२०५५ साल चैत्र १९ गते शुक्रवार चित्लाङ जाँदै थिएँ । कुन्छालबाट हामी पुग्नुपर्ने ठाउँसम्म हिँडेर जानुपर्यो । चित्लाङ साहित्य परिवारका अध्यक्ष भाइ गोपाल (मोदनाथ पोख्रेल) को आग्रहले प्राचीन बस्तीतर्फ जाँदै थिएँ— नारायणी अञ्चलका वरिष्ठ–कनिष्ठ साहित्यकारको साथमा म ।

उच्च पहाडी बाटोमा जीवनमा पहिलो पटक हिँड्दै थिएँ म । बाटोमा भेटिएका मानिसहरूसँग भलाकुसारी गर्दै, केही जानकारी लिँदै । लाली गुराँसको बोट छोएको, ओखरको बोट देखेको …… यस्तै यस्तै थुप्रै नौला कुराहरू मैले आफ्नो मानस पटलमा राख्न पाए । मेरो मानस पटलमा रहेका कुराहरू मध्येको एउटा प्रसङ्ग म यहाँ उल्लेख गर्दछु ।

बाटोमा भेटिएकाहरूमध्ये धेरैजसो गोपाली थरका थिए । पहाडी बाटोमा हिँड्न नसकेको हुँदा साथहरूभन्दा धेरै पछाडि थिएँ । टीस्टुङ वज्रवाराहीको सम्म परेको फाँट काटेपछि देब्रेतिरबाट उकालो उक्लिंदा एउटी १६–१७ वर्षकी किशोरी मेरो अगाडी आई र चुरोट मागी ।

डाँडाको कान्लामा बाख्रा चराइरहेकी रहिछ । म चुरोट नखाने हुँदा उसको हातमा पाँच रुपियाँको नोट राखिदिएँ । छक्क परेर कहिले नोट कहिले मलाई हेर्न थाली । मेरो लागि त्यो अप्ठेरो उकालो परेको हुँदा एकछिन म त्यही सुस्ताएँ । दाहिनेतिर ठाडो भीर पहरा, मुस्किलले एक हातको गोरेटो बाटो देब्रेतिर कान्लामा बाख्रा चरिरहेका थिए, सुस्ताउन मिल्ने खालको मोडमा पहरामा अडेस लागेर ऊसँग कुरा गर्न थाले—

“तिम्रो नाम के हो ?”

“कान्छी ?”

“आहा ! कति राम्रो नाम । अनि तिमी कतिमा पढ्छौ ?”

ऊ लजाउँदै खित्का छोडर हाँसी र कुनै जवाफ दिइन । मैले फेरि सोधेँ, “तिमी पढ्दिनौ ?”

“अहँ !” भनेर टाउको हल्लाई ।

“यति राम्री मान्छेले किन नपढेकी ?”

“घरधन्दा कसले गर्छ, बाख्रा कसले चराउँछ ?”

“कहिलेदेखि बाख्रा चराउन थालेकी हौ ?”

“थाहा छैन, जब म यति सानी थिएँ तबदेखि बाख्रा चराउँदै छु ।”

उसले हातको सङ्केतले बताइन् । त्यसबाट लाग्दथ्यो कि तिनी छ सात वर्षकी भएकी हुँदी हुन् । सानै उमेरदेखि बाख्रा चराउँदै आएकी रहिछ । कुराकानीको क्रममा थाहा भयो कि अलि परको गाउँको तामाङ जातकी हुन् र यहाँ एकजना नेवार साहुको घरमा काम गर्न बसेकी रहिछन् ।

“काम गरेपछि त तलब पनि पाउँदी हौं, कति छ तलब ?”

“पन्ध्र सय वर्ष दिनमा, बिहान बेलुकी साहु कहाँ खान्छु र वर्ष भरीमा दुई जोर लुगा पनि पाउँछु ।”

“बाख्रा चराउने मात्रै हो कि अरू पनि काम गर्नु पर्छ ?”

“साहुको घरमा सुत्छु, बिहान भाल बासेदेखि राती भाडा माझुञ्जेल काम गरिरहनु पर्छ ।”

“नपढेर किन अरूको घरमा नोकरी गर्न बसेकी ?”

“बाउले काममा लगाएका हुन् ।”

“किन ?”

“बाउले रिन लिएका थिए त्यसै भएर ।”

“कति रिन लिएका थिए ?”

“था छैन, बाउलाई नै थाहा छ, आमा बिरामी पर्दा बाउले रिन लिएका थिए ?”

“तिम्रो बुवा के गर्छन् ?”

“ऊ हेटुडामा दाउरा बेच्छ ।”

“कति भो दाउरा बेच्न थालेको ?”

“आमा बिसेक भएदेखि हो ।”

त्यस किशोरीसँगको कुराकानीमा  के थाहा पाए भने, उसको तामाङ गाउँका धेरै केटीहरू भारतको ठुलो शहरमा नोकरी गर्न गएका छन् । उसको बाउले पनि पैसा पाएन भएको छ । अब ऊ पति चाँडै नै मोटर, रेल चढेर ठूलो शहरमा गएर धेरै पैसा कमाउँछे रे । त्यस किशोरीलाई सत्य थाहा नभएको हुँदा रमाई रमाई मलाई सुनाएकी थिई ।

मैले के भन्ने ? भनेर पनि के गर्ने ? यस्तै छ मकवानपुर लगायत ग्रामीण भेगको गरिब बस्तीको स्थिति ।