“पैसा हुनेलाई अमेरिका पनि यही, युरोप पनि यही, अस्ट्रेलिया पनि यही । पैसा नहुनेलाई अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ नै बसे पनि सकस उही ।”
मैले बेलाबखत सुन्ने गरेको वाक्यहरू हुन् यी । के पैसै हो त सबै कुरो ? सम्पत्ति नै हो त सबै कुरा ?
सन २००९ डिसेम्बर महिनाको कुरा हो । अमेरिकाको डुल्स अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने तैयारीमा थियो विशालकाय बोईंग ७७७ जेट जहाज । मध्यपूर्वको देश कतारबाट झण्डै १५ घण्टा लामो आकाश यात्रा तय गरेर अमेरिकाको भूगोलमा अवतरण गर्ने तैयारीमा थियौं हामी सयौं यात्रीहरू । हामी थाके पनि लामो आन्ध्र महासागर तरेर आएको त्यो विशालकाय जहाज थाकेको थिएन ।
पातालको देशमा ओर्लिंदै थिएँ म पनि अरू तीन सय भन्दा बढी यात्रीहरू सहित । लामो समय आन्ध्र महासागरको पानीमाथि नै उडियो । धर्तीले ओढेको आकाश नपस्दै अमेरिकामा अवतरणको बेला भैसकेको थियो ।
म जहाजको सानो झ्यालबाट तल पातालको धर्तीमा नयाँ कुराहरू खोज्दै थिएँ । संसारका अत्यधिक मान्छेहरूको सपनाको गन्तव्यलाई म आकाशबाटै स्पर्श गर्ने कोसिस गर्दै थिएँ । मानौं यस्तो केही खोज्दै थिएँ जुन मैले पहिले कहिल्यै देखेको नहोस्, भोगेको नहोस्, सुनेको पनि नहोस् । यद्यपि खासै नयाँ नौलो केही पनि स्पर्श भएका थिएनन् तबसम्म । यद्यपि कौतुहलताका पहाडहरू घटेका थिएनन् मनभरि, बढी नै रहेका थिए ।
जतिजति जहाज तलतिर ओर्लिंदै गर्थ्यो उतिउति मनभित्र हल्का भयका ढिस्काहरू पनि चुलिन थाल्थे एउटा जटिल प्रश्न सहित “के होला यदि अमेरिकी अध्यागमनले मलाई अमेरिका प्रवेश गर्ने अनुमति दिएन भने ?”
अनौठो केही छैन, केही मानिसहरूलाई अध्यागमनले जताबाट आएको हो त्यतै फर्काइदिएका कथाहरू ओझेल परेका छैनन् । यदि अध्यागमन अधिकारी यात्रीले बताएको यात्राको उद्देश्य र तैयारीमा सन्तुष्ट हुन सकेन भने यात्रीलाई जताबाट आएको हो त्यतै फर्काइदिन सक्ने अधिकार ऊसँग हुन्छ ।
जहाज अवतरण भयो अमेरिकी माटोमा । हल्का वर्षा भैरहेको थियो अमेरिकी धर्तीमा । मानौं वर्षाले स्वागत गर्यो मलाई त्यो धर्तीमा । विमानस्थलको धावनमार्ग, टेक्सीवे र पार्किग बे सम्म पनि नयाँ केही देखिएनन् । नयाँ खोज्ने आँखाहरू भने थाकेका थिएनन्, थामिएका थिएनन् । अमेरिकी भूगोलमा अपराह्नको ३ जति बज्दै थियो । अर्थात् एउटा वयस्क दिन हुर्किंदै थियो ।
जहाजको ढोकाबाट निक्लिने बित्तिकै हाम्रा पाइलाहरूले एउटा साधनमा टेके जुन आफैमा एउटा मिनिबस जस्तै यातायातको साधन रहेछ । त्यसैले पुर्यायो टर्मिनल भवनसम्म । त्यो प्रकारको साधन मैले पहिलो पटक अमेरिकामा नै देखेको थिए ।
अध्यागमनमा पुग्दा यत्ति ठुलो भिडसँग ठोक्किए म त छक्कै परे । मैले अध्यागमनका अगाडी त्यत्ति ठूलो भीड कहिल्यै देखेकै थिइन । ती सबै मान्छेहरू संसारका विभिन्न देशहरूबाट एउटा ठूलो महासागर तरेर दाखिल भएका थिए अमेरिकी धर्तीमा । हाम्रा अगाडी लस्करै बसेका थिए अध्यागमन डेस्कहरू ।
अध्यागमनका प्रत्येक डेस्कको अगाडी लामो कमिले ताँती बनेको थियो अमेरिका पस्न खोज्नेहरूको । सयौं मान्छेहरू अमेरिका पस्ने तैयारीमा थिए तिनै डेस्कहरू पार गरेर । ती डेस्कहरू पार गर्नु यात्रीहरूका लागि एक प्रकारले अन्तिम चुनौती थियो त्यो यात्रामा, भन्ने मेरो बुझाइ थियो । सायद ती डेस्कहरूसम्म पुग्ने सम्भावना नभएकाहरूले नै मेक्सिकोको पर्खाल नाघ्ने कोसिस गर्दा हुन भनेर मनले सम्झायो ।
एकप्रकारको शान्ति वा सन्नाटा घप्लक्कै घोप्टिएको थियो यात्रीहरूमाझ । सुनिन्थ्यो त अध्यागमन सहयोगीहरूको आवाज मात्रै । उनीहरू यात्रीहरूलाई विभिन्न लाइनमा लगाउने व्यवस्थापन गरिरहेका थिए ।
मैले ती विभिन्न लाइनहरूमा उभिएका मान्छेहरूतिर दौडाए आफ्ना नजरहरू । कोही अग्ला, कोही होचा, कोही मोटा, कोही दुब्ला । अनेक रंग र बनौटका थिए उनीहरू । कोही गोरा, कोही काला, र कोही म जस्तै गहुँगोरा । अनेक आकृतिहरू छरिएका थिए अमेरिकामा पाइलो टेकेर अमेरिकै पस्ने अन्तिम अनुमतिको पर्खाइमा ।
मलाई लाग्थ्यो कि ती धेरैको अन्तर्मनभित्र त्यतिखेर एउटै प्रश्न चुलिएको थियो होला “के होला यदि अमेरिकी अध्यागमनले मलाई अमेरिका प्रवेश गर्ने अनुमति दिएन भने ?”
म छाम्न खोज्थें तिनका अमेरिकी सपनाहरू तिनीहरूको मुखारबिन्दमा, तिनीहरूको आकृतिमा, के भेटिन्थ्यो र । पक्कै पनि छरिएका थिए अमेरिकी सपनाहरू त्यो अध्यागमन अगाडी प्रतीक्षारत लाइनहरूमा ।
मैले स्मरण गरेको थिएँ त्यतिखेर कन्सुलर अफिसरको जवाफ मेरो एउटा प्रश्नका उपर “त अमेरिकाबाट फर्कंदैनस् भन्ने लाग्छ मलाई ।” बस त्यही थियो उसले मेरो अमेरिका प्रवेश गर्ने अनुमति नदिनका कारण । म हारेको खेलाडी झैं भएर फर्केको थिएँ अमेरिकन एम्बेसीबाट ।
मलाई भिसा नपाउनु भन्दा पनि फलानाले पनि भिसा पाएन भन्ने उदाहरण बन्न डर लागेको थियो त्यतिखेर । खोइ त्यो डर पनि किन लाग्नु परेको थियो आफैले र अझैसम्म बुझ्न सकेको छैन । भिसा पाइएन त पाइएन, आकाश झर्दैन, धर्ती फाट्दैन, बस् । यद्यपि म अमेरिकामै बसाइँ सार्ने प्रयोजनको यात्रामा थिइनँ । छोटो यात्राका लागि भिसा आवेदन बोकेर एम्बेसीमा दाखिल भएको थिए ।
मलाई त्यो निर्णयले खासै असर गर्नु पर्ने थिएन किनकि मैले कुनै पनि प्रकारको अमेरिकी सपनाको बेर्नै उमारेको थिइनँ मेरो मानसपटलको ब्याडमा । तर असर गर्यो मलाई, किनकि म एउटा नेपाली थिएँ जसलाई अमेरिकन एम्बेसीले उसको देशमा प्रवेश गर्ने अनुमति नदिने निर्णय गर्यो । म मेरो रोजगारदाता कम्पनीको आदेशमा अमेरिकामा सम्पन्न हुन गैरहेको एउटा पेशागत सम्मेलनमा भाग लिन जाने क्रममा प्रवेश अनुमति वा भिसा आवेदन लिएर गएको थिएँ एम्बेसीको दैलोमा ।
त्यो अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्ने अरू धेरै सहकर्मीहरूमध्येबाट म एउटा छानिएको थिएँ । एउटा नेपाली नागरिक छनौटमा परेको थिएँ । भिसाको लागि अयोग्यता मेरो भन्दा पनि एउटा नेपाली नागरिकको भएको स्वरूपमा लिन सकिने भय छरिएको थियो मनभरि । सायद अर्को नागरिकताको सहकर्मी छनौट भएको भए उसले पाउन सक्थ्यो कि भिसा ? यी सबै भ्रम थिए मेरा मनबाट छरिएका तत्कालीन अवस्थामा ।
यद्यपि समय र परिस्थितिले कोल्टे फेर्यो । म त्यही सम्मेलनमा भाग लिनका लागि दोस्रो पटक आवेदन गरेर भिसा प्राप्त गरेर अमेरिकी अध्यागमन अगाडी उभिरहेको थिएँ । एक महिनाभन्दा पनि कम समयभित्र मैले भेटेको दोस्रो कन्सुलर अफिसरले मलाई भनेन कि म अमेरिकाबाट फर्किन्न ।
फर्कौं अध्यागमन अगाडीकै लाइनमा । म दौडिरहन्थे अरू अनुहारहरूमा । मलाई किन किन उनीहरू तिनका मौन अनुहारमा निरीह झैं लागिरहेको थियो । वास्तवमा त्यो मेरो गलत देखाई थियो कि कसैलाई मैले मेरो अनुमानकै आधारमा निरीह देखूँ । कुनै कुनै अनुहारलाई त म कबुत्तरकै रूपमा देख्थें । कबुत्तर अर्थात् मानव तस्करहरूको प्रपञ्चमा अमेरिका प्रवेश गर्दै गरेको एसियन वा अफ्रिकन सपनाहरूको थुप्रो ।
के होलान् तिनका सपनाहरू ? आफैलाई सोध्दै थिएँ । म अमेरिकी सपनाहरूको कल्पनाको बारीभित्र पस्दै गएँ ।
अमेरिकामा काम, काम अनुसारको दाम र काम अनुसारकै नाम पनि कमाइन्छ । त्यसैले अमेरिकातिरै लाग्नुपर्छ भन्नेहरू पनि भेटेको छु मैले । खोइ किन देखेनन् वा भेटेनन् उनीहरूले आफ्नै देशमा काम, काम अनुसारको दाम, कामकै आधारमा नाम । छन् नि हाम्रै देश नेपालमा पनि कामकै आधारमा दाम र नाम कमाउने कैयौं छोराछोरी, बाआमा, हजुरबा, हजुरआमाहरू । छैनन् र ? सबैले राजनैतिक विकृतिलाई नै उदाहरण बनाउनु पर्छ र हरेक समय हरेक ठाउँ ?
अमेरिकामा भविष्य छ । जे छ, त्यही छ । यस्तो भन्ने पनि देखेको छु मैले तर मैले आफै बुझ्न सकेको छैन त्यस्तो कुन भविष्य आफ्नै देशमा नहोला जुन केवल अमेरिकामा मात्रै पाइन्छ । यो पक्का हो कि ती देश हाँक्नेहरूले त्यस धर्तीलाई धेरै पहिल्यै एउटा सक्षम भूगोल बनाइसकेका छन् । भौतिक रूपमा विकासका बाक्ला उदाहरणहरू भेट्न सकिन्छ त्यो भूगोलमा । अन्वेषणका खानीहरू नै भेटिन्छन् त्यहाँ । नयाँ नयाँ कुराहरू जन्माउने क्षमता भेटिन्छन् । आकाश ताक्छन् त्यहाँका मस्तिष्क र क्षमताहरूले जब त्यति नै बेला अर्को भूगोल भुइँ खोस्रिंदै हुन्छ आफ्नातिर । तर के फरक पर्छ एउटा तेश्रो विश्वको सामान्य सपनाका लागि ? आखिर डेक्ची ड्राइभर वा चम्चा कमाण्डर नै बन्नु पर्छ भने के फरक पर्छ अमेरिकी भूगोलमा हुनु वा नेपाली वा अरू कुनै एसियन वा अफ्रिकन भूगोलमा बाँच्नुमा ?
कोही भन्छन् बलियो पासपोर्टका लागि अमेरिका जानुपर्छ । अमेरिकी पासपोर्ट बोक्नु भनेको आधाभन्दा बढी संसारको भिसा नै बोक्नु हो । त्यो त ठीकै हो, तर के फरक पर्छ एउटा पसल वा सुपरमार्केटभित्रै जोतिनु छ भने । के फरक पर्छ घर र अफिसमै तालिका सीमित रहन्छ भने । जब यात्रामा कोही निक्लिन्छ तब न पासपोर्टको शक्ति नापिएला ।
मलाई गर्व लाग्छ मेरो हरियो पासपोर्टको बाहिरी कभरमै देखिने “नेपाल” नामबाट जुन म मेरो जीवन पर्यन्त नै परिवर्तन गर्ने पक्षमा छैन । तीन दर्जनभन्दा बढी देशका चार दर्जनभन्दा बढी शहरहरूमा पुगिसक्यो यो नाम, र यो पासपोर्ट । धनी देश पनि पुग्यो गरीब भूगोल पनि छिचोल्यो । अमेरिकै भित्रै पनि पूर्वीदेखि पश्चिमी कोष्टसम्म पनि पुग्यो । नेपालमा के छ ? भनेर सोध्नेहरू पनि भेटिन्छन् अध्यागमनतिर, बाटातिर । “सगरमाथा”, “लुम्बिनी”, “डाँडाकाँडा पाखापर्वतहरू”, “गाँउ शहर”, “लेकबेसी” भन्दा उनीहरू खुसीले ओतप्रोत भएको पनि पाएको छु । मानौं उनीहरूले कल्पेको स्वर्ग छ मेरो पासपोर्टमा लेखिएको देशको भूगोलमा । म चाहिँ किन सोचूँ आफूलाई कमजोर ।
मैले केही शहरहरूमा पाइला हालें । अमेरिकाका केही शहरहरू माथि भुरुररर उडें चराले जस्तै । मैले के देखें के देखिनँ संस्मरणका पानाहरू खोतल्न मन लाग्छ पनि, र लाग्दैन पनि । तर मैले एउटा कुरा देखें, दुख र सुख दुवै पुगेका रहेछन् अमेरिकामा पनि । भोक र पेट पनि पुगेका रहेछन् । मैले त सोच्थे अमेरिकामा त केवल सुखै सुख मात्रै अवतरण गरेको होला । होइन रहेछ, दुख सुख, भय आनन्द, शान्ति अशान्ति, सबै पुगेका रहेछन् त्यहाँ । त्यसो त हरेक मान्छे मात्रै पुग्ने होइन अमेरिकामा उनीहरूसँगै सबै कुरा त गैहाल्छ । दुखलाई मात्रै कहाँ अन्तै बिसाएर अमेरिका पुग्न सकिंदो होला र ।
त्यो यात्राको आज १४ वर्षपछि म एउटा समाचारभित्र पसेको छु । अनलाइन खबरले बोकेको त्यो समाचारको शीर्षक छ – “अमेरिका छिर्न खोज्दा जसले बाटोमै ज्यान गुमाए” । त्यो समाचारले निकै दुखद घटना दुर्घटनालाई पस्केको थियो । डुङ्गा पल्टेर मर्नेहरूको बारेमा लेखिएको थियो जो अमेरिका पस्ने यात्रामा थिए । अमेरिकी सपना पालेर बस्नेहरू थिए ।
मैले त्यो समाचार पढिसकेपछि आफैलाई सोधें “अमेरिकामा के छ ?” के छ अमेरिकामा जो मैले पटक पटक यात्रा गर्दा देखिनँ । के म अनपढ, अन्धो, वा बेवकुफ थिएँ मैले केही देखिन त ? एकै पटक प्रश्नहरूको वर्षा भए मेरा अन्तर्मनदेखि ।
फरक्कै फर्किएको थिएँ मेरा पुराना स्मृतिहरूमा । सन् २००९ को डिसेम्बर महिनामा मैले देखेको अमेरिकन अध्यागमन अगाडी उभिनेहरू त निकै भाग्यमानी रहेछन् । कम्तीमै पनि उनीहरूले दुख र यातनाको समुद्र तर्नु नपरेको रहेछ अमेरिकासम्म पुग्नैका खातिर । अमेरिकाभित्र पस्न पाइएला नपाइएला अर्को पाटो हो तर उनीहरू एकै दिनको आकाश यात्रामा अवतरण भएका थिए अमेरिकी माटोमा ।
मैले त त्यतिखेर सोचेको थिएँ अमेरिका पस्ने बाटो त्यही एउटा हो । कोही त्यो बाटो विद्यार्थी भएर पस्छ उच्च अध्ययनको बहानामा । कोही ऋण काटेरै पर्यटकको भेषमा पस्छ । कोही सरकारी कर्मचारीको परिचयमा सभा सम्मेलनमा भाग लिने बहानामा पस्छ । हो तिनीहरू उतै टपक्कै टाँसिन्छन् धापमा टाँसिएको जुका जस्तै भएर । बाँकी अरू मात्रै सामान्य यात्रामा हुन्छन् ।
ओहो ! अमेरिकी सपना टिप्नेहरू कहाँ त्यति सजिलो बाटोमा मात्रै भेटिंदो रहेछन् र । बाटाहरू धेरै रहेछन् । लामा रहेछन्, खर्चिला रहेछन्, जोखिमयुक्त रहेछन् । पछि मात्रै थाहा पाएँ मैले पानामा र कोलम्बियाको जंगल तर्नेहरू । समुद्रमै बिलाउनेहरू ।
आजभोलि सुन्दै छु अमेरिका जाने अनेक बाटोहरूका बारेमा र तिनै बाटोमा छरिएका दुख र आतंकका कथाहरूका बारेमा । अमेरिका भासिन खोज्ने गाउँकै कथाहरू पनि सुन्न थालेको छु आफ्नै देशमा । कहाँ हामी मात्रै रहेछौं र अरू धेरै विदेशीहरूको सपना पनि त्यस्तै त्यस्तै रहेछ । धेरै मनहरूसँग ठोक्किएको छु । “कागज भैसक्यो, अर्को वर्ष पस्छु” भन्ने पढेलेखेका विदेशीहरू पनि भेटें मैले ।
एकथरी अमेरिका जानेहरू नेपालबाट भिजिट भिसा लगायतको बाटो भएर दुबई पुग्ने रहेछन् । त्यसपछि सिधै क्यारिबियन देशहरू कोलम्बिया, बोलिभिया लगायतका देशहरूमा अवतरण हुने रहेछन् । त्यहीबाट सुरु हुँदो रहेछ अनेक खाले यात्राहरू पानामा, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने । अमेरिकाको सीमावर्ती देश मेक्सिकोको कुनै दुलोबाट अमेरिका छिर्ने रहेछन् । म झट्ट सम्झन्छु तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना कि मेक्सिकोले पुरै सिमानामा पर्खाल लगाओस् तब कि कोही पनि विदेशीहरू अवैध बाटो भएर अमेरिकाभित्र नपसुन् ।
यात्रा सहज छैन रे । जंगलयात्रा, समुद्रमाथिको यात्रा, खोला–नाला आदि इत्यादि बाटैभरि आइरहन्छन् ।
हो, हामी गरीब देशका मान्छेहरू हौ भलै अंकमा धनी पनि हौला वा जुनसुकै वर्गका । हामी विकासोन्मुख देशका मान्छेहरू । हामी देश हाँक्नेहरूबाट पीडित मान्छेहरू । हाम्लाई पनि सुखको चाहना हुनु अस्वाभाविक होइन । तर के हाम्ले सोचेजस्तै, चाहेजस्तै सुख होला र अमेरिकामा ? हाम्ले सोचे जस्तै कमाइ पनि होला र त्यहाँ ? त्यसो त १०० अमेरिकी डलर मात्रै बच्दा पनि झण्डै १५००० नेपाली रुपैयाँ बन्छ नेपालको । ठूलै रकम हो । त्यसमाथि मानव दलालहरूले बेच्ने सपनाका कुराहरू छुट्टै हुन्छन् । अचम्म त लाग्दैन तैपनि सोच्छु मैले किन देखिनँ ती सुख, ती सम्पत्ति अमेरिकाको धर्तीमा पटकपटक पुग्दा र किन देख्दैनन् आजसम्म पनि । के मेरा आँखाहरू नै त्यस्ता हुन् वा अमेरिकामा सुख र सम्पत्ति अदृष्य हुन्छन् ?
“हाम्रो चिन्ता नगर छोरी, हामी यहाँ दोहाको एयरपोर्टमा आइपुगेका छौं । जहाजमा दिएको खानेकुराहरू झोलामा हालेका छौं । त्यही खान्छौं पछि । फेरि दोहाबाट काठमाडौँ जाने जहाजमा पनि दिन्छ रे खाना । त्यो पनि खान्छौं । तिमी चिन्ता नगर हाम्ले के खाउँला भनेर ।” अमेरिकामा आफ्ना सन्तानलाई आफ्नो भौतिक अनुहार देखाएर फर्केका एक वृद्ध दम्पत्तिको यस्तो फोन संवाद सुनेर म स्तब्ध भएको थिएँ ।
कोशौं पर छरिएका एक अर्कोप्रतिको माया र चासोहरू दोहाको विमानस्थलमा जोडिन खोज्दै थिएँ । दङ्ग थिए वृद्ध दम्पती हजारौं कोश परबाट बगिरहेको मायाको अनुभूतिले । सायद खुसी थिए अमेरिकी भूगोलमा बस्नेहरू कम्तीमा पनि बाआमाको झोलामा केही खानेकुराहरू छ ।
रेमिटान्सले पनि बोकेर लेराउँदो हो केही खुसी नेपालसम्म । तर कुन खुसी वा सुखहरू छन् अमेरिकामा जुन नेपालसम्म आउँदै आउँदैनन् वा पाइँदै पाइँदैनन् ?
देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो, भन्छन् जनताको शासन आयो, तर किन आएन देश छोड्नु पर्दैन बरु देशभित्रै छन् अवसरहरू भन्ने परिवर्तन ? कहिले आउँछ यो किसिमको परिवर्तन ? किन र कहिलेसम्म रहन्छ देशले “अमेरिकामा के छ ?” भनेर त्यसकै पछिपछि लाग्नु पर्ने दिन ? कहिलेसम्म बन्द हुँदैनन् डोरियन ग्यापका साँघुरा गोरेटाहरू?
सकिन्छ आफ्नै देशमा बसौं र केही गरौं । हैन जानै पर्छ अमेरिका भने जाऔं तर सिधा बाटो जाऔं । कुबाटो पुगिंदैन अमेरिका । कानुनी बाटोबाटै पसौं, गैरकानुनी बाटोमा पाइलै नहालौं । सुरक्षित बाटो गन्तव्य पहिल्याऔं । असुरक्षित बाटो रोज्दै नरोजौं । तपाईंको पछाडि तपाईं मात्रै होइन तपाईंको सिङ्गो परिवार छ, तपाईंमा आश्रितहरू पनि छन्, र तपाईंको देश पनि छ, र ती सबैलाई तपाईंको चिन्ता छ । तपाईं पनि ती सबैको चिन्ता गर्नुस् र सोच्नुस् एक पटक गलत बाटो रोज्नु पहिले । बस, मेरो भन्नु यत्ति हो ।
मैले बुझेको एउटै कुरो के हो भने गुनासाका पोकाहरू कहिल्यै रित्तिंदैनन् कुनै पनि मान्छेसँग, कौतुहलताका आकाशहरू कहिल्यै घट्दैनन् हाम्रा मस्तिष्कहरूमा, यात्राका चाहनाहरू मानव रगतकै एउटा हिस्सा हो । तर जहाँ पुगे पनि जहाँ गए पनि, “सुख र दुख” दुवै साथैमा हुन्छ जो कोहीसँग । दुख नपुगेको भूगोल नै छैन । एकदिन यो धर्ती छोड्नै पर्ने बाध्यता पनि हरेक मान्छेका लागि लेखिएकै छ ।
त्यो घर जहाँ हामी जन्मियौं, त्यो गाउँ जहाँ हामी हुर्कियौं, त्यो देश जुन हाम्ले पहिचान पायौं, ती सबै सर्वस्व हुन् । सर्वस्व हरण हुने बाटोमा लाग्नु पहिल्यै गहिरिएर सोचौं, साधा जीवन र उच्च विचार सहितको शान्ति आफ्नै देशमा मात्रै छ, अन्त कतै छैन, र अमेरिकैमा पनि ।
विश्वमा शान्ति छाओस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।