जब निद्रा लाग्दैन नि, लाग्दै लाग्दैन । हिजो पनि त्यस्तै भयो ।  मानसपटलमा अनेकौं कुरा खेलिरहे । चञ्चल चित्त समस्त ब्रह्माण्डको भ्रमणमा निस्क्यो । अर्ध रात्रिको निश्शब्द नीरवतामा कहिले एक प्रकारको सुखद प्रसन्नता त कहिले मतिभ्रम । मनमा समाल्न कठिन हुने गरी छरपस्ट र विकीर्ण विचारहरू आइरहे ।

कहिलेकाहीँ अनिद्रा पनि वरदान बन्दो रहेछ । त्यही अनिदोका माझ जीवनका विभिन्न मुकाममा देखेका,पढेका,  भोगेका,सुनेका र अनुभव गरेका कुराहरूले मस्तिष्कमा हलचल र होहल्ला गर्न थाले । मानसपटलको अँध्यारो कुनामा अलप भएर बसेका कुराहरू नूतन र ताजा भएर उपस्थित भए  । अनियोजित एवं अनाहत  स्मृतिको भिडले अविरल आकर्षण गरिरह्यो । सकारात्मक भएर स्वीकार गर्दा अनिदो पनि रचनात्मक बन्दो रहेछ ।

भनिन्छ, साहित्यमा नोबेल विजेता अर्नेस्ट हेमिङ्वे जब आफूलाई मन पर्ने मदिरापान, सिकार र लेखनसमेत तीनवटा काम गर्न असमर्थ भए, आफैलाई गोली हानेर आत्महत्या गरे । आत्महत्या अत्यन्तै निकृष्ट कर्म मानिन्छ । परन्तु जेसुकै माने तापनि  एउटा विश्वव्यापी जीवन्त बौद्धिक सम्पत्तिले अपहत्ते गरिसकेको थियो । यहाँ जिउनलाई अनेकौं कारण चाहिन्छ, किन्तु मर्नलाई एउटै बहाना काफी । मनुष्यको मृत्यु कहिले, कहाँ र कुन भवितव्यबाट हुन्छ, कसैलाई थाहा छैन ।  अस्तित्वले मृत्युको सूचना स्वयं मर्नेलाई पनि दिंदैन । लगातार एकपछि अर्को बीभत्स हवाई दुर्घटनामा बाँचेका हेमिङ्वेले सहजै आफूले आफैलाई मारे ।

मृत्यु टारेर टर्दैन रे । सबैलाई थाहा छ, एक दिन मर्नै पर्छ । यो अवश्यम्भावी भएर पनि भयावह छ । जिउन कठिन छ, मर्न झन् कठिन । इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहको जीवन निरस र छटपटीले ओतप्रोत थियो । उनी हस्तिनापुरको  त्यस्तो राजगद्दीको सुरक्षाका खातिर जिउन विवश थिए,  जसलाई उनी आफैले त्याग गरेका थिए । जीवनको विडम्बना हेर्नुस् त, आफूले जुन कुरालाई त्यागेको छ, त्यसैको रक्षा गर्ने भीष्म प्रतिज्ञा । महर्षि व्यासले कुनै प्रसङ्गमा उनलाई सम्बोधन गर्दै भनेका थिए, ‘जिउन बहुतै कठिन छ वत्स !’ इच्छा मरणका कैयौं अवसर आए,  किन्तु नियतिले उनलाई वाणको शैया कुरेर बाँचिरहन विवश पार्‍यो । अनौठो छ जीवनयात्रा ।

मनुष्यको जीवन, आरोह र अवरोहको संयोग । एउटा लिस्नो हुन्छ माथि चढाउन र फेरि तल तान्छ नियतिले । न दुःख मात्र  दिएर सदा शोकाकुल राख्छ, न त सुख दिएर निरन्तर आनन्द र प्रसन्न नै । सबैको आरोह र अवरोहका आफ्नै कथा हुन्छन् । परिश्रम, आराम, रोदन र मुस्कान, एउटा यात्रा अनेकौं आयाम । भित्र अन्तस्तलमा कतै बसेको छ अचम्मको इच्छा ।  जीवनशक्तिलाई  आफ्नो अवसानअघि नै अर्को जीवनमा सङ्क्रमण गरेर जान चाहन्छ जीव । एउटा पिपलको वृक्ष पनि आफू मर्नुअघि हजारौं बीजको माध्यमबाट आफूलाई बचाउँछ ।

एउटा भुस्याहा कुकुर दौडिरहन्छ गल्ली गल्लीमा । उसलाई नै थाहा छैन ऊ किन गाली र लाठा खाँदै पत्तातोड दौडिरहेछ । उसका आमाबाबु पनि यसैगरी दगुरेका थिए । असीम कम्पन, श्वासप्रश्वासको तीव्रता र कौमार्य तोड्न आतुर एक जोडीको चटारो र हडबडीको उपज त हो त्यो दौड । चटारो छ, किनकि जीवन क्षणभङ्गुर छ । पुस्तान्तरणको सिलसिला एक अव्यक्त  कर्तव्य हो । प्रत्येक जीव अस्तित्वको अन्तर गर्भमा विलीन भएर फेरि जन्मन आतुर छ  ।

यो फगत यौनको कुरा मात्र होइन । यो त अस्तित्वले निर्धारण गरेको सृष्टिको प्रक्रिया चलाउने परियोजना हो । आफू मरेर गए पनि सृष्टिलाई निरन्तर राख्ने चाँजोपाँजो । अविरल अतृप्ति र भोकको दसी प्रमाण  हो यो दौडाइ । कुनै सुख छैन, कुनै आनन्द र सम्मान छैन । जताततै मुस्किलको घेरा छ । ज्यान जोगाउन दुःसाध्य छ । कहिँ गएर पनि चयन छैन, केवल भौंतारिनु छ । हान्नेले त एकै ठाउँ बसे पनि हान्छ र दौडे पनि हान्छ ।

भुस्याहा कुकुरको दौडाहा र मनुष्य जीवनको भागाभागमय परिभ्रमणमा तात्त्विक भिन्नता छैन । यदि कुकुर बिरालाको पनि मानिसको जस्तै समझ र अभिव्यक्त गर्ने भाषा भएको भए उनीहरूले पनि मनुष्य जातिको कुनै उच्च मूल्याङ्कन गर्ने थिएनन् । मनुष्यको स्वार्थ, अनाचार र पापाचारको फेहरिस्त नै बनाउने थिए उनीहरू ।  कुकुर, बिरालो या पिपल कोही पनि नि:सन्तान भएर मर्न चाहँदैन । यो संस्कृतिको कुरा होइन, यो त अस्तित्वले निर्धारण गरेको नियम हो । यो कुनै नियोजित पद्धति नभई स्वतःस्फूर्त प्राकृतिक ऋत हो ।

मनको बह, अनुभवको चोट र अङ्गभङ्ग एवं लयहीन गाना झैँ उबडखाबड छ जिन्दगी । परन्तु अगाडि टाढा टाढासम्म देखिन्छ मरीचिकाको आकर्षण । यसैमा त छ मजा । आफैलाई पाल्नु पहिलो कर्तव्य हो रे । भरिएको पेटले अर्को पेट भरिदिने चाहना गर्छ । खान पायो भने फर्सीको लहरा पनि भिर भनेर डराउँदैन । भिरैमा फलिदिन्छ र आफ्नो एउटा जीवनलाई सहस्र जीवनमा परिणत गरिदिन्छ । ऊ आफ्नो जुनी सकिए पनि अरूको जुनीमा जिउन चाहन्छ । मेरा पिता ममा सरेर बाँचिरहेछन् । म मेरा सन्तानमा सरेर बाँच्नेछु । यसैगरी चलिरहेछ जीवनको लय ।  जबसम्म प्रलय हुँदैन, जीवन यसैगरी अर्को जीवनमा विलय हुँदै जानेछ । सायद आफ्नो जीवनको नासो अर्को जीवनलाई सुम्पेर जानु नै मोक्ष हो ।

महाभारत कथाको प्रसङ्ग हो । भीष्म नेत्रहीन धृतराष्ट्रका लागि सुयोग्य कन्या गान्धारी माग्न गन्धार पुगे । पिता गन्धार नरेश सुबल र दाजु शकुनिले  इन्कार गरे । किन्तु भीष्म त अपहरण गरेरै भए पनि गान्धारीलाई लैजानै भनेर आएका थिए । गान्धारीले सोचिन् – भीष्म जस्ता महापुरुषसँग भिडन्त गरेर पिता र दाजु विजयी हुने त होइनन् । उनी हस्तिनापुर दरबारकी बुहारी हुन राजी भइन् । अत्यन्त प्रसन्न भएका भीष्मले गान्धारीलाई आशीर्वाद दिए, ‘शत्पुत्रवती भव !’ भन्नु पर्थ्यो सत्पुत्रवती, भनिदिए शत्पुत्रवती ।

शकुनिलाई अत्यन्तै धूर्तताको प्रतीक मान्ने गरिन्छ । हो, उनी धूर्त र जाली थिए । परन्तु उनी स्वेच्छाले त्यस्ता भएका होइनन् । हेप्नुको पनि हद हुन्छ । शक्ति र पराक्रम छ भन्दैमा मन नपरेको युवकका लागि जबर्जस्ती बहिनीलाई उठाएर लैजाने ?  गान्धारी त आँखामा पट्टी बाँधेर हस्तिनापुरतिर लागिन् । परन्तु शकुनिको चित्त भने सम्हाल्नै नसक्ने गरी विदीर्ण भयो । उनी मनमनै कुरुवंशको सर्वनाश नहुँदासम्म हस्तिनापुर नछाड्ने प्रतिज्ञा गरेर बहिनीको घरमा आएर बस्न थाले ।

बाहुबल कमजोर भएपछि अन्यायका विरुद्ध छलबलको सहारा लिनुबाहेक अर्को उपाय पनि त थिएन । अरू तमाम मानिसका लागि महाभारत सत्य र असत्यका बिचको सङ्ग्राम थियो, किन्तु शकुनिका लागि त्यो बदलाको युद्ध थियो । वार कि पारको  ।

सुख या दुःखको निर्धारण राजसिंहासन या सुकुलको आसनले गर्दो रहेनछ । जब स्वाभिमानमाथि चोट लाग्छ, मानिस शकुनिझैँ कपटी बन्न पनि तत्पर हुन्छ । एउटा राजा जीवनभरि बहिनीको घरमा गास्सेले झैँ दुई छाक हेलाको चारो खाएर बस्नु चानचुने कुरा थिएन । शकुनिको जीवनको यो पाटोतर्फ विचार गर्दा उनको चित्त कति गहिराइसम्म दुखेको रहेछ भन्ने ज्ञात हुन्छ ।

भीष्मले त आफ्ना विमातृ भाइहरू चित्ररथ र विचित्रवीर्यका लागि पनि कन्याहरू अपहरण गरेरै ल्याएका थिए ।  त्यति गर्दा पनि उनको जीवन सुखी भएन । न प्रतिज्ञा काम लाग्यो न त परिवारलाई मिलाएर राख्न सके । आफ्नो त्यागको त्योभन्दा दारुण र दर्दनाक तमासा अर्को के होला ? तैपनि बाँच्नु छ । न जन्म सुखद, न यौवन सुखद,  न वृद्धावस्था सुखद र न त मृत्यु नै । जिन्दगीलाई ख्यालठट्टाझैँ ठान्दै भविष्यको विचार नगरेर निर्णय गर्ने जो कोहीको जीवन भीष्म पितामहको झैँ कठिन हुन्छ ।  यो जगतको करिब करिब प्रत्येक मनुष्य प्रकारान्तरले एउटा भीष्म हो । हतारमा गरेको आफ्नै निर्णयको अभागी भागिदार । मैले पनि त्यस्ता भूल गरेको छु । कुनै वर्णनीय र कुनै अवर्णनीय ।

कसैलाई प्रोत्साहित गर्नु छ भने उसको स्वाभिमान र शक्तिलाई जगाउनु रे । कसैलाई हतोत्साहित गर्नु छ भने उसको स्वाभिमानमाथि मार हान्नु रे । महाभारतको युद्ध चलिरहेको थियो । यता अर्जुनतर्फ कृष्ण जस्ता हिम्मत दिने सारथी । उता भने अविरल कर्णको मानमर्दनमा निमग्न शल्य जस्ता सारथी । ‘कसैको मनोबल गिराउनु छ भने उसको आत्मबलको सिकार गर’ भन्ने मन्त्र बोकेका थिए शल्यले । परन्तु कर्णको जीवन त शान्तिकालमा पनि दुःखद नै थियो । हृदयमा न आगो न पानी, केवल  उदासी मात्र । कर्णले शकुनिलाई हकार्दै भन्ने गर्दथे, ‘म दुर्योधनको निष्ठावान् होइन, ऋणी मात्र हुँ गन्धार नरेश !’ आदर गर्नै मन नलाग्ने मान्छेबाट  कुनै न कुनै तवरको ऋण खाएका कारण उसैको अनुयायी बन्न  विवश मानिसहरू आज पनि होलान् । बोल बोल मछली मुखभरि पानी ।

अन्धकारको अजिङ्गरले आजीवन निलिरह्यो कर्णलाई, तर पनि निलेर भ्याएन । थाहा थियो, कुनै यशश्वी पिता र कुलीन आमाको पुत्र हुँ, किन्तु दुनियाँ त प्रमाण माग्छ । कृष्ण भन्ने गर्दथे, ‘हे दानवीर ! कहिलेकाहीँ म तिम्रो सच्चाइ देखेर भयभीत हुन्छु ।’  जन्मने बित्तिकै आमाले नदीमा बगाउनु, गुरुबाट श्राप पर्नु, दुर्योधन जस्तो हठी र अभिमानीको सङ्गतमा पुग्नु । हाम्रो वर्तमानमा समेत योग्य भएर पनि नियतिबाट ठगिएका अनेकौं पात्र होलान् ।

कृष्णलाई पनि जिउन त सजिलो थिएन । किन्तु उनले समस्त मानव जातिका लागि दुईवटा अविस्मरणीय सन्देश छाडेर गए । ती हुन् – अविरल कर्ममा तल्लीन हुनु र किमार्थ शोकाकुल एवं रुन्चे नबनी सधैं मुस्कुराउनु । कृष्णको त्यही मुस्कान देखेर कर्णले भनेका थिए, ‘मलाई व्यङ्ग्यपूर्ण मुस्कानको चुनौती नदेऊ त वासुदेव !’

एउटा पङ्ख काटेर पक्षीलाई उड् भनेझैँ आफैले वञ्चनामा पारेर आफैले हेप्दै र गिल्ला गर्दै होच्याउने कस्तो समाज हो यो ? कर्णले एकपटक कृष्णलाई भनेका थिए, ‘विभेदको यो किरोलाई झन् बलवती बनाउने प्रयास किन गर्छौ हँ ?’ भोलि अर्जुनसँग लडेर वार कि पार हुनु छ, आज बल्ल आएर आमा कुन्ती भन्छिन्, ‘तिमी मेरो जेठो छोरा हौ ।’  फेरि वासुदेव भन्छन्, ‘दुर्योधनलाई छाडेर भाइहरूको शरणमा जाऊ । तिमी सम्राट् हुनेछौ ।’ जीवनमा योभन्दा ठुलो थप्पड के हुन्छ ?

मनुष्यको भित्री र बाहिरी जीवन फरक हुन्छ । तत्कालीन समाजको नजरमा कर्ण दुर्योधन, दुःशासन र शकुनिका अभिन्न मित्र र समर्थक थिए । परन्तु भित्र भित्र भने कर्णलाई कहिल्यै गहिरो निद्रा लागेन । मन हरदम भतभती पोलिरह्यो । जिउन मन थिएन, तर जिउने बाध्यता थियो । जोसँग सङ्गत थियो, ती स्वार्थी थिए । जिन्दगीलाई जानाजान कसैको गोटी बनाउने विवशता थियो । ती बलिष्ठ भुजाहरू सदैव अर्काको खटनमा चलिरहे । बुद्धिहीनहरूको सङ्गतिले प्रज्ञाको नाश भयो । जिउन अत्यन्तै कठिन भयो ।

वासुदेव कृष्णबाहेक गुनासो  सुनाउन लायक कुनै पात्र थिएन । तिनै वासुदेवले पनि जीवनको सबैभन्दा पेचिलो समयमा धोका दिए । उनले भनेका थिए, ‘जिउनु बहुतै कठिन काम हो कौन्तेय !’  कौन्तेय ? के भन्छन् यी छलिया कृष्ण ? ‘हो कर्ण तिमी ज्येष्ठ कौन्तेय हौ ।’ त्यतिले नपुगेर वासुदेव अगाडि भन्दै गए,  ‘जिउन त मलाई पनि कठिन छ वत्स । तिम्रा आफ्ना भनेका दुर्योधन, दुःशासन र शकुनिहरू त पराइ नै थिए । तर मेरो अवस्था थाहा छ ? मेरा आफ्ना भनेका त मेरा आफ्नै स्वजन र कुटुम्ब हुन् । मेरा छोरा, नाति र बन्धु – बान्धवहरू मेरो पौरख खाएर मलाई नै नटेर्ने बनेका छन् । ती अहङ्कारीहरूको अन्त्य कसरी होला भनेर चिन्तित छु ।’ कर्णले कृष्णलाई अविचल  हेरिरहे । कृष्ण मन्दमन्द मुस्कुराइरहेका थिए ।

कर्ण पाण्डवको पक्षमा लाग्न नामन्जुर भए । यस्तोमा अलिकता स्वाभिमान र इमान भएको जोसुकै मान्छे नामन्जुर हुन्छ । अनि कृष्ण भन्छन्, ‘तिमी त्यो सब गर्न तयार छौ, जो म चाहन्न । म जुन एउटा कुरा माग्दछु, त्यो दिन तिमी तयार छैनौ ।’  कर्णलाई थाहा थियो, धृतराष्ट्रको पक्षमा लडिरहेका महारथीहरू देखावटी राजाभक्त त थिए तर राज्यभक्त थिएनन् । दुर्भाग्यवश उनी स्वयं पनि दुर्योधनका ऋणी मात्र थिए, हार्दिक निष्ठावान् थिएनन् । तैपनि दुर्योधनलाई विजयको भरोसा थियो ।

इतिहासको निर्मम बोझ बोकेर थकित भएको जीवन त्यो बोझबाट मुक्ति चाहन्छ । अनि भविष्यको हातमा बोझ सुम्पेर आफू बिदा हुन्छ । आफ्नो भागको परीक्षा सकेपछि उत्तीर्ण भए पनि र अनुत्तीर्ण भए पनि  बाहिर त निस्कनु नै पर्छ । कर्ण पनि अर्जुनको वाणको प्रभावले त्यो कठिन जीवनबाट मुक्त हुँदै अनन्त अन्धकारमा विलीन भए । प्रकाशको सीमा थियो, अन्धकार असीम। प्रकाशमा उत्तेजना थियो, अन्धकार शान्त । प्रकाशमा प्रवृत्तिको तनाव थियो, अन्धकारमा निवृत्तिको सुस्ताइ । प्रकाशमा थकान थियो, अन्धकारमा आराम ।

गान्धारीको आँखामा आफैले रोजेको पट्टी थियो । प्रत्येक मनुष्य आआफ्नो आँखामा पट्टी बाँध्न विवश छ । सत्यलाई इन्कार गर्न या जिम्मेवारीबाट पन्छिनका लागि पट्टी सजिलो माध्यम हो । सत्य त्यसरी नै छोपिंदै आएको छ, जसरी दुर्योधनले छोपे । गान्धारीले जीवनमा एकपटक मात्र आफ्नो पट्टी खोलेकी थिइन् । त्यही पनि पुत्र दुर्योधनले नग्नतारूपी सत्यलाई केराको पातले छोपेर माताको अभिलाषामाथि तुसारापात गरिदिए । हाम्रो जीवन पनि दुर्योधनको जस्तै त छ । जहाँ वस्त्र लगाउनुपर्छ, त्यहाँ निर्वस्त्र हिँडिदिन्छौं । जहाँ आफ्नो कर्तव्यका लागि पारदर्शी हुनुपर्छ, त्यहाँ आवरणमा हुन्छौं । अन्धो अभिलाषाले दिने बरबादीको प्रतीक हो दुर्योधनको जीवनी ।  मूर्खताको न सिङ हुन्छ न त पुच्छर नै ।

सुकरातको हरकतले युनानी सत्ता हैरान थियो । स्वेच्छाचारी सत्ताले उनलाई मृत्युदण्डको फैसला सुनायो । भनिन्छ, प्लेटो समेत सुकरातका चेला एवं सहृदयीहरू जेलर र गार्ड्लाई घुस खुवाएर जेलभित्र घुसे । उनीहरूले सुकरातलाई जेलबाट भगाउने योजना बनाएका रहेछन् । परन्तु सुकरातले भाग्न इन्कार गर्दै भने, ‘म भाग्दिन, किनकि म बाँचें भने मेरो बिचार मर्नेछ र म मरें भने मात्र मेरो विचार बाँच्नेछ । मेरा निम्ती भगोडा जिन्दगी जिउन कति कठिन होला ? कल्पना गर त वत्स ।’