरलाई झन्डै १–२ महिना अस्थायी क्याम्पमा बिताउनुपर्ने हुन्थ्यो । जानअघि उनी मकहाँ आएर समय काट्न साधनका रुपमा केही पठ्नीय पुस्तकको माग गरे । मैले उनलाई दिएर पठाएका पुस्तकहरुमध्ये एउटा थियो ‘दि वल्र्ड अफ् एस्टरडे, बाई स्टेफेन ज्विग’  त्यो पुस्तक जो उसको आत्मकथा पनि हो, मैले भर्खरै पढेको थिएँ र मन पराएर उसलाई दिएको थिएँ । उसले त्यो पढेछ र पत्रमा मलाई सोधिपठाउँछ, किन ?

“किन ?”

यही किन आज मेरो सम्मुख फेरि उपस्थित भएको छ । त्यस बेला हाम्रो बीच पत्रव्यवहार झन्डै दुई महिनाजति चल्यो । उनी थिए, आत्महत्या गलत साधन हो भन्ने पक्षमा, म थिएँ हामीलाई यसबारे टिप्पणी गर्ने अधिकार छैन भन्ने पक्षमा । निष्कर्ष पाइएन : जुन कुरा स्वाभाविक पनि थियो, हो !

हामीले यहाँ एउटा कुरा भुल्नु हुँदैन । बाँच्न चाहनु जस्तो ठूलो चाहना अरु केही छैन । यसैका निमित्त हामी चोरी गर्छौं, चाकरी गर्छांै, डकैती गर्छौं, डाँक पर्खन्छौं, आफ्ना आस्थालाई धरौटी राख्छौं, अर्काको विश्वासलाई (गलत भए पनि) मान्यता प्रदान गरिदिन्छौं र यी सब कार्यको साधन बनेको छ– पैसा ! पैसाकै लोभमा मानौं जीवन चलिरहेछ ! जीवनमा सब कुरो किन्न सकिन्छ पैसाले ! एउटाले भन्थ्यो, जन्माउने आमाबाहेक ! तर त्यो पनि अब ढलमल भइसक्यो, टेस्टट्युब बेबी कालमा ।

एउटै कुरा किन्न सकिन्न पैसाले र त्यो हो मानिसको जीवनप्रतिको अदम्य उत्साह, जसको अप्राप्तिको परिणामस्वरूप ऊ आत्महत्या पनि गर्न अग्रसर हुन्छ ।

यहाँ ‘किन’ कति फितलो बन्न जान्छ ?

जीवनमा उचनिच नदेख्ने मानिस कमै होलान् । हो, आफ्नो व्यक्तिगत स्तरअनुसार त्यस उचाइनिचाइको मापदण्डमा फरक पर्ला ः तापनि वेदनाको अनुभूति एकसमान हुन्छ । करोडपतिलाई १० लाख गुमाउँदा जति व्यथा हुन्छ उत्तिकै व्यथा लखपतिलाई एक लाख गुमाउँदा वा दस पैसा हुनेलाई एक पैसा गुमाउँदा !!! सबै मानिस हुन्, सबैको एउटा आकाङ्क्षा छ (हुन्छ नै) ! र, त्यस आकाङ्क्षाको परिपूर्ति निमित्त एउटाले अर्काको हत्या पनि गर्न सम्भव छ– स्वाभाविक छ ।

मलाई लाग्दै छ, म जीवनको दार्शनिक पक्ष वा वेदान्ती दर्शन व्यक्त गर्दै छु, यस क्षण एउटा प्रबुद्ध पाठक मसँग स्वभावतः सोध्न सक्दछ, ‘शङ्करज्यू तपाईंको व्यक्तिगत आकाङ्क्षा के त ?’ निर्लज्जता यदि अपनाउन सम्भव छ भने (जो सम्भव छ, आश्वासन पाएको खण्डमा) ! म भन्नेछु ः मलाई जीवनबाट रिटायर हुन मन छ, राप्तीदूनको छेउछाउतिर, नदीमा कुनै किनारामा, सानो निष्क्रिय भई, उब्जेको खेती पचाउँदै मर्नु वा मृत्यु पर्खने मन छ । आज २४ वर्ष भयो आफ्नु खुट्टामा उभिएको, वा उभिने प्रयास गरेको । खुट्टा दरो कहिल्यै भएन । जहिले पनि धरमराइरह्यो । जीवनस्तर असारको घाँसजस्तै जताततै हुलुक्क बढ्दै गयो, बजारभाउले आर्थिक आयलाई बाढीमा बगाइरह्यो । तापनि म टिकिरहेँ ! अनेक झूट, कपट, धोका, बहाना र सक्रियता अँगालेर । वरिपरि हेर्छु, मभन्दा बढी दिगो भएका व्यक्ति देख्छु र मनमा एउटा विचार आउँछ, के तिनले मभन्दा बढी झूट–कपट, धोका, बहाना र सक्रियताका साधन अपनाए ? मैले जत्ति अपनाएँ ! त्यसमै मलाई ग्लानिले छोपेको छ, उनीहरू के ग्लानिको पहिरोमा दबेका छन्, होलान् ।

यहाँ पनि स्वभावतः ‘किन ?’ भन्ने शब्द उम्रिन्छ । म त्यसको हत्या गरिदिन्छु ।

‘किन ?’ भन्ने शब्द ज्ञानको पहिलो खुड्किला हो : र ज्ञानले बढी बोध, बढी जानकारी, बढी वेदनासिवाय अरू के दिन्छ ? वर्तमान जीवनमा बढी वेदना कसलाई मन पर्छ ?

त, मेरो कथन हो, आत्महत्या बढी वेदनाको अन्तिम बढी त्यान्द्रो हो ! र, अन्तिम त्यान्द्रो कहाँनिर गह्रौं भयो त्यो बुझ्ने अधिकार र क्षमता भारी बोक्नेलाई मात्रै उपलब्ध छ । यही दर्शनमा, दर्शनको यही मापदण्डमा, राष्ट्रका इतिहास सिर्जिन्छन्, समाप्त हुन्छन् । यो एक यस्तो प्रक्रिया हो, जो आदानप्रदानको तीव्रतामा टिकेको हुन्छ । एक किसिमले यो आयातनिर्यातको क्षमतामा आधारित राष्ट्रिय जीवनस्तरजस्तै हो ! यहाँ, ‘किन ?’ शब्दको वास्तविक परिभाषा बुझ्ने क्षमता उनैमा हुन्छ, जसले त्यसको भारी बोकेका हुन्छन् ।

मैले कप्तान मेननलाई आफ्नो धारणा बोकाउन असमर्थ भएसरह, म आफ्नो धारणा आफ्नै लागि धरमरिएको अनुभव गर्दछु ।

कैयन्ले आत्महत्या गरिसके । तीमध्ये कैयन् मेरा परिचित वा आत्मीय नै थिए । तिनले आत्महत्या गर्छन् भन्ने सुइँको पाएको भए, म सोध्ने थिएँ ‘किन ?’ भनी !

भइसकेपछि ‘किन ?’ को केही महत्व छैन ।

त्यसकारण मैले माथि कतै भनेँ सायद : आफ्नो प्रश्नले म स्वयम् होच्चिएको अनुभव गरेँ !

आत्महत्यामा ‘किन ?’ जस्तो वाहियात प्रश्न अरू होला ?