
देख्नुको अर्थ भेट्नु । देख्नुको अर्थ लेख्नु । देखेपछि सबै कुरा छर्लङ्ग हुनु । पुगेपछि नै सबै यथार्थ बोध हुन्छ । नदेख्दा अनभिज्ञ आफैँ हामी । नदेखेसम्म के र कस्तो भन्ने कुरा नै थाहा हुँदैन । जस्तो कि ‘नदेखेसम्म को हो को हो, देखेपछि मायामोह ।’
पुगेपछि भेटिनु र देखेपछि पुगिनुको सुखद पल त्यही ‘स्वर्ग’ । त्यही नै हामीले खोजेको ‘सुख’ । यसकै निम्ति आज हामी भौंतारिरहेका छौँ । तड्पिंदै, छट्पटिँदै, अल्मलिँदै कतै पुग्न, कहीँ जान सकिरहेका छैनौँ । बसीबसी सुखको मिठास लिने बानी हाम्रो । दुःख गर्न नसक्ने अल्छे हामी ।
संसार बुझ्न पाइला हिँडाउनै पर्छ । सागर भेट्न वेग मार्नै पर्छ । शिखर चुम्न उकालो चढ्नै पर्छ । फेँदी भेट्न ओरालो झर्नै पर्छ । भन्ज्याङ पुग्न कुइनेटो काट्नै पर्छ । हन्डर र ठक्कर बिर्सिनुपर्छ । भोकप्यास सहँदै कठिन सङ्घर्ष गरेपछि मिल्ने मेहनतको फल निकै मिठो र स्वादिलो हुन्छ ।
धैर्य र साहस नभई कतै पुगिँँदैन, केही जानिँदैन । कुनै प्रगति हासिल हुँदैन । त्यसैले पाउन र पुग्नलाई, देख्न र लेख्नलाई आफूले आफैँलाई त्याग गर्न सक्नुपर्छ । आफ्नो जीवन निःस्वार्थ समर्पण गर्न सक्नुपर्ने हुन्छ । तत्पश्चात् साक्षात्कार हुन्छन् मुस्कानमय आभासँग खोजेका र चाहेका कुराहरू एकपछि अर्को लर्को लाग्छन् । अनि भाग्छन् तत्कालै ‘बेचैन मनहरू ।’ बर्बादीको सबै ‘उपलब्धिहीन क्षणहरू ।’ आरिसे आँखाहरू ‘तर्केर’ आफ्नै बाटो लाग्छन् । प्रशंसा गर्नेहरूको ‘ओइरो’ लाग्न थाल्छ ।
यस्तोमा अनेकौँ खुसीका म्वाइँहरूले माया गरेको पनि थोरै लाग्छ । कैयौँ कठिन दिनहरू हम्मे र हैरानीले कटाएको पनि सबै बिर्सिन पुगिन्छ । खोजेको चीज पाउन र चाहेको कुरा भेट्न यतिसम्म मरिमेटेको खेर नजाँदा खुसी स्वतः स्वागतार्थ उपस्थित हुन्छ ।
वास्तवमा यसरी खोज्दै हिँड्दा धेरै कुरा पाइन्छ । चाहनाले व्याकुल बनेर कतै प्रस्थान हुँदा प्रथमतः प्रकृतिले प्रेम गर्न आउँछ । प्रकृतिप्रेमी मन भएपछि देख्नुको सबैथोक मिल्छ । हेर्नुको सबै कुरा देखिन्छ ।
पुगेपछि लेख्नुको अभिप्राय आफैँभित्र पस्नु हो । आफैँभित्र पस्नुको आशय आफैँलाई खोज्नु, खोतल्नु हो । आफैँमा हराउनु, रमाउनु, लहराउनु, चलमलाउनुको अर्थ खास हुन्छ । त्यही खास अर्थमा जीवन्त जीवनका मान्यता र मर्यादाहरू खुल्छन् ।
सन्तुष्टि र असन्तुष्टिहरूको बाझाबाझ । शब्दहरूको झगडा । बिलौना र विलापको ताण्डव नृत्य । मनमस्तिष्कमा त्यसको प्रभाव । प्रेरणा पनि उत्सुकता र उपेक्षा सबै ।
अनि क्रमशः तिनै बेमेल कुराहरूको आपसी मिलाप र मिलनमा शब्द–संरचनाको नयाँ जीवन निर्माण हुन्छ । त्यही नयाँ जीवन ‘सिर्जना’ हो, ‘साहित्य’ हो । अनुभूतिका अक्षरहरू सबै–सबै हो ।
अन्ततः कसैको जीवन पनि आनन्दको हुँदैन । हरेक पल ‘अभाव’ । हरेक क्षण ‘दुःख’ । कसैको मनमा शान्तिको सुस्केरा छैन । कति थरीका झमेलाले हैरान । हजारौँ किसिमका पीडाले प्रताडित ।
मान्छेको मन सानै कुराले दुख्छ । सानै कुराले खुसी हुन्छ । सानो हृदय तर कति कुरा अट्न सक्ने । कति विचार मन्थन, गन्थन हुन सक्ने । ‘रहर’ यहीँ छ । ‘कहर’ यहीँ भेटिन्छ । ‘हर्ष’ यहीँ मिल्छ । बिस्मातका बिरमाइला क्षणहरूले यहीँ ‘डस्न’ आउँछ ।
त्यसो त, स्वर्ग र सुख भन्ने कुरा धेरै टाढाको सपना । ननिदाइकन सपना देखिँदैन । हिजोआजको जीवनशैलीले मिठो सपना देख्न मुस्किल हुन थालेको छ । सपनाको चाहना राख्नु दुर्लभ हुन थालिरहेको छ । जहाँ देखेका सपनाहरू विपनामा हुँदैनन् । विपनामा सपनाका प्राप्तिहरू अधुरै रहेपछि त्यो सपनाको के अर्थ ?
सपना देख्नु भनेको नै वास्तवमा ‘सुख’ र ‘स्वर्ग’ पनि हो । जुन नितान्त अचेतन तन्तुहरूका माध्यमबाट केवल श्वास–प्रश्वासको प्रक्रिया मात्र भइरहेको हुन्छ । एक प्रकारले बेहोस अवस्थाजस्तो । मृत प्रायः लाशजस्तो पनि । जसले केही कुरा थाहा पाएको हुँदैन ।
मूलतः हामी सुख र स्वर्गीय आनन्दको कुरा धेरै गर्छौँ । ‘स्वर्गवास’ भयो भन्नु अथवा ‘स्वर्गमा बास होस्’ भन्नु मृत्युपछि होइन । वर्तमान बाँचिरहेको जीवनलाई नै कसरी स्वर्गीय बनाउने भन्ने मुख्य कुरा हो र हुनुपर्छ । हामी कुनै सुन्दर ठाउँमा गयौँ भने वा अलि फरक दृश्य देख्यौँ भने आहा ‘पृथ्वीमा स्वर्गको एक टुक्रा’ भन्छौँ । त्यसो भए त हामी ‘स्वर्गबासी’ पो हुने भयौँ । त्यसैले यसो भन्नु गलत छ ।
वस्तुतः जहाँ कुनै पनि किसिमको दुःख, पीडा, तनाव, झैझगडा केही हुँदैन । जहाँ शान्तिमय वातावरण, सौन्दर्यमय प्रकृति र आपसमा मानवीय सम्बन्धको गहिरो प्रेम हुन्छ, त्यहाँ सुख मिल्छ । त्यहाँ खुसी र सन्तुष्टि भेटिन्छ । वास्तवमा हामीले खोजेको सुख र स्वर्ग यही हो । यस अर्थमा भने ‘स्वर्गको एक टुक्रा’ भनाइ सार्थक लाग्छ । यो कुरा निकै महत्त्वपूर्ण छ ।
व्यक्तिगत स्वभावले मानिस दुःखी छन् । कोही मान्छे पद, पैसा, अभाव आदि कारणले मात्र दुःखी हुँदैनन् । मानिसका असीमित चाहनाले पनि दुःखतिर धकेल्छ । दुःखका अनेक कारणहरू हुन्छन् । असन्तोष स्वभावले पनि मानिसलाई दुःखी बनाउँदो रहेछ । प्रगतिमा त्यही स्वभाव बाधक बन्न सक्छ । कहिलेकाहीँ यही असन्तोषी स्वभावले प्रगतिमा प्रशस्त प्राप्ति पनि हुन्छ ।
वास्तवमा मानिस जतिसुकै अभावग्रस्त भए पनि सन्तोषी मनले कुनै दुःखको महसुस गर्न दिँदैन । खरको झुपडीमा पनि मस्तले निदाइ रहेकाहरू भेटिन्छन् । भव्य महलमा ऐसआरामले एक झप्को निद्रा नपरेर रात छर्लङ्गै पार्ने मानिस यहीँ छन् । यस्तोमा दुःख र सुखको तुलनै हुन सक्दैन रहेछ । सम्पन्न, विपन्न, अभाव कुनैको परिभाषा पनि यथार्थमा मिल्दैन । अहिले जे जस्तो अवस्थामा हामी छौँ, त्यसमै सुख खोज्नु उत्तम मानिन्छ । त्यसमै जीवन बाँच्नु र हाँस्नु सर्वोत्तम ठानिन्छ ।
यथार्थमा ‘स्वर्ग’ भन्नु सुखी जीवनको ‘सुन्दर प्रतिविम्ब’ हो । जहाँ आनन्द मिल्छ । जहाँ सुख हुन्छ । समय फेरि फर्केर आउँदैन । जीवन फेरि जवानै रहँदैन । चिन्ता र तनावको व्यवस्थापन अति आवश्यक हुन्छ । समयलाई समातेर हिँड्न सक्नुको उपलब्धि उच्च हुन्छ । पश्चात्तापको आँसु झार्नु र विगतको बेवास्ता गर्नु हुँदैन । समस्या रहेकालाई पर्छ । सुखको खोजीमा भौंतारिनु र दुःखको भड्खालोमा भतभती परेर पिल्सिनु कदापि हुँदैन ।
जीवनमा केही पाउन केही गुमाउनु पनि पर्छ । स्वस्थ रहन अस्वस्थ सोचविचारलाई फाल्नुपर्छ । सुख खोज्न र दुःख भेट्न त्यति सजिलो छैन । सुखले हाँस्न र दुःखले रुन हामी आफैँमा निर्भर छ । यो संसारको सबैभन्दा महँगो चीज नै सुख र खुसी हो । सुख र खुसी भएपछि स्वर्ग देख्नलाई मर्नु पर्दैन । सुख भेट्न टाढा जान पर्दैन । दुःख यहीँ छ । स्वर्ग यहीँ छ ।
अतः देख्नुको अर्थ भेट्नुसँग हुन्छ । भेट्नुको अर्थ पुग्नुसँग हुन्छ । पुगेपछि चाहनाका सबैथोक पूरा हुनुपर्छ । चाहना पूरा हुनु, खुसी र सुखकै स्वर्गीय पल हो । यसरी देखेर पुगेपछि, पुगेर भेटेपछि र भेटेर भरपेट इच्छा पूरा गरेपछि जीवनको मूल्य थाहा हुन्छ । जीवनप्रति माया लाग्छ । सबैप्रति प्रेम जाग्छ । घृणाको भाव भाग्छ । अनि जीवनलाई जीवन्त बनाउने अभियान थालनी गर्न हतार हुन्छ ।
यही हतारको नाउँ जिन्दगी । यही जिन्दगीलाई सुखपूर्वक जिउन कति गारो । यही जिन्दगीलाई खुसीले हँसाइराख्न कति कठिन । कति जनालाई खुसी पार्नु ? कति जनालाई दुःखी बनाउनु ? अर्कालाई सताउनुसम्म सताएर कतिञ्जेल बनावटी हाँसो हाँस्नु ? सरल, शान्त र सुन्दर जीवन बाँच्न सकिँदैन रहेछ ।
अन्ततः कठिन जीवन बाँच्न पनि झन् अप्ठ्यारो छ । देखे जति पुग्न र भेट्न सकिँदैन । भेटे पनि सम्झन सकिँदैन । सम्झनु र बिर्सनु । भेटिनु र छुटिनु पनि जिन्दगी । भोगेका कुरा भावनामा पोखिनु यौटा अलग्ग अभिलेख जिन्दगी ।
यसरी देख्नुको अर्थ लेख्नुमा निरर्थक होइन सार्थक लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

