धेरै दिनदेखि मैले सोचिरहेको थिएँ यो अन्तर्मन भनेको के होला भनेर ? यसबारे कसरी सोच्छन् मान्छेहरू ? हुन त मनका बारेमा मानिसहरूले धेरै पहिलादेखि सोच्दै लेख्दै आएका हुन्, अहिले पनि लेख्दै छन् र भविष्यमा पनि लेख्ने छन् । अन्तर्मनका बारेमा पनि लेख्लान् त ? मेरो जिज्ञासा छ । मेरा मनमा यस्ता प्रश्न या तर्कनाहरू पानीका फोकाहरू झैं निरन्तर उठ्छन् अनि एकै क्षणमा फुट्छन्, हराउँछन् । मन मान्दैन यो अन्तर्मन भनेको के हो र कस्तो हुन्छ भन्ने कुरामा ? तैपनि तर्कना गर्न भने छाड्दिनँ ।
पीपलपाते बुद्धिजीवीहरू एउटै शब्दको अनेकौँ अर्थ निकाल्दछन्, त्यसबारे बहस पनि गर्दछन् तर ठोस् कुरा व्यक्त गर्न असफल नै देखिन्छन् । मैले यसो भन्दा बुद्धिजीवीहरूको अपमान गरेको भन्ने नठानियोस्, मेरो कुरा यत्ति मात्र हो । प्रत्येक शब्दको आफ्नो निश्चित अर्थ होस् जसलाई सामान्य मान्छेले पनि सहजै बुझ्न सकुन् । बुद्धिजीवीहरू मन भन्ने एउटै शब्दका अनेकौँ पर्यायवाची शब्द निर्माण गरेर बुझ्न अप्ठेरो पार्ने मात्र होइन गन्जागोल पनि पारिदिन्छन् । जति धेरै शब्दजाल बुनेर गन्जागोल पार्न सकिन्छ त्यति नै ठूलो विद्वान् अझ भनौं महापण्डित भइन्छ भन्ने उनीहरू ठान्दछन् । उनीहरू आफूलाई शब्दजाल बुनेर मानिसलाई गन्जागोलमा फसाउने कारखानाका ठेकेदार नै ठान्छन् । मलाई डर लाग्छ कतै आफूलाई पनि पेटी ठेकेदार भनिदिने पो छन्, कि ?
बुद्धिजीवीहरूले धेरै कोणबाट मनलाई चिनाउने प्रयत्न गरेका छन् । उनीहरू शरीरमा रहेको एउटा अदृश्य भाग जहाँबाट विचारको उत्पादन हुन्छ त्यसैलाई मन भन्दछन् । मलाई यहींनेर छ्यास्स जिज्ञासा राख्न मन लाग्छ, मन भनेको विचार उपादान गर्ने कारखाना नै हो त ? तपाईंहरूलाई लाग्ला मनको अर्थ र परिभाषा सजिलै रहेछ नि त भन्ने ! तर त्यसो होइन । कतिपय विद्वान्हरू मनलाई बुद्धि, भाव, एकाग्रता, चिन्तन शक्ति, स्मरण शक्ति आदिजस्ता कुराहरू मस्तिष्कको कार्य शक्तिको द्योतकको रूपमा हेर्छन्, त्यसो भए मन र मस्तिष्क उस्तै कुरा हुन् त ? सोच्न कर लाग्छ । तर मेरो चासो हो मनभित्रको अन्तर्मन बारेको ?
म सोच्छु मनभित्र अन्तर्मन हुन्छ ? फेरि सोच्छु मन, मन मात्रै होइन र ? यस्तै सोच्दा सोच्दै एकदिन गाउँघरतिर घुम्नु पर्यो भन्ने सोच पलायो मनमा । भर्खर एम. ए. पास गरेको अवस्था थियो मेरो, शरीरमा फुर्ती र मनमा अहंपना बढेको थियो । हुन पनि किन नहोस्, थोरै हो र एम्. ए. पास भनेको । आफूले धेरै नै पढेको छु भन्ने फुर्ती त लाउनै पर्यो भनेर गाउँ घरतिर डुल्न थालें । यसै मेसोमा एकजना अलि उमेर पाकै भएका गाउँले दाइसँग भेट भयो । उनले गफको पोको नै निकाले र लामो समय खर्चिएर आफ्नो आत्मप्रशंसा मिसिएका वृत्तान्त सुनाउन थाले । मलाई आफ्नो बारेमा भन्ने वातावरण नै बन्न दिएनन् । उकुसमुकुस लाग्यो र म उनीबाट फुत्किने बहाना बनाउन थालें ।
बल्ल उनले मेरा बारेमा सोधपुछ गर्न थाले । मैले आफूले एम्. ए. पास गरेको कुरा भनें । यसै मेसोमा उनले अब के गर्छस् त ? भनेर मलाई सोधे । अब आधुनिक वैज्ञानिक शिक्षा र सङ्गठित कृषि विकास गरी गाउँको विकास गर्ने, समाजको रूपान्तरण गर्ने सोच पो बनाएको छु दाइ भनेर गर्वका साथ मैले उनलाई भनें । उनलाई मेरो भनाइ राम्रो लागेछ कि क्या हो ! सुर्ती मल्दै गरेको हातले मेरो काँधमा ढ्याप्प ढाप मारेर मेरो ‘अन्तर्मन’को कुरा गरिस् भाइ भने । ती दाइसँग छुट्टिएर म नजिकैको अर्को गाउँतिर जान लागें । रात पर्न लागेको थियो, एक्लै थिएँ, जङ्गलको बाटो, मेरो मनमा कता कता एक्लोपनको महसुस भएको थियो । फुर्ती लगाउन गाउँतिर जाऊँ कि घरतिरै फर्कूं ? दोमन भयो, आखिर घरले नै तान्यो मलाई ।
म अहिले ती दाइले भनेको सम्झन्छु र सोच्छु अन्तर्मन भनेको के रहेछ भनेर । कहिलेकहीं मलाई दोमन, भित्रिमन, अन्तर्मन जस्ता शब्दहरू उस्तै उस्तै हुन् भने जस्तो लाग्छ । यस्ता शब्दहरूले मेरा मनभित्र तर्कनता उठाइदिन्छन् । मनको अनिर्णीत अवस्था दोमन हो, यसका बारेमा त्यति धेरै चिन्ता नलिऔँ, छाड्दिऊँ । भित्री मन, अवचेतन मन, अन्तस्करण, अन्तर्हृदय र अन्तर्मन भनेका सबै उस्तै हुन् ? या यिनीहरूमा फरक के हो ? भन्ने बारेमा भने म सधैँ अलमलमा पर्दछु । होइन यो मन भनेको कुनै भाँडो हो र जसभित्र केही वस्तु या कुरा राख्न सकिन्छ । कतिपय मानिसहरू भन्दछ मनको कुरा, अन्तर्मनको कुरा या चित्त बुझ्दो कुरा । अनि यो चित्त भनेको के हो नि ? म झन् अलमलमा पर्दछु ।
घर नजिकै एउटा कुटी थियो, त्यहाँ एकजना दाह्री जुँगा पालेका लट्टे कपाल भएका जोगीबाबा बस्थे । हामी जोगी बसेको त्यस ठाउँलाई जोगीकुटी भन्थ्यौँ । अहिले त्यहाँ जोगी छैनन्, त्यहाँ धर्मशाला निर्माण भएको छ र बेला बेलामा धार्मिक पौराणिक कार्य गरी भक्तहरूलाई देउतासँग साक्षात्कार (?) गराइन्छ । अँ त म कुटीका जोगीबाबाको कुरो गर्दै थिएँ । ती जोगी प्राय नजिकैको पीपलको चौतारीमा बसेर गाँजा तान्ने गर्थे अनि टाउको ठाडो पारेर बेला बेलामा भोलेबाबासँग कुरा गरेको भनेर बर्बराउँथे । गाउँका केटाहरू बेला बेलामा हुने पर्वहरूमा रमाइलो मनाउने क्रममा त्यही चौतारीमा पुग्थे र आकाशतिर हेर्दै चिलिम तान्दै गरेका भोलेबाबासँग जिस्किन्थे । केटाहरू एक्लै गफ गरेका जोगीलाई देखेर ‘बाबा कोसँग गफ गरेको ?’ भनेर सोध्थे ।
बाबा भने ‘उ… भोलेबाबाले दर्शन दिनुभयो उहाँसँगै गफ गरेको’ भन्दै आकाशतिर फर्केर हातले भोलेबाबालाई नमस्कार गर्दै स्वाठ्ठ पारेर चिलिम तान्दथे । अनि यता केटाहरू गल्ल हाँस्थे । उनीहरू अविश्वासको हाँसो हाँसेर हामीलाई नि भोलेबाबाको दर्शन गराइदिनुस् न भन्थे । यो चिलिम तान अनि मात्र प्रभुसँग साक्षात्कार हुन्छ बालख भन्दै जोगी केटाहरूलाई चिलिम दिन्थे । केटाहरू गाँजाको चिलिम स्वादले तान्थे । गाँजा तानेपछि पनि आफूहरूले भोलेबाबा नदेखेको गुनासो गर्थे बाबासँग उनीहरू । जोगीबाबा भने ‘उ… प्रभु यतै आइसिया छ, दर्शन गर केटा हो, भित्री मनले दर्शन गर, प्रभुलाई छर्लङ् देखिन्छ’ भन्थे ।
म त्यति खेरको त्यो कुरा अहिले सम्झन्छु र आफैलाई प्रश्न गर्छु गाँजा या त्यस्तै लागु पदार्थ सेवन गरेपछि प्रभुसँग साक्षत्कार गराउन सक्ने त्यो भित्री मन कस्तो हुँदो रहेछ हँ ? गाँजा तानेर आँखा चिम्लिँदा दर्शन दिने भोलेबाबा कस्ता रहेछन् ? सोच्दा सोच्दै एकतर्फ हाँसो उठ्छ भने अर्कोतर्फ हाम्रो सोचाइको स्तर र खोक्रो अन्धश्रद्धा गर्ने आस्थाप्रति नै घृणा लागेर आउँछ । तैपनि मेरा मनमा कुरा उठिहाल्यो । यो भित्री मनका बारेमा जान्ने जिज्ञासा मेरा मनमा जागिहाल्यो ।
अस्ट्रियाली मेडिकल डाक्टर सिग्मन्ड फ्रायड महोदयले आफ्ना मानसिक रोगीहरूको उपचार गर्ने क्रममा मनको बारेमा अध्ययन गरे र मनलाई इद, इगो र सुपरइगो गरी तीन तहमा बाँडे । फ्रायडको यो मनोविश्लेषणवादी चिन्तनलाई पछिल्ला विद्वान्हरूले आफ्ना केही धारणाहरू थपथाप पारेर व्याख्या र विस्तार गरे । यही क्रममा नै केही विद्वान्हरूले मन र अन्तर्मनका बारेमा पनि चर्चा गरेका छन् । उनीहरूका दृष्टिमा हृदयमा मन हुन्छ र मनको भित्र अन्तर्मन हुन्छ । म फेरि सोच्छु मनको भित्र रहने यो अन्तर्मन कस्तो हो ?, यसका बारेमा कसरी जानकारी लिने ? अर्का थरी विद्वान्हरू यसै कुरालाई आधार मान्दै मानिस अन्तर्मनको तहमा पुग्नु पर्दछ र त्यो तहमा पुगेपछि मात्रै मोक्ष प्राप्ति हुन्छ भन्दछन् ।
केही मानिसहरू ठान्छन् अन्तर्मनमा पुगेपछि मानिसले मोक्ष प्राप्ति गर्छ, त्यसपछि व्यक्तिलाई सांसारिक दुखबाट मुक्ति मिल्छ र आनन्दानुभूति प्राप्त हुन्छ । जोगी बाबाले गाँजा तानेर ईश्वरको दर्शन पाए पछिको आनन्द र अन्तर्मनमा चेतना स्थापना गरी प्राप्त हुने मौक्षिक आनन्दमा के भिन्नता छ ? मलाई यसबारे जिज्ञासा हुनु स्वाभाविकै हो । आफूलाई आध्यात्मिक या ईश्वरवादी भन्नेहरू मनलाई विवेक शक्तिको प्रयोग गर्ने भूमि मान्दछन् ।
मनलाई भक्तिमार्गको पराकाष्ठामा परिणत गर्दा भगवान्को दर्शन हुन्छ भन्ने कुरामा अध्यात्मवादीहरूको विश्वास छ । मानिसलाई विचार शून्य अवस्थामा पुर्याएर प्राप्त हुने अध्यात्मवादीहरूको भगवान् दर्शन र गाँजा स्वाठ्ठ तानेर घरपरिवार बिर्सने जोगीको ईश्वरको दर्शन गर्न पुर्याउने अन्तर्मनको खासै काम छ जस्तो मलाई लाग्दैन । मलाई यो मोक्षप्राप्त हुने या भौतिक धरातल बिर्सेर शून्य अवस्था पुगेपछि आनन्द प्राप्त हुन्छ भन्ने कुरामा पटक्कै विश्वास छैन । विश्वास आफ्नो आफ्नो कुरा हो ।
मेरा विचारमा मनको एक अवस्थामा अन्तर्मनको उद्बोधन हुन्छ । हामी मनमा कुरा खेलाउँछौं, एक मनले अर्को मनसँग कुरा गर्छौं । यो अवस्था निरन्तर रहिरहन्छ । हामी कहिले कहीँ जटिल समस्यामा पर्छौं र समस्याको समाधान गर्ने कुरामा अलमलिएका हुन्छौं, त्यस बेला हामीलाई गँजडीको भित्री मन या आध्यात्मिकहरूको मोक्षप्राप्ति या भगवान् दर्शन गराउने अन्तर्ज्ञानले सहयोग पुर्याउँदैन । त्यस्तो हुन्छ भन्नु व्यक्तिका आत्मरतिका कुरा मात्र हुन् भन्ने लाग्छ मलाई ।
मानिस भौतिक जगत्मा बसेको हुन्छ र उसले आफू बाँचेको त्यसै भौतिक जगत् र त्यसमाथि भए गरिएका वैयक्तिक तथा सामाजिक व्यवहारबाट ज्ञान प्राप्त गरेको हुन्छ । यो भौतिक ज्ञान आर्जन गर्ने अवस्थामा नै उसले समस्या भोगेको हुन्छ, समस्या समाधान गर्ने उपाय खोजेको हुन्छ । धेरै समस्याहरूबाट एउटा समस्याको छनौट गरी त्यसलाई निर्णयात्मक तहमा पुर्याउन मानिसलाई अन्तर्मनको निर्णय क्षमताको आवश्यकता पर्दछ ।
मेरा विचारमा अन्तर्मनबाट उठेको मनले नै ठोस् निर्णय दिन सक्छ । निर्णय सकेसम्म विवेक पूर्ण नै हुनु पर्दछ र अन्तर्मनबाट उठेको मनले त्यहीं पुर्याउन कार्य गर्दछ भन्ने मलाई लाग्छ । मलाई लाग्छ मनभित्रको खास अवस्थामा जागेको मन नै अन्तर्मन हो । मानिसले आफ्नो विवेकको ठोस् निर्णय यही अवस्थामा नै गर्दछ, भलै उसको यो निर्णय सबैका लागि ग्राह्य नहुन पनि सक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।