प्रकृति व्यक्त गर्न सकिने अव्यक्त प्रयोगशाला हो । प्रयोगशालामा प्रयोग गरिने सबै चिजहरू सूक्ष्म रूपमा केलाएर व्यक्त गरिन खोज्ने चेतनाका संवाहक हुन् ।

“प्रकृत्वाद भन्छ मान्छे प्रकृतिको विकसित तर आवेगमय प्राणी हो ।” (त्रिपाठी वासुदेव, ५३)

प्रकृत्वादलाई फर्केर हेर्दा  मानव जातिको ध्येय आफ्ना हठ र आवेग सहित प्रकृतिलाई नै नियन्त्रण गर्ने लगाव जस्तो देखिन्छ । ऊ आफूलाई केन्द्रमा राख्छ र आफैलाई ईश्वर सम्झन्छ । ईश्वरीय सत्ताको घोडामा चढेर भयका तरंगहरू प्रसारित गर्दै सत्तासीन रहन्छ । प्रकृतिको एक सूक्ष्म उपज मानव जाति हो । जो आफ्नो जीवन लगायत चराचर प्रकृतिको ठेकेदार भएर सर्वशक्तिमान् बनिरहेछ । अव्यक्त प्रकृतिलाई सांख्य दर्शन व्याख्या गर्न खोज्छ ।

“प्रकृति–सत्त्व, रज र तम यी तीन गुणहरूको साम्यावस्था हो ।” (जनक दर्शन, डा. स्वामी रामानन्द गिरी, ४५)

“प्रकृति तत्त्वको अत्यधिक सम्मिश्रण हो जो सधैँ परिवर्तित भइरहन्छ ।” (डा. राधाकृष्णनन्, २२४)

हामी जहाँ बाँचिरहेछौँ त्यो प्रकृति हो । प्रकृतिभन्दा पर पुग्ने ठाउँ सायदै होला । जीवले जे र जसरी आफूलाई चलायमान बनाएको छ र आफूलाई समर्पण र विलय गरेको छ त्यो प्रकृतिसँगै निकट छ । मानव मस्तिष्कले आगो सल्काएर ब्रह्माण्डका अनेक ठाउँमा पुग्ने आधार भनेकै प्रकृति हो । उसले अन्तरिक्षमा जतिसुकै फन्को लगाए पनि ऊ जुन ठाउँमा रहन्छ तत् स्थानको प्रकृति बाहेक अरू विकल्प हुन सक्दैन ।

ब्रह्माण्डमा नजाने कति जीवहरू होलान् । ती असंख्य जीवको प्राण कोही कसैले थेगिरहेको होला । प्राण थेग्ने त्यस्ता चिजहरू सार्थक सहारा हुन् । त्यस्तै प्रकृति पनि एक सहारा हो । आखिर हामी सहाराविहीन ब्रह्माण्डको कल्पना गर्न सक्दैनौँ । सहारा सूक्ष्मदेखि अनन्त फैलिएको छ । पदार्थको अणुले जति भार थेग्छ, त्यो बीभत्स रूपको जड अणु नै हो । तपाईँ सागरबाट एक बुँद निकाल्नुहोस्, सागर थेग्ने बुँद यत्तिकै बलशाली हुन्छ । त्यस्तै प्रकृति थेग्ने यस्ता अनेकौँ चिजहरू छन् जो अवर्णित छन् । हामी जहाँ उभिएर हृदयको आवाज प्रकृतिसँग साटिरहेछौँ, उभिन सहारा दिने र हृदयको आवाजलाई सहारा दिने एउटै चिज प्रकृति हो । त्यसैले प्रकृति बाहेकको कल्पना स्वप्निल संसारको महल जस्तो हुनेछ ।

रजनिश भन्छन् – जान्नुको क्षमता असीम छ तर शब्दहरूको क्षमता सीमित छ । हामी जति देख्छौँ यी सबै दृश्यहरूलाई सकभर शब्दमा कैद गर्न खोज्छौँ । दृश्यलाई शब्दमा कैद गर्न खोज्नु लेखन कलाको सबैभन्दा सुन्दर पक्ष हो ।

अग्ला पहाडहरू खैरा देखिन्छन् । खैरा पहाडमा शिशु प्रकाश जब खेल्न आइपुग्छ त्यो जस्तो प्रकृतिको एक सुन्दर दृश्य अरू हुन सक्दैन । त्यस्तै बालापनमा खेलेको निर्दोष मुस्कान अरू हुन सक्दैन । बादलले पहाडसँग लुकामारी खेल्दै हिँडेको दृश्य सुन्दरताकै अर्को सुन्दरपन हो । रातभरि मुस्कुराएर कलिलो बिहानमा शीत बनी मुस्कुराउने जुनको समर्पण अर्को सुन्दर कला हो । नदी बगेर पहाडसँग संगीत भर्दै सुसाउने जो कला छ, त्यो ध्वनिको अर्को अव्यक्त कला हो । सागरमा घाम उदाउने र अस्ताउने जो दृश्य देखिन्छ त्यो अर्को अलौकिक तस्बिर हो । पहाडमा बर्सिएर पग्लिजाने हिउँका कणहरू हृदय सफा गर्ने सेता परेवा हुन् । जुन दृश्य शब्दमा अट्न सक्दैनन् । नजाने यस्ता कैयौँ चिजहरू जसले प्रकृतिको सुन्दरता थेगिरहेछन् । हामी यस्तै सुन्दर चिजहरूलाई लत्याएर कुन गुणको परिकल्पना गरिरहेछौँ ?

माथि भनिएझैँ हामी विकसित र आवेगमय प्राणी भयौँ । हामी विकसित यसरी भयौँ आफू हिँड्ने बाटोमा आफैँ काँडा रोप्यौँ, आफैँ खाल्डो खन्यौँ र आफैँ तगारो लगायौँ । हामीले प्रकृतिमा तगाराहरू लगायौं र आफैँमाथि प्रश्न चिन्ह खडा गर्यौं । हामीले मात्रै आफूलाई सहज बनाउने ध्येयमा प्रकृतिका बिउहरू निमोठ्यौँ । हामी दुःखको पहाड चढेर सुख झैँ देखिने भ्रममा बस्यौं तर हामीलाई सुख भन्ने तत्त्वले सधैँ गिज्याइरह्यो ।

हामी सुखमा टिक्न नसक्ने अचम्मका प्राणी हौ । पुनः दुःखको घेरामा फन्को लगाउन अनेक जुक्ति निकाल्यौं । आवश्यकता ठानेर असन्तोषको बाटोमा आफैलाई कोतर्यौं । उसो त असन्तोष परिवर्तनको बिउ हो । परिवर्तनका जायज मागहरू भन्दा माथि उक्लेर हामीले विनाशको खेतीलाई मलजल गर्ने तर्फ उन्मुख भयौं । जीवन पनि एक प्रकृति हो । हरेक बस्तु चिजका आफ्नै अस्तित्व छन् । अरूको अस्तित्वलाई छेडखानी गर्दै गर्दा हामीले आफ्नो अस्तित्वलाई समेत धावा बोलिरह्यौं । जे हुन्छ र जेका लागि हो त्यो सबैको ज्ञाता प्रकृति हो । प्रकृतिमाथि मुठ्ठी बजार्दै हामी हाम्रै सभ्यतामाथि औँला ठड्याई रहेछौँ ।

हामीले हाम्रो मस्तिष्कलाई यसरी विकसित गर्यौं जहाँ सुन्दरतासँगै कुरूप साम्राज्यको विस्तारमा उत्तिकै फैलियौँ । साँच्चिकै प्रकृति कुरूप वस्तुहरूको थुप्रो होइन । कुरूप त मानव दृष्टि, विचार र हृदय हो । हामीले निर्माण गरेका भाष्यहरू किन कुरूप भए ? आखिर प्रकृति त सुन्दर चिजहरूको उपज हो । जब विचारहरू स्खलित हुन्छन् तब सहाराविहीन हुन्छन् । सहारा खोजी हिँड्दै हामी प्रकृतिको त्यो छेउमा पुग्छौँ जहाँबाट देखिने जतिसुकै सुन्दर चिज होउन् ती सबै कुरूपतामा परिणत गर्छौं । आफू उभिएको थलो कसरी कुरूप हुन सक्छ ? दृश्य र दृष्टि आफैँमा सुन्दर कुरा हुन् । हामी त कुरूप विचारहरूको पथले भ्रष्ट भएका मात्र हौँ । समय निकै घर्किसकेको छ । अबको यो मोडमा सुन्दर चिजहरूलाई कुरूप भाष्य निर्माण गरेर उम्कने जाल च्यात्तिसकेको छ ।

हामीले फर्केर प्रकृतिलाई तिनै सुन्दर आँखाले हेरौँ जहाँ विचार र हृदयको सुन्दरता प्रकृतिसँगै फुलिरहन्छ । यसरी हेर्दा फुल्नु जति सुन्दर छ, झर्नुको सुन्दरता उस्तै छ । सपनामा देखिने दृश्य जति रोचक छ बिपनाको कल्पना त्यो भन्दा कैयौं गुणा निराकार छ । हामी प्रकृतिका नियमसँग प्रकृतिझैँ अभ्यस्त व्यस्त रह्यौँ भने सुन्दरताको अर्को सुन्दर फूल फुल्ने छ ।

लय र लयविहीन प्रक्रिया यी दुवै प्रकृतिका शाश्वत सत्य हुन् । प्रक्रियाको कुनै बिन्दुमा विकासलाई विनाशको रूपमा भित्र्याउनु दुर्घटनाको अर्को प्रक्रिया हो । प्रकृति दुर्घटनामा पर्नु सम्पूर्ण जीव–जीवात्माको प्राणमा दख्खल पुग्नु हो । प्रकृतिसँग खेलबाड गरेर अरूको बाँच्ने अधिकारमाथि ठेस पुर्याउनु हाम्रो दानव प्रवृत्ति हाबी हुनु हो ।

हामीले मान्छे भित्रको मान्छेलाई यसरी पासो लगायौँ जसबाट उम्कन निकै गाह्रो छ । यदि आफैँभित्र फर्कने पथमा हिँड्न सुरु गरेनौँ भने त्यो जस्तो भयावह दुर्घटना सायदै होला । विवेकहीन आचरण त्यागेर साँच्चिकै मान्छेभित्रको मान्छे जब बनिंदैन तबसम्म हामीले अरूसामु औँला ठड्याउने प्रयत्न निराधार हुन्छ । त्यसैले आउनुहोस् स्वयम्भित्रै फर्कौं, प्रकृतिभित्रै फर्कौं ।

फर्कने शब्द जति सरल र सहज छ उस्तै कठिन र व्यवहारिक छ । बर्षौं पहिलेदेखि  हामीले आफूभित्र अनेकन् तरिकाले क्लेशलाई बास बसायौं । जब यसको मात्रा हामी माथि नै हाबी हुँदै गयो तब छटपटिंदै यसको निकास खोज्न भौतारियौं । बाहिर भौँतारियौं तर आफैभित्र खोज्न भुल्यौं, जसरी कस्तुरी आफ्नै सुगन्ध खोज्न जङ्गलभरि दौडिरहन्छ । हामी कस्तुरी भयौं । सुगन्धले भरिएर पनि दुर्गन्ध प्रिय बन्यो । प्रकृतिको सुन्दर छलाङमा सुगन्ध बाँचिरहेका हामी अनेकन् किसिमले मैलो भारी बोकेर बेलगाम कुदिरहेछौं ।

उसो त जीवन स्थिर हैन । जीवनको अर्को नाम कुद्नु पनि हो । मन लगाम विहीन घोडा हो । यो हावा झैँ उडिरहन्छ, डुलिरहन खोज्छ । डुल्नु उसको प्रकृति हो । बतासलाई बाँध्न खोज्नु मूर्खता हो तर निश्चित घेरामा निराकार बतासको बेगलाई जब कैद गरिन्छ त्यसले दिने ऊर्जा अस्वाभाविक स्वभाव हो । तपाईं जतिसुकै कसिलो गाँठोले मनलाई  बाँध्नु हुन्छ उसले सहजै फुकाएर दौडन सक्छ । यो मनको सुन्दर कला हो ।

मनलाई बाँध्नु आफै माथि शासनको रवैया देखाउनु हो ।  सामाजिक र सांस्कृतिक लगायत अनेक कारणले थलिएको, थिचिएको र पिल्सिएको मन भाँचिनु स्वाभाविक हो । यो बेला उसलाई लगाम लगाउनु आगोमा घिउ थप्नु जस्तै हो । बडो प्यारले फकाएर बाटोको छेउ डोर्याउँदै कुलोले खेतमा सिचाइ गरे झैँ यसको विकल्प हो । जब मन आफैतिर फर्कन शुरु गर्छ तब सबै अव्यवस्थित स्थितिहरू आफ्ना लयमा डोरिंदै हिंड्न थाल्छन् ।

मनको भयावह स्थितिले नियन्त्रण पाउनु सहज तर जटिल कुरा हो । हामी सहज बाचेका जटिल प्राणी हौं । जटिलबाट सहजको स्थितिमा फर्कनु कठिन र जटिल भए पनि यो बाहेक अर्को विकल्प छैन । सहज वातावरणमा फर्कने अवस्था सिर्जना गर्ने पनि हामी नै हौं ।

तब आउनुस् अबेर नगरौं, फर्कौं । हामीलाई आफ्नै लयमा फर्केको देख्न चाहने उनको प्रतीक्षा बर्षौं देखिको छ । हामीलाई प्रकृतिले कुरिबसेको छ । ब्रह्माण्डले पर्खिबसेको छ ।  फर्कौं, हामी आमाबाका आज्ञाकारी सन्तान हौ ।

फर्कौं ! कोही हामीलाई पर्खिरहेछ !