एक दिन बिहान क्लास निस्कने बेला फोनको घण्टी बज्यो । सोचेँ अब यो फोन उठाउन लाग्यो भने क्लास निस्कन ढिला हुन्छ । क्लास सकिएपछि हेरेर कल ब्याक गर्नुपर्ला । घण्टी बजिरह्यो, म स्कुटरमा निस्केँ मर्निङवाक, कलेजतिर । क्लास सकिएपछि हेरेको धमला सरको पो रहेछ । धमला सर अर्थात् प्राडा टंकनाथ धमला । के कामले गर्नु भएथ्यो भन्ने लाग्यो, तत्काल कल ब्याक गरें लगातार दुई कल उठेन ।

त्यसताका जून बेला म अन्तिम पटक पिएचडी गर्ने सोचमा पुगेको थिएँ, धमला सरको फोनले दोस्रो घण्टी पुग्न पाउँथेन । सरसित फोनमा छु भनेपछि घरमा हजार काम माफ हुन्थ्यो । त्यसताका यौटा त्रास थियो मनमा । सरले पनि जाँगर मार्नु भयो भने अथवा मैले गाडी छुटाएँ भने मेरो पिएचडीको स्वप्न गाडी अन्तिम पल्ट पनि छुट्नेछ । र, म उक्त गाडी फेरि कहिल्यै कुर्दिन पनि । मान्छे बाँधिने आखिर स्वप्नले रहेछ । म त आफूलाई स्वप्नरोगी भन्न रुचाउँछु, कुनै स्वप्न देखेपछि त्यसैको पछि एकोहोरो लागिरहने ।

हाम्रो विश्वविद्यालयमा एक जना प्राध्यापकले एकै पटकमा पाँच जना भन्दा बढ्ता विद्यार्थी लिन पाउँदैन पिएचडीका लागि । न त पिएचडी गराएकै कारण कक्षा लिनु नपर्ने हुन्छ, न त थप ह्याण्डसम अतिरिक्त सुविधा नै । टाउको खियाएर, घर परिवारलाई दिने समय कटाएर विद्यार्थीले लिएको वा दिइएको समस्याको गहन अध्ययन गरेर उसलाई दीक्षित गराउन अभिप्रेरित गर्नु/गराउनु यौटा कष्टकर सौर्य यात्रा हो गुरुका लागि पनि । सायद त्यसै भएर हत्पत्ति कसैले शिष्य स्विकारी हाल्दैन ।

अझ गणितीय समस्याहरूसितको अध्ययन अनुसन्धानको कथा भिन्दै हुन्छ । वर्षौं त्यसैको पछिल्तिर एकोहोरो लाग्दा नि नसकिंदासम्म नतिजा जहिले पनि कि शून्य कि एक । कुन बेला शून्य हुर्केर एक हुन्छ, पत्तै हुन्न । नहुञ्जेल त हुन्छ कि हुन्न पनि थाहै हुन्न । जतिखेर पनि हुन्न कि भन्ने त्रास बोकेर हिँडिरहनु पर्ने दिक्दारीपूर्ण यात्रा लाग्यो मलाई यो पिएचडी यात्रा पनि । त्यस्तै कष्टपूर्ण तर रोमाञ्चक यात्राबाट गुज्रिएको धेरै भएको छैन मेरो ।

शिष्यको बौद्धिक, पारिवारिक, सामाजिक तथा मानसिक अवस्थासमेत बुझेर उसको क्षमता र चिन्तनलाई थप बल प्रदान गर्नु र अनुसन्धानमा डोर्‍याउनु गुरुको दायित्व हो । ‘’पिएचडीको नदीमा होमिएको आफ्नो शिष्य जति मेहनत गर्दा पनि नउत्रेला जस्तो भयो वा बग्न लाग्यो भने त्यस्तो अवस्थामा सुपरभाइजरको के भूमिका हुन्छ ?’’ एकपटक चिया गफमा मैले यो प्रश्न गरेथें, डा श्रीराम खड्कालाई । उनको सुपर भिजनमा मेरा एकजना मित्र पनि पिएचडी गर्दै थिए ।

डा. खड्काले भने, ‘’हैट, त्यस्तोमा त हेरेर बस्न हुन्न ।  बाहिर हुँदा, आऊ नदी खासै गहिरो छैन, दह्रोसित पाइला चाले सहजै तर्न सकिन्छ भन्ने । तर्न यसरी र यताबाट सहज हुनसक्छ पनि भन्ने । तर्दै जाँदा बग्नै लाग्यो भने बग्न दिन त भएन । तर, तार्न पनि सकिन्न ।  बरू झ्याप्प कपालमा समातेर वारी किनारमै ल्याएर छाड्दिने !’’ धमलाका शिष्य त यसो भन्थे भने गुरुको के कुरा गरौँ ! तर आफ्ना शिष्यहरूलाई सन्तानलाई जस्तै माया गर्ने उनलाई हामी प्राय बा भन्छौं ।

आफ्नो समयका विश्वविद्यालयका गोल्डमेडलिस्ट, मुलुकभित्र र बाहिर खासगरी नास्ट तथा युरोपेली अनुसन्धान केन्द्रबाट थुप्रै प्रतिष्ठित पुरस्कारहरूद्वारा पुरस्कृत, सयौंको संख्यामा अनुसन्धान पत्रहरूको प्रकाशन तथा त्यत्तिकै संख्यामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा कन्फ्रेन्सहरूमा आफ्ना अनुसन्धान-पत्रहरूको प्रस्तुति र हजारौंको संख्यामा अनुसन्धानहरूको साइटेसन भएका उनी त्रिभुवन विश्वविद्यालयभित्रका एक उच्च प्राज्ञिक व्यक्तित्व हुन् भन्दा गुरुस्तुति गरेको ठहरिन्न । त्रिवि अन्तर्गतकै विभिन्न विभागहरूको नेतृत्व गर्नुका अतिरिक्त विभिन्न प्राज्ञिक संघ/संस्था तथा जर्नलहरूसितको उनको संलग्नताका अलावा विश्वका विभिन्न विश्वविध्यालयहरूका आमन्त्रित प्राध्यापक उनी नेपालमै रहेर गणितको अनुसन्धानलाई विश्वस्तरमा परिचित तथा स्थापित गराउने प्राध्यापकहरू मध्येमा अग्रस्थानमा पर्छन् । अहिले पनि उनको मातहतमा अनुसन्धानमा लागिरहेका तथा लाग्न चाहनेहरूको लामो लर्को छ ।

केही समयअघि त्रिवि सेवा आयोगका लागि अध्यक्षको खुला आवेदन माग भयो । मूल्याङ्कनका विभिन्न आधार र प्रक्रियाहरू खुलाएर मागिएको आवेदन झट्ट हेर्दा नाटक जस्तो देखिन्थेन । माथि उल्लेखित तथा अन्य केही प्रावधानहरू पनि उच्च प्राज्ञिक प्राध्यापकको अनुकूलका थिए । लाग्यो, सुधारका लक्षणहरू देखिने भए । धमला सरले पनि आवेदन गर्ने कुरा गर्नु भयो । मलाई लाग्यो, राजनैतिक भागबण्डाले गाँजिएको यो समयमा कसैको पनि हाम्रो मान्छे हुन नसकेको यौटा राम्रो मान्छे कसरी छानिन सक्ला र सेवा आयोगमा । त्यसमा पनि अध्यक्ष । अलिअलि राजनैतिक घटनाक्रम तथा नियुक्तिहरूलाई नजिकबाट चियाइरहेको जो कोही सामान्य नागरिकलाई पनि लाग्थ्यो, हाम्रोमा राजनीतिबाट निरपेक्ष रहेर अराजनीति पनि सम्भव छैन । मलाई पनि त्यस्तै लागेथ्यो, तर आवेदन नगरौं चाहिँ भनिन  । मैले भन्दैमा पनि के हुन्थ्यो र ?

कुनै राजनैतिक पार्टीसित धमला सरको साइनो छ जस्तो मलाई लाग्दैन । विद्यार्थी कालमा कुनै विद्यार्थी संगठनसित नजिक भएको भए थाहा भएन । नत्र अहिले त मतदाता नामावलीमा समेत सायदै नाम होला । गफैगफको क्रममा युरोपमा सँगै हुँदा भनेथें, भोट हाले नि नहाले नि मतदाता नामावलीमा नाम चढाउनु र चुनावको दिनमा औंलामा मसी लाएको फोटो सोसियल साइटमा हाल्नु सर, कुनै बेला काम लाग्छ । हैट, भनेर खुट्टा घुमाउनु भयो मात्र ।  हुन त सरलाई पनि कुनै एक पार्टीसित जोडेर हेरियो, मलाई लाग्दैन सरको प्रत्यक्ष नाता छ उक्त पार्टीसित । उनका परिवारका कसैसित जोडेर हेरिएको हुनसक्छ ।

विश्वविद्यालय समस्याहरूको चंगुलमा फसेको छ । सजिलै कोही कसैले यी तमाम समस्याहरूको गुजुल्टो फुकाउन सक्ला भन्ने विश्वास गर्न कठिन छ । प्राय: जो उपकुलपति भएर गए पनि उसलाई काम गर्ने अनुकूल टिम र वातावरण भएन भने हुने त हातमा लाग्यो शून्य नै हो । कोही कसैले चाहेर मात्रै पुरै कायापलट सम्भव छैन । विश्वविद्यालयहरू मात्रै पनि ठिकठिक ढंगले चल्न सके देश पूरै सिस्टममा चल्न सुरु गर्छ । बेथितिहरूको कक्षा र पाठ नै विश्वविद्यालयले पढाइरहेछन् । विश्वविद्यालय कसरी सञ्चालन हुन्छ भन्ने कुरा उपकुलपति र उनको टिममा भर पर्छ । प्राज्ञिक अभ्यासमा हुर्केको, विश्वविद्यालयका समस्या र सम्भावनालाई राम्रोसँग बुझेको, अध्ययन-अनुसन्धानमा विशिष्टता हासिल गरेको एवं व्यवस्थापकीय क्षमतामा अब्बल ठहरिएको नेतृत्वले मात्र यसलाई सही दिशा र गति प्रदान गर्न सक्छ । उपकुलपति एक्लैले हाँक्ने भन्ने त होइन, तर पनि ऊ रथी हो, विश्वविद्यालय नामक रथको । अन्य पदाधिकारीहरूलाई समेत साथ लिएर सही ढंगले समूहमा काम गर्न सके परिवर्तन सम्भव छ  ।

युरोप, अमेरिका र अन्य थुप्रै विकसित मुलुकका विश्वविद्यालय तथा रिसर्च सेन्टरहरूका जानकार एवम् आफ्नो रिसर्च एरियाका फ्रन्ट लाइनका रिसर्चर धमलासित जादुको छडी थियो र अहिलेको यो लथालिङ्ग र अस्तव्यस्त विश्वविद्यालय झटपट लयमा फर्किन्थ्यो त म भन्न सक्दिन तर कम्तीमा राजनैतिक हस्तक्षेप र भागबण्डाबाट मुक्त हुन्थ्यो कि । केही सिस्टम बस्थे, नियमितता, पारदर्शिता र जबाफदेहितामा केही सुधार जरुर हुन्थे । थाहा छैन, त्यो भन्दा धेरै गुणा राम्रो हुन पनि सक्ला, उनी नहुँदा । त्यसो त उच्च राजनैतिक दाउपेच र तनाव झेल्ने सामर्थ्य उनमा छ जस्तो मलाई नलागेरै मैले यो नजाने गाउँको बाटो नसोधौं सर भनेथें, सुरुमै जब भिसीमा आवेदन गर्ने कुरा चल्यो । म त्यस्तो सल्लाह दिन सक्ने शिष्य त होइन र पनि बेलाबेला कुरा भैराख्छ । फेरि जसले जे भने पनि सजिलै त मान्नु हुन्न सर । आफूले भनेपछि भन्यो-भन्यो ।  आफ्ना धारणा गलतै  भए पनि  झटपट परिमार्जन गरिहाल्ने स्वभाव छैन ।

यतिखेर मलाई लाग्दैछ,  धमला सरले टियुको भिसी हुने बाटो सोध्नु मात्रै भएन, आफ्नै प्राज्ञिक तथा बौद्धिक सामर्थ्यले कोही कसैको दौराको फेरो नसमाती झण्डै त्यहाँसम्म पुगेर सकुशल फर्किनु भयो । अहिलेको यो परिवेशमा हजुर पुग्न सक्ने भीसीवाला गन्तव्य वश त्यहीँसम्म थियो धमला सर । त्यो बिहान फोन उठाउन भ्याएको भए वश यत्ति भन्नु थियो ।

पोखरा