मन गतिशील हुन्छ । व्यवहार परिवर्तनशील हुन्छ । जीवन चलायमान हुन्छ । जीवन ठोकिनु, गल्नु, जल्नु अनि चल्नु हो । चलिरहनुमा जीवनको सार्थकता हुन्छ । जमिरहनु चाहिँ अल्छी, नैराश्य, पीडा र स्थिरता हो । स्थिरता जीवनको परिचय र मनको उचाइ होइन ।

मानव सोच र गतिमा चल्न नसक्दा म पटक पटक जलिरहेछु । मलाई तनावले, गरिबीले, समयले, वचनले पटक पटक जलाएका छन् । कहिले जागृतिले र कहिले निद्राले  जलाएको छ । जल्छु तर मेरो अस्तित्व नामेट नहुँदै फेरि बौरिन्छु । भूतलाई बिर्सेर वर्तमानको पछि लाग्छु तर मेरो वर्तमान निमेषमै भूत भइहाल्छ । फेरि मेरो जलन सुरु हुन्छ ।  भूतले जलाउँछ, भविष्य सोच्न नपाउँदै  क्षणिक वर्तमानले जलाउँछ । मलाई जदाउन समय नयाँ अग्नि बनेर आउँछ । मेरो अस्तित्वको सुरुआतदेखि नै अरू भुइँ मानिसको झैँ जलन मेरो दिनचर्या बनेको छ ।

जीवनको जलन मेट्न मलाई  रूप बदल्न मन छ ।  पानी बन्न मन छ । ठोस, तरल, ग्यास बन्ने पानीलाई पीडा शमन गर्न कति सजिलो छ ।  म पानी थिएँ भने  कसैले जलाउन खोजे ऊजस्तै आकाशमा उडिदिन्थेँ । लखेट्न खोजे जमिनमा लुकिदिन्थेँ । शक्तिले दबाउन खोजे बगिदिन्थेँ र त्यसले भेट्नै नसक्ने अनन्तमा पुगिदिन्थेँ । कसैले खुट्टा तानेर र पछाडिबाट ठेलेर लडाउन खोजे हिउँझैँ जमिदिन्थेँ र त्यसको ईर्ष्यालु दाउलाई हिउँको चट्टान बनाइदिन्थेँ । तर खै म पानी बन्नै सकिनँ, बन्न खोज्छु फेरि सयौँ घामले एकैचोटि मेरै डँडाल्नु सेकाउँछन् र अदृश्य हावा बनाइदिन्छन् । दसौँ कानुनले एकैपटक हतकडी लगाउँछन् । सयौँ प्रतिशोधी अभिव्यक्तिले ममाथि इँटा ढुङ्गा बर्साउँछन् । ती ढुङ्गा र इँटा जीवनको माथिल्लो सिँढी चढ्ने आधार बन्न सक्छन् भन्ने थाहा छ तर मैले पानी बन्ने सोच राख्नु पूर्व नै मनलोकमा तिनैले आगो लगाइसक्छन् ।

मलाई थाहा छ, अप्ठ्यारो पर्दा प्रकृति साथी हुन्छ । कसैले साथ नदिँदा मनलाई सोध्नुपर्छ । भिरबाट चिप्लँदा लहराले बचाउँछ । पानीमा डुब्दा नदीको ढुङ्गाले साथ दिन्छ । अप्ठ्यारामा साथ दिने पराई पनि आफन्तकै कोटिमा पर्छन् । आगलागी, बाढी, विपत्मा शत्रुलाई पनि सहयोग गर्नुपर्छ । तिनलाई सहयोग गर्न अनुमति लिनुपर्दैन, सोध्नुपर्दैन । आपत्मा विभेद हुँदैन । विभेद त मानिसको अहङ्कारको प्रतिमूर्ति हो ।

मूर्ति मानिसले बनाउँछ र त्यही मानिसका अघि पूजित हुन्छ । मूर्तिले मानिस बनाउँदैन र मूर्तिका अघि मानिस पूजित हुँदैन । झुट, स्वार्थ र बेइमानी त मानिसमा हुन्छ, मूर्तिमा हुँदैन । सायद त्यसैले मैले पनि स्वयम् मानिसलाई घृणा गर्न र त्यसकै मूर्तिलाई सलाम गर्न पो सिकेँ कि ? मलाई थाहा छ पीडा दिइरहने मानिस आफन्त नै भए पनि पराई हो । आफ्नै घरमा आश्रय लिए पनि शबु बन्धु बन्दैन । तुलसीका छेउमा उम्रने वनमारालाई मैले कैयौँ पटक उखेलेको छु । सिस्नोको झाङ फालेको छु । रोग आफ्नै शरीरभित्र बस्छ तर आफ्नो हुन सक्दैन । हानिकारक नै हुन्छ । बरु त्यसले आफ्नै शरीरमा बसेर,आफ्नै अङ्ग खियाउँछ, आफ्नै अस्तित्व अन्त्य गर्छ । आँगनको झार फालिन्छ तर वनमा उम्रेको जडीबुटीले ज्यान बचाउँछ । मनको कुनामा भन्दा बस्तीको सीमान्तमा मानवता टुसाउन सक्छ । मानवता अन्तर्दृष्टि हो तर जमानाले मानवता खोज्ने बनाइसक्यो । म सूर्योदयमा मानवता खोज्न निस्कन्छु तर सूर्यास्तमा मानवताले मलाई नै जलाइसक्छ ।

मानव सम्बन्ध विकासमा बोलीको ठुलो महŒव छ । बोलीले सुनौलो भोलि सृष्टि गर्न वा छातीमा गोली ठोक्न सक्छ । शब्दका शरीर,  हात र खुट्टा हुँदैनन् तर एउटै शब्द औषधी पनि बन्न सक्छ र त्यसले मुटुको धड्कन बन्द गर्न पनि सक्छ । शब्द सम्हालेर बोल्नुपर्छ ।  अनियन्त्रित र जथाभाबी बोल्दा शब्दले आफ्नै मनलाई घाइते बनाउन सक्छ ।

शब्दले मानिसको मान बढाउन सक्छ । बोल्दा ध्यान नपुर्‍याउने महात्मा भक्तकै अघि नाङ्गिन्छन् । बोल्दा सोच नपुर्‍याउने नेतृत्व घरैबाट लखेटिन्छन् ।  मुखबाट निस्कने बोली फर्केर आउँदैन । सेतो पहिरनभित्रका काला शब्द विषालु हुन्छन् । तिनले आगाले झैँ जलाउन सक्छन् । बरु अन्धारकार चिर्ने शब्दले पानीले झैँ शीतल दिन सक्छन् । आफैँतिर फर्केका ध्यानस्थ शब्दमा प्यार हुन्छ र ती मस्तिष्कबाट रमाउँदै निस्कन्छन् । रमाउन सिक्नु शान्ति र सन्तुष्टिको खोजी हो । बुद्ध र शुद्ध बन्ने सोच हो ।

बोली रङ्गिन इन्द्रेनी हो । यसले दुनियाँलाई आफ्नो बनाउन सक्छ । विश्वबन्धुत्व र विश्वव्यापीकरणलाई एउटै कक्षामा सिकाउन सक्छ । आधुनिकता र पुरातनलाई एउटै चक्रमा घुमाउन सक्छ । मेरो विचारमा मानिसका सोचबाट निस्कने प्यारा शब्द सुन्दर परिवार, सफल जीवन र सफेद संसारका परिचायक हुन् । अचम्मको क्षमता छ हाम्रा बोलीमा । यसले मानिसलाई बैरी बनाएर लडाउन सक्छ । बैरीलाई मिलाएर जुटाउन सक्छ । ऐना झैँ टुटेको मनलाई जोड्न सक्छ । बरफ झैँ जमेको क्षणलाई फुटाउन सक्छ । मलाई मिठा शब्द बन्ने रहर छ तर मानिसका भिडबाट निस्कने ग्रीष्म शब्दले मलाई जलाइरहेछन् ।

म शब्द जन्माउने मनसँग सोध्छु के मन जल्न सक्छ ? के पोलेको घाउमा शान्ति हुन्छ ? शब्द भन्छ मन जल्दैन, अरूले जलाउँछन् । पोलेको घाउ आगामै सेकाउनुपर्छ । आगाले पोलिने वस्तु पोलिसकेपछि त्यो आफैँ फर्कन्छ । आगाले तातो दिए मित्रता गाँसिन्छ पोले अगुल्टो फालिन्छ । अनाज हाम्रो प्राण हो तर जग्गा मिचेर खोपेको बालीले प्राण धान्दैन ।

मानिस त विवेकशील हुन्छ नियममा बस्नुपर्छ । नियम मिचेर गरेको काममा इमान हुँदैन । पशुले समेत नमिच्ने नियम मिच्नु मानवको पहिचान होइन । खोलो मिचेर बनाएको घर खोलैले बगाउँछ । स्वधर्म र इमान मिचेर गरिएका कामले कर्तालाई नै नष्ट गर्छ । सम्मान मिचेर जोडिएको सम्बन्ध क्षणिक हुन्छ । मान नगर्नेले मानको आशा गर्नु हुँदैन । तिरस्कारलाई पैसामा दाँज्नेहरू स्वतः तिरस्कृत हुन् । संस्कार मिचेर बोलिने शब्दको पनि कुनै अर्थ हुँदैन । अर्थविहीन बोली र नियमविहीन कार्यको भविष्य हुँदैन ।

व्यवहारभन्दा बोली शक्तिशाली हुन्छ । व्यवहार बिर्सन सकिन्छ, बोलीले घोचिरहन्छ । बिग्रेको व्यवहार सपार्न सकिन्छ तर बिग्रेको बोली सपार्न गाह्रो छ । बोलीमा आशय र संवेग हुन्छ । रिस, घृणा, ईर्ष्या व्यवहारका भन्दा बोलीका उपज हुन् । मिठो बोलीभित्र रिस दबिन्छ । तितो र कटु बोली वैमनस्यको कारण बन्छ । पानीमा वैमनस्य छैन, सीमाभित्र रहन्छ । हावामा वैमनस्य छैन, दिशाहीन बन्दैन । प्रकृतिमा वैमनस्य छैन, प्रत्युत्पादक बन्दैन । जब मानिसका सोच र बोली बैगुनी हुन्छन्, व्यवहार स्वेच्छाचारी हुन्छन् तब पानी, हावा, प्रकृति सबै बैगुनी हुन्छन् । तिनमा वैमनस्य घुलाउने मानिस नै हो । बैगुनले वैमनस्य जन्माउँछ । म पानी भएको भए जल्ने थिइनँ,  मानिस भएकाले वैमनस्यको भुङ्ग्रामा जलिरहेछु ।

जलाउनभन्दा जल्न सजिलो हुन्छ । खरानीमा चम्कने कोइलाले ताप दिन्छ । म जलेर सुनझैँ चम्कन चाहन्छु ।