हरिले हिरालाई भन्यो, “तिमी यो नचाहिँदो हल्लाको पछाडि नलाग त ! काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो ।”
अर्को प्रसङ्गमा होमनाथले हिरण्यलाललाई आश्वासन दिँदै भन्यो, “यो हल्लैहल्लाको देश हो । साँचो कुरा कुनातिर, झुट अगाडि अगाडि ।”
ध्यान गर्न शुरु गरौँ भनेको म हेमन्तनाथले मेरा गुरु हरिनारायणलाई सोधें, ‘बाहिरी र भित्री हल्लाले मेरो दिमाग खाइसक्यो, अब यसलाई कसरी शान्त पार्ने अनि ध्यानमा मग्न हुने, उपाय के छ गुरु जी ?’
फेरि अर्को प्रसङ्गमा हुतनाथ काकाले हनुमानप्रसादलाई भन्न भ्याए, “हाब्रेको अन्तरे छोरो हुर्मतनाथले हेटौडामा कान्छी बुढी राख्या छ रे भन्ने हल्ला छ भाइ हो । सत्य के हो, भगवान् जानुन् ।”
सत्ता बाहिर भएका एकजना राजनीतिक कार्यकर्ताले हिजो बिहान हरेराम दाइको चिया पसलमा खोकेको सुनियो, “अब देशमा नयाँ उथुलपुथुल हुँदै छ रे भन्या हल्ला सुनिन्छ, के हो वास्तविक कुरो ?”
यी माथिका भनाइहरू नेपाली जनजिब्रोमा हल्लाका विषयलाई लिएर गरिने केही उदाहरणहरू हुन् । सुन्दा सामान्य लागेता पनि यो हल्ला भन्ने शब्दको वास्तविक अर्थ के रहेछ भनी मैले यसो बुझ्न पर्यो भनेर नेपाली बृहत् शब्दकोश पल्टाएको त यस्तो पो भेटियो –
हल्ला :- ना.(सं.कोलाहाल) १. अलिकति गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर ; अपत्यारिलो समाचार ; घुइरो । २. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज ; चर्को स्वर ३. धेरैजना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो ।
हँस्सीमजाक गर्ने क्रममा उपद्रो मच्चाउने हुन् वा हँस्यौली ठट्यौली गर्ने हुन् त्यसमा मुख्य भूमिका हल्लाकै हुन्छ जुन परिभाषा भित्र नै पर्दछ । हरेकले आफ्नो हक अधिकारको लागि हल्ला गर्नै पर्ने रहेछ भन्ने कुरा देश दुनियाँका दैनिक घटनाक्रमले पनि प्रस्ट पारेकै छ । हल्ला नगरे हक अधिकार के पो दिँदा हुन्, के गर्नु उपाय छैन । फलानो हकी छ भन्नलाई पनि उसले ठुलो स्वरमा नकराए नहुने रहेछ । बाटो हगुवालाई दच्काउन होस् वा हरामीलाई हच्काउन होस् चुप लागेर बसे केही हुनेवाला छैन ।
एक हप्ताअघि हुँदो हो, यसो पत्रिका हेरि टोपलौं भनेर पाना पल्टाउँदै थिएँ , मेरो एक नजर हल्लाका समाचारमा पर्यो । लेखेको रहेछ – हवालातमा हल्ला र हङ्गामा भनेर । झन् चासो लाग्यो र पढ्दै गएको त हवालातमा राखेका मान्छेहरूले पनि आवाज उठाए रे । एकजना बस्ने ठाउँमा पाँच जना राखेर हावा खेल्ने ठाउँ पनि भएन, अनि कमसल खानेकुरा दिएर व्यवस्थापकले रकम हसुरे भनी हप्ता दिनदेखि ती जेलमा बस्नेहरूले हल्ला मच्चाएका थिए रे ।
हस्तरेखा हेर्ने हुन् या होनहार ठानिएका नेता वा कर्मचारी हुन् ती सबैको प्रसिद्धिको चुरो कुरो हल्ला नै रहेछ । अस्ति हनुमानजयन्तीको दिनमा मन्दिरमा हनुमानजीको गुणगानमा मस्त एकजना बाबाले समेत माइकमा हल्ला गरेको आफ्नै कानले सुन्यो – “हनुमानजीको हुङ्कारबाट लङ्काका राक्षसहरूको हंसले ठाउँ छाडेको थियो । पवनपुत्रले आफ्नो होसहवास नगुमाई होसियारीका साथ राक्षसहरूका होहल्लालाई हैरान पारि तिनलाई युद्धमा हराउनु भएको थियो ।”
हालसालै हुमकान्त भान्दाइ हस्पिटलमा हर्नियाको उपचार गरेर घर फर्कनु भएकोले उहाँलाई भेट्न गएँ । खाली हात के जानु भन्ठाने अनि बुढा अलि मासुका पारखी भएकाले नजिकै हर्कको मासुपसलबाट हाफ किलो ह्याकुला बोकेर गएँ । यसो दाजुभाइ गफिँदै थियौं पल्लो टोलको होमनाथ दाइ पनि त्यतै टुप्लुक्क आइपुग्नुभयो । एकछिनमा बुढाको मुखबाट एउटा नयाँ हल्ला सुनियो – “हुक्के बुढाको माइलो छोरा पनि सहकारी ठगीमा परेर फरार भएको छ रे भन्ने हल्ला छ भाइ हो । सत्य के हो, भगवान् जानुन् ।”
अर्काको कुरो र नचाहिँदो हल्लामा के चासो लिनु भन्ठाने अनि म चाहिँ जुरुक्क उठेँ र हिंडेँ ।
आज बिहान मर्निङवाकबाट घर फर्केर भातसात खाएर यसो ढल्केको मात्र थिएँ, एक्कासि मेरी बुढी च्याँठिएर हल्ला गर्न थालिन् – “के को हल्ला हो , हँ यो ? बल्ल बल्ल बच्चा सुत्न आँटेको थियो । यो हल्लाले सुत्न पनि नदिने भए यो बालखलाई, पापी असत्तीहरू ।”
हल्ला चाहिने पनि हुन्छन् अनि नचाहिने पनि । यसो अवलोकन गर्दा त चाहिने भन्दा पनि नचाहिने हल्ला पो धेरै हुँदा रहेछन् आजकल । राम्रा राम्रा ज्ञानगुनका कुरा सुन्न पनि हल्ला नै नभए त पक्कै हुँदैन होला, यो कुरो राम्रो हो भन्न पनि हल्ला नगरे नहुने रहेछ । टिभी, रेडियो, मोबाइलले के के हल्ला गर्छन् गर्छन्, अनि चाहिने हल्ला त लिनै परिगो, नचाहिने छोड्ने हो । नचाहिने हल्लाका पछाडि सारा संसार लागेको देख्दा कतै हाँसो उठ्छ भने कतै कतै ह्वाँह्वाँ रुन पनि मन लाग्छ ।
छ महिना अगाडि विपश्यना ध्यान गर्न जाँदा ध्यान सिकाउने भन्तेले भन्नु भयो, “हेर्नुस् तपाईंहरू यहाँ आइपुग्दा बाहिरका हल्ला र आवाज त केही कम महसुस गर्नुहोला तर अब तपाईंहरूका परीक्षाको घडी शुरु भयो है । किनभने अब त तपाईंको भित्रको हल्ला र आवाजले तपाईंलाई बसी टिक्न दिन्न नि । बाहिरको भन्दा भित्रको हल्ला कडा हुन्छ भन्ने कुरा अबको यो दश दिनमा तपाईंहरूले सिक्नुहुन्छ ।”
भन्ते महोदयले यो के भनेको होला जस्तो लाग्यो मलाई पनि तर जब पहिलो ध्यानको सिटिङमा आँखा चिम्लिएर निर्देशन गरे बमोजिमको अभ्यास गर्दा नै थाहा भयो यो त मेरो बसको कुरा हैन । ओहो ! के गरी दश दिन कटाउने होला, आधा घण्टा त टिक्न मुस्किल छ, भन्ने लाग्यो ।
तर इज्जतको सवाल छ, ध्यान गर्न जान्छु भनी घरपरिवारमा हल्ला गरिहिंडेको छ आफैले । अनि फलानो त ध्यान गर्न नसकेर भाग्यो रे भन्ने हल्ला चल्यो भने कसरी मुख देखाउने घरमा अनि शुभचिन्तकका अगाडि । यति सम्झेर जेसुकै होस् बस्छु यतै भनेर मन बुझाए अनि मेरो भित्री हल्ला र आवाजसँग नजिकिँदै गएँ । यो अठोटले बिस्तारै म ठिकैको अभ्यासी बनेँ र दशौँ दिनमा त भनौँ मन अर्कै बन्यो ।
त्यसपछि आफू आफैलाई प्यारो लाग्न थाल्यो, छुट्टै आनन्द, हल्का, हलुङ्गो । अनि आफैलाई भनेँ, ‘यो विपश्यना ध्यानले धेरै हल्लालाई पचाउन सक्ने र काममा हलचल नभई धैर्यपूर्वक काम गर्न पनि सिकाउने रहेछ ।’
लौ देश खत्तम भैसक्यो, अब यहाँ केही स्कोप छैन भनेर १२ कक्षा पास नहुँदै विदेशलाई आफ्नो भविष्य रोज्नेहरू पनि वास्तविकता भन्दा अलि बढी हल्लाको पछि लागेका त हैनन् भन्ने कुरामा शङ्का लाग्छ है । नेपालमा केही राम्रो कुरै छैन भनेर हल्ला पिटाउनेहरूको पनि कमी छैन जस्तो लाग्छ ।
कहिलेकाहीँ लाग्छ – हाम्रो देशमा मान्छेले राम्रा कुराको हल्ला गर्न नसकेको तर नचाहिने कुराको बढी हल्ला गरेका हो कि ? न सम्भावनाको, न विश्वासको, न हातमा भएका कुराको हल्ला छ यहाँ । देशमा थिति बस्न नसकेको पक्कै हो तर हल्ला र भाँडभैलो पिटिएका जति चाहिँ होइन कि ?
पहाड घर हेलम्बुमा हरितालिका तीजको दिनमा जन्मेको म हेमन्तनाथ हुमागाईँ अहिले ५५ वर्षमा हिँड्दै छु । झन्डै ३५ वर्ष अगाडि हेटौँडाको हर्नामाडीमा बसाइँ सरी आएका म र मेरी बुढीले यो ठाउँमा टिक्न हुनसम्मकै दुःख गरियो । के के मात्र गरियो, गरियो । गाई, भैंसी, बाख्रा, कुखुरा, हाँस पालेर घरभरी हल्लै हल्ला गराएर जीविका चलाइयो । कति रात त यी पशुपक्षीका आवाज र हल्लाले सुत्न पनि पाइएन । के गर्नु हल्ला पचाउन नसकेको भए त्यत्रा जहान परिवार कसरी पाल्नु ?
मेरी जहानले घाममा नातिनीलाई तेल लगाइदिएर अब यसलाई सुताउनु पर्यो भनेर के लागेकी थिइन्, छिमेकमा हापुरे काकाको घरमा रडाको र कोलाहल शुरु भयो सधैँजसो । हुन त रातदिन यस्तै हो त्यो घरमा । एउटा न एउटा कुरामा कहिले बाउ छोरा त कहिले आमा-छोरा बीच भनाभन भएर झगडा परिरहन्छ । आज छोरा ह्यारी र आमा हिरादेवीको पालो छ हल्लाखल्ला गरेर रडाको मच्चाउने । छोरो ह्यारी अहिले उमेरले २८ वर्षको भैसक्यो तर के गर्नु, बज्जे हुन सम्मकै हरामी, हुण्डरी र हल्लुँडे छ । आज त झन् घरका हाँडाचिन्डा फाल्दै कोकोलो मच्चाउँदै गरेको दृश्य देखियो । त्यसपछि त मोराले एउटा बडेमानको लौरो लिएर आमालाई हान्दै पिट्दै गरेको देखेपछि, लौ बित्यास पर्यो, भएन भनी हतारहतार छुट्टयाउनु पर्यो भनेर म पनि उतै दौडिएँ ।
वरपरका छिमेकीहरूमध्ये हिरण्यदेव, होसप्रसाद, हिरामणि र हरेराम काका पनि हुर्रिंदै झगडा मिलाउन आइपुगे । एकैछिनमा एकहुल मान्छे जम्मा भएर छुट्टयाउन त छुट्टयाए आमा छोरालाई तर आमा चाहिँ कराउन छाडिनन् । जन्मदिने आमालाई हमला गरेर साराका अगाडि हुर्मत लिने तलाईं पख भाते भन्दै काकी त ह्वाँ ह्वाँ रुन पो थालिन ।
“जे गर्नु हुक्का, गाँजा र रक्सीले गर्यो बाबु यो पातकीलाई, यो चिज नबनेको भए यो संसारमा कति शान्ति हुन्थ्यो होला, कम्तीमा सुबिस्ताले बाँच्न त पाउने थिएँ म जस्ता आमाले,” भन्दै यता हिरादेवी काकी डाँको छोड्न थालिन् । उता छोरो ह्यारी ह्वार्लाङ्ग परेको हाफ पाइन्ट र हरियो रंगको लामोमा-लामो टिसर्ट भिरेर ह्विस्कीको ह्वास्स गन्ध छाड्दै ह्वात्त मूलढोका धकेल्दै घरबाट बाहिरियो ।
‘ए पख भाइ ! मेरा दुई-चार कुरा सुन् अनि जालास्’ भनेर मैले ह्यारीलाई रोकें र सम्झाउने चेष्टा गरें । उसकै हित होस् भनेर मैले दिएका हितोपदेशले उसले कुनै प्रतिउत्तर दिएन बरु एकैछिनमा घोडा हिनहिनाएझैं गरी ऊ त हेटौंडा बजारतिर हानियो ।
मान्छेलाई बिगार्ने नशाहरूको नाम भनी साध्य छैन । नशाले मान्छेलाई हुनसम्मकै हरामी, हान्डहुण्डे र हुल्लडबाज बनाउने रैछ । नशा सेवनपछि हरामीहरूले घरपरिवारलाई हायलकायल पार्ने, हदैसम्मको दुःख र पीडा दिने गर्छन् भन्ने कुरो जगजाहेर नै छ । हुँदोखाँदो अवस्थाको घरपरिवारलाई नशाले हिम्मतदारबाट हुतीहारा बनाउने रैछ भन्ने ज्वलन्त उदाहरण यही घरको हल्लाले बुझ्न सकिन्छ ।
करिब २२-२३ वर्षको उमेरतिर ह्यारीले आफूसँग होटेल व्यवसाय चलाउने स्किम छ, मलाई ८-१० लाख पैसा चाहियो, म राम्ररी गर्छु भनेछ उसको बाउसँग । तर हापुरे काकाले चाहिँ मैले हुनसम्मको दुःख हण्डर खाएर कमाको पैसो यसले हुरेलधुरेल गर्ने भो, यो हुँदो न खाँदोको होटेलको ब्यापारमा हुत्याउने भो भनेछन् । यो होस्ल्यांगेले गरि खाँदैन हन्ड्रेड पर्सेन्ट ! म दिन्न होटेल खोल्न । बरु देशबाहिर जा, त्यता जाने हो भने म खर्च गरिदिन्छु भनेछन् काकाले ।
लौ त भनी युरोपको हंगेरीदेखि अमेरिकाको होनोलुलुसम्म पठाइदिन्छु भन्ने झल्ला दलालसँग सल्लाह गरी त्यसको नक्कली हल्लाको पछि लाग्दा हापुरे काकाको लाखौँ पैसा पनि रित्तिएछ अनि छोरा ह्यारीको होसहवास पनि सिद्धिएछ । स्वदेशमै केही गर्छु भन्नेलाई अवसर नदिंदा विदेश लान्छु भन्ने ठगले काकाको पैसो खाएको कुरो एक कान दुई कान हल्ला भएछ । अनि त्यो कुरा मैले पनि थाहा पाएँ र यहाँ तपाईंहरूसँग पनि हल्ला गर्न भ्याएँ, है त !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।