
कुकुरहरू मान्छे बन्ने तरखरमा छन्
तीर्थ सिग्देल
रातभरी निदाएको कुकुर जुरुक्क उठ्यो । आङ तान्यो, जिउ तंग्र्यायो, अनि हिँड्ने सुर कस्यो ।
कुकुरले मतिर हेर्दै भन्यो, “…दाजु, बिहानै कता ?”
मसँग उत्तर थिएन । ऊ रातभर डिउटी गरेर बिहान यसो झकाएको मात्र रहेछ । मेरो गाडीको आवाजले उसको निद्रा खलबल्याएछ क्यारे । सायद ऊ मसँग भित्रैदेखि मुरमुरिएको हुनुपर्छ ।
कुकुरको धर्म भुक्नु हो । तर ऊ दिउँसो भुक्दैन । खै किन हो ? म ऊ राति राति मात्र भुकेको सुन्छु । उसले आजसम्म कसैलाई टोकेको देखेको छैन । खै किन हो ? कुकुर भएर पनि ऊ कसैलाई टोक्दैन ।
मैले उत्तर दिएँ, “…बिहान यसो चिचुमा नि ।”
सायद उसले कुरा बुझेन । मान्छे हो र, कुरा बुझ्ने । तैपनि उसले कुरा बुझेजस्तै गरेको हाउभाउ गर्यो । पुच्छर हल्लायो, जिउ मर्कायो अनि दुई वटा खुट्टा अगाडि फैलाएर मेरो अगाडि नतमस्तक भयो । यति कुरा त कुकुरले बरु बुझ्यो । मान्छेले त यति कुरा पनि बुझ्दैनन् । अर्थात्, बुझेर पनि बुझ पचाउँछन् । थाहा नपाएजस्तै अभिनय गर्छन् ।
कुकुरहरू पीडामा छन् । पुनर्जन्म सम्बन्धी एउटा धार्मिक मान्यता सुनेको थिएँ, ८४ लाख जुनी मध्ये कुकुरको जुनी अन्तिम हो रे ।
यो कुरामा कति सत्यता छ, थाहा छैन । तर मेरो टोलका कुकुरहरू अब अर्को जुनीमा मान्छे बन्ने तरखरमा छन् कि जस्तो लाग्छ । मेरै घरमा जन्मिएको त्यो कुकुरका भाइ बहिनीहरु अकालमै मरे । सडक दुर्घटनामा परे । सायद ती कतै मान्छे भएर जन्मिसके कि ? सडक कुकुरहरूका लागि कालजस्तै हो । धेरै कुकुरहरू सडकका बिचमा मरिरहेको देखिन्छन् । उनीहरूले स्वाभाविक मृत्यु रोजका हुन् कि मान्छे अधर्मी भएका हुन् ? यो कुरा मैले पत्ता लगाउन सकेको छैन ।
बेलाबेला यस्तो पनि लाग्छ । सायद कुकुरहरूलाई ८४ लाख जुनी पार गर्न कठिन भइरहेको छ । त्यति लामो समय पार गरेर मान्छे बन्न हतारो भएर पो हो कि उनीहरू सडकमा लम्पसार बनेर सुतिरहेका । अनि बेलाबेला फेरि यस्तो लाग्छ, म पनि त भर्खरै कुकुरको जुनी पार गरेर मान्छे बनेको हुँ नि । त्यही भएर म मेरा टोलका कुकुरहरू प्रति खासै दुराशय राख्दिन । नभुक्ने कुकुर देख्दा अझ माया लाग्छ, त्यही भएर म कुकुरहरूलाई बिस्कुट खुवाउँछु । चिसो भातमा दूध तताएर खान बोलाउँछु, चोए…चोए ।
मेरै घरमा जन्मिएर सडक दुर्घटनामा नमरी बाँचेको एउटा भाइ कुकुरको अनुहार ठ्याक्कै मेरै हजुरआमाको जस्तो देख्छु । मेरो छेवैमा आएर ऊ लुटपुटिँदा म मेरी हजुरआमाको छेउमा पुगेर बसेको सम्झिन्छु । अनि मान्छेहरूका सुरक्षामा रातभर नसुती ड्युटी गर्ने कुकुरहरूको कर्म निस्वार्थ लाग्छ मलाई । अलि पर एउटा प्लाइउड फ्याक्ट्री छ । त्यहाँ सुरक्षाका लागि गार्ड राखिएका छन् । ती गार्ड तनखा लिन्छन् तर कुकुरहरूले मान्छेसँग तनखा लिएको मैले आजसम्म देखेको छैन । कतै तलब पाइनँ भनेर हडताल गरेको सुनेको छैन । न ड्युटी छाडेर भागेको देखेको छु । बरु अझ इमानदार बनेर आफ्नो कर्तव्य पथमा लागिरहेको देखेको छु ।
त्यही भएर त्यो धार्मिक मान्यतामाथि सत्यता छ कि जस्तो लाग्छ । कुकुरहरू मान्छे बन्ने तरखरमा छन् । कुकुरहरू मान्छेको सेवामा छन् । मान्छे मस्त निद्रामा रहेको बेला कुकुरहरू जाग्राम बस्छन्, तीनै मान्छेको सुरक्षामा । बिना कुनै लोभ, स्वार्थ र फाइदाका लागि अहोरात्र कुकुरहरू खटिरहेका छन् । उनीहरू अन्तिम जुनी सकुशल पार गरेर मान्छे बन्ने सफल अभ्यास गरिरहेका छन् । अब उनीहरू कतै कसैको कोखमा बस्दा मान्छेको रूपमा हुनेछन् ।
तर मान्छे …? मान्छे फेरि के हुन्छ ? मान्छे फेरि जन्मिदा के भएर जन्मिन्छ ? मान्छे नै भएर जन्मिन्छ कि उसले पहिलो जुनीमा पुग्नुपर्छ, जसलाई फेरि मान्छे भएर जन्मिन हजारौं वर्ष लाग्छ ? म यस्ता विषयमा जानकार त होइन तर मान्छेले पाएको यो जुनीको सही सदुपयोग नगरेको देख्दा भने मान्छे अब सिधै कुकुर भएर जन्मिन्छ जस्तो लाग्छ किनभने कुकुरहरू मान्छेभन्दा बढी इमानदार देख्छु म ।
इमान, इज्जत र प्रेस्टिज त बरु तोक्मे बुढाले सिकाउलान् तर मान्छे कुकुरभन्दा बढी बेइमान छ । आफ्नै घर अगाडि दिनरात निःशुल्क ड्युटी गर्ने राते कुकुर मान्छे घरबाट निस्कँदा पुच्छर हल्लाएर झुकेर अभिवादन गर्छ तर त्यही मान्छेले कुकुरलाई लातले हान्छ । एक मुठी भातको लालसामा कुकुर आफ्नो अन्तिम जुनी काटिरहेको छ, मान्छे बन्ने प्रतीक्षामा । अर्को जुनीमा पुरुष मान्छेको वीर्य बनेर उदाउने लालसामा चिसो रात काटिरहेको छ । मालिकको प्रताडना खपेर भए पनि ऊ अर्को जुनीमा मान्छे बनेको सपना देखिरहेको छ । कसैको कोखमा भ्रूण बनेर बसेको कल्पना गर्छ, कसैको सन्तान भएर आउने बिपनामा ।
कुकुर मान्छे बन्न प्रयास गरिरहेको छ र मान्छे कुकुर बन्ने हतारोमा छ ।
कठिन अनि सृष्टिकै लीलामाथि व्यङ्ग्य जस्तो लाग्ने कुकुरहरूको चोला भयानक पीडादायी लाग्छ मलाई । भावना उर्लेर हो या सत्य हो, म बेलाबेला कुकुरहरूको दुर्गति देखेर भावुक बन्छु अनि मान्छेहरूको दुःख सम्झेर उस्तै बन्छु ।
बेलाबेला मान्छे र कुकुरहरू बिचमा तुलना गर्छु । मान्छेको चोला पाएर मान्छेले अरूलाई घृणा गरेको आशक्तिपन देखाएर कुकुरले झैँ दाँत देखाएर हाँसिरहेको देखेको छु । पैसाभन्दा पर्तिर जीवन नदखेर अन्धकारमा दौडिरहेको मान्छेहरूलाई झेलेको छु मैले । अनि कुकुरले झैँ मान्छेले मान्छेको खुट्टा टोकेको समाचार लेखेको छु । बरु कुकुरहरूले मान्छेको जीवन बचाएका कथाहरू सुनेको छु । निस्पट्ट अँध्यारो कालरात्रिमा मान्छे कै सुरक्षामा लागि आफू असुरक्षित बनेका घटनाहरू देखेको छु । कुकुरहरूले सडकमा उत्तानो परेर ज्यानको बाजी थापेर कठिन अन्तिम जुनी पार गर्ने कसरत गरेको देखेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

