नबोलौँ भन्यो, बोली खुस्किहाल्छ । जानेको छैन भन्यो जान्ने हुन मन अघि सरिहाल्छ । नजाऊ भन्यो जान ढिलो भइसकेको हुन्छ । ‘बुझेको छैन, केही थाहा छैन’ भन्यो खूब ‘बुझक्कड’ हुन हतार भइहाल्छ । ‘भुत्लोभाङ’ जाने–बुझेको केही होइन तर ‘जान्नेसुन्ने’ हुन सकसक भइहाल्दो रहेछ । अबुझ हुन कोही नचाहने रहेछ ।

जो र जसलाई पनि ‘जान्ने भई टोपल्नुको हतारो’ उस्तै र उत्तिकै हुने रहेछ । गर्नुभएन नजानेकोजस्तो जानेर पनि । नबुझेकोजस्तो  बुझेर पनि । ‘घुस’ पचाउन सकिएला ‘बुझ’ पचाउन सकिँदैन ।

नबोलौँ भने ‘बोल्न पनि पैसा पर्ला जस्तो’ भन्लान् भन्ने डर । बोलौँ ‘कति बोल्न सकेको मुख पनि नदुखेको’ भन्न के बेर । कसले कुरा सुनेको छ र, कसले वास्ता गरेको छ र भन्दै कुरामाथि छुरा हान्न अर्को आइतबार आइरहनु पर्दैन । चुपचाप लागेर मुख बुझो गरी एक्लै धुमधुमती बस्नु पनि भएन ।

आँखा छ हेर्नै पर्यो । मुख छ बोल्नै पर्यो । कान छ सुन्नै पर्यो । यी सबै यसकै लागि हुन् । हुन त ‘नभेटिएको भेट’ भन्दा ‘भेटिएको भेट’ वा ‘जम्काभेट’ हुनु राम्रो हो ।

अन्ततः अनायसै जम्काभेट भइहाल्छ । अचानक आँखा जुधिहाल्छ । आँखा जुधेपछि केही न केही बोल्नै पर्यो । जम्काभेटपछि अलिकति मुस्कुराउनै पर्यो । रिसले हठात् आगो ओकल्नु भएन । घृणाले छि छि र दुर्दुर गर्नु भएन । लाञ्छना लगाएर लात हान्नु पनि भएन । माया गरेर सुमसुम्याइहाल्नु पनि भएन ।

भेट्नुपर्ने मान्छे भेटिएको हुँदैन । पुग्नुपर्ने गन्तव्य पुगिएको हुँदैन । बोल्नुपर्ने शब्द बोलिएको हुँदैन । जान्नुपर्ने कुरा जानिएको हुँदैन । परन्तु हुनु नपर्ने जम्काभेट भइहाल्छ । बोल्न नहुने शब्द बोलिन्छ ।

खानु नहुने चिजबिज खाइहालिन्छ । न त स्वास्थ्यको ख्याल गरिन्छ । न स्वभाव सुधार्ने प्रयत्न थालिन्छ । अरूलाई अर्ति–उपदेश दिन तम्सिन्छौँ हामी । तर आफ्नै बानी र बोलीमा परिवर्तन ल्याउन सकेका हुँदैनौँ । आफैँले तनतनी चुरोट तानेर अरूलाई चुरोट पिउन बन्देज लगाउन सकिँदैन ।

मान्छेको स्वभाव ‘फतफत’ बोलिरहनुपर्ने । ‘गनगन र गुनासो’ पोखिरहनुपर्ने । फतफते र गनगनेहरू कति–कति । ‘प्याच्च’ बोल्नु हुन्न भन्यो बोलिहाल्नुपर्ने । ‘थ्याच्च’ बस्नु हुन्न भन्यो बसिहाल्नुपर्ने ।

अरूको कुरा काट्न मरिहत्ते । आफ्नो प्रशंसा गर्न आफैँ अग्रसर । कस्तो बानी बसिसक्यो कि नदेखे पनि ‘मैले देखेको हो’ भन्न र प्रमाण पेश गर्न सक्ने खुबी । नपत्याउँदो कुरालाई पनि पत्याउँदो बनाउन सक्ने छवि ।

सुकोमल अनुहार, अवयव पनि मन नपरेपछि कस्तो–कस्तो देखिने रहेछ । जखमले, अरिमठे जस्तो अरोचक । उर्वर शून्य, हरियाली विहीन, बाँझो ऐलानी जग्गा जस्तो । बसाई गएर छोडेको अलपत्र घरबारी जस्तो ।

अरूको अगाडि अज्ञानी, अबुझ र अनपढ हुन को चाहन्छ र ? ‘कालो अक्षर भैँसी बराबर’ भए पनि  पढेको धाक र धक्कु । ‘आलु खाएर पेडाको धाक’ लगाउन सबै सिपालु हामी । जो ‘बाह्र वर्ष रामायण पढायो सीता कसकी जोई’ भन्दा निर्धक्क ‘रावणका’ भन्छन् । यस्तो अवस्थामा हाँस्नु कि रुनु हुन्छ गुरुजनलाई । गुरुकै बेइज्जत, चेलालाई के मतलब ।

जे हुनु थियो त्यो हुँदैन । जे नहुनुपर्ने त्यही हुन्छ । हामीले साँचेको काम होइन, कहिल्यै नसोचेको काम हुन्छ । हामीलाई हतारै–हतार सधैँ । दौडधुपमा व्यस्त जीवन हाम्रो । एकछिन आफ्नै बारे सोच्ने फुर्सद हुँदैन । ‘बाह्र सत्ताइस’ कुरा गर्न आउँछ । सानो सत्कर्म, सद्भाव, सकारात्मक सोचविचारको सट्टा बरु त्यसमा पूर्णविराम लाग्छ ।

जसरी कि आजको शिक्षामा नीति र नैतिकता पढाइन्न । इतिहास र आत्मनिर्भरको शिक्षा सिकाइन्न । जस्तै नेतागणको भद्रगोल नेतृत्व जस्तो । राजनीतिको ‘सुशासन नीति’ नभई ‘भागनीति’ र ‘आफन्तवाद’ को हाबी भएजस्तो । देश र जनतालाई कसले सम्झिने, कसले तिनका पिरमर्कालाई किनारा लगाउन तम्सिने ?

कामकुरो होइन ‘न्यायनिसाफ एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने जस्तै । अलपत्र, लखतरान थाकेर जीर्ण ज्यानलाई कसले ओखतीमूलो गरी निको पार्ने चेष्टा गर्छ । सबै ‘बलेको आगो ताप्छन्’ निभेको आगो को ताप्छन् ।

त्यसैले आज वृद्धाश्रममा बुढन्तीवयका आमाबुबाहरूले हरेक पल आँसु बगाइरहेका छन् । झलझली आफ्ना छोराबुहारी, घरपरिवार सम्झिएर रोइरहेका छन् । बिर्सूँ भनेर कसरी बिर्सन सक्नु र ? सम्झेर पनि केही हुने होइन । आगोले जस्तै भतभती पोल्ने आफ्नै विगत ।

‘साना हुन्जेल मर्ला भन्ने डर, ठूला भएपछि मार्ला भन्ने डर’ भनेको यही हुनुपर्छ । दुःखले हुर्काएका आफ्नै सन्ततिले घरबाट निकालेर बेहाल पारेका घटनाहरू सुनिन्छ ।

नजाऊ भन्यो जान मन लागिहाल्छ । नखाऊ भन्यो खान मन लागिहाल्छ । मुख रसाइहाल्छ । घुटुक्क थुक निलिहालिन्छ । भोको पेट राखेर कसरी अघाउँजीको अभिनय गर्न सकिन्छ र ! मन चौ–चौ, तन चौ–चौ, आँखा चञ्चल । पुग्न, पुर्याउन धौ–धौ भइहाल्छ ।

फुर्सद छैन, हरदम हतार मात्र । फर्केर हेर्न आफैँलाई सकिएको छैन । फुर्केर फुरुङ्ग हुन जानेको छैन । सधैँको व्यस्ततामा तर आफैँ अस्तव्यस्त । आफैँलाई नचिनेर, चिन्न नसकेर भौंतारिरहे जस्तो । कस्तो–कस्तो अनौठो । कस्तुरीले आफैँसँग भएको ‘बिनाको सुगन्ध’ सुँघ्दै त्यो सुगन्ध भेट्न दौडिरहे जस्तो ।

नहेरूँ, नदेखूँ, नभेटूँ भन्यो आँखा जुधिहाल्छ । दुई आँखा चार भई जम्काभेट भइहाल्छ । नहेरूँ भन्यो हेरिहालिन्छ । नदेखियोस् भन्यो देखिहालिन्छ । नभेटियोस् भन्यो भेटिहालिन्छ । कर्के नजर पारी तर्किनु भएन । झर्कोफर्को गरी निष्ठुरी, निर्दयीपन देखाउनु भएन । अरू जस्तो हो आफू पनि त्यस्तै हुनुभएन । रिस देखाउनेलाई झन् रिसको आगो बाल्नुभएन । माया गर्नेलाई निर्मायाको कठोरपनको व्यवहार गर्नुभएन ।

गुनको बदला बैगुन होइन, गुनको बदला गुनैले तिर्नुपर्छ । कोही कसैसँग रिसारिस, पोलापोल, भनाभन र पानी बाराबार किन ?

दुःखले सुख निम्त्याइदिएन । आँसुले हाँसो ल्याइदिएन । बिछोडले मिलन गराइदिएन । रातपछि दिन भयो । जूनको पालोपछि घाम लाग्यो । बिहानपछि दिउँसो, साँझ र रात भयो । परन्तु मान्छेको स्वभावमा सुधार भएन । मान्छेको मन सुध्रिएन । मान्छेको पहिचान बद्लिएन ।

नसम्झूँ भन्यो सम्झना आउँछ, आइहाल्छ । आइरहन्छन् पुराना यादहरू । बिर्सन नसकेका कुराहरू कति–कति ! भन्न नसकेर मनभित्रै गुम्सिएका कति कुराहरू । घुम्न नपाएर थचारिनु परेका दिनहरू । देख्न नपाई तड्पिएर टट्टाएका आँखाहरू । भेट्न नपाएर एक्लै परेली भिजेका रातहरू । लेख्न नसकेका शब्द र बनाउन नपाएका चित्रहरू ।

आफ्नो बन्न नसकेका आफन्त र पराइ भएर पर–पर गएका मनहरू । नजिकिन नचाहेर तर्किंदै गएकाहरू । टाढिन अघाएर बल्ल नजिकिएकाहरू ।

समातेर आफ्नै अधीनमा राख्न नसकिएका समयहरू । ‘माछो–माछो भ्यागुतो’ झैँ  फुत्त फुत्किएर भागेका समयहरू । प्रह्लादित समय छिनमै बेसरम कुलेलम ठोकेर अनकन्टारको यात्रामा भागेर गए जस्तै  । यसपछि कसलाई गुनासो गर्नु, कसलाई पुकारा सुनाउनु, कसलाई मनको कुरा भन्नु ?

शिष्टता, मित्रता परमधाम गएकै हो कि ? जम्काभेटमा पनि उठ्दैनन् हातहरू । मुखको मौनता कतिसम्म भने हात नउठे आवाज त खुल्नुपर्ने हो । तर मुख बन्द हुन्छ र शिष्टाचारको छेकछन्दै हुँदैन । जम्काभेट होस् कि नहोस् के मतलब । आफूभन्दा अग्रजलाई भेट्दा अभिवादनले उठेका हातहरू स्वाभाविक हुन् । साथी भेटिँदा हस्तमिलनमा हात जुट्नु र नमस्कारको शिष्टता नेपाली पहिचान हुन् ।

पर्खाइको पट्यारमा बित्न नसकेका दिनहरू । आशैआशमा बितेका दिनहरू । मायाको प्यासमा काकाकुल बनेका दिनहरू । भोकको झोंकमा भौंतारिएका दिनहरू । कति तनावहरू, छटपटी र बेखुसीका दिनहरू । हर्ष आगमनमा प्रतीक्षारत् मन प्रताडनाले डामिएर बेहाल, बेहोस, बेसरम भएका घटनाहरू । दुखिरहन्छ, दुखाइरहन्छ, बल्झिरहन्छ, झस्काइरहन्छ, तर्साइरहन्छ ।

अन्ततः विस्मृत स्मृतिहरूले सताएर हैरान । फेरि नसम्झूँ भन्यो त्यही सम्झनाहरू झल्याँस्स सम्झनामा झलझली आइहाल्छ । तीसँग जम्काभेट भइहाल्छ ।

कतै दोबाटो, चौबाटो, चोक र गल्ली, गल्छेँडाहरूमा जम्काभेट नभइदिए हुन्थ्यो भन्यो झ्वाट्ट भेट भइहाल्छ । अनि कता आँखा लुकाउनु । हेरिरहेको आँखा कसरी छुपाउनु ? कहाँ हेर्नु, कता जानु, आफैँ कता भाग्नु ?

के गर्नु, कसो गर्नुको आपत् आइलाग्छ । कस्तो आपतमा पार्ने जम्काभेट हो ? कस्तो अप्ठ्यारोमा जाक्ने जम्काभेट हो ?