गङ्गे च यमुने चैव गोदावरि सरस्वती।

नर्मदे सिन्धु कावेरि जलेऽस्मिन् संनिधिं कुरु॥

आजको ताक्लामकान मरुस्थल कुनै समय हराभरा र प्रकृतिको सुन्दरस्थल थियो । चराचर सृष्टिमा मान्छेले विकसित गरेको त्यो सुवर्णभूमी तियानसन पर्वत, पामिर पठार एवं दक्षिणमा कालाचित्त पहाड (काराकोरम) एवं कुनलुनको बीचमा अवस्थित थियो । यो सुन्दर क्षेत्रलाई प्रकृतिले धेरै आयु दिएन ।

ठुलो विरासत छाडेर त्यहाँका मान्छेहरू तितरबितर भए । जलवायु परिवर्तनको असरले युगान्तरमा त्यो मरुस्थलमा रूपान्तरण भयो । उर्वर र प्राचीन सभ्यताको द्योतक ताक्लामकान क्षेत्रलाई तारिम नदीले चिरेको थियो । उत्तरतर्फ काशगर, तुर्फान, अक्सु, भरुक, कुची र कारासहर बस्तीहरू थिए । दक्षिणमा यारकन्द, खोतान, निया र चर्चन मुख्य बस्तीहरू थिए । उत्तरतर्फको भूमि मान्छेका लागि अनुकूल नभएपछि बिस्तारै दक्षिण तर्फ बस्तीहरू विस्तार हुँदै गए । यो क्रमले सिन्धु नदी क्षेत्रमा उनीहरू विस्तारित भए ।

सप्त सिन्धुक्षेत्र समुच्च भाग वैदिक आर्यन, द्रविण र अद्वैत सबैको क्रीडास्थल बन्यो । शुतुद्री र सरस्वतीको मैदानमा नै हरिप्रिया (हरप्पा) र (पुस्कलावती) मोहन्जोदाडो रम्य र भव्य शहरको बस्यो ।

झेलम नदी उत्तर–पश्चिम भारत वर्षको पश्चिम क्षेत्र हुँदै र उत्तर–पूर्वी बगेकी छिन् । सप्तसिन्धु नदीमा प्रवाहित हुने नदीहरू मूलतः पीर पञ्जाल चिरेर दक्षिण बहेका नदीहरू हुन् । झेलम कश्मीर खण्ड, पीर पञ्जाल र भेरिनाग हुँदै चेनाबमा मिल्छ । यस नदीका मुख्य सहायक नदीहरू लिडर, नीलम र पुन्च, बारी लगायत छन् ।

त्यसैगरी पाङ्गी उपत्यका हुँदै उत्तरपश्चिम दिशामा बगेकी चन्द्रभागा जम्मू क्षेत्रबाट पदरमा प्रवेश गर्दछिन् । उत्तर–पश्चिम दिशामा चिनाब भण्डलकोटमा मारुसुदारसँग जोडिएको छ। यो बेङ्गावरमा दक्षिणतिर मोडिन्छ र त्यसपछि पीर–पञ्जाल (पारपञ्जाल) हुँदै खाडीतर्फ लाग्दछ। त्यसपछि यो धौलाधार र पीर-पञ्जाल पर्वत श्रृंखला बीचको उपत्यकामा प्रवेश गर्दछ। दायराको दक्षिणी आधारबाट बगेको यो नदी अखनूर हुँदै सियालकोट क्षेत्रमा प्रवेश गर्छ।

अगाडि इरावती नदी भेटिन्छिन् । रावीको रूपमा परिचित नदी इरावती सप्तसिन्धुका पाँच नदीहरू मध्ये एक हो । हिमाचल प्रदेशको समुच्च हिमालयबाट चम्बा हुँदै जम्मू र कश्मीर सीमाबाट पश्चिम–उत्तर–पश्चिममा र दक्षिण–पश्चिम बहेकी छिन् ।

उत्तर वैदिककालमा नै भारत वर्षको इरावतीको पानी सम्पूर्ण प्रवाह क्षेत्रमा सिँचाइका लागि व्यापक प्रयोग गरिएको थियो । यो नदी माथिल्लो क्षेत्र ब्यास र रविमा उत्पत्ति भई पीर-पञ्जाल तराई हुँदै चिनावमा पुगेकी छिन् ।

त्यसैगरी सुतुद्री हिमालय, हिन्दुकुश पर्वत शृङ्खला र मध्य सुलेमान शृङ्खला हुँदै अरब सागर बहेकी छिन् । सुतुद्री सिन्धु नदीको पूर्वतर्फको सहायक नदी हो। सुतुद्री कैलाश मानसरोवर र रक्षस (रक्षाल) तालदेखि  भारतको पश्चिम र दक्षिण–पश्चिम हिमाचल प्रदेश हुँदै पाकिस्तान बहावलपुर हुँदै सिन्धु नदीसँग मिल्छ।

० ० ० ०

अब सरस्वती नदीको कुरा :

पलाक्ष्वती भनिने यमुनाका पूर्व र सतलुजका पश्चिममा बहने सरस्वती नदीमा हिन्दू सनातनीहरूको व्यापक आस्था थियो । हिमालय पर्वत उद्गम भई वहेकी सरस्वती मरुस्थलको ‘विनाशन’ मा विलुप्त सरस्वती नदीलाई प्लक्षवती, वेदस्मृति, वेदवती लगायत अनेकौं नामहरूबाट पुकारिन्थ्यो । सरस्वतीको नामैमा अकाट्य महिमा रहेकाले नदीलाई ‘परम पवित्र’ नदी मानियो ।

सरस्वतीका सहायक नदीहरूमा दृष्टावदी र हिरण्यवती थिए । यी नदीहरूको पनि अस्तित्व दिग्विजय रहेन । कालान्तरमा सहायक नदीहरूको समेत धार परिवर्तन भई यमुना वा सिन्धुतर्फ लागे । अन्ततः सरस्वती भने विलुप्त नै भइन् ।

सरस्वती आफैमा विशाल नदी थिइन्, र सरस्वतीलाई गङ्गा भन्दा उत्तम र विशाल नै मानिन्थ्यो । विलुप्त सरस्वती नदीको स्मरणमा वैदिकहरूले शनैशनै विद्या र ज्ञानको देवीका रूपमा पुकार गर्न थाले । त्यो समय उत्तर वैदिक कालीन हो, र सरस्वती नदीका छिटफुट प्रसङ्गहरू यस वर्षको पद्म श्री पुरस्कार विजेता प्रा.डा. देवी प्रसाद सुवेदीको उत्तर-ऋगवैदिक कालीन सामाजिक उपन्यास ‘मनु’मा उल्लेख छ ।

० ० ० ०

शास्त्रहरूमा नदीहरूको व्याख्या यसरी छ :

गङ्गा वेगशील थिइन् । यमुना र सरस्वतीको जल प्रवाह अधिक थियो । शुतुद्री वेगवान् थिइन्  । परूष्ण्या निश्चल थिइन्  । असिवन्याको जलमा निलमको घुलन ज्यादा थियो । वितस्तया ज्यादा विस्तारित थिइन् । आर्जिकीयेको धार सिधा बहने वाली नदी थिइन्  । सुषोमया नदी किनार सोमलता थियो ।

सरस्वती नदीको किनारमा घोडा, रथ बनाउने, कपडा उत्पादन, सुन आदि, धातुका खानी, ऊन उत्पादन, औषधिहरू अन्वेषण गर्ने गरिन्थ्यो । नदीलाई वैदिकले ज्यादा उपासना गर्दथे, र देवीको विभिन्न रूपमा पूजन गर्दछे । नदीमा आधारित उपासना र मन्त्रहरू उच्चारण हुन्थ्यो । उत्तर वैदिक कालमै सरस्वतीलाई मुख्यतः वाणी, बुद्धि वा विद्याको अधिष्ठात्री मान्न थालियो ।

त्यसैगरी सरस्वतीलाई नदीत्तमाको उपाधि दिइयो । सरस्वती नदीको जललाई दूध र घीउ भन्दा वढि परिपूर्ण बताइयो । सरस्वतीलाई सप्तसिंधु नदीहरूको जननी बतायो । पछिल्ला वैदिक साधकहरूले सरस्वती नदीको विलुप्तीको बारेमा उल्लेख गर्न थाले । सरस्वती नदीका उद्गम स्थललाई ’प्लक्ष प्रस्रवन’का रूपमा व्याख्या गरियो, जुन यमुनोत्रीका नजिकै अवस्थित छ।

कैकय प्रदेशदेखि अयोध्या आउन सरस्वती र गङ्गा पार गर्नुपर्ने थियो । महाभारतकालमा बलरामले युद्ध छाडेर तिर्थयात्रामा निस्कदा समेत सरस्वती नदीको तट हुँदै समानान्तर प्लक्ष प्रस्त्रवण – यमुनोत्री र प्रभास क्षेत्र (कच्छको रण) को तीर्थयात्रा गरेका थिए । कुरुक्षेत्रको तीर्थ सरस्वती नदी रहेको र ब्रह्मावर्त तथा कुरुक्षेत्र नगर सरस्वती र दृष्टावती नदी बिचमा रहेको उल्लेख छ। जुन स्थानमा मरुभूमिमा सरस्वती लुप्त भइन्, त्यसलाई ’विनशन’ भन्न थालियो । वैदिकहरू भन्थे विनाशनमा लुप्त नदी कुनै स्थानमा फेरि प्रकट हुनेछिन् ।

निषादहरू र म्लेच्छहरूदेखि द्वेष हुनको कारण यही नदी नै थियो । निषाद र म्लेच्छहरूले बारम्बार यिनको बाटो र भँगालो फरक पार्दथे, र एक अर्काको प्रदेशहरूमा जाने बाटो बन्द गरिदिन्थे ।

सुतुद्री (सतलुज) नदीले पनि कैयन पटक पुरानो मार्गलाई परिवर्तन गरिरहेको दृष्टान्त नौलो थिएन । सुतुद्रीले सरस्वतीमा नदीलाई नै जलाधार बनाएको थियो। सिद्धपुर (गुजरात) सरस्वती नदीको तटमा बसेको विशाल भूगोल थियो । नदी बिंदुसार सरोवरमा मिल्दथ्यो । सरस्वती नदी यमुनानगरदेखि थोरै माथि र शिवालिक पहाडहरूदेखि थोरै तल बहन्थिन् । नदीको उद्गम .मा रूपण क्षेत्र थियो । नैतवार क्षेत्रमा आएपछि जल प्रवाह गतिमान हुँदै जान्थ्यो ।

पछिल्लो प्रवर्षणमा यस क्षेत्रमा भीषण भूकम्प आयो, जमीनका तलहरू पहाडभन्दा माथि उठ्यो र सरस्वती नदीको जल पश्चिमतर्फ धमेलियो । जब धरतीमा भिषण भूकम्पहरू आए, क्रमशः भारतवर्षका धरतीका तलहरू पहाड माथि उठे, र नदीहरूका बहावको दिशा बदलिदै गए । दृषद्वती नदी भने यमुनामा लुप्त भइन्, जुन पहिले सरस्वतीमा मिल्दथिन् । यमुनाले पनि विभिन्न कालमा धारहरू परिवर्तन गर्दै गईन् । यो अर्थमा यमुनामा सरस्वतीको आदि जल प्रवाह हुन थाल्यो, जुन नदी आफैमा पहिले चम्बलमा मिल्दथिन् ।

अहिले यमुना प्रयागमा पुगेर गङ्गामा मिलेकी छिन् । केही सरस्वती प्रबर्षण क्षेत्रको जल यमुनामा मिलेकाले प्रयाग सङ्गमलाई त्रिवेणीको रूपमा विश्वास गरिएको हो ।

हरियुपिया (हरप्पा) सभ्यता सरस्वती नदी तटमा रहको समुन्नत वस्ति थियो । सरस्वती नदी लुप्त भएपछि यो सभ्यता पनि खत्तम हुने कुरा प्राचिन माया सभ्यताका मान्छेहरूले भनेको समेत मानिन्छ ।

अर्थात् उत्तर वैदिककालको अन्तसँगै बिस्तारै धर्तीको मोषमी प्रक्रियामा परिवर्तनहरू देखा पर्दै गयो । तापमानमा आउदै गरेको परिवर्तनले भुतत्वमा धेरै दवाव दियो, र विद्यमान भूअवस्थितिको विसर्जन शुरु भयो । काश्मिर, मानस र कालापित्त क्षेत्रमा अधिक वर्षा भएको थियो । हिमखण्डमा हुने अत्याधिक वर्षा सामान्य भूधरामा भन्दा ठुलो विपत्ति निम्याउछ । पञ्जाल क्षेत्रमा उथल पुथल भयो । सिन्धु सरस्वती सभ्यता बाढिमा पुरीयो । सरस्वती नदी विशेषत आफ्नो अस्तित्वलाई जिवन्त राख्न सकिनन् ।

सरस्वतीको तल्लो तट मैदान मरुस्थलमा परिणत भयो । बालुवा र धुलोका कणहरू लामो समयसम्म हावामा रहन सक्ने अवस्थाका थिए । हावाले उडाएको बालुवाको दानाले आफ्नो बाटोमा रहेको कुनै पनि ठोस वस्तुलाई छिटो क्षयीकरण गर्न सक्ने अवस्थामा थिए । बिस्तारै बालुवाको समतल मैदानको रूपमा र बालुवाको पहाडमा रूपमा त्यो क्षेत्र रहन थाल्यो । कतै अस्थायी तालहरू बनेको देखियो भने बतै पानी वाष्पीकरणले नुनको खाडलहरू देखियो । पानीको भूमिगत स्रोतहरू मुहानहरू नरहेकाले जलचरहरू बिस्तारै पलायन भए ।

त्यसपछिका उत्तर वैदिकहरूले सरस्वतीलाई क्रमशः वाग्देवी, विद्या र कलाकी अधिष्ठात्रीका रूपमा पुज्न थालेका हुन् । शुतुद्री, सरस्वती र सतलज नदीका मार्गहरू क्रमशः फेरिए । सप्तसिन्धुमध्ये सरस्वती नदी अन्य छ नदीहरूकी जन्मदाता पनि थिइन्  । इन्द्रदेवले अन्य देवता र मरुतगणको सहयोगले यही सरस्वती नदीको किनारमा पहिलो पटक जौ उमारेका थिए, जहाँबाट भूमिमा कृषि युगको शुरुआत भएको विश्वास समेत गरिन्छ ।

बौद्ध धर्मावलम्बीले मञ्जुश्रीका एक स्वरूपलाई सरस्वतीको रूपमा र आर्यनहरूले बज्रवीणा आर्य सरस्वतीलाई देवी सरस्वतीकै रूपमा एकसाथ पनि पुज्न थालेका हुन् ।

पछि आर्यनहरूले सरस्वतीलाई मूर्ति शक्तिको रूपमा दर्शाउने थाले, र देवीको प्रतिमाका रूपमा पूजा गर्ने परम्परा र प्रचलनको शुरुआत गरे । सरस्वतीलाई कतै ब्रह्मा र कतै महादेवकी छोरी, गणेशकी दिदी र ब्रह्माकी पत्नी समेत मानेर पनि पूजा गर्न थाले । कतिपय स्थानमा सरस्वती मूर्ति स्थापनासँगै गर्भगृहमा गणेशका मूर्तिहरू राख्न थाले । उनलाई सेतो वस्त्र लगाएर कमलको फूलमा बसेको वा उभिएको जसरी सजाउन थाले ।

यो अर्थमा भारतवर्षमा स्थापित सम्यता र भाष्यहरूको वर्णन वैदिकहरूले आफ्नो शास्त्रमा कायाकल्प गरे, र स्थापत्य ‘सरस्वती’को सत्य एवं जीवन्त महिमालाई अधिष्ठात्रीका रूपमा अपराजेय बनाए ।

स्रोत : विभिन्न पौराणिक तथा आधुनिक साहित्यहरू  l